सङ्घीय संसद सचिवालय
संघीय संसद सचिवालय नेपालको संविधानको धारा १०७ बमोजिम संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न स्थापना भएको हो। यस सचिवालयको मुख्य जिम्मेवारी र कार्य संघीय संसद र यसका दुवै सदनका कार्यहरुमा प्रशासकीय सहयोग गर्नु हो। २०७२ असोज ३ गते नेपालको संविधान जारी हुनु अघि संविधानसभाको सचिवालयको रुपमा संविधानसभा/व्यवस्थापिका-संसद सचिवालयको रुपमा स्थापित सचिवालय नै हाल संघीय संसद सचिवालयको रुपमा रहेको छ।
संघीय संसद सचिवालय एक प्रशासनिक निकाय हो र संघीय संसद सचिवालय सम्वन्धी ऐन, २०६४ बमोजिम सचिवालयलाई सञ्चालन गर्ने प्रयोजनको लागि ९ सदस्यीय सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपाल अधिराज्यको संविधान, २०१५ ले दुई सदनात्मक संसदको व्यवस्था गरेको थियो र दुवै सभाको कार्य सञ्चालनमा सहयोग पुर्याउन पहिलो पटक विधिवत् संसद सचिवालय स्थापना भएको पाइन्छ। २०१७ सालदेखि अहिलेसम्म देशमा संसदीय कार्यसम्पादनका लागि विभिन्न नामका व्यवस्थापिका गठन भए, र त्यसअनुसार सचिवालय पनि विकास र रूपान्तरित हुँदै आएको छ। पञ्चायतकालमा व्यवस्थापकीय अंगको रूपमा राष्ट्रिय पञ्चायत रह्यो, जसको कार्यकारबाहीमा सहयोग राष्ट्रिय पञ्चायत सचिवालयले गर्ने गर्थ्यो। २०४६ सालको परिवर्तनपछि दुई सदनात्मक संसद गठन भएपछि राष्ट्रिय पञ्चायत सचिवालयलाई संसद सचिवालयमा रूपान्तरित गरिएको थियो। त्यसपछि २०६३ सालको परिवर्तनपछि संघीय संरचनामा कार्य गर्ने व्यवस्थापिका- संसद गठन हुँदा सो संस्थालाई व्यवस्थापिका- संसद सचिवालयको रूपमा रूपान्तरित गरिएको हो।
सचिवालयका मुख्य कार्यहरु
[सम्पादन गर्नुहोस्]सचिवालय संसदलाई प्रशासनिक एवम् विज सेवा उपलब्ध गराउने निकाय हो। यससँग संस्थागत स्मरण समेत रहँदा संसद सञ्चालनका लागि महत्वपूर्ण हुन्छ। संसद निर्वाचित जनप्रतिनिधिमूलक संस्था हुने भएकाले सचिवालय स्थायी प्रकृतिको हुने प्रबन्ध छ ।
सचिवालयको प्रमुख उद्देश्य भन्नु नै संघीय संसदको काम कारवाहीलाई आवश्यक पर्ने प्रशासनिक, व्यवस्थापकीय एवं प्राविधिक सहयोग उपलब्ध गराउनु हो। वुँदागत रुपमा सचिवालयका प्रमुख कार्यहरु देहाय वमोजिमका रहेका छन्ः
- संघीय संसद, संघीय संसदका समिति, पदाधिकारी र सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने।
- संघीय संसदका कामकारवाही सुचारु रुपले संचालन गर्न प्रशासनिक, आर्थिक र भौतिक व्यवस्थापन सम्वन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउने।
- संघीय संसदका सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा संघीय संसद परिसरमा सुरक्षा व्यवस्था मिलाउने।
- संघीय संसदको संसदीय दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलव्ध गराउने।
- संघीय संसद, संघीय संसदका समितिहरुका वैठकहरुको व्यवस्थापन गर्ने।
- नियमित विधायन सम्वन्धी कार्यमा सहयोग पुर्याउने तथा संसदीय समितिबाट हुने अनुगमन सम्वन्धी कार्यमा समेत सहयोग पुर्याउने।
सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको संरचना
[सम्पादन गर्नुहोस्]संघीय संसद सचिवालय एक प्रशासनिक निकाय भएकाले सचिवालयलाई सञ्चालन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहने व्यवस्था संघीय संसद सचिवालय सम्वन्धी ऐन, २०६४, दफा ६ मा रहेको छ:
(क) सभामुख – सभापति
(ख) राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ग) उपसभामुख – सदस्य
(घ) राष्ट्रिय सभाको उपाध्यक्ष - सदस्य
(ङ) महासचिव – सदस्य
(च) प्रतिनिधि सभाको सचिव – सदस्य
(छ) राष्ट्रिय सभाको सचिव – सदस्य
(ज) सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) – सदस्य
(झ) सचिवालय सचिव (प्रशासन) – सदस्य – सचिव
समितिको काम, कर्तव्य र अधिकार
[सम्पादन गर्नुहोस्](क) सचिवालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ख) संघीय संसद तथा सचिवालयको वार्षिक बजेट निर्धारण गर्ने,
(ग) संघीय संसद सेवामा रहने कर्मचारीको दरवन्दी निर्धारण गर्ने,
(घ) सचिवालयका कर्मचारीहरूको वृत्ति विकास एवं सुविधा निर्धारण सम्बन्धी कार्य गर्ने,
(ङ) संघीय-संसदको भौतिक निर्माण र सुधार सम्बन्धी नीति तय गर्ने,
(च) संघीय-संसदका समितिहरूबीच समन्वय र सामन्जस्यता कायम गर्ने, गराउने,
(छ) सदस्यहरूको दक्षता तथा क्षमता अभिवृद्धि गर्न आवश्यक पर्ने कार्य गर्ने,
(ज) नेपाल सरकारसँग समन्वय गरी संघीय संसद्दता संघीय-संसदको समितिको वार्षिक कार्यतालिका तयार गर्ने तथा संघीय संसद सचिवालयको अल्पकालीन तथा दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्ने गराउने ।
संघीय संसद सचिवालयका पूर्व सचिवहरू
[सम्पादन गर्नुहोस्]| नाम | कार्यकाल (बि.सं.) |
|---|---|
| सुदर्शन खड्का | २०७७/०२/३० – २०८२/०२/२१ |
| ध्रुव प्रसाद घिमिरे | २०७५/०६/०७ – २०७९/०८/२७ |
| डा. भरतराज गौतम | २०७५/०३/११ – २०७७/०१/२१ |
| विरेन्द्र बहादुर कार्की | २०७३/०९/१२ – २०७५/०२/३० |
| हिमालाल सुवेदी | २०७३/०५/०८ – २०७५/०६/१९ |
| सोम बहादुर थापा | २०७३/०५/१२ – २०७३/०९/१० |
| मुकुन्दा शर्मा | २०७२/०३/०३ – २०७३/०३/०१ |
| ठाकुर प्रसाद बराल | २०६७/०२/१८ – २०७२/०२/१४ |
| कृष्ण प्रसाद पाण्डे | २०६३/०९/२१ – २०६७/०२/२० |
| मनोहर प्रसाद भट्टराई | २०६३/०९/१७ – २०६४/०८/०१ |