सञ्ज्याल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सञ्ज्याल/ सन्याल/ संज्याल
जम्मा जनसङ्ख्या
(१ लाख भन्दा बढी)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
नेपाल
भाषाहरू
नेपाली
धर्मावलम्बी
हिन्दु,
सम्बन्धित जातीय समूह
जैसी, तिवारी, धिताल

सन्याल/सञ्ज्याल/संज्याल गौतम गोत्रिय ब्राह्मण थर हो । सान्नी राज्यबाट उद्गम भएका ब्राह्मण संज्यालहरूमध्य अहिले उपाध्याय, जैसी, संज्याल र धितालको रुपमा बोलिचालीमा प्रचलित छन् । कालिकोट जिल्लाका मेहलमुडी, डुङ्ग्रीकोट, सिउना, खडितोली, बयाला, तोलिभिंड, टुडिखेत, भर्ता, लुंसा आदी गाउँमा संज्यालहरूको बसोवास रहेको छ । त्यस्तै दैलेख जिल्लाका सानगाउँ, अम्तोला, पिपलकोटसिंगौडी आदी गाउँमा संज्यालहरूको बसोवास रहेको छ । अछाम जिल्लाका बारला, चिल्तडा, जुम्ला जिल्लाका सन्यालबाडा, धिंतालिही, बाजुरा जिल्लाका साप्पाटा, वाई, धडाकोट, हुम्ला जिल्लाको लौंठी, दार्म तथा मुगु जिल्लाको रिगा आदी गाउँहरूमा सन्ज्यालहरूको वसोवास छ । माथी उल्लेखित गाउँहरूबाट सञ्ज्यालहरू वसाईं सरेर नेपालको कैलाली, सुर्खेत, बाँके, बर्दिया लगायत काठमाडौंमा समेत बसोवास गर्दछन् ।[१] अहिलेसम्म प्राप्त ऐतिहासिक तथ्य प्रमाण र बुढापाकाहरूले बताएको वंशावली अनुसार सञ्ज्यालका पुर्खा भट्ट थिए । मुख्य गरी जाजा भट्ट र तिला भट्ट अछामको बान्नीगढबाट सान्नीमा आएका थिए । यस तथ्यबाट हालका सञ्ज्यालहरू पहिले भट्ट ब्राह्मण थिए भन्नेमा कुनै संका छैन ।[१]

विषयसूची

मिथिलादेखि मेहलमुडीसम्म[सम्पादन गर्ने]

मिथिला गौतम गोत्रीहरूको उद्गम स्थल हो । किनकी गौतम गोत्रका गोत्र प्रवर्तक महर्षि गौतमको जन्म मिथिलामा भएको थियो । उनको सम्पूर्ण जिवन पनि मिथिलामा नै वितेको थियो । महर्षि गौतमको जिवनीमा उल्लेख गरिए अनुसार उनको जिवन तत्कालिन मिथिला राज्यको मिथिला उपवनमा वितेको थियो । मिथिला उपवनमा पर्ने तत्कालिन गौतमी नदीको किनारामा महर्षि गौतमको आश्रम थियो । महर्षि गौतमले ब्रह्मा पुत्री अहिल्यासँग विवाहगरी त्यही मिथिला उपवनमा रहेको आफ्नो आश्रममा ल्याएका थिए । [१] त्यही मिथिला उपवनमा रहेको आश्रममा गौतम ऋषिका तीन संतान वामदेव, नोधासशतानन्द जन्मिएका थिए । यी तीनै पुत्रहरू आफैमा अत्यन्त पराक्रमी, विद्वान र सिद्ध थिए । उनीहरूले नै गौतम ऋषिको वंश अघि बढाएका थिए । यी तीन सन्तान मध्य शतानन्द अत्यन्त सिद्ध र कर्मकाण्डका प्रकाण्ड विद्वान थिए । त्यसै कारण तत्कालिन मिथिलाका राजा जनकले गौतम पुत्र शतानन्दलाई आफ्नो राज्यको राज पुरोहित राखेका थिए । यसबाट प्रष्ट हुन्छ की गौतम गोत्रीहरूको वंशको विकास र विस्तार प्राचिन मिथिला क्षेत्रबाट नै भएको थियो । [१] यसरी गौतम गोत्रीहरूको वंश विस्तार क्रमिक रुपमा मिथिलाबाट प्राचिन लुम्विनी क्षेत्र देखि कान्याकुब्ज (कन्नौज) तिर फैलिंदै गएको देखिन्छ । गौतम गोत्रीहरूको प्राचिन कालको सबै भन्दा विकसित सभ्यताको रुपमा कपिलवस्तु सभ्यातालाई लिइन्छ । कपिलवस्तुको शाक्य वंशिय राजखानदान पनि गौतम गोत्री नै थियो र तत्कालिन कपिलवस्तु राज्यका अधिकांश प्रजाहरू पनि गौतम गोत्री नै थिए । यो कुरा विभिन्न इतिहासकार तथा ऐतिहासिक तथ्यहरूले प्रमाणित गरेका छन् ।[१] त्यस्तै कपिलवस्तु पछि गौतम गोत्रीहरूको अर्को विकसित सभ्यताको रुपमा प्राचिन कन्नौजलाई लगिन्छ । वास्तवमा कन्नौज पनि गौतम गोत्रीहरूको वंश तथा सभ्यता विकासको केन्द्र नै हो । यहीं बाट गौतम गोत्रीहरूको वास्तविक इतिहास पाउन सकिन्छ ।[१] सञ्ज्यालहरूका पुर्खा पनि कन्नौजबाट नै आएका हुन् त्यसैले सञ्ज्यालहरूलाई कान्यकुब्जी ब्राह्मण भन्ने गरिन्छ । कान्यकुब्ज कन्नौजको पुरानो नाम हो । यही कान्यकुब्ज अथवा कन्नौजमा गौतम गोत्री ब्राह्मणहरूको सभ्यता विकास भएको थियो । यस सम्बन्धमा मनुस्मृतिमा ब्राह्मणहरू कुरुक्षेत्रमा उत्पन्न भए भनिएको छ । यो स्थान सरस्वती नदीदेखि पूर्व प्रयाग देखि पश्चिम, हिमालय पर्वत विन्ध्याचल देखि समुन्द्र देखि पश्चिमी समुन्द्र हुँदै आर्यहरू फैलिएका भन्ने मनुस्मृतिमा प्रष्ट लेखिएको छ । यसबारे मनुस्मृतिमा यस्तो भनिएको छ :

कुरुक्षेत्रन्च मत्स्यच पाञ्चाल शुरसेनकाः
एष ब्रह्मणर्षी देशो बैह्मा वर्ताव दन्ननरः
यतदेश प्रसुनस्य शाकाशाद ग्रजजन्मन
स्वं स्वं चत्रि शिक्षन्पृथ्या सर्वमानवाः

अर्थात कुरुक्षेत्र र मत्स्य देश पाञ्चाल - कान्यकुब्ज, र सुरसेन - मथुरा, यी ब्राह्मणिय देशहरू हुन् । यस देश उपर्युक्त कुरुक्षेत्रादीमा उत्पन्न ब्राह्मण देखि सम्पूर्ण पृथ्वीका मनुष्यले आफ्नो आफ्नो चरित्र सिक्नु पर्दछ । मनुमृति पेज नं. ३१[१] यी सबै तथ्यहरूबाट प्रष्ट हुन्छ कि वास्तवमा गौतम गोत्री ब्राह्मणहरूको वंश विकास कन्नौज क्षेत्रबाट नै भएको थियो । यसरी कन्नौजमा गौतम गोत्रीहरूको सभ्यता प्राचिन कालदेखि करिब करिब छैटौं सातौं शताब्दीसम्म चल्यो । त्यही समयमा कन्नौजमा सम्राट हर्षवर्धनको शाषण स्थापित भयो । र उनको साम्राज्यको राजधानी पनि कन्नौज नै थियो । सम्राट हर्षवर्धनको साम्राज्य अस्ताए पछि करिब ११ औं शताब्दीसम्म त्यो क्षेत्रमा हिन्दुहरूको सभ्यता नै मुल सभ्यताको रुपमा रह्यो । तर करिब ११ औं शताब्दीमा आएर कन्नौज सभ्यतामाथि मुस्लिमहरूको भयंकर आक्रमण भयो । यस आक्रमणबाट कन्नौजको हिन्दुसमाज माथि निकै संकट आयो । यही समयमा आफ्नो धर्म र ज्यान जोगाउन कन्नौजबाट सुरक्षित स्थान तर्फ भाग्ने क्रममा गौतम गोत्री ब्राह्मण, क्षेत्री, वैस्य, शुद्रहरू तत्कालिन कत्युर प्रदेश (वर्तमान कुमाउँ, गढवाल, जम्मु कश्मिर) प्रवेस गरे । यस प्रदेशमा आई बसेका गौतम गोत्रीय पुर्खाहरू कतिपय उत्तर पश्चिम जम्मु कश्मिर तिर लागे, कोही दक्षिण पश्चिम भारतको मैदान तिर लागे, कोही पूर्वोत्तर हालको नेपाल तर्फ लागे । यसरी प्राचिन कालको खस प्रदेश तिर आउने गौतम गोत्रीहरू नै गौतम गोत्रीका पुर्खाहरू थिए । यसरी नेपाल आउने गौतम गोत्रीहरू (चन्द, बटाला, सोडारी, तिवारी, त्रिपाठी, बिष्ट, पाण्डे, भट्ट) का पुर्खा थिए । यि मध्य सञ्ज्यालका पुर्खा भट्टहरू हुन् ।[१]

सञ्ज्यालको पुर्खा बान्नीबाट सान्नी प्रवेस[सम्पादन गर्ने]

यसरी सञ्ज्यालका पुर्खा जाजातिला भट्ट वर्तमान नेपालको अछाम जिल्ला अन्तर्गत बान्नी भन्ने ठाउँमा आएका थिए भन्नेसम्मको इतिहास पाइन्छ ।[१] उनीहरू बस्नको लागि उपयुक्त स्थान खोज्नको लागि हरेक ठाउँको माटो र पानी तौलन्थे । जुन ठाउँको पानी र माटोको तौल बराबर हुन्छ त्यही ठाउँ उत्तम हुन्छ भन्दै त्यस्तो ठाउँ खोज्दै हिड्ने क्रममा बान्नी आइपुगेका थिए । तर बान्नीको माटो र पानि उपयुक्त नमानी पछि पानी माटो तौल्दै हालको सान्नी पुगेका थिए ।[१] उनीहरू सान्नी आएको समय करिब १४ औं शताब्दी तिरको हो भनि अनुमान गर्न सकिन्छ । त्यस समयमा सान्नीमा विस्पती भनिने भोटेहरू खोले राजाको रुपमा राज्य गर्दथे । विस्पतीहरू अत्यन्त अत्याचारी थिए । आपसमा लडाईं झगडा गर्ने, अर्काको सम्पती लुट्ने उनिहरूको स्वभाविक काम थियो । त्यही अवस्थामा जाजातिला भट्ट साथमा भिमे बोहरालाई ल्याएर सान्नीको तिकुवा भन्ने ठाउँमा आई बसे । उनी त्यहाँ आउँदा झोलिमा यजुर्वेदको किताब, रमाल मष्टो देवताको जोलो घाँट साथमा आएको थियो । सान्नीमा माटो र पानी तौल्ने क्रममा टिमुरे पँधेराको पानी र मेहलमुडी पैयाँखलाको माटो उपयुक्त भयो । यसले गर्दा त्यस ठाउँको पानी र माटो सबै भन्दा उत्तम ठानी सान्नी मेहलमुडी बस्ने निधो गरे । तर त्यो ठाउँमा अत्याचारी विस्पतीको साषण थियो । बस्नको लागि विस्पतिको कारणले सही वातावराण नभए पनि माटो पानीको कारणले त्यस ठाउँमा बस्न रुचाए । त्यसैले जाजातिला भट्टको सान्नी मेहलमुडीमा बस्ती भयो ।[१] तर सान्नीमा विस्पतिहरूको अत्याचार हुने, उनीहरू लडाईं भिडाईं गर्ने हुनाले त्यो लडाईं भिडाईंबाट बच्न उनीहरू कहिल्यै सान्नी त कहिल्यै बान्नी गर्न थाले । अर्थात सान्नीमा शान्ती भएको बेला सान्नी र अशान्ती भएको बेला बान्नी जाने गर्दथे । यही कारणले "सद्दाको सान्नी र असद्दाको बान्नी भन्ने उखान रहयो । यो उखान अहिलेसम्म पनि चलेकै छ । त्यस समयमा बलियाको राज चल्ने गर्थ्यो, बलियाले कमजोरलाई लुट्ने, मार्ने गर्थे । त्यस समयमा कोटे राजाहरूले धाडो लिने चलन थियो । धाडो लिनेमा बिस्पति भोटेहरू नै बढी हुन्थे । यसले गर्दा कमजोर मान्छेहरूमाथि अत्याचार नै हुन्थ्यो । बिस्पतिहरूको अत्याचारीबाट सान्नीका मनिसहरू अजित भइसकेका थिए । बिस्पतिहरूको अत्याचारको कथा हालसम्म पनि प्रचलनमा छ । कसैले अति गरे त्यसो नगर है बिस्पति बिलाए झैं हौला त्यसो नगर भन्ने चलन छ । अर्थात "जात्ती आउलाबाउला न हौ, बिस्पति उत्याजन उत्तौला" भनी बुढापाकाहरूले सचेतना गराउँछन् । बिस्पतिको अत्याचारका बाबजुत जाजातिला त्यही ठाउँमा बसे र उनका सन्तानहरू पनि सान्नीमा बढ्दै गए । सान्नीमा सन्यालहरूको बस्ती हुन पुग्यो ।[१]

विस्पति र सञ्ज्यालको लडाईं[सम्पादन गर्ने]

सान्नीमा बिस्पतिहरूको अत्याचारी सासन चलिरहेका बेला सञ्ज्यालका कान्छा भाई भूमी पाध्याय डाँडाखेतको बाटो गरी पश्चिमका गाउँहरूमा काम विशेषले गएका रहेछन् । गाउँमा यजमानको घरमा पुगी काम गरी घर फर्कने क्रममा डाँडाखेत २२ मुग्राहाँको धारमा हात मुख धोएर संध्या जप गर्न लागेछन् । यो देखेर अत्याचारी बिस्पतीहरूले यो बाहुनले हाम्रो पानीमा बोक्सी जाप गरेर पानी दुषित गर्यो भनी बाणले हानेर त्यसै धारामा मारी दिए छन् । केही समय पछि भूमी पाध्यायको घरमा उनको हत्या भएको खबर गएछ र घरबाट मान्छे आई लास उठाएर लगेछन् । त्यही असत गरेका कारण बिस्पतिहरूको परिवारमा अनिष्ठ हुन थालेछ । बिस्पतीहरूको आलाकाचा ज्यान गयो र सन्तान नास भयो भन्ने सुनिन्छ । आजभोली सान्नीका सञ्ज्यालहरूलाई डाँडाखेत २२ मुग्राहाँको पानी खानु हुदैन भन्ने चलन सावितै छ ।[१]

बिस्पतिको वंश विनास र सन्यालको भूमिका[सम्पादन गर्ने]

सान्नी राज्यमा अत्याचार गर्ने बिस्पतिहरूलाई परास्त गरेर मल्लहरूले आफ्नो राज्य स्थापना गरेका थिए । तर मल्लहरूले पनि सान्नी राज्यलाई सहि ढंगले चलाउन सकेनन् । केही वर्ष पछि मल्लहरूको शाषण समाप्त भए पछि सान्नीमा सञ्ज्यालहरूले केही वर्ष राज्य चलाएको अनुमान छ । सान्नीमा सञ्ज्यालहरूले केही वर्षमात्र सासन चलाएको भए पनि आफ्नो राज्यमा ओलग अस्मानी उठाउने, धाडो चलाउने, अत्याचार गर्ने जस्ता कार्यहरू नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । मल्लहरूबाट राज्य खोसिएर प्रजा भएका बिस्पतिहरू पनि सान्नी राज्यमा अझैं अत्याचार गरिरहेका थिए । सञ्ज्याल राजा र ति बिस्पतिहरूवीच ठुलो संघर्ष भएको देखिन्छ । सञ्ज्याल राजालाई परास्त गरेर आफु पुनः राजा हुने दाउमा बिस्पतिहरू लागे । यही कारणले बिस्पति र सञ्ज्यालवीच भयानक सामाजिक संघर्ष भएको हो । सान्नीमा बिस्पतिहरूको अत्याचारीका विरुद्ध सन्यालका पुर्खाले आफ्नो सहयोगी लिन आवस्यक देखियो । सान्नीमा शान्ती शुरक्षाका लागि मान्म खाँडाचक्रका रास्कोटी राजा मलै बम्मका नातीहरू, सुमेरु बम्मका छोरा १२ वटा थिए । उनकै दरबारमा सान्नीबाट देवि पाध्याय गइ खाना नखाएर धर्ना कसे । सुमेरु बम्मले भने- "गुरु तपाईंले यस्तो धर्ना किन कस्नु भयो ?" राजाको कुरा सुनेर देवि पाध्यायले "राजा मेरो सान्नीमा बिस्पतिहरूको अत्याचारले सिमा नाघ्यो । तिनीहरूको अन्याय अत्याचारका विरुद्ध शान्ति शुरक्षा गर्नका लागि तपाईंसँग १२ छोरा छन् रे १ छोरो मेरो राज्यमा राजा बनाइ दिनु पर्यो " भनि आग्रह गरे ।[१] देवीपाध्यायले आग्रह गर्दा राजा सुमेरु बम्मले गुरु तपाईं खाना खानुहोस् तपाईंलाई एक छोरा दिउँला भनि बचन गरी सकेपछी खाना खाइ धर्ना छोडे । राजाले सोधे गुरु तपाईं कुन छोरा लिनु हुन्छ रोज्नुहोस् सुमेरु बम्मले भन्दा देवी पाध्यायले भने - "अहिले म तपाईंको छोरा लिन्न, म आज यहीं बस्छु ।" भनी त्यो दिन त्यहीं बसेछन् । राती राजाका १२ छोरालाई क्रमशः सुताएछन्, सुतिरहेको बेला छैठौं छोरा साइमल शाही सिरानमा आडे भएका देखेछन् । भोली पल्ट राजासँग देवी पाध्यायले म यही छोरा लिन्छु भनी साइमल शाहीलाई रोजे । राजा सुमेरु बम्मले हुन्छ भनी सिन्दुर लगाई देवी पाध्यायसँग सान्नी राज्यको शान्ति वा सन्यालको सहयोगी बनाइ पठाएछन् । उनी रेङ्गिलमा पुगे तर त्यहाँ कर्णाली तर्ने कुनै उपाय थिएन । आजको जस्तो पुलपुलेसा थिएनन् वारपार गर्न अप्ठ्यारो थियो । कर्णाली पारी जाने केही उपाय नहुँदा सातमा सुतो (धागो) ल्याएको रहेछ । त्यसैमा भाकल गरेर "मैले सत्कर्म गरेको रहेंछु वा सत्य रहेछ भने, र यो ठकुरी मेरो राजा हुने रहेछ भने यो सुताको घाट लागोस् भनी सुतो र अक्षता कर्णाली पारी फाली सत् पुकारी सकेपछि त्यसमा घाट लागेछ ।[१] त्यसै घाटबाट देवी पाध्याय र साइमल शाही सान्नी पुग्न नसकी बेलुका रकु बसेछन् । राती साइमल शाही भागेर रेङ्गिलको पहाडमा लुकेछन् । देवी पाध्यायले साइमल शाहीलाई सान्नी जाउँ भन्दा नमानेकाले फेरी देवी पाध्याय रकु आइ बुढालाई साथमा लिएर गएछन् । बुढाले साइमल शाहीलाई "हेर राजा तिमी यो बाहुनलाई सहयोग गर, बरु तपाईंलाई जे मैले सहयोग गर्नु पर्छ गरुँला" भनी बचन दिंदा साइमल शाहीले मानी हुन्छ भनी सान्नी प्रवेस गरेछन् । त्यो समय वि.सं. १५२० तिरको हुन सक्ने अनुमान छ ।[१] साइमल शाही सान्नी बसी त्यहाँका अत्याचारी बिस्पतिहरूसँग लडाईं लडी त्यहाँको सन्याल राजालाई सहयोग पुर्याए र अन्य ठाउँका मान्छेहरूलाई समेत शान्ती दिएको भन्ने किंवदन्ती पाइन्छ र सन्याल र राष्कोटी ठकुरीहरूले संयुक्त राज्य समेत गरेको ठहर गरिन्छ ।[१] यसरी शक्ती शाली राजा विक्रम शाहीलाई ल्याउने र आफ्नो ठाउँमा राजा बनाउने आफ्नो अस्तित्व राख्ने सन्याल भएकोले सञ्ज्याललाई पनि बडाराजा भनेको पाइन्छ । अत्याचारी बिस्पतिहरूलाई समाप्त पार्न साइमल शाहीका लडाकु र सञ्ज्याल मिलेर लडेका थिए । यस लडाईंमा साइमल शाहीसँग संज्यालहरू पनि बहादुरी पूर्वक सामेल भएको हुनाले आज भोली पनि सन्याललाई "दल्याइला काता हान्न्या दोच्याया गोडा खान्न्या सन्तान हो " भनेर उखान गरिन्छ । यही ऐतिहासिक घटनाबाट सञ्ज्याल र रास्कोटीहरूको संयुक्त इतिहास कायम भएको हो । यस कुरालाई उल्लेख गर्दै आज भोली गाउँघरमा दमाईहरूले सञ्ज्यालको सुप्कार यसरी गर्दछन् :- [१]

"खाँडजितो महार्जा भ्वानी दाहीनी सेवा सर्नगती शिरदेखि पायाँ पूज्यो, पायाँदेखि शिर पूज्यो, त्यहाँको नायो धोयो, तेत्तिस कोटी देउता सुज्यो, थानपति वेदभण्डारकी पाठ, बाबुको वैरी हाकी पचारे, छोराको वैरी मुड्की संस्कारे, राष्कोटी राजाका निधार टिका, सन्याल थानीका पाखुरा टिका, विना सन्याल सभा अशुद्धो, भुवानी दाहिनी महार्जा ।"

भनेर सुप्कार गर्दछन् । यस युक्तीले सान्नी राज्यमा सन्याल र राष्कोटी ठकुरीहरूको संयुक्त राज्य थियो भन्ने पुष्टी गर्दछ । समग्रमा भन्नु पर्दा सन्यालको पुर्खाको सुप्कार विना सन्याल सभा असुद्धो भनाइको तात्पर्य सन्यालको पुर्खाले अन्याय अत्याचार भएको ठाउँमा गरिब र सोझासाझा जनताको लागि निरन्तर न्यायको पक्षमा सहयोग गरेर जनताको विश्वास कमाएको हुनाले कुनै पनि ठाउँमा छलफल र न्याय निसाफ गर्दा सन्याल नगई निसाब नहुने हुनाले "विना सन्याल सभा अशुद्धो" भन्ने सुप्कार कायम भएको हो । [१]

राष्कोटी राजा र सन्यान थानी राजाले गरेको नियम[सम्पादन गर्ने]

राष्कोटी राजा र सञ्ज्याल मिलेर सान्नी राज्यमा मिलीजुली सासन चलाएका थिए । दुवै राजाहरूले सान्नी राज्यमा निम्न अनुसार नियम बनाएका थिए ।[१]

  • क) चार थरको विवाह तथा सोली डोली :-
बाहुनमा :- बराल, बँख्रेल, सन्यान, सिमखाडा र लोट्टोगेडो न्यौपाने
क्षेत्रीमा :- लुइको कार्की, मानाकोटी रावल, धाडाकोटी बिष्ट, उचीढुङ्गे रोकायो यिनी जातिलाई मुख्य ठुला जाती मानिएको थियो ।
  • ख) गोत्र परिचय
  • ग) सनद कायम
  • घ) बाज, घोडा, कस्तुरी, मैन छपाई खाने, ओलक अस्मानी उठाइ खानेलाई बन्देज ।
  • ङ) धाडो, लुटपात बन्द ।
  • च) सान्नी राज्य कायम ।
  • छ) कल्याल, राष्कोटी, स्ववंशी ठकुरानीको अधेकाबाट सन्याल धेका ।
  • ज) ब्रह्म गोष्ठीमा यस्तो भनिएको थियो :- "निम्बु चैव तथा सिम्बु चौडिल्याच धितापुर, पञ्चम देवकोटो चैव, राज धर्म नजायते" भनि ब्रह्म गोष्ठी गरी राजालाई सहयोग गरेका थिए ।
  • झ) १२ पाटन सन्यालका १२ देउरा बँख्रेलका १२ मेला बरालका १२ थान सिम्खाडेका, छत्तिसा बाजा प्रचलन ।[१]

रास्कोटी राजपरिवार र सन्यानबीच खटपट[सम्पादन गर्ने]

सञ्ज्यालका खानदानले आफ्नो शक्ति रास्कोटी ठकुरीलाई सौंपी सकेपछि सान्नी राज्य राष्कोटी राजाको भयो । राज्य सत्ता हातमा आई सकेपछि राष्कोटीहरूमा पनि अनावश्यक महत्वाकांक्षा र उदण्ड स्वभाव देखा पर्न थाल्यो । उनिहरूले राज्यका सोझा साझा जनताहरू माथी अत्याचार गर्न थाले । अत्याचारी बिस्पतिहरूलाई परास्त गर्न स्थापित गरेका राष्कोटीहरूमा पनि बिस्पतिकै प्रवृत्ति देखा पर्न थाल्यो । त्यसको प्रत्यक्ष असर सञ्ज्यालको खानदान माथि पर्यो फेरी सञ्ज्याल र राष्कोटीहरू बीच खटपट हुन थाल्यो । सन्यालकी महिलाहरूको घाँस दाउरा मेला पात जाने बाटो राज दरबार बाट नै थियो । उनिहरू त्यही बाटो भएर घाँस दाउराको लागि जंगल जाने आउने गर्दथे । यसरी बाटो हिंड्ने क्रममा राजकुमारहरूले दिन दिनै सन्यालकी श्रीमतीलाई दुःख दिन थाले । राजाका रौतेलाहरूले सन्यानकी बाम्नी बज्यैलाई बाटोमा रोकेर तपाईंको नाखमा लगाएको नथन ठाडो गर्नुहोस् भनि नथन ठाडो गर्न लगाएर त्यै नथनको प्वाँलमा गुलेली हान्ने गर्थे । उनिहरूले हरेक दिन यसो गर्न थाले पछी कुन दिन गुलेली टाउकोमा लाग्छ भन्ने चिन्ताले बज्यैलाई सतायो । तर बज्यैले यो कुरा आफ्नो घरमा भनेकी थिइनन् । बाम्नी बज्यै एक दमै चिन्तित देखिने र दुब्लाउँदै जान थाले पछि बामन बाजेले घरमा बज्यैलाई किन दुब्लायौ, के भयो भनि सोध्दा बाम्नी बज्यैले यतार्थ बताइन् ।[१] रौतेलाहरूको हर्कत थाह भएपछि सन्याल र राष्कोटी बीच झगडा भयो । राष्कोटीहरूको यो व्यवहार देखि क्रुद्ध भएका सन्याल बाजेले काठको बिरालो बनाई रातैभित्र मन्त्र जाप गरेर राष्कोटीहरूको दरबारमा पठाए । बिरालोले अत्याचारी राष्कोटीका सन्तानहरूका सन्नी (अण्डकोष) खान थाल्यो । यस घटनाले राष्कोटीहरूको खानदानमा आतंक मच्चियो । यस्तो किन भयो भनि खोजबिन गर्दा सन्यालले काठको बिरालो जपि पठाएको थाह भयो । त्यो थाह पाए पछि राष्कोटी राजा आत्तिंदै सन्यालका घरमा आइ माफी मागे पछि सन्यालले पनि माफी दिए र जपेको काठको बिरालो पनि फिर्ता लिए ।[१] त्यसपछि राष्कोटी र सन्याल बाचको झगडा साम्य भयो । नजिक बस्दा झगडा हुने र भविष्यमा पनि समस्या आउँछ भन्ने ठानेर सन्यालले राष्कोटी राजालाई उदौनाको (अहिलेको उजेलीगाउँ) भन्ने ठाउँमा दरबार बनाइ राखे । सान्नीका सेरा र भेरा तिम्रा भए यस ठाउँको ओलक अस्मानी उठाएर तिमीलाई दिउँला तिमी उदौनाकोट बस भनि फकाई त्यहाँ राखे । यही कारणले अहिले उजेलीगाउँमा राष्कोटी ठकुरीहरूको बस्ती छ । यसरी गाउँमा विभिन्न जात थरसँग सन्यालको झैझगडा भई नै रह्यो । गाउँमा असाध्य अशान्ति भए पछि त्यहाँको मुख्य देवता दाडेमष्टोलाइ साँची राखी "अब आइन्दा यस्ता छुटफुट हुने छैनौ, हामी सबै एक भाई भयौं, एकै नाउलो ताउलो भयो, झगडा गर्ने छैनौ हामीहरू सबै एक मुष्ट हुनेछौं, कसैले कसै माथि रिश डाह गर्ने छैनौ" भनि धर्म भाकी, देवताको झण्डामा गोलबन्द भई बसे त्यसपछि सान्नीमा शान्ती भयो । यसरी मेलमिलापको वातावरण तयार गरि जिवन चलाएका थिए । [१]

सान्नीका सञ्ज्यालहरू विभिन्न ठाउँमा बस्ती[सम्पादन गर्ने]

त्यसपछि सान्नीमा सन्यालहरूको जनसङ्ख्या बढ्नुको साथै भाई-भाईमा झगडा हुन थाल्यो । यही खटपटका कारण काल जैसी सन्यासी भई पाँगर पानी गए । त्यस्तै विभिन्न कारणले सान्नी राष्कोटी राजाका सन्तानहरू विभिन्न ठाउँमा राजा भएर जाँदा सन्यालको पुर्खालाई भान्से बाहुनको रुपमा आफ्नो साथमा लिएको हुनाले सन्यालहरूको विभाजन भएको देखिन्छ । जस्तै :- दैलेखको अम्तोलामा धौलाखर पाध्याय, अछामको बारलामा सिरु पाध्याय, कालिकोटको भर्तामा विद्या पाध्याय, बाजुराको वाइमा चिन्तामणी जैसी, कालिकोटको सिउनामा आउँस्या पाध्याय र जिउन्या पाध्याय सान्नी बाट गएर बस्न थालेका हुन् ।[१]

बारलाका जैसी लेख्ने सञ्ज्यालहरू[सम्पादन गर्ने]

सान्नीबाट कुनैबेला बारलाका मुल पुर्खा सिरु पाध्याय हालको अछाम जिल्लाको बारलामा गाईगोरु पाल्ने क्रममा आएका थिए । सिरुपाध्यायका छोरालाई बारलामा सासन गर्ने खोलेराजाले भान्से बाहुन बनाएकाले र बारलामा ठाउँ राम्रो देखेर त्यतै बस्न थालेका सिरुपाध्यायका सन्तानहरू अहिले उपाध्यबाट खसेर जैसी भएका छन् । उनीहरू आफुलाई जैसी लेख्छन् । यिनका सन्तानका पिथु जैसीले नैनेल देवतालाई फेला पारेका थिए । कालेगाँडा गाविसको चिल्ताडा र बारला गाविसमा बसेका सिरुपाध्यायका सन्तानहरू आज भोली यत्र तत्र फैलिएका छन् ।[१]

अम्तोलाका जैसी लेख्ने सञ्ज्यालहरू[सम्पादन गर्ने]

वि.सं. १७२३ मा धौलाखर पाध्याय नाम गरेका एक जना सन्यालका सन्तान कालिकोटको सान्नीबाट दैलेखको चामुण्डा गाविस अन्तर्गत पर्ने तिलुकाना भन्ने ठाउँमा आइ बसेका थिए । उनलाई त्यहाँका राजा संसारी बमले भान्से बाहुन सहित बनाएर राखेका थिए । तर संसारी बमका छोरा पंखे बमसँग खटपट हुँदा उनलाई चित्त नबुझी भान्से बाहुनबाट निकाले । राजाले भान्से बाहुनबाट निकालेकाले धौलाखरका दुई छोरा मध्य एक छोरा पूर्व तिर लागे भने अर्का दैलेखकै तोलीजैसी गाविसमा पर्ने छडाथान आएर बस्न थाले । त्यहाँ बस्दा ज्योतिषी गर्ने र घर व्यवहार गर्ने गर्थे । त्यहाँका ठकुरीहरूले उनकी सुन्दर छोरी माथि आँखा गाड्न थाले । ब्राह्मणकी कन्या ठकुरीसँग विवाह गर्न हुन्न भन्दा त्यहाँका ठकुरीहरूले ति कन्यालाई जबरजस्ती विवाह गर्न खोजे । आफ्नो अपमान भएको देखेर ति कन्याले प्राण त्याग गरेर ढुँङ्गामा परिणत भइन् । ति कन्यालाई अहिले त्यो ठाउँमा देवीको रुपमा पूजा गरिन्छ । त्यो कन्या विवादका कारण त्यो ठाउँ छोडेर धौलाखर पाध्यायका नाती लक्ष्मी प्रसाद वि.सं. १७७३ मा सिंगौडी गाविसको काँडाखेत आएर बसेका थिए । [१] अहिले लक्ष्मी प्रसादका सन्तानहरू दैलेखको अम्तोला, भाटगाउँ, पिपलकोट, अछामको कालेकाँडा, चिल्ताडा, तिक्छा, सुर्खेत, कैलाली र बर्दियाको विभिन्न ठाउँमा बसोवास गर्दछन् । यीनीहरू थामा माइलाई कुल देविको रुपमा पूजा गर्दछन् । यिनीहरू आफुलाई जैसी लेख्छन् ।[१]

स्युनाका सञ्ज्याहरू[सम्पादन गर्ने]

सान्नीबाट आउँस्या पाध्याय र ज्युनु पाध्याय पानी र माटो तोल्दै सान्नी मूल घरबाट सिउना गए । सिउना जानु पर्ने मुख्य कारण सान्नीमा भाईभाईको बीचमा भएको मत भिन्नता थियो । त्यसै बखतमा आफ्नो थर गोत्र र प्रवर मान्दै आजभोली सिउना भनि कहलिएको ठाउँमा गएका हुन् । त्यस ठाउँमा रास्कोटी राजाको राज्य थियो । त्यहाँ रास्कोटी राजाको भान्से बाहुन भई बसे । यहाँका सञ्ज्यालहरूले मुख्य रजवाली देवता शिवनाथ मान्दछन् । उनको पूजा आजा अनन्त चतुर्दशीका दिनमा गर्दछन् । कालिकोट जिल्लाका जन्म दाता तथा पूर्व मन्त्री धर्मदत्त उपाध्यायटिकापुर नगरपालिकाका पूर्व मेयर रत्न प्रसाद सञ्ज्यालको यसै खानदानमा जन्म भएको हो । सान्नीबाट सिउना गएर बसेका सञ्ज्यालहरू अहिले नेपालको विभिन्न ठाउँहरूमा छरिएर रहेका छन् ।[१]

तोलिभिंडका सञ्ज्यालहरू[सम्पादन गर्ने]

सान्नीमा रास्कोटी ठकुरीको र सन्यालको संयुक्त राज्य हुँदाको समयमा पहिले राजाको र सन्यालको मित्रता थियो । ठकुरीहरूले सन्यालमाथी अन्याय गरेकाले त्यो मित्रता केही समय पछि विग्रियो । कालजैसी नामका सन्यालको एक भाईको ठकुरीसँग मित्तेरी रहेको थियो । त्यै भएर उनका अरु भाईहरूले हाम्रा शत्रुहरूसँग तेरो मित्तेरी छ हामी तँलाई अंश दिन्नौ भनेर वि.सं. १५०० सालमा कालजैसीलाई भाईहरूले घरबाट निकाले । दाजुहरूले घरबाट निकालेका कारण कालजैसीले भगुवा (जोगीहरूको वस्त्र) पहिरी खरानी घसेर सान्नीको घरबाट निस्किए । काल जैसी घरबाट निस्किएर जाँदा उनको झोलीमा एक घाँट आएर बसेको रहेछ । काल जैसीले बाटोमा जती ठाउँमा झोली खोले त्यती ठाउँमा त्यो घाँटलाई भुईंमा राखि छोड्दा पनि घाँट (घण्टा) झोलीमा नै पसेको हुन्थ्यो । कालजैसी सान्नीबाट हिंडेर आजभोलीको बोलुगाउँ उतिखेरको पाँगर पानी भन्ने ठाउँमा पुगे । जतिखेर पनि घाँट झोलीमा पस्ने भएकाले कालजैसीले त्यसै ठाउँमा ६ महिनासम्म कुल देवताको तपस्या गरेर बसे । दिन भरी गाउँमा गएर भिक्षा मागी ल्याउने र साँझ त्यही पाँगर पानीमा घुँडाको चुलो बनाएर भात पकाएर खान्थे । त्यो बेला पाँगर पानीको पारीपट्टी स्ववंशी राजाको दरबार थियो । कालजैसी बिहान भिक्षा माग्न जाने बेलामा आफ्नो कुटीमा तोरी छरेर जान्थे भने गाउँबाट बेलुका फर्केर आउँदा तोरी साग खाने भएको हुन्थ्यो । उनी गाउँबाट ल्याएको भिक्षा र त्यही साग घुँडाको चुलोमा पकाएर खान्थे । त्यो तपस्याबाट देवता प्रकट भई काल जैसी देवता समान भए । आजभोली पनि रमाल मष्टो देवता प्रकट भएमा यस्तो तोतर काट्छ:- [१]

"ढँडार छुट्याछौं, पाखान फुट्याछौं, उहिदेखी आयाछौं विनायक डाँडा, भाई जो भेटी जो अल्याछौं, उहीदेखी आयाँर सान्नी हो डाँडाय काला हो पातल पुगी जो गयाछौं, रमाइलो मानी जो गयाछौं जौंला हो टाँगाय रोजीजो अल्याछौं, काल्याका झोलीउँदो पसि जो गयाछौं, पाँगर पानियं रोजी जो अल्याछौं, छकाल्या बोयाको सर्सिय बासाका भोर्जन रामराम"

पाँगर पानीमा कुटी बनाएर बसी तपस्या गर्ने कालजैसीको खबर स्ववंशी राजाले सुने । स्ववंशी राजाले काल जैसीको परिक्षण गर्न एक भैंसीको सिंगमा धागो बाँधेर त्यो धागोको टुप्पो काल जैसी बसेको ठाउँमा पठाए । काल जैसीले धागोको टुप्पो समातेर यो धागो भैंसीको सिंगमा बाँधेको छ भने । त्यो सुनेर राजाले कालजैसीको अर्को परिक्षण गर्न आफ्नी गर्भवती रानीको दायाँ हातमा धागो बाँधेर फेरी त्यो धागो टुप्पो कालजैसी भएको ठाउँमा पठाए । राजाले "यो धागो चिन्यो भने त्यसलाई केही नगर्नु यदी चिनेन भने त्यसलाई यहाँबाट धपाइदिनु" भनेका थिए । त्यो धागोको टुप्पो समातेर काल जैसीले यो गर्भवती रानीको दायाँ हातमा बाँधेको धागो हो भने । त्यो सुनेर राजाले कालजैसी साँच्चिकै सिद्ध पुरुष रहेछन् भन्ने थाह पाए । काल जैसीलाई दरबारमा बोलाएर सोधपुछ गर्दा बाहुन भएको थाह पाएपछि उनलाई आफ्नो भान्से बाहुन बनाएर राखे । राजाले काल जैसीलाई सन्यासी छोडेर गृहस्थी हुने आग्रह गर्दै जग्गा जमिन पनि दिए । स्ववंशी राजाले कालजैसीको विवाह पनि गरिदिए । त्यसरी गृहस्थी भएर बसेका काल जैसीका सन्तानहरू तोलिभींडमा बढ्दै गए । अहिले कालजैसीका सन्तानहरू कोलिकोटको डाँडा तोलीभिंड, खोला तोलिभिंड, बयाला, खडतोली, डुग्रीकोट र टुडीखेतका साथै नेपालको विभिन्न भू-भागहरूमा छरिएका छन् ।[१]

भर्ताका सञ्ज्यालहरू[सम्पादन गर्ने]

सान्नीबाट कुनै समयमा सञ्ज्यालका सन्तान विद्या पाध्याय रास्कोटी राजा जलाल ठकुरीका भान्से बाहुन भएर भर्ता आएका हुन् । जहाँ सन्यालको छाइलो, त्यहाँ रास्कोटीको पाइलो भन्ने उखान हाम्रो गाउँघरमा अझैं विद्यमान रहेको छ । त्यसैले भर्ता कोटका राजा रास्कोटी जलाल ठकुरीले विद्यापाध्यायलाई आफ्नो भान्से बाहुन बनाएर भर्ता ल्याएका थिए । अहिले भर्तामा विद्या पाध्यायका सन्तानहरू ६० घर धुरी छन् । यिनीहरू आफुलाई धिताल लेख्दछन् ।[१]

दुल्लु सानगाउँका सञ्ज्यालहरू[सम्पादन गर्ने]

हाल दैलेख जिल्लाको दुल्लु सानगाउँ बस्ने सन्यालहरू १९२१ सालमा भर्ताबाट रुद्रमणी र त्यहाँका ठकुरीसँग झगडा हुँदा त्यहाँ बस्न मन नगरी दुल्लु सानगाउँमा बस्ती बस्न आएका हुन् । अहिले रुद्रमणीका सन्तानहरू कैलाली जिल्लाको विभिन्न ठाउँहरूमा समेत बसोवास गर्दै आएका छन् ।[१]

जुम्ला सिंजाका सञ्ज्यालहरू[सम्पादन गर्ने]

करिब २०० वर्ष पहिले सान्नीबाट सन्यालका सात भाई मध्य जेठा बाणचक्र उपाध्याय भाईसँग म जुम्ला तिर घुम्न जान्छु भनेर विदा मागी गए । घुम्दा घुम्दै जुम्लाको पाण्डव गुफामा बास बस्न पुगे । त्यहाँको चालचलन बुझ्दा उन मन परेकोले त्यहीं बसेर ज्योतिषी गर्न थाले । उनको ज्योतिषी निकै चर्चामा आएपछि समाले गाउँका राजाले थाह पाए । राजाले आफ्नी गर्भवती रानीको हातमा धोगो बाँधेर त्यो धागोको टुप्पो ज्योतिष बाणचक्र बस्ने पाण्डव गुफामा पठाए । ज्योतिषले त्यो धागोको अध्यायन गरेर रानीको गर्भबाट छोरा जन्मिने छ तर त्यो छोराको ग्रह नराम्रो हुनाले यदी राजाले यो ठाउँ नछोडेमा राजालाई पिर्ने छ भने । ज्योतिषको कुरामा विस्वास गरेर राजाले त्यो ठाउँ छोडेर अन्तै गए । राजाले छोडेर गएको थाह पाएपछि बाणचक्र पाण्डव गुफा छोडी त्यही समालेगाउँमा गएर बस्नुका साथै त्यो राज्यको कामकाज आफै सम्हाले । त्यो गाउँको नाम पनि परिवर्तन गरेर सन्यालबाडा राखे । हाल बाणचक्रका सन्तानहरू जुम्लाको सन्यालबाडा लगायत बर्दिया, सुर्खेतबाँके जिल्लाको विभिन्न ठाउँहरूमा बस्दछन् । [१]

बाजुरा धाडाकोटका सञ्ज्यालहरू[सम्पादन गर्ने]

अछाम जिल्लाको ढाँकुदेखी वशिष्ठ गोत्रवाला बिष्ट धाडाकोटमा गई बसोवास गरेपछि केही पुस्ता वित्यो । निज बिष्टको सन्तानमा अति शक्तिशाली पिर्जुराहा बिष्ट नामको व्याक्ति थिए । पिर्जुराहको घरमा अथाह सम्पती उडेर आएको थियो । त्यस्तो उडेर आएको सम्पती खान र प्रयोग गर्नु भन्दा यो धनलाई लगेर जगनाथपुरीको थाली भर्ने मन गरी पिर्जुराहा जगनाथपुरी जान हिंडे । सान्नीमा पुग्दा त्यहाँ साना केटाकेटीहरू भट्यौला खन्दै थिए । एक केटाले मैले धेरै ठुलो भटिउला भेटाएँ भनेर साथीलाई देखायो । त्यो सुनेर सन्यालका छोरा जयभद्रले भने -"तैंले निकै भेटाइस् पिर्जुराहाले धन भेटाए" । यो शब्द सुनेर पिर्जुराहा बिष्टलाई अचम्म भयो । उनले त्यहाँ भएका केटाकेटीहरूसँग यो को हो, कसको छोरो हो, मेरो नाम कसरी लियो ? भनेर सोधे । यो सुन्दा केटाकेटीहरूले भनेछन् यो जयभद्र नामको उपाध्याय बाहुनको छोरो हो । त्यसपछि पिर्जुराहले त्यो ठाउँमा बुको मुँग्राहा (पानि नभएको ठाउँमा ढुङ्गे धारो) बनाएर भाका गरे - "हे जगनाथ ठाकुर ज्यु ! साँच्चै मेरो कुलको उद्धार हुने रहेछ र मेरो कामना पुरा हुने रहेछ भने म फर्किने बेलामा यो धारामा पानीको मुल फुटेको देखियोस् र यो बाहुनको छोरो यहीं भेट्टियोस्" भन्ने सत्य कबोल गरी गए । पिर्जुराहा पैदल यात्रा गरेर जगनाथ पुरी पुगेर ६ महिनामा फर्कदा त्यो ठाउँमा पानिको मुल पनि फुटेको भेटाए र जयभद्रलाई पनि त्यहीं भेटाए । यो देखेर पिर्जुराहाले ति जयभद्रलाई जगनाथ ठाकुरजीको पूजारी भनी काँधमा बोकेर लगे । यसरी जयभद्रलाई चोरेर पिर्जुराहाले बाजुरा जिल्लाको धाडाकोटमा पुराए । धाडाकोटको यजमानी र त्यहाँका देवी देवताका पूजाको जिम्मा लगाएर राखे । अहिले जयभद्रका सन्तानहरू धाडाकोट लगायत नेपालका विभिन्न भू-भागमा छरिएर रहेका छन् ।[१]

मुगु रिगा गाउँका सञ्ज्यालहरू[सम्पादन गर्ने]

सान्नीबाट कुनैबेला मुगु जिल्लाको रिगा गाउँमा जाने सञ्ज्यालहरूका पुर्खा खडक जैसी र कल्चुपाध्याय हुन् । कुन के काम विषयले गएका हुन् त्यसको सत्य तथ्य विवरण थाह हुन सकेको छैन । [१]

बाजुरा वाईका सञ्ज्यालहरू[सम्पादन गर्ने]

बाजुरा जिल्लाको वाइ भन्ने ठाउँमा गौतम गोत्री सञ्ज्यालहरू सान्नीबाट चिन्तामणी जैसी गएका हुन् र अहिले वाइमा चिन्तामणी सञ्ज्यालका सन्तानहरूको वस्ती छ । चिन्तामणी बाजुरा जाँदा राजा यक्ष मल्लले लाटा बाहुनको गुठी समेत सुम्पी त्यहाँको पुजारी बनाएको प्रमाणहरू भेटिएका छन् ।[१]

बाजुरा साप्पाटाका सञ्ज्यालहरू[सम्पादन गर्ने]

सान्नीबाट कुनै बखत सन्यालका पुर्खा सान्नी बस्ने मन नगरी साप्पाटा आएका हुन् । [१]

कालिकोट लुसाका सञ्ज्यालहरू[सम्पादन गर्ने]

सान्नीबाट सन्यालहरूको विभाजन हुँदा कुनै बेला रकु गाविसको लुसाँ भन्ने ठाउँमा सञ्ज्यालहरूको वस्ती रहँदै आएको छ ।[१]

सञ्ज्यालहरूको संस्कृती[सम्पादन गर्ने]

सञ्ज्यालहरू गौतम गोत्री, हिन्दू ब्राह्मण भएकाले यिनीहरू हिन्दू परम्पराका सबै चाड पर्वहरू, संस्कारहरू मान्ने गर्दछन् । विभिन्न ठाउँमा छरिएर बसेका हुनाले केही अंश बाह्य संस्कृती पनि सन्यालहरूमा भित्रिएको छ । दशैं, तिहार, माघे सङ्क्रान्ति, चैते दशैं, जेठ पुर्णी, मालिका चतुर्दशीअनन्त चतुर्दशी सञ्ज्यालहरूका मुख्य चाड पर्वहरू हुन् । कालिका, मालिका, नैनेल र १२ मष्टा, सञ्ज्यालहरूका कुल देवता हुन् । सञ्ज्यालहरू चाडवाडमा र उत्सवहरूमा देउडा, धमारी, रत्यौली गरेर रमाइलो गर्छन् । धेरै जसो सञ्ज्यालहरू कर्णाली नदीको सेरोफेरोमा बसेको र कर्णाली नदीलाई चिहान घाट बनाएको पाइन्छ । जिउँदामा यत्रतत्र छरिएर बसेपनि मरीसकेपछि सञ्ज्यालका पुर्खाका अस्थीहरू कर्णाली नदीमा गएर एकै ठाउँमा मिसिएका छन् ।

पुनश्च:- नेपाली थर गोत्र प्रवर कोषका लेखक श्रीहरी रुपाखेतीले नेपाली थर गोत्र प्रवर कोषमा संजेलको गोत्र कौशिकप्रवर वैशामित्र, दैवरात र औदल्या, त्रिप्रवर र सन्देल/सन्नेल/सन्यालहरूको अत्री गोत्र र आत्रय, आर्चनाश्य, स्यावास्व त्रिप्रवर हो भनेर उल्लेख गरेको पाइयो तर कालिकोट जिल्लाको सान्नी भन्ने ठाउँबाट फुटेर अन्यत्र जतासुकै गएका सन्यालहरूको गौतम गोत्र त्रिप्रवर हो । यसमा कोही कसैले कुनै पनि प्रकारको भ्रम नपरोस् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ १.१८ १.१९ १.२० १.२१ १.२२ १.२३ १.२४ १.२५ १.२६ १.२७ १.२८ १.२९ १.३० १.३१ १.३२ १.३३ १.३४ १.३५ १.३६ १.३७ १.३८ १.३९ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पुस्तक " गौतम गोत्र वंश परिचय" पहिलो संस्करण लेखक देविदास सञ्ज्याल

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यि पनि हेर्नुहोस्[सम्पादन गर्ने]