सामग्रीमा जानुहोस्

सदाशिव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सदाशिव
परब्रह्म, सर्वोच्च सत्ता
आदि - परम सत्य
अनुग्रह, तिरोधान, सृष्टि, स्थिति, संहारसमयका देवता
पश्चिम बङ्गालबाट प्राप्त सदाशिवको मूर्ति, ११औँ शताब्दी
देवनागरीसदाशिवम्
आबद्धपरमेश्वर, शिव, रुद्र, महाकाल, पशुपति, बटार गुरु
वासस्थानसदाख्य तत्व, कैलाश पर्वत
मन्त्रपञ्चाक्षरी मन्त्र
अस्त्रत्रिशूल
प्रतीकहरूमुखलिङ्ग
चाडपर्वहरूमहाशिवरात्रि
रानीआदि पराशक्ति (शैव धर्म अनुसार)

सदाशिव हिन्दु धर्मको शैव सिद्धान्त परम्परामा देवताहरूका राजा वा सर्वोच्च सत्ता हुन्। सदाशिव सर्वशक्तिमान, सूक्ष्म र देदीप्यमान ब्रह्म हुन् जसलाई शिवको उच्चतम अभिव्यक्तिका रूपमा मानिन्छ। सदाशिवले 'अनुग्रह' र 'विलय' (तिरोधान) प्रदान गर्ने विश्वास गरिन्छ, जुन शिवका 'पञ्चकृत्य' (पाँच पवित्र कार्य) मध्ये चौथो र पाँचौँ कार्य हुन्। सदाशिवलाई सामान्यतया पाँच मुख र दस हात भएको देवताको रूपमा चित्रण गरिन्छ र उनलाई शिवका '२५ रूपहरू' मध्ये एक मानिन्छ। शैव सिद्धान्त र आगम शास्त्रहरूका अनुसार, सदाशिवलाई शिवको सर्वोच्च र पञ्च-कृत्य (पाँच कार्य) गर्ने स्वरूप मानिन्छ। उनी निर्गुण ब्रह्म र सगुण ईश्वर बीचको पुल हुन्। शिव आगमहरूका अनुसार मुखलिङ्ग सदाशिवको अर्को रूप हो।[]

सदाशिवको अवधारणा र स्वरूपको विकास सुरुमा दक्षिण भारतबाट भएको मानिएतापनि सदाशिवका धेरै प्राचीन मूर्तिहरू भारतका विभिन्न भागहरू र दक्षिण-पूर्वी एसियामा पनि भेटिएका छन्।[] दक्षिण भारतमा आफ्नो उत्पत्ति भएको बताउने सेन वंशको शासनकालमा बङ्गाल क्षेत्रमा सदाशिवको उपासना व्यापक रूपमा फैलिएको विश्वास गरिन्छ।[] सदाशिवलाई सामान्यतया एकदेखि पाँचवटासम्म मुख भएका मुखलिङ्गको रूपमा चित्रण गरिन्छ। पाँच मुख भएको लिङ्गको रूपमा सदाशिवको पहिलो मूर्ति प्रयागराज नजिकैको भीटामा फेला परेको थियो जुन दोस्रो शताब्दीको मानिन्छ।[]

उनका पाँच मुखहरू—ईशान, तत्पुरुष, वामदेव, अघोरसत्योजात—लाई पञ्चब्रह्म (पाँच सृष्टिकर्ता) भनिन्छ जुन निराकार (निष्कला) परशिवबाट चार दिशा र माथितर्फ प्रकट भएका हुन्। २८ शिवागमहरूमध्ये पहिलो कामिग आगमले सदाशिवलाई पाँच मुख र दस हात भएको रूपमा वर्णन गरेको छ। उनका दाहिने पाँच हातहरूमा त्रिशूल, बन्चरो, खट्वाङ्ग, वज्रअभय मुद्रा रहेका छन् भने देब्रे पाँच हातहरूमा सर्प, मातुलुङ्ग फल, नीलोत्पल, डमरू, रुद्राक्षको माला र वरद मुद्रा रहेका छन्।[] सदाशिवकी शक्ति वा अर्धाङ्गिनी देवी महागायत्री हुन्, जसलाई आगमिक ग्रन्थहरूमा अक्सर 'मनोन्मणी' भनिन्छ।[][] कतिपय ठाउँमा उनलाई दुई हात भएकी र सदाशिवको काखमा विराजमान भएको रूपमा पनि चित्रण गरिएको छ।

सदाशिवका पाँच मुखहरूलाई कहिलेकाहीँ महादेव, पार्वती, नन्दी, भैरव र स्वयम् सदाशिवसँग पनि जोडेर हेरिन्छ।[] सदाशिवका दस हातहरूले दश दिशाको प्रतिनिधित्व गर्दछन्।[] सदाशिवसँग सम्बन्धित यी विवरणहरू कामिक आगम[] र विष्णुधर्मोत्तर पुराणबाट सङ्कलन गरिएका हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Srinivasan (1997), p. 272.
  2. 1 2 3 Sharma (1976).
  3. Mazumdar (2008).
  4. 1 2 Sivacharya (2012).
  5. Stutley (2006).
  6. 1 2 Hāṇḍā (1992).
  7. Rao (1988).