सदाशिव
| सदाशिव | |
|---|---|
पश्चिम बङ्गालबाट प्राप्त सदाशिवको मूर्ति, ११औँ शताब्दी | |
| देवनागरी | सदाशिवम् |
| आबद्ध | परमेश्वर, शिव, रुद्र, महाकाल, पशुपति, बटार गुरु |
| वासस्थान | सदाख्य तत्व, कैलाश पर्वत |
| मन्त्र | पञ्चाक्षरी मन्त्र |
| अस्त्र | त्रिशूल |
| प्रतीकहरू | मुखलिङ्ग |
| चाडपर्वहरू | महाशिवरात्रि |
| रानी | आदि पराशक्ति (शैव धर्म अनुसार) |
सदाशिव हिन्दु धर्मको शैव सिद्धान्त परम्परामा देवताहरूका राजा वा सर्वोच्च सत्ता हुन्। सदाशिव सर्वशक्तिमान, सूक्ष्म र देदीप्यमान ब्रह्म हुन् जसलाई शिवको उच्चतम अभिव्यक्तिका रूपमा मानिन्छ। सदाशिवले 'अनुग्रह' र 'विलय' (तिरोधान) प्रदान गर्ने विश्वास गरिन्छ, जुन शिवका 'पञ्चकृत्य' (पाँच पवित्र कार्य) मध्ये चौथो र पाँचौँ कार्य हुन्। सदाशिवलाई सामान्यतया पाँच मुख र दस हात भएको देवताको रूपमा चित्रण गरिन्छ र उनलाई शिवका '२५ रूपहरू' मध्ये एक मानिन्छ। शैव सिद्धान्त र आगम शास्त्रहरूका अनुसार, सदाशिवलाई शिवको सर्वोच्च र पञ्च-कृत्य (पाँच कार्य) गर्ने स्वरूप मानिन्छ। उनी निर्गुण ब्रह्म र सगुण ईश्वर बीचको पुल हुन्। शिव आगमहरूका अनुसार मुखलिङ्ग सदाशिवको अर्को रूप हो।[१]
चित्रण
[सम्पादन गर्नुहोस्]सदाशिवको अवधारणा र स्वरूपको विकास सुरुमा दक्षिण भारतबाट भएको मानिएतापनि सदाशिवका धेरै प्राचीन मूर्तिहरू भारतका विभिन्न भागहरू र दक्षिण-पूर्वी एसियामा पनि भेटिएका छन्।[२] दक्षिण भारतमा आफ्नो उत्पत्ति भएको बताउने सेन वंशको शासनकालमा बङ्गाल क्षेत्रमा सदाशिवको उपासना व्यापक रूपमा फैलिएको विश्वास गरिन्छ।[३] सदाशिवलाई सामान्यतया एकदेखि पाँचवटासम्म मुख भएका मुखलिङ्गको रूपमा चित्रण गरिन्छ। पाँच मुख भएको लिङ्गको रूपमा सदाशिवको पहिलो मूर्ति प्रयागराज नजिकैको भीटामा फेला परेको थियो जुन दोस्रो शताब्दीको मानिन्छ।[२]
उनका पाँच मुखहरू—ईशान, तत्पुरुष, वामदेव, अघोर र सत्योजात—लाई पञ्चब्रह्म (पाँच सृष्टिकर्ता) भनिन्छ जुन निराकार (निष्कला) परशिवबाट चार दिशा र माथितर्फ प्रकट भएका हुन्। २८ शिवागमहरूमध्ये पहिलो कामिग आगमले सदाशिवलाई पाँच मुख र दस हात भएको रूपमा वर्णन गरेको छ। उनका दाहिने पाँच हातहरूमा त्रिशूल, बन्चरो, खट्वाङ्ग, वज्र र अभय मुद्रा रहेका छन् भने देब्रे पाँच हातहरूमा सर्प, मातुलुङ्ग फल, नीलोत्पल, डमरू, रुद्राक्षको माला र वरद मुद्रा रहेका छन्।[४] सदाशिवकी शक्ति वा अर्धाङ्गिनी देवी महागायत्री हुन्, जसलाई आगमिक ग्रन्थहरूमा अक्सर 'मनोन्मणी' भनिन्छ।[५][६] कतिपय ठाउँमा उनलाई दुई हात भएकी र सदाशिवको काखमा विराजमान भएको रूपमा पनि चित्रण गरिएको छ।
पाँच मुख
[सम्पादन गर्नुहोस्]सदाशिवका पाँच मुखहरूलाई कहिलेकाहीँ महादेव, पार्वती, नन्दी, भैरव र स्वयम् सदाशिवसँग पनि जोडेर हेरिन्छ।[७] सदाशिवका दस हातहरूले दश दिशाको प्रतिनिधित्व गर्दछन्।[६] सदाशिवसँग सम्बन्धित यी विवरणहरू कामिक आगम[४] र विष्णुधर्मोत्तर पुराणबाट सङ्कलन गरिएका हुन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Srinivasan (1997), p. 272.
- 1 2 3 Sharma (1976).
- ↑ Mazumdar (2008).
- 1 2 Sivacharya (2012).
- ↑ Stutley (2006).
- 1 2 Hāṇḍā (1992).
- ↑ Rao (1988).