सन् १९८९ को तियानआन्मेन चोकको आन्दोलन र हत्याकाण्ड
| 1989 Tiananmen Square protests and massacre | |||
|---|---|---|---|
| सन् १९८९ को चिनियाँ गणतान्त्रिक आन्दोलनको भाग | |||
| मिति | १५ अप्रिल १९८९ – ४ जुन, १९८९ (१ महिना, २ हप्ता र ६ दिन) | ||
| स्थान | बेइजिङ देशव्यापी ४०० सहरहरूमा | ||
| कारण |
| ||
| लक्ष्य | "भ्रष्टाचारमुक्त कम्युनिस्ट पार्टी", प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता | ||
| विधि | अनशन, अवरोध, दङ्गा, विरोध प्रदर्शन, नागरिक अवज्ञा | ||
| |||
| नागरिक द्वन्द्वका पक्षहरू | |||
| |||
| नेतृत्व आंकडा | |||
| |||
| हाताहात | |||
| मृत्यु(हरू) | २४१-२,६०० | ||
| घाइते | ७,०००-१०,००० | ||
सन् १९८९ को तियानआन्मेन चोकको आन्दोलन र हत्याकाण्डले (चिनियाँ: 六四事件) सन् १९८९ अप्रिल १५ देखि जुन ४ सम्म विद्यार्थीहरूको नेतृत्वमा भएका सडक प्रदर्शन तथा आन्दोलन र उक्त आन्दोलनलाई दबाउने प्रयास गर्दा भएका हत्याहरूलाई बुझाउँछ जुन देशको राजधानी सहर बेइजिङ अवस्थित तियानआन्मेन चोकमा घटेको थियो। प्रदर्शनकारीहरू र चिनियाँ सरकारबीच शान्तिपूर्ण समाधान खोज्ने क्रममा एकसाता बितिसक्दा पनि सबै प्रयासहरू असफल भएसँगै चिनियाँ सरकारले ३ जुनको रात चोक कब्जा गर्न सैनिक खटाएको थियो भने सरकारको यस दमनबाट उब्जिएको परवर्ती घटना र नरसंहारलाई तियानआन्मेन चोक नरसंहारको रूपमा चिनिन्छ। जनआन्दोलनका यी घटनाहरूलाई कहिलेकाहीँ सन् १९८९ को गणतान्त्रिक आन्दोलन, तियानआन्मेन चोक घटना, वा तियानआन्मेन विद्रोह भनेर पनि भनिन्छ।
सन् १९८९ अप्रिल १५ का दिन चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा सुधार समर्थक नेता हु याओपाङको मृत्यु पश्चात् जनआन्दोलनका घटनाहरू बढेका थिए। माओ शासनकाल पछिको चीनमा तीव्र आर्थिक विकास र सामाजिक परिवर्तनको पृष्ठभूमिमा जनता र राजनीतिक अभिजात वर्गका नेताहरू देशको भविष्यप्रति चिन्तित थिए। तत्कालीन समयको सामान्य गुनासाहरूमा मुद्रास्फीति, भ्रष्टाचार, नयाँ अर्थव्यवस्थाको लागि स्नातकहरूको सीमित तयारी र राजनीतिक सहभागितामा प्रतिबन्धहरू जस्ता विषयहरू समावेश थिए। आन्दोलनरत विद्यार्थीहरू अत्यन्त अव्यवस्थित र फरकफरक लक्ष्य लिएर आन्दोलन गर्न आएका भएतापनि उनीहरूले जागिर सुनिश्चितता, जवाफदेहिता, संवैधानिक प्रक्रिया, लोकतन्त्र, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता जस्ता मागहरू अघि सारेका थिए। मजदुरहरूको विरोध प्रायः मुद्रास्फीति र कल्याण ह्रासको विषयमा केन्द्रित थियो। यी आन्दोलनरत समूहहरू भ्रष्टाचार विरुद्धको माग, आर्थिक नीति समायोजन र सामाजिक सुरक्षा संरक्षणमा एकजुट भएका थिए। विरोधको चरम समयमा लगभग १० लाख मानिसहरू चोकमा भेला भएका थिए।
विरोध प्रदर्शनहरू बढ्दै गएपछि चिनियाँ अधिकारीहरूले आन्दोलनरत समूहसँग वार्ता गरि समाधान खोज्ने र कडा रणनीति आत्मसात गर्ने जस्ता क्रियाकलापहरू अघि बढे जसकारण पार्टी नेतृत्वभित्रको गहिरो विभाजन देखा परेको थियो। मे महिनासम्म, विद्यार्थी नेतृत्वको अनशनले देशभरबाट प्रदर्शनकारीहरूप्रतिको समर्थन प्राप्त गराउँदा देशका लगभग ४०० सहरहरूमा प्रदर्शन फैलिएको थियो। २० मे का दिन राज्य परिषद्ले सैन्य कानून घोषणा गरि लगभग ३,००,००० सैनिकहरू बेइजिङमा तैनाथ गरिएको थियो। सेना र प्रदर्शनकारीबीच केही हप्तासम्म भएको भिडन्त र तनावले दुवै पक्षबाट थुप्रै मानिसहरू गम्भीर रूपमा घाइते भएका थिए। १ जुनका दिन चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको बैठकले चोक खाली गर्ने निर्णय गरेको थियो। ४ जुनको बिहान सैनिकहरू बेइजिङको मुख्य मार्गहरूमा प्रवेश गरी प्रदर्शनकारीहरूलाई रोक्न खोज्दा दोहोरो भिडन्त हुन पुग्यो जसकारण थुप्रै सर्वसाधारण, प्रदर्शनकारी र सैनिकहरूको मृत्यु भएको थियो। यी भिडन्तहरूमा मृत्यु हुनेहरूको सङ्ख्या केही सयदेखि केही हजारसम्म अनुमान गरिएको छ भने अन्य हजारौँ मानिसहरू घाइते भएको अनुमान गरिन्छ।
