समशीतोष्ण जलवायु


भूगोलमा, पृथ्वीको समशीतोष्ण हावापानी मध्य अक्षांश (भूमध्यरेखाको लगभग २३.५° देखि ६६.५° उत्तर/दक्षिण)मा हुन्छ, जुन पृथ्वीको उष्णकटिबन्धीय र ध्रुवीय क्षेत्रहरू बीच फैलिएको हुन्छ।[१] यसले दुवै गोलार्धमा ३० देखि ६० अक्षांशसम्मको भूभाग समेट्दछ। यी क्षेत्रहरूमा सामान्यतया वर्षभरि फराकिलो तापक्रम दायरा हुन्छ र उष्णकटिबन्धीय जलवायुको तुलनामा बढी विशिष्ट मौसमी परिवर्तनहरू हुन्छन्, जहाँ यस्ता भिन्नताहरू प्रायः सानो हुन्छन्; तिनीहरू सामान्यतया वर्षाको मात्रामा मात्र फरक हुन्छन्।[२] समशीतोष्ण हावापानीमा, अक्षांश स्थितिले मात्र तापक्रम परिवर्तनलाई प्रभाव पार्दैन, तर विभिन्न समुद्री धाराहरू, प्रचलित हावाको दिशा, महाद्वीपीयता (भूभाग कति ठूलो छ) र उचाइले पनि समशीतोष्ण हावापानीलाई आकार दिन्छ।[३]
वर्षैभरी तातो र चिसोको समान अवस्था भई मानव जीवनका लागि अनुकूल रहेको यस क्षेत्रमा पर्याप्त मात्रामा वर्षासमेत हुन्छ। त्यसैले यहाँको जनसङ्ख्या बढी हुन्छ भने उत्पादन पनि राम्रो हुन्छ। विश्वको अधिकांश जनसङ्ख्या यसै क्षेत्रमा रहेको छ।। यो प्रदेश हावापानी, वनस्पति, मानव जाति र संस्कृतिलगायतका विविधताको क्षेत्र पनि क्षेत्रमा चार प्रकारका हावापानीका क्षेत्रहरू पर्दछन्।
प्रकारहरू
[सम्पादन गर्नुहोस्]भूमध्य सागरीय क्षेत्र
[सम्पादन गर्नुहोस्]उत्तरी गोलार्धमा ३० देखि ४५° अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४०° अक्षांशविचको महादेशको पश्चिमी भागमा यो हावापानी पाइन्छ । यहां ग्रीष्ममा गर्मी र शुष्क हुन्छ भने हिउँद ठन्डा र वर्षायुक्त हुन्छ। हिउँदमा समुद्री सतह भई आऊने बाफिलो वायुले वर्षा गराउँछ। यहाँ ग्रीष्म र हिउँद गरी दुई ऋतु हुन्छन् । भूमध्य सागर वरिपरिका युरोपका क्षेत्रहरू, दक्षिण र दक्षिण पश्चिम अस्ट्रेलिया, अमेरिकाको क्यालिफोर्निया, दक्षिण अमेरिकाको मध्य चिली यो हावापानी पाइने क्षेत्रहरू हुन् । यहाँ सुक्खाबाट बच्न वनस्पतिहरूका जराहरू लामा, चिल्लो सानापात र बाक्लो बोक्रायुक्त हुन्छन्। यहाँ अर्ध सदावहार र झाडीयुक्त वनस्पतिहरू पाइन्छन् । हिउँदमा पानी पर्ने हुँदा यो क्षेत्र रसिलो जातका फलफुलहरूका लागि उपयुक्त छ। प्रशस्त मात्रामा फलफुलको खेती र उत्पादन हुने हुनाले यस क्षेत्रलाई विश्वको फलफुलको बगैंचाको नामले पनि चिनिन्छ।
समशीतोष्ण तृणभूमि क्षेत्र
[सम्पादन गर्नुहोस्]उत्तरी गोलार्धमा ४५० देखि ६०° अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४०° अक्षांशबिचको महादेशको मध्यभागतिर यो हावापानी पाइन्छ। दक्षिणी रूस, पूर्वी युरोप, दक्षिण अफ्रिकाको उच्च समस्थली क्षेत्र, दक्षिण पूर्वी अस्ट्रेलिया, उत्तर अमेरिकाको मध्यभाग, दक्षिण अमेरिकाको दक्षिण पूर्वी भाग यो हावापानी पाइने मुख्य क्षेत्रहरू हुन्। ग्रीष्ममा गर्मी र हिउँद जाडो हुनु, महाद्विपको मध्यभाग तर्फको क्षेत्रमा फैलिएकाले सामुद्रिक प्रभाव कम पर्नाले थोरै वर्षा हुनु र हिउँदमा हिउँ पर्नु यो हावापानीका विशेषताहरू हुन्। विषम स्वभावको, कम वर्षायुक्त हावापानीको क्षेत्र भएकाले यहाँ ठुला जातका वनस्पतिहरू पाइँदैनन्। यस क्षेत्रमा प्रशस्त मात्रामा घाँसका ठुला ठुला मैदानहरू पाइन्छन्। यहाँ अति उर्वर माटो हुनाले गहुँ खेती राम्रो हुन्छ। समशीतोष्ण तृणभूमि क्षेत्रका घाँसे भूमिहरूलाई एसिया र युरोपमा स्टेप्स', उत्तर अमेरिकामा 'प्रेरिज' अर्जेन्टीनामा ‘पम्पास' र अस्ट्रेलियामा ‘डाउन्स' भनिन्छ।
समशीतोष्ण सामुद्रिक क्षेत्र
[सम्पादन गर्नुहोस्]उत्तरी गोलार्धमा ४५० देखि ६०° अक्षांशसम्म र दक्षिणी गोलार्धमा ४०० देखि ५०° अक्षांश बिचको महादेशको पश्चिम क्षेत्रमा यो हावापानी पाइन्छ । मानव स्वास्थ्यका लागि सारै उपयोगी यो हावापानी पश्चिम युरोप, पश्चिम क्यानडा, चिली, तस्मानिया टापु र दक्षिण न्युजिल्यान्डमा पाइन्छ। ग्रीष्ममा खासै गर्मी नहुने र हिउँद खासै जाडो नहुने यो हावापानी सारै मनोरम र स्वस्थकर छ। यस क्षेत्रमा सामुद्रिक प्रभावले बर्सेभरि पानी परिरहन्छ। समशीतोष्ण सामुद्रिक चक्रवात र पश्चिमी वायु यो क्षेत्रमा वर्षा गराउने कारकहरू हुन्। मिश्रित वनस्पति रहने यस क्षेत्रको पहाडी भागमा कोणधारी वन र मैदानी भागमा पतझड वन पाइन्छन्।
समशीतोष्ण मौसमी क्षेत्र
[सम्पादन गर्नुहोस्]उत्तरी गोलार्धमा ३० देखि ४५° अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४०° अक्षांशविचको महादेशको पूर्वी भागमा यो हावापानी पाइन्छ। एसियाको पूर्वी खण्ड, अमेरिकाको दक्षिण पूर्वी खण्ड र अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा यो हावापानी फैलिएको छ। चीनको पूर्वी क्षेत्रमा विस्तृत रूपमा फैलिएकाले यो हावापानीलाई 'चिनियाँ हावापानी' पनि भनिन्छ। यस क्षेत्रमा ग्रीष्ममा गर्मी र हिउँदमा जाडो हुने, ग्रीष्ममा सामुद्रिक मनसुनद्वारा वर्षा हुने र हिउँदमा सुक्खा रहने गर्छ। वर्षा धेरै हुने क्षेत्रमा पतझड वन र कम वर्षा हुने क्षेत्रमा झाडी एवम् घाँसहरू पाइ इन्छन्। यस क्षेत्रमा रेसम उत्पादनका लागि उपयोगी वनस्पतिहरू प्रशस्त मात्रामा पाइन्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Weather & Climate Change: Climates around the world", Education Scotland, मूलबाट १४ अप्रिल २०१६-मा सङ्ग्रहित।
- ↑ "Tropics", National Geographic Society (अङ्ग्रेजीमा), २०११-०१-२१, अन्तिम पहुँच २०२२-०३-२७।
- ↑ "What Are the Forty Factors That Influence OurWeather?", Education – Seattle PI, १९ डिसेम्बर २०१३, मूलबाट १२ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०३-२७। वेब्याक मेसिन अभिलेखिकरण १२ मे २०२२ मिति