सर्वमंगला उच्च माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सर्वमंगला उच्च माध्यमिक विद्यालय काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल गाविसको वडा नम्बर ४ अग्लेकोटमा अवस्थित उच्च माध्यमिक विद्यालय हो । यस विद्यालयको प्राथमिक स्तरको सेवा क्षेत्रभित्र तामाघाट, दुलालथोक, काफ्लेडिही, बानियाडिही, लामिडिही, जनताडिही र सल्लेनी गैरा गाउँहरू पर्दछन् । माध्यमिक तथा उच्च माध्यमिक तहमा पाँचखाल लगायत अनेकोट, होक्से, जैसिथोक गाविसका विभिन्न गाउँहरूबाट विद्यार्थीहरू अध्ययन गर्न आउँछन् । यस क्षेत्रमा ब्राम्हण, क्षेत्री, दशनामी, दनुवार, तामाङ, सार्की, कामी, दमाई, घर्ती, मगर, गुरुङ जातिहरू बसोबास गरेको पाइन्छ । यस क्षेत्रका झण्डै ९०% मानिसहरू कृषी पेशामा निर्भर छन् ।

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

विसं १९९७ तिर संस्कृत शिक्षा तथा कर्मकाण्ड अध्यापन गराउने उद्देश्यले स्थापित जोरपाटी भाषा पाठशाला नै यस क्षेत्रको प्रथम सरकारी स्वीकृती प्राप्त संस्था हो । उक्त पाठशाला हिउँदमा पाँचखाल गाविस ५ मा पर्ने जोरपाटीमा र वर्षामा मुढुपानीमा सञ्चालन हुन्थ्यो । पाठशालामा केदारनाथ अर्याल, बुद्धिनाथ सापकोटा र जगन्नाथ सापकोटाले अध्यपन गर्नुभएको अभिलेखमा पाइन्छ । विसं २००७ को परिवर्तन पश्चात देशभर विद्यालयहरू खुल्ने लहर चल्यो । जोरपाटीमा सञ्चालन भएको विद्यालय यथावत चलिरह्यो र आसपासका गाउँहरूमा पनि विद्यालयहरू खुल्दै गए । जोरपाटी भाषा पाठशालाको जगमा पाँचखाल-५ जोरपाटीमा सञ्चालनमा रहेको विद्यालयको विसं २०२० फागुनमा सर्वमंगला विद्या मन्दिर हाइस्कुल नामाकरण गरी अङ्ग्रेजी शिक्षासहितको प्राइमरी, मिडिल र हाइस्कुल तहका पढाइ सुचारू गरियो । २०२८ सालमा परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्न ल्याइएको राष्ट्रिय शिक्षा पद्धतिको योजना यस जिल्लामा विसं २०२९ बाट लागु भएपछि यो विद्यालयको नाम सर्वमंगला माध्यमिक व्यावसायिक विद्यालय भयो । सिमित वार्षिक सरकरी आर्थिक सहायता र बाँकी स्थानीय स्रोतबाट सञ्चालन हुँदै आएको विद्यालय २०२९ सालपछि विषयगत दरवन्दीसहितका शिक्षकहरूको नियुक्ति हुन थाले पछि शिक्षकको तलब भत्ता समेत समुदायले बेहोर्नु पर्ने अवस्थाको अन्त्य हुन पुग्यो र विद्यालय व्यवस्थित रूपमा पर्याप्त शिक्षकहरू सहित सञ्चालन हुन थाल्यो । २०३८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजनाको मध्यावधि मुल्याङ्कन पश्चात विद्यालयको वर्गीकरणको अन्त्य भएपछि यो विद्यालय सर्वमंगला माध्यमिक विद्यालयको नाममा सञ्चालन हुन गयो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. सर्वमंगला स्वर्ण सौगात २०६९ (पुस्तक), विद्यालय प्रतिवेदन, दामोदर अधिकारी