सर्व-अरबवाद



सर्व-अरबवाद (अरबी:الوحدة العربية) लिप्यन्तरण:अल-वादह अल-अरबिया, (अनुवाद:अरब एकता), सबै अरबी जनताहरूलाई एकीकृत गरि एकल राष्ट्र निर्माण गर्ने लक्ष्य राखेको एक सर्व-राष्ट्रिय विचारधारा हो। आन्ध्र महासागरदेखि अरब सागरसम्मको क्षेत्र समावेश गरि राष्ट्र निर्माणको लक्ष्य राखेको यस विचारधारा अन्तर्गत पश्चिमी एसिया र उत्तरी अफ्रिकाका सबै अरब देशहरू समावेश छन् जसलाई अरब विश्वको रूपमा चिनिन्छ।[१][२] यस विचारधाराको अरब राष्ट्रियतासँग नजिकको सम्बन्धित रहेको र यसले अरबहरूले एकल राष्ट्र निर्माण गर्दछ भन्ने विचारको समर्थन गर्दछ। यो विचारधारा उस्मानी साम्राज्यको अरब क्षेत्रहरूमा १९औँ शताब्दीको अन्त्यतिर जन्मिएको हो भने यसको लोकप्रियता सन् १९५० र १९६० को दशकमा नास्सेरवाद र बाथवादको उच्च बिन्दुमा पुगेको थियो। सर्व-अरबवादका समर्थकहरूले प्रायः अरब समाजवादी सिद्धान्तहरूलाई समर्थन गरी अरब संसारमा पश्चिमी विश्वको राजनीतिक हस्तक्षेपको कडा विरोध गरेका छन्। यसले अरब राज्यहरूलाई बाह्य शक्तिहरू विरुद्ध सशक्त बनाउने उद्देश्यले अरब लिग जस्ता गठबन्धनहरू निर्माण गर्न पनि खोजेको थियो।
उत्पत्ति र विकास
[सम्पादन गर्नुहोस्]सर्व-अरबवादको उत्पत्तिलाई अल-नह्दा (अरब जागरण वा प्रतिबोधन) आन्दोलनसँग सम्बन्धित रहेको मानिन्छ जुन १९औँ शताब्दीको अन्त्यतिर अटोमन साम्राज्यका अरब क्षेत्रहरूबाट फस्टाएको थियो।[३] सर्व-अरबवादको बौद्धिक आधार तयार पार्न महत्वपूर्ण भूमिका खेल्नेहरू मध्येका प्रमुख व्यक्ति जुर्जी जयदन थिए जसले विभिन्न देशहरूमा स्थानीय भाषा तथा भाषिकाहरू अपनाउनुको सट्टा उनकै कुरानी अरबी भाषाको आधुनिकीकृत संस्करणलाई (आधुनिक मानक अरबी) सम्पूर्ण अरब विश्वमा सार्वभौमिक लेखित तथा आधिकारिक भाषा मान्न महत्वपूर्ण प्रभाव पारेका थिए।[४] उनले २०औँ शताब्दीको प्रारम्भमा धेरै लेखहरू लेखेका थिए जसले मगरेबदेखि फारसको खाडीसम्म फैलिएका अरबी भाषी क्षेत्रहरू एउटै साझा राष्ट्रिय चेतनासहितको मानव समुदाय हुन् र यो भाषिक सम्बन्ध धार्मिक, जातीय तथा निश्चित भौगोलिक सम्बन्धभन्दा माथि रहेकोमा जोड दिएका थिए। उनले आफ्नो ऐतिहासिक उपन्यासमार्फत इस्लामपूर्व र इस्लामी कालसम्बन्धी अरब इतिहासलाई धर्मनिरपेक्ष दृष्टिकोणबाट प्रस्तुत गरी सबै अरबहरूले आफ्नो ठान्न सक्ने साझा इतिहासको रूपमा लोकप्रिय बनाएका थिए।
राजनीतिक परियोजनाको रूपमा सर्व-अरबवादलाई पहिलोपटक मक्काका सरिफ हुसेन इब्न अलीद्वारा प्रवर्धन गरिएको थियो जसले अरबी प्रायद्वीपलाई अटोमन साम्राज्यबाट स्वतन्त्र गराउने र अरबियामा एकीकृत अरब राज्य स्थापना गर्ने प्रयास गरेका थिए। यदि अरब प्रायद्वीपका अरबीहरूले अटोमन विरुद्ध सफल विद्रोह गरे भने संयुक्त अधिराज्यले अरबियाद्वारा गरिएका स्वतन्त्रताका दाबीहरूलाई समर्थन गर्नेछ भनि सन् १९१५ र १९१६ मा हुसेन-म्याकमेन सन्धिले संयुक्त अधिराज्य र सरिफबीच एक समझदारी कायम गरेको थियो। सन् १९१६ मा संयुक्त अधिराज्य र फ्रान्सबीचको साइकस-पिको सन्धिले स्वतन्त्र अरब राज्यको अंश बन्नुको सट्टा अरबी प्रायद्वीपका भागहरू ती शक्तिहरूबीच विभाजित हुने निर्णय गरेको थियो।[५] सन् १९१८ मा अटोमन साम्राज्यले आत्मसमर्पण गरेपछि संयुक्त अधिराज्यले हुसेनसँग गरेको पहिलेको आफ्ना सम्झौताहरूलाई यथावत् राख्न अस्वीकार गरेपछि दुवै राष्ट्रहरूले मेसोपोटामिया, लेबनान, प्यालेस्टाइन र आधुनिक सिरियाको संरक्षण ग्रहण गरेका थिए। अन्ततः, हुसेन हिजाजको मात्र राजा बने जसलाई तत्कालीन समयमा कम रणनीतिक महत्वको साथ हेरिन्थ्यो। नजदीका इखवान सेनाहरूले अल साउद शासनमा आक्रमण गरि हालै सिर्जित साउदी अरबमा जबर्जस्ती समाहित गरेपछि उनले आफ्नो खलीफा पद गुमाउन पुगेका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Rubin, Barry (१९९१), "Pan-Arab Nationalism: The Ideological Dream as Compelling Force", Journal of Contemporary History 26 (3/4): 535–551, आइएसएसएन 0022-0094, जेएसटिओआर 260659, डिओआई:10.1177/002200949102600310।
- ↑ "pan-Arabism", Oxford Reference (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२४।
- ↑ "Pan-Arabism | History, Significance, and Rise | Britannica", www.britannica.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२४।
- ↑ Civantos, Christina (२०१७-११-२१), The Afterlife of al-Andalus: Muslim Iberia in Contemporary Arab and Hispanic Narratives (अङ्ग्रेजीमा), SUNY Press, पृ: 23, आइएसबिएन 978-1-4384-6669-9।
- ↑ Contemporary Politics in the Middle East, Beverly Milton-Edwards, Polity Press, 2006, p. 57-59