सामग्रीमा जानुहोस्

कार्तवीर्य अर्जुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सहस्त्रबाहु अर्जुनबाट अनुप्रेषित)
कार्तवीर्य अर्जुन
हैहयका महाराजा
देवताको रूपमा कार्तवीर्य अर्जुनको सामान्य चित्रण
हैहय राज्यका महाराजा
पूर्वाधिकारीकृतवीर्य
उत्तराधिकारीजयध्वज
जन्मअर्जुन
कार्तिक महिनाको शुक्ल पक्षको सप्तमी तिथि (चन्द्र पात्रो अनुसार)
माहिष्मती, हैहय राज्य (हालको मध्य प्रदेश, भारत)
मृत्युमाहिष्मती, हैहय राज्य
जीवनसाथीमनोरमा
सन्तान
नाम
कार्तवीर्य अर्जुन (सहस्रबाहु अर्जुनका रूपमा पनि चिनिने)
वंशहैहय वंश (यदुवंशको एक शाखा)
बाबुकृतवीर्य
आमापद्मिनी
धर्महिन्दु धर्म

कार्तवीर्य अर्जुन जो सहस्रबाहु अर्जुन वा सहस्रार्जुन नामले पनि चिनिन्छन्) प्राचीन हैहय राज्यका एक राजा थिए। उनको राजधानी नर्मदा नदीको किनारमा अवस्थित माहिष्मती (हालको मध्य प्रदेश) मा थियो। कार्तवीर्य हैहय राजा कृतवीर्यका छोरा थिए। पुराणहरूका अनुसार, हैहयहरू यदुका छोरा सहस्रजितका वंशज थिए। उनलाई सामान्यतया अर्जुन मात्र भनेर पनि चिनिन्छ। उनलाई एक हजार हात भएका र भगवान दत्तात्रेयका परम भक्तका रूपमा वर्णन गरिएको छ।

विभिन्न पौराणिक विवरणहरू मध्ये एकका अनुसार, अर्जुनले नाग प्रमुख कर्कोटक नागबाट माहिष्मती सहर जितेका थिए र त्यसलाई आफ्नो बलियो राजधानी बनाएका थिए।[]

कार्तवीर्य अर्जुनको पूजासँग सम्बन्धित लगभग १०० वटा पाण्डुलिपिहरू हिन्दु राजाहरूका शाही पुस्तकालयहरूमा फेला परेका छन्। यी पाण्डुलिपिहरू अझै पनि राजस्थानका उदयपुर, जोधपुर, कोटा, बीकानेर, भरतपुर र अलवरका साथै मैसूरमा उपलब्ध छन्।[]

रावणसँग सामना

[सम्पादन गर्नुहोस्]

कार्तवीर्य अर्जुनलाई रावणको समकालीन मानिन्छ। पौराणिक कथा अनुसार, एक पटक जब कार्तवीर्य अर्जुन आफ्ना पत्नीहरूसँग नर्मदा नदीमा स्नान गरिरहेका बेला, उनले आफ्ना एक हजार हातले दुवै तर्फबाट नदीको वेगलाई रोकिदिन्५न्। सोही समयमा, युवा दशग्रीव (रावण) नदीको किनारमा भगवान शिवको स्तुति र प्रार्थना गरिरहेका थिए। नदीको पानीको बहाव रोकिएर उल्टो फर्किएपछि रावणको एकाग्रता भङ्ग हुन्छ। क्रुद्ध भएका रावणले कार्तवीर्यलाई युद्धको चुनौती दिन्छन्, जसमा रावण नराम्ररी पराजित हुन्छन् र उनलाई बन्दी बनाइन्छ। पछि, रावणका हजुरबुबा ऋषि पुलस्त्यको अनुरोधमा सम्राट कार्तवीर्य अर्जुनले रावणलाई मुक्त गरिदिन्छन्।

अर्को एक विवरण अनुसार, जब रावण आफ्नो दिग्विजय अभियानको क्रममा कार्तवीर्यको राजधानी माहिष्मती पुग्छन्, उनलाई कुनै कठिनाइ बिना समातिन्छ र "सहरको एक कुनामा जङ्गली जनावरलाई जस्तै थुनेर राखिन्छ।"

वायु पुराणमा उल्लेख भए अनुसार, कार्तवीर्यले लङ्कामा आक्रमण गरी रावणलाई बन्दी बनाएका थिए। तर पछि कार्तवीर्य अर्जुन परशुरामद्वारा मारिएपछि मात्र रावण अर्जुनको कैदबाट मुक्त भएका थिए।[]

परशुरामसँग सामना

[सम्पादन गर्नुहोस्]
परशुराम (बायाँ) द्वारा राजा अर्जुन (दायाँ) को वध।

कार्तवीर्य अर्जुनका छोराहरूले ऋषि जमदग्निको हत्या गरेपछि प्रतिशोध स्वरूप जमदग्निका पुत्र परशुरामले अर्जुनको वध गरिदिएका थिए। अर्जुनका धेरै छोराहरू थिए, जसमध्ये जयध्वज उनको उत्तराधिकारी बनेका थिए। जयध्वजपछि उनका छोरा तालजङ्घ राजा बनेका थिए।[]

महाभारतको 'वन पर्व' मा ऋषि अकृतवनले सुनाएको कथा अनुसार, कार्तवीर्य अर्जुनले अनेकौँ वरदानहरू प्राप्त गरेपछि बिस्तारै शक्तिको घमण्डमा डुबेका थिए। उनले आफ्नो इन्द्रियमाथिको नियन्त्रण गुमाउँदै गएका थिए र मानव, यक्ष मात्र नभई साक्षात् देवताहरूलाई समेत उत्पीडन गर्न थालेका थिए।

कार्तवीर्य अर्जुनको धृष्टता यतिसम्म बढ्यो कि उनले स्वर्गका राजा इन्द्रकी पत्नी शचीको अगाडि नै इन्द्रको अपमान गर्छन्। त्यस समयमा अन्य क्षत्रिय राजाहरू पनि शक्तिको नशामा मात्तिएका थिए र मनोरञ्जनका लागि निर्दोष मानिसहरूलाई दुःख दिने गर्दथे। यही अधर्मको अन्त्य गर्नका लागि भगवान विष्णुले परशुरामको रूपमा अवतार लिएर कार्तवीर्य र अन्य अन्यायी क्षत्रियहरूको विनाश गरेको पौराणिक मान्यता छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Pargiter, F.E. (1972) [1922]. Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.265-7
  2. Tripathi, Gaya-Charan (१९७९), "The Worship of Kārtavīrya-Arjuna: On the Deification of a Royal Personage in India", The Journal of the Royal Asiatic Society of Great Britain and Ireland 111 (1): 37–52।
  3. Dowson, John (1984). A Classical Dictionary of Hindu Mythology, and Religion, Geography, History. Calcutta: Rupa & Co. pp. 151–2.