सहिद स्मारक ए-डिभिजन लिग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सहिद स्मारक ए-डिभिजन लिग
देशFlag of Nepal.svg नेपाल
कन्फिडिरेसनएसियाली फुटबल महासङ्घ
स्थापना२०११
टोलीको सङ्ख्या१४
लेभल पिरामिड
घरेलु कपविभिन्न
अन्तर्राष्ट्रिय कपएएफसी कप
वर्तमान विजेतामनाङ- मर्स्याङ्दी क्लब (८ अौँ उपाघि)
(२०७५)
सबैभन्दा धेरै पटक विजेतामनाङ- मर्स्याङ्दी क्लब (८ अौँ उपाघि)
सर्वाधिक गोलकर्तासन्तोष साहुखल (९६ गोल)
टिभी साझेदारएपी वान एचडी(प्रत्यक्ष प्रसारण)
माइकोजू (अनलाइन मार्फत प्रत्यक्ष प्रसारण)
वेबसाइटthe-anfa.com
सहिद स्मारक ए-डिभिजन लिग २०७५

सहिद स्मारक ए-डिभिजन लिग (पहिला काठमाडौं लिग च्याम्पियनसिप) नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो र अखिल नेपाल फुटबल सङ्घको शीर्ष बिभाजन मध्य एक हो जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुने गर्दछ। जसको स्थापना वि.स.२०११ सालमा भएको थियो भने यस लिगका सस्थापकका रूपमा नरशमशेर ज.ब.रालाई लिइन्छ। यस लिगमा जम्मा टिमको सङ्ख्या १२-१६ सम्म हुने गर्दछ। यो सहिद स्मारक बि-डिभिजन लिग भित्र प्रमोसन (पदोन्नति) र रेलिगेसन प्रणालीमा सञ्चालन हुने गरेको छ। एक सिजनमा टोलीहरू एक पटक प्रत्येक टोलीसँग भिड्ने गर्दछन्। यो सामान्यतया मङ्सिर देखि माघसम्म हुने गरेको छ। यसका शीर्ष ६ टिमहरू सुपर ६ राउन्डमा पुग्छन्, जहाँ टोलीहरू फेरि एक-अर्कासँग भिड्छन्। यो हाल बजाज पल्सरद्वारा प्रायोजित गरिएको छ र यसको आधिकारिक रूपमा पल्सर सहिद स्मारक ए-डिभिजन लिगको रूपमा चिनिन्छ।

सन् २०११ मा एक नयाँ नेपाल राष्ट्रिय लिग, काठमाडौँको उपत्यका बाहिरको क्लबहरूलाई एक स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न मौका दिएको थियो। हाल राष्ट्रिय लिगमा ९ क्लबहरू समावेश छन्, जसमध्ये ५ क्लबहरू भने सहिद स्मारक ए-डिभिजन लिगका क्लबहरू हुन्।[१][२]

सहिद स्मारक ए-डिभिजन लिगको २०७५ सालको संस्करण यसको ४१ अौँ संस्करण हो। यसमा १४ शीर्ष बिभाजित टोलीहरू प्रतिस्पर्धा गर्दछन्। सन् २०१३-१४ (२०७०)को संस्करण भने ३० डिसेम्बर २०१३ बाट सुरु गरिएको थियो।[३]

इतिहास[सम्पादन गर्ने]

कुनै पनि देशको फुटबलको स्तर माथि उकास्न वा फुटबलको विकास गर्न त्यो देशमा हुने फुटबल लिगले महत्त्वपूर्ण र ठूलो भूमिका खेल्दछ।लिगले व्यावसायिक खेलाडीहरू पनि जन्माउने हुनाले स्वयम् फुटबल खेलाडीहरूलाई पनि लिग आफैंमा एक आवश्यक तत्व हो ।साँच्चै भन्ने हो भने कुनै देशको फुटबल विकासको मेरूदण्ड नै फुटबल लिग हो ।नेपालमा फुटबलको जग बसाउन र फुटबलको विकासका निम्ति भनेर लिग फुटबलको अवधारणा ल्याउने पहिलो व्यक्ति नरशमशेर ज.ब.रा. थिए।जतिखेर उनले नेपालमा फुटबलको आवश्यकता ठाने त्यतिबेला वा वि.स.२००७ साल तिर उनले भारतीय मोहम्दन स्पोर्टिङ क्लबबाट व्यवसायीक फुटबल खेल्दथे।अनौपचारिक रूपमा नेपाल फुटबल संघको स्थापना वि.स.२००४ सालमै भइसकेको थियो र त्यसका हर्ताकर्ता पनि ज.ब.रा.नै थिए।तर उनको अवधारणा मूर्तरूप लिन भने सात वर्ष पर्खनु परेको थियो ।अर्थात् वि.स. २०११ सालबाट नेपालमा लिग फुटबलको सुरूवाट भयो ।जति बेला सम्म राणा, दरबार हुदै नेपालमा फुटबल खेल केही हदसम्म जनताहरूमा समेत पुगेको थियो।लिगको इतिहास पल्टाउँदा नेपाली फुटबललाई मुख्यत दुई भागमा विभाजन गर्ने गरिएको छ। २०४६ सालसम्म पहिलो काल र त्यसयता अर्को। २०४६ पछिको लिग आधुनिक लिगमा परिभाषित हुँदै गएको छ।

सुरूवाती अवस्था[सम्पादन गर्ने]

नेपाली फुटबलको सुरुआती इतिहास राजपरिवार सदस्य र राणा खानदानको सेरोफेरोमा छ। केही स्थानीय टोलीका युवाहरू हुनेखाने राजपरिवार र राणाहरूसँग रमाइलोका लागि फुटबल खेल्थे। यिनीहरूबीच प्रतिस्पर्धा हुँदा काठमाडौंको टुँडिखेल भरिन्थ्यो। विक्रम सम्वत २००० सालपछि व्यवस्थित फुटबल हुन थाल्यो। खेलाडी र दर्शक बढ्न थाले। यसले नै लिग फुटबलको बाटो देखायो।

तत्कालीन प्रधानमन्त्री पद्म शम्शेरले काठमाडौं उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराए। २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो। भएको एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन सहिदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल संघलाई दियो, जुन आजसम्म सहिद स्मारक नामले चलिरहेको छ।

रानीपोखरी कर्नर टिम (आरसिटी) ले २०२८, २०२९ र २०३० मा गरी लगातार तीनपटक लिग जितेर फेरि शिल्ड पच गर्यो। २०३० मा अखिल नेपाल फुटबल संघ गठन भएपछि यो प्रतियोगिता नयाँ जोश र स्वरुपसहित अगाडि बढ्यो। तत्कालीन अवस्थामा यसले फुटबलको संरचना संस्थापन गर्न ठूलो मद्दत गर्यो। विकेन्द्रीकरणको सवालमा भने लिग शून्यजस्तै थियो, जुन अहिले पनि त्यस्तै छ। नेपालजस्तो खुला बजार नभएको ठाउँमा ४० वर्षअघि बजार प्रवर्द्धनको कुनै सम्भावना थिएन होला। अहिले पनि व्यावसायिक पाटोको हिसाबमा यसको खासै महत्व दिइएको छैन, जसले नेपाली फुटबललाई प्रत्येक वर्ष पछाडि धकेलिरहेको छ।

प्रत्येक क्लबले आफ्नै मैदानमा र विपक्षीको मैदानमा गएर (होम एन्ड अवेका आधारमा) खेल्नुपर्ने विश्वव्यापी चलन छ। नेपालका खेलहरू दशरथ रंगशालामा केन्द्रित छन्। धैरै खेलहरू पर्दा नक्साल र महाराजगन्जको प्रहरी मैदान, सानो गौचरण र हलचोक रंगशालामा बेलाबखत खेलाइएको छ। २०६८ मा पहिलोपल्ट पोखराबुटवलमा राष्ट्रिय लिगका खेलहरू आयोजना गरेर मोफसल पुर्याइएको थियो।

२०४६ अघिका लिगका तथ्यांकहरू स्पष्ट छैनन्। राष्ट्रिय खेलकुद परिषद्को वार्षिक प्रकाशन 'नेपालमा खेलकुद' २०३९ संस्करणअनुसार सो वर्ष लिग यस प्रकारले भएको थियो– सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन खेलाइँदा त्यसबाट २–२ टोली सुपर लिग पुगेका थिए। जसमा अन्नपूर्ण फुटबल क्लब ५, जावलाखेल युथ क्लब ४ र आरसीटि क्लब ३ अंक जोडेर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए।

महावीर ११ क्लबका पूर्वस्ट्राइकर कोमल पाण्डे पहिले दोहोरो लिग पनि भएको स्मरण गर्छन्, '१० टोली हुन्थ्यो। एकले अर्को टोलीसँग २ खेल गरी १८ खेल खेल्नुपर्थ्यौं। २०२३ सालमा महावीर ११ले लिग जित्दा कुल ४२ गोल गरेको थियो, मैले एक्लै ३०–३१ गोल गरेको थिएँ। त्यतिखेर लिगमा टोल टोलको प्रतिष्ठा गाँसिएकाले झगडा धेरै हुन्थ्यो। त्यही भएर आफ्नो टोलीको खेल हेर्न टोलै उठेर आउँथे। आर्थिक रूपमा क्लबसँग केही हुँदैनथ्यो। तर दर्शक क्लबको पछि लागेको हुन्थे।'

'महावीरएनआरटीको खेलमा फुटबलमात्र होइन, बक्सिङ,कुस्ती पनि हेर्न पाइन्छ भन्थे दर्शक। यिनीहरूको खेल भनेपछि काठमाडौं दुई चिरा परेजस्तो हुन्थ्यो,' पाण्डे विगत सम्झन्छन्, 'ज्वरो आएका कारण एकपटक खेल्न जान सकिनँ। औषधी लिन बाहिर निस्किएको एउटै पसल खुलेको थिएन। डिल्लीबजार पूरै सुनसान थियो। घर घरमा पारिवारिक झगडा नै हुन्थ्यो, को फुटबल हेर्न जाने भनेर। अहिलेको रंगशाला भए पनि भौतिक पूर्वाधारको हिसाबमा त्यतिखेर केही थिएन। खालि मैदानमात्र। खेलाडी सिधा सम्पर्कमा हुन्थे दर्शक। त्यही भएर पनि हो कि क्या हो, त्यस्ता दर्शक अहिले देखिँदैन।' २०४३ सालको 'दी राइजिङ नेपाल' मा सुशील शर्माले लेखेका छन्, 'मनाङ मर्स्याङ्दी क्लबले सुपर लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गरी लिग उपाधि जितेको छ।' यसले लिग अर्को फरक संरचनामा पनि भएको देखाउँछ। शर्मा पनि प्रजातन्त्रअघि लिगमा दर्शकको चासो र प्रत्येकजसो खेलमा हुने झगडालाई स्मरण गर्छन्। 'त्यतिखेर हामीलाई नेपालको लिगमात्र जानकारी थियो, बढीमा भारतको लिगमा मोहन बगान, इस्ट बङ्गाल, साल्गावकर कुन स्थानमा छ भन्ने चासो हुन्थ्यो,' शर्माले भन्छन्, 'अहिले स्पेनिस,इपिएलदेखि सबै लिग थाहा पाउनुपरेको छ। तत्कालीन लिगको विशेषता नै दुई टोली र तिनका समर्थकबीच हुने झगडा थियो, रेफ्रीचाहिँ पिट्दैनथे।'

आधुनिक लिग[सम्पादन गर्ने]

२०४६ सालयता लिग निरन्तर हुन सकेन। प्रजातन्त्रपछिको २४ वर्षमा केवल ११ पटक लिग भए। २०५२ मा आएर पहिलो लिग भयो। त्यसपछि पनि आर्थिक कठिनाइ, सरकारी हस्तक्षेप र फुटबलको आन्तारिक विवादका कारण लिग नियमित हुन सकेन। हुँदा पनि एकरुपको भएन। ११ लिग ७ फरक संरचनामा आयोजना भए।

२०५२ मा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइयो। त्यसबाट दुवै समूहबाट शीर्ष दुई मनाङ- मर्स्याङ्दी क्लब,एनआरटी क्लब,फ्रेन्ड्स क्लबसंकटा क्लबले सुपर लिग पुग्दै उपाधिका लागि खेलेका थिए। २०५४ मा सिंगल लिग भयो। मार्बलोरो प्रमुख प्रायोजक भएर आयो, २५ लाखसहित। त्यो नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रायोजन थियो। खासै प्रतिफल नपाएपछि मार्बलोरोले दोस्रो वर्ष पाइला चलाएन।

२०५७ र २०६० पनि सिंगल लिगमै भए। प्रजातन्त्रपछि २०५४, २०५७ र २०६० मा गरी सिंगल लिगमा हुनु एकै संरचनामा सबैभन्दा धैरेपटक थियो। नेपाल पुलिस क्लब (तत्कालीन महेन्द्र पुलिस क्लब) २०६० बाट लिगमा पुनः फर्कियो। त्यसको अर्को २ वर्ष क्रमशः विभागीय टोली त्रिभुवन आर्मी क्लबनेपाल एपिएफ क्लब पनि लिगमा आए। २०६१ मा सुपर सिक्स अवधारणामा खेलाइयो। सिंगल लिगपछि शीर्ष ६ टोली सुपर सिक्समा खेल्ने, पहिलो चरणको अंक लिएर। थ्री स्टार क्लब, नेपाल पुलिस क्लब,मनाङ- मर्स्याङ्दी क्लब,नेपाल आर्मी क्लब,फ्रेन्ड्स क्लबजावलाखेल युथ क्लब शीर्ष ६ स्थानमा रहे।लिग च्याम्पियन बन्दै थ्री स्टार क्लब एएफसी प्रेसिडेन्ट कपमा सहभागिता जनायो। एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) को आदेश भन्दै २०६२ र २०६३ डबल लिग अनिवार्य बनायो। त्यसपछि ४ वर्ष लिग हुन सकेन। खेलकुद परिषदको हस्तक्षेप, केही क्लबको विद्रोह लिग नहुनुको एउटा कारण थियो। डबल लिग धान्न नसकेका कारण क्लब विद्रोहमा लाग्नु अर्को कारण थियो। खेलकुद परिषदले उचालेको नेपाल फुटबल संघएन्फा एक भएपछि २०६६–६७ मा लिग फेरी सुरु भयो। संरचना भने डबल लिग नै थियो। समयभावका कारण एनआरटी क्लब पहिलो चरणको विजेताका आधारमा एएफसी प्रेसिडेन्ट कपमा छानियो।

नेपाल फुटबल संघएन्फाले फरक रुपमा आयोजना गरेको बी डिभिजनमा ४–४ टोली बढुवा भएपछि २०६७ मा १८ टोलीले सहभागिता जनाए। २०६८ मा राष्ट्रिय लिगले केही आशा देखायो। पहिलो चरणका शीर्ष ६ टोली र मोफसलको क्षेत्रीय लिगका विजेता पोखराको संगम फुटबल क्लब र उपविजेता धरानको मित्रमिलन क्लबले सहभागिता जनाए। प्रजातन्त्रपछि नै दुई पटक राष्ट्रिय लिग भएका थिए। २०६८ को राष्ट्रिय लिगले यस अघिका राष्ट्रिय लिग जस्तै निरन्तरता पाउन सकेन्। २०६९ र २०७० को लिग फेरी सुपर सिक्स संरचनामा आइपुगेको छ। अर्को पटकको संरचना कस्तो हुने हो निर्क्यौल भएको छैन्।

पहिलो दोहोरो लिगको सफलता[सम्पादन गर्ने]

वि.स. २०६२ सालको राष्ट्रिय लिग देखि यो ए-डिभिजन राष्ट्रिय लिगमा पनि दोहोरो लिग वा डबल लिगको सुरूवाट गरिएको थियो। यस पहिलो डबल लिगको उपाधि मनाङ- मर्स्याङ्दी क्लबले जितेको थियो। पहिलो लिगमा पाचौं स्थानमा रहेको मनाङले दोस्रो लिगमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो। यस्तै पहिलो लिगमा रेलिगेसनमा परेको ब्वाइज युनियन क्लबले पनि दोस्रो लिगमा रेलिगेसनबाट बाचेको थियो। पहिलो राष्ट्रिय लिगका बारेमा तत्कालीन आरसीटि क्लबका प्रशिक्षक वैजु कपालीले "दोहोरो लिग आवश्यक छ,स्वीकार्छौ" भन्ने भाव व्यक्त गरेका थिए।

खेल हेर्न रङ्गशालामा दर्शकहरूको सहभागीता उल्लेखनीय रहेको थियो। साथै सञ्चार माध्यमहरूले पनि लिगको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याएका थिए।

प्रत्यक्ष प्रसारण[सम्पादन गर्ने]

एपी वान टेलिभिजन, सहिद स्मारक ए-डिभिजन लिगको आयोजकहरू मध्ये एक हो र यस लिगको आधिकारिक प्रसारकको रूपमा पनि सेवा गरेको छ।

ट्रफी[सम्पादन गर्ने]

सहिद स्मारक ए-डिभिजन लिगको विजेताले प्राप्त गर्ने सुन्दर रनिङ शिल्ड

२०११ आश्विन १७ गते मिति अंकित रहेको पुरानो सहिद स्मारक लिगको ट्रफी २०२८ देखि ३० सम्मन आरसीटि क्लबले लगातार तीन पटक जितेर ट्रफी पचाएको थियो ।यो नेपाली राष्ट्रिय लिगको इतिहास समेत थियो ।

अहिलेको सहिद स्मारक ट्रफी भने नयाँ ट्रफी हो ।जुन अखिल नेपाल फुटबल संघले प्रदान गर्ने गर्दछ।

ट्रफि भ्रमण[सम्पादन गर्ने]

शहिद स्मारक ए-डिभिजन लिग २०७५ अगाडी एन्फाले ट्रफि टुर गरेको थियो । जुन असोज १ गतेबाट सुरू भएको थियो । असोज १३ देखि सुरु हुँने सहिद स्मारक ए डिभिजन लिगको पुर्वसन्ध्यामा सुरु भएको ट्रफी टुर पहिलो दिन त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा राखिएको थियो । लिग ट्रफीलाई काठमाडौं उपत्यकाको सात स्थानमा भ्रमण गराइने एन्फाले जनाएको छ ।`स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तर्रा्ष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिती भएका थिए। यो टूर काठमाडौंका पाँच विद्यालय तथा ललितपुर र भक्तपुरको एक–एक स्थानमा संचालन भएको थियो ।

वि.स. १९९१ मा राम जानकी ट्रफीको नाम दिइएको यो ट्रफी प्रजातन्त्रको स्थापनापछि लगातार तीन पटक नेपाल पुलिस फोर्सले जितेको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जिवन आहुती दिएका सम्पूर्ण सहिदको सम्झनामा यो ट्रफीलाई सहिद स्मारक ए डिभिजन लिग ट्रफी भनिएको हो । जुन ट्रफी लिगको विजेतालाई प्रदान गरिनेछ ।

विजेताहरू[सम्पादन गर्ने]

यस लिग हाल सम्म आइपुग्दा १५ फरक-फरक नेपाली फुटबल क्लबहरूले उपाधि जित्न सफल भएका छन्।[४]

सिजन न. संस्करण वि.स. विजेता
१९५४-५५ २०११ महावीर ११
१९५५-५६ २०१२ पुलिस फोर्स
१९५६-५७ २०१३ पुलिस फोर्स
१९५७-५८ २०१४ आर्मी ११
१९६०-६१ २०१७ एनआरटी क्लब
१९६२ २०१९ एनआरटी क्लब
१९६३-६४ २०२० विद्या बिमा
१९६६-६६ २०२३ महावीर ११
1१९६७-६८ २०२४ फ्रेन्डस् क्लब
१० १९६८-६९ २०२५ देउराली क्लब
११ १९६९-७० २०२६ महावीर ११
१२ १९७०-७१ २०२७ देउराली फुटबल क्लब
१३ १९७१-७२ २०२८ रानीपोखरी कर्नर टिम
१४ १९७२-७३ २०२९ रानीपोखरी कर्नर टिम
१५ १९७३-३४ २०३० रानीपोखरी कर्नर टिम
१६ १९७५ २०३२ ब्वाइज युनियन क्लब
१७ १९७६ २०३३ सुनखरी एथलेटिक क्लब
१८ १९७७ २०३४ अन्नपूर्ण फुटबल क्लब
१९ १९७८ २०३५ एनआरटी क्लब
२० १९७९ २०३६ रानीपोखरी कर्नर टिम
२१ १९८० २०३७ संकटा क्लब
२२ १९८१-८२ २०३८ रानीपोखरी कर्नर टिम
२३ १९८२ २०३९ अन्नपूर्ण फुटबल क्लब
२४ १९८३ २०४० सङ्कटा क्लब

सिजन न. सिजन वि.स. विजेता
२५ १९८४ २०४१ रानीपोखरी कर्नर टिम
२६ १९८५ २०४२ सङ्कटा क्लब
२७ १९८६ २०४२-४३ मनाङ- मर्स्याङ्दी क्लब
२८ १९८७ २०४३-४४ मनाङ- मर्स्याङ्दी क्लब
२९ १९८९ २०४६ मनाङ- मर्स्याङ्दी क्लब
३० १९९५ २०५५ एनआरटी क्लब
३१ १९९६-९७ २०५४ थ्री स्टार क्लब
३२ १९९७-९८ २०५५ थ्री स्टार क्लब
३३ २००० २०५७ मनाङ- मर्स्याङ्दी क्लब
३४ २००३-०४ २०६० मनाङ- मर्स्याङ्दी क्लब
३५ २००४ २०६१ थ्री स्टार क्लब
३६ २००५-०६ २०६२ मनाङ- मर्स्याङ्दी क्लब
३७ २००६-०७ २०६३ नेपाल पुलिस क्लब
३८ २०१० २०६६-६७ नेपाल पुलिस क्लब
३९ २०११ २०६८ नेपाल पुलिस क्लब
४० २०१२-१३ २०६९ थ्री स्टार क्लब
४१ २०१३-१४ २०७० मनाङ- मर्स्याङ्दी क्लब
४२ २०१८-१९ २०७५ मनाङ- मर्स्याङ्दी क्लब

उत्कृष्ट क्लब नतिजा[सम्पादन गर्ने]

क्लब विजेता संस्करण
मनाङ- मर्स्याङ्दी क्लब २०४२-२०४३, २०४३-२०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५ साल
आरसीटि क्लब २०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१ साल
पुलिस फोर्स (नेपाल पुलिस क्लब) २०१२, २०१३, २०६३, २०६६-२०६७ र २०६८ साल
थ्री स्टार क्लब २०५४, २०५५, २०६१, २०६९ र २०७१ साल
एनआरटी क्लब २०१७, २०१९, २०३५ र २०५२ साल
महावीर क्लब २०११, २०२३ र २०२६ साल
संकटा क्लब २०३७, २०४० र २०४२ साल
अन्नपूर्ण फुटबल क्लब २०३४ र २०३९ साल
देउराली क्लब २०२५ र २०२७ साल
आर्मी ११ २०१४ साल
विद्याब्यायाम २०२० साल
फ्रेन्डस् क्लब २०२४ साल
ब्वाइज युनियन क्लब २०३२ साल
सुनाखरी एथलेटिक्स क्लब २०३३ साल

२०७५ सालको संस्करण[सम्पादन गर्ने]

२०७५ सालको सहिद स्मारक ए-डिभिजन लिगमा १४ वटा क्लबहरूले भाग जनाएका थिए।

क्लबहरू पछिल्लो संस्करणमा स्थान
ब्रिगेड ब्वाइज क्लब प्रथम (२०७० सालको बि डिभिजन लिगमा)
च्यासल यसथ क्लब प्रथम (२०७२ सालको बि-डिभिजन लिग)
फ्रेन्डस् क्लब ८ अौँ
हिमालयन शेर्पा क्लब ७ अौँ
जावलाखेल युथ क्लब ११ अौँ
मछिन्द्र फुटबल क्लब दोस्रा
मनाङ- मर्स्याङ्दी क्लब प्रथम
सशस्त्र प्रहरी बल क्लब छैटौँ
नेपाल आर्मी क्लब १० अौँ
नेपाल पुलिस क्लब चौँथा
न्यू रोड टिम दोस्रा (२०७२ सालको बि-डिभिजन लिग)
सङ्कटा क्लब ५ अौँ
सरस्वती युथ क्लब ९ अौँ
थ्री स्टार क्लब तेस्रा

एएफसी प्रतियोगिताहरूमा ए-डिभिजन लिगका क्लबहरूको प्रदर्शनी[सम्पादन गर्ने]

एएफसी प्रेसिडेन्ट कप सन् २००५ मा स्थापना देखि सन् २०१४ मा हटाइएता सम्म पनि सहिद स्मारक ए-डिभिजन लिगका क्लबहरू निरन्तर रूपमा यसमा सहभागीता जनाउँदै आइरहेका थिए। २०७२ साल देखि सहिद स्मारक ए-डिभिजन लिगका विजेताहरू एएफसी कपमा स्वचलित रूपमा छनौट हुन् गरेका छन्। सन् २००४ अघि ए-डिभिजन लिगका क्लबहरू एसिया क्लब च्याम्पियनसिपमा छनौट खेल खेल्न पाउँथे।

एएफसी प्रेसिडेन्ट कप[सम्पादन गर्ने]

संस्करण क्लबहरू स्थान
२००५ थ्री स्टार क्लब सेमिफाइनल
२००६ मनाङ- मर्स्याङ्दी क्लब समूह चरणमा तेस्रा
२००७ महेन्द्र फुटबल क्लब उप-विजेता
२००८ नेपाल पुलिस क्लब सेमिफाइनल
२००९ नेपाल पुलिस क्लब समूह चरणमा चौँथा
२०१० न्यू रोड टिम समूह चरणमा तेस्रा
२०११ नेपाल पुलिस क्लब समूह चरणमा चौँथा
२०१३ थ्री स्टार क्लब अन्तिम चरणमा तेस्रा
२०१४ मनाङ- मर्स्याङ्दी क्लब अन्तिम चरणमा दोस्रा

एएफसी कप[सम्पादन गर्ने]

संस्करण एएफसी कप स्थान
२०१५ मनाङ- मर्स्याङ्दी क्लब समूह चरण
२०१९ मनाङ- मर्स्याङ्दी क्लब निर्णय हुन बाँकी

एसिया क्लब च्याम्पियनसिप[सम्पादन गर्ने]

संस्करण एएफसी क्लब स्थान
१९८५–८६ न्यू रोड टिम छनौटमा ५ अौँ
१९८७ मनाङ- मर्स्याङ्दी क्लब छनौटमा चौँथा
१९९०–९१ रानीपोखरी कर्नर टिम छनौट चरणमा तेस्रा
१९९६–९७ न्यू रोड टिम समूह चरण
१९९७–९८ महेन्द्र पुलिस क्लब पहिलो चरण
१९९८–९९ थ्री स्टार क्लब पहिलो चरण

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. बुल राष्ट्रिय लिग एन्फाको आधिकारिक वेबसाइटमा
  2. [१] फिफाको आधिकारिक वेबसाइटमा, राष्ट्रिय लिगको तालिका २०७२
  3. [२] गोल नेपाल डटकम
  4. "नेपाल - विजेताहरूको सूची". आरएसएसएसएफ. Retrieved २९ मार्च २०१४. Check date values in: |accessdate= (help)

बाह्य कडीहरू[सम्पादन गर्ने]