सात दलद्वारा २०६३ वैशाख १ मा जारी अपिल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



१. निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र स्थापनाका लागि सात राजनीतिक दलको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण संयुक्त जनआन्दोलन सशक्त र प्रभावकारी बन्दै गइरहेको छ। शान्तिपूर्ण र संयुक्त जनआन्दोलनबाट मात्रै चालू आन्दोलनको उद्देश्य पूरा हुन सक्छ भन्ने हाम्रो ठहर छ। यो आन्दोलनमा राजनीतिक पार्टीका नेता, कार्यकर्ता, जनसङ्गठन, सञ्चारकर्मी, पेसागत तथा सामुदायिक सङ्गठन, मानवअधिकारकर्मीलगायत आमजनताको सहभागिता बढ्दै गइरहेको छ। आन्दोलनका समयमा ६ जना वीर तथा वीराङ्गनाहरूले सहादत बरण गर्नुभएको छ। हजारौंको संख्यामा घाइते र गिरफ्तार हुनुभएको छ। शाहदत प्राप्त गर्ने अमर शहीदहरूप्रति हामी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं र आन्दोलनका सम्पूर्ण सहभागीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्छौं। आन्दोलनमा अहिंसात्मक र शान्तिपूर्ण ढंगले अझ सशक्तरूपमा सहभागी हुन मजदुर, किसान, महिला, युवा, विद्यार्थी, बुद्धिजीवी, निजामती, सार्वजनिक तथा वित्तीय संस्थानका कर्मचारी, शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकील, पत्रकार, उद्योगपति, व्यापारी, मानवअधिकारकर्मी, लेखक, साहित्यकार, कलाकर्मी एवं सबै जाति, भाषा, धर्म र क्षेत्रका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपील गर्छौं। २. हामी निरंकुश राज्यसत्ताबाट भएको बर्बर दमन र हत्याको घोर भर्त्सना गर्छौं र जनआन्दोलनका अमर शहीदहरूप्रति उच्च सम्मान व्यक्त गर्छौं। लोकतन्त्रको स्थापनापछि बन्ने सरकारले शहीदहरूको स्मारक निर्माण गर्ने, शहीद परिवारलाई शिक्षा तथा रोजगारीको व्यवस्था गर्ने र आन्दोलनका क्रममा अंगभंग भएकाको पनि उचित व्यवस्था गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्छौं। ३. हामी चालू जनआन्दोलनका क्रममा सरकारी दमनबाट घाइते हुनुभएका बिरामीहरूलाई निःशुल्क वा सहुलियतपूर्ण उपचार गरेर सहयोग पुर्‍याउन सम्पूर्ण अस्पताल, नर्सिङहोम, स्वास्थ केन्द्र तथा स्वास्थकर्मीहरूसाग हार्दिक अपील गर्छौं। यस क्रममा स्वास्थ्य केन्द्रहरूले बेहोर्नुपरेको आर्थिक भार भोलि बन्ने लोकतान्त्रिक सरकारले भुक्तानी गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छौं। ४. प्रतिगामी शाही सत्ताले लोकतान्त्रिक आन्दोलनमा सामेल हुने कर्मचारीहरूलाई कारबाहीको धम्की दिइरहेको छ। हामी सम्पूर्ण कर्मचारीहरूलाई शाही सत्ताका यस्ता अप्रजातान्त्रिक तथा जनविरोधी आदेशहरूलाई लत्याउँदै लोकतान्त्रिक आन्दोलनमा निर्धक्क भएर सरिक हुन आह्वान गर्छौं। आन्दोलनमा संलग्न भएबापत निस्काशनलगायत कुनै पनि प्रकारको कारबाहीमा पर्ने कर्मचारीलाई लोकतन्त्रको बहालीपछि बिनासर्त ससम्मान पुनर्वहाली गर्ने र ट्रेड युनियन अधिकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्छौं। ५. हामी लोकतान्त्रिक आन्दोलनमा सरिक हुने उद्योगपति व्यापारीहरूको आन्दोलनको अवधिभरिको बैंक ब्याज लोकतान्त्रिक सरकारले मिनाहा गर्ने र त्यसको दायित्व सरकारले बेहार्ने प्रतिबद्धता व्यक्त गर्छौं। ६. हामी आन्दोलनकारी सात राजनीतिक दलहरू सेना र प्रहरीको समेत हित, कल्याण र समृद्धिको पक्षमा छौं। उनीहरू जनताका सेवक हुन् भन्ने हाम्रो मान्यता छ। तर अहिलेको प्रतिगामी शाही सत्ताले आफ्नो निहित स्वार्थका निम्ति सुरक्षाकर्मीहरूलाई जनताको शान्तिपूर्ण आन्दोलनविरुद्ध दमनमा उतारेर जनविरोधी सत्तालाई टिकाउने कोसिस गरिरहेको छ। तसर्थ हामी सम्पूर्ण सुरक्षाकर्मीलाई शान्तिपूर्ण जनआन्दोलनविरुद्ध दमन नगर्न आग्रह गर्छौं। जनआन्दोलनविरुद्ध क्रूर दमनमा उत्रिने सबैको अभिलेख तयार गर्न र उनीहरूको नामावली सार्वजनिक गर्न सात राजनीतिक दलका स्थानीय कमिटीहरूलाई निर्देशन गर्छौं। शान्तिपूर्ण जनआन्दोलनका सहभागीहरूमाथि दमन गर्नेलाई लोकतन्त्र स्थापनापछि गठन हुने सरकारले कडा कारबाही गर्नेछ भन्ने पनि स्पष्ट पार्न चाहन्छौं। ७. शान्तिपूर्ण जनआन्दोलन उत्कर्षमा पुगिरहेको वर्तमान अवस्थामा आन्दोलनलाई हिंसासाग जोड्ने उद्देश्यले निरंकुश शाही सरकार स्वयंबाट सादा पोसाकमा सशस्त्र सुरक्षाकर्मी र राज्यसंरक्षित गुण्डाहरू घुसपैठ गराई आन्दोलनलाई हिंश्रक र रक्तपातपूर्ण बनाउने षड्यन्त्रबाट अझ प्रस्टिएको छ। यस्ता घटनाहरू देशका धेरै भागहरूमा गराइएको हामीलाई सूचना प्राप्त भएको छ। अतः ऐतिहासिक सफलतातिर उन्मुख जनआन्दोलनका क्रममा वर्तमान आमहडतालको कार्यक्रमबाट आमजनसमुदायमा पर्नजाने असुविधाका लागि क्षमायाचना समेत गर्दै निरन्तर सहयोग गर्न अनुरोध गर्छौं। ८. निरंकुशतन्त्रको अन्त्य र पूर्णप्रजातन्त्रको स्थापना नभएसम्म देशमा स्थायी शान्ति कायम हुन सक्तैन। वर्तमान द्वन्द्वको अन्त्य गरी देशमा स्थायी शान्ति र लोकतन्त्र कायम गर्नका लागि हामीले नेकपा (माओवादी) साग बार्‍हबुँदे समझदारी (मंसिर ७ र चैत्र ६ गते) गरेका छौं। जसअनुरूप शान्तिपूर्ण जनआन्दोलनबाटै वर्तमान द्वन्द्वलाई समाधान गर्ने कुरामा हामी पूर्ण इमान्दार र प्रतिबद्ध छौं। सात राजनीतिक दलद्वारा घोषित लक्ष्य, कार्यक्रम र आचारसंहितामा आधारित भई सञ्चालित शान्तिपूर्ण संयुक्त जनआन्दोलनले नै यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं। ९. हाम्रो शान्तिपूर्ण जनआन्दोलनप्रति ऐक्यबद्धता जनाउने सम्पूर्ण मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायप्रति हामी धन्यवाद ज्ञापन गर्छौं र आगामी दिनमा पनि यसरी नै सहयोग, समर्थन र ऐक्यबद्धताका लागि हार्दिक अपेक्षा गर्छौं। १०. विक्रम संवत् २०६२ साल सदाका लागि बिदा हुँदैछ र नयाँ वर्ष २०६३ आरम्भ हुँदैछ। हामी नयाँ वर्ष २०६३ आरम्भसँगै निरंकुश राजतन्त्रको अन्त्य, पूर्ण लोकतन्त्र एवं दिगो शान्तिको स्थापना हुन सकोस् र यो वर्ष सबै नेपालीका लागि सुख, शान्ति र समृद्धिको वर्ष बनोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्छौं।

गिरिजाप्रसाद कोइराला- सभापति, नेपाली कांग्रेस अमृतकुमार बोहरा- कार्यबाहक महासचिव, नेकपा (एमाले) शेरबहादुर देउवा- सभापति, नेपाली कांग्रेस (प्र) अमिक शेरचन- अध्यक्ष, जनमोर्चा नेपाल नारायणमान बिजुक्छे- अध्यक्ष, नेपाल मजदुर किसान पार्टी भरतविमल यादव- उपाध्यक्ष, नेपाल सदभावना पार्टी (आ) प्रभुनारायण चौधरी- अध्यक्ष, संयुक्त वाममोर्चा