सामग्रीमा जानुहोस्

सानाए ताकाइची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक्सिलेन्सी
Sanae Takaichi
高市 早苗
Takaichi in 2025
जापानका प्रधानमन्त्री
पद बहाली
21 October 2025
एकाधिपतिनारुहितो
पूर्वाधिकारीShigeru Ishiba

सानाए ताकाइची (जन्म: सन् १९६१ मार्च ७) जापानी राजनीतिज्ञ हुन्। उनी सन् २०२५ देखि जापानकी प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष हुन्।[] उनी यी दुवै पदमा पुग्ने पहिली महिला हुन्, साथै नारा प्रान्त बाट यी पदहरूमा पुग्ने पहिलो व्यक्ति पनि हुन्। उनले सन् १९९३ देखि २००३ र पुनः २००५ देखि प्रतिनिधि सभाको सदस्यको रूपमा कार्य गर्दै आएकी छिन्। यस अवधिमा उनले शिन्जो आबेफुमिओ किशिदाको प्रधानमन्त्रीकालमा विभिन्न मन्त्रीस्तरीय जिम्मेवारीहरू पनि सम्हालेकी थिइन्। ताकाइचीको जन्म र बाल्यकाल नारा प्रान्तको यामातोकोरियामा (Yamatokōriyama) मा भएको हो। उनले कोबे विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्। राजनीतिक यात्राको आरम्भ गर्नु अघि उनी लेखक, विधायकीय सहायक र प्रसारकको रूपमा कार्यरत थिइन्। सन् १९९३ मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले सन् १९९६ मा लिबरल डेमोक्रेटिक पार्टी (LDP) मा प्रवेश गरिन्।

शिन्जो आबेकी नजिककी शिष्य (protégé) मानिने ताकाइचीले आबेको प्रधानमन्त्रीकालमा विभिन्न महत्वपूर्ण पदहरू सम्हालिन्, विशेषतः आन्तरिक मामिला र सञ्चार मन्त्रीको रूपमा उनी संलग्न रहिन्। उनले सन् २०२१ को LDP नेतृत्व चुनावमा प्रतिस्पर्धा गरेकी थिइन्, तर दोस्रो चरण अघि नै तेस्रो स्थानमा रही बाहिरिइन्। त्यसपछि, सन् २०२२ देखि २०२४ सम्म फुमिओ किशिदाको सरकारमा उनी आर्थिक सुरक्षा मामिला मन्त्री भइन्। सन् २०२४ को LDP नेतृत्व चुनावमा उनले पुनः उम्मेदवारी दिइन् जसमा पहिलो चरणमा सबै भन्दा बढी मत प्राप्त गरेकी थिइन्, तर दोस्रो चरणमा आफ्नो पूर्ववर्ती शिगेरु इशिबा सँग साँघुरो मतान्तरले पराजित भइन्। अन्ततः सन् २०२५ को नेतृत्व चुनावमा तेस्रो पटक प्रतिस्पर्धा गर्दै उनले दुवै चरणमा विजय हासिल गरिन् र शिन्जिरो कोइजुमीलाई पराजित गर्दै पार्टीको पहिलो महिला अध्यक्ष बनिन्। त्यसपछि, जापान इन्नोभेसन पार्टीसँग गठबन्धन सम्झौता गरेर उनले २०२५ अक्टोबर २१ मा राष्ट्रिय संसद (National Diet) द्वारा जापानकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित भइन्।

ताकाइचीका विचारहरूलाई प्रायः रूढीवादी (conservative) तथा कहिलेकाहीँ अति रूढीवादी (ultraconservative) भनेर व्याख्या गरिन्छन्। उनको आन्तरिक नीतिमा सक्रिय सरकारी खर्चको समर्थन र आबेनोमिक्स (Abenomics, सन् २०१२ को चुनावपछिका आर्थिक नीतिहरू) को निरन्तरतामा जोड दिइएको छ। सामाजिक विषयहरूमा उनले परम्परागत दृष्टिकोण अपनाएकी छन् जस्तै, वैवाहिक जोडीहरूलाई अलग थर मान्यता नदिनु तथा जापानी सम्राटीय उत्तराधिकारमा महिलाको अधिकारका विषयमा परम्परागत दृष्टिकोण राख्नु उनको धारणा रहेका छन्।[] उनी जापानको संविधानको धारा ९, जसले सैन्य बल प्रयोगको निषेध गर्छ, त्यसको संशोधनको पक्षमा छिन्। साथै उनी ताइवान समर्थक परराष्ट्र नीति र संयुक्त राज्य अमेरिका–जापान गठबन्धन सुदृढीकरणको पक्षधर पनि हुन्। निप्पन काइगी (जापानको सबैभन्दा ठूलो अति-रूढीवादी र अति-राष्ट्रवादी दक्षिणपन्थी गैर-सरकारी संस्था) की सदस्य भएकी ताकाइचीले जापानको उपनिवेशकालीन इतिहासप्रति पुनर्व्याख्यात्मक दृष्टिकोण मिडिया, शिक्षण संस्था र शैक्षिक पाठ्यक्रममा प्रस्तुत गर्नुपर्ने तर्क गरेकी छन्। उनले सरकारका मुरायामा र कोनो वक्तव्यहरूको आलोचना गरेकी छिन् र विवादास्पद यासुकुनी मन्दिर मा समेत भ्रमण गरेकी छिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]