सामग्रीमा जानुहोस्

सामाजिक द्वन्द्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामाजिक द्वन्द्व भन्नाले समाजमा अधिकार वा शक्तिको संघर्षलाई जनाउँछ। सामाजिक द्वन्द्व दुई वा दुईभन्दा बढी व्यक्ति सामाजिक अन्तरक्रियामा एक-अर्का विरुद्ध उभिँदा र आ–आफ्ना असंगत लक्ष्य हासिल गर्ने प्रयत्नमा परस्पर सामाजिक शक्ति प्रयोग गर्दा उत्पन्न हुन्छ; साथै अर्कोलाई आफ्नै लक्ष्य हासिल गर्न नदिदाँ सामाजिक द्वन्द्व सिर्जित हुन्छ। यसलाई यस्तो सामाजिक सम्बन्धका रूपमा बुझिन्छ जसमा कुनै व्यक्तिको कार्य अरूको प्रतिरोध हुँदाहुँदै पनि आफ्नै इच्छाशक्ति पूरा गर्ने उद्देश्यले उन्मुख हुन्छ।

संघर्ष सिद्धान्त

[सम्पादन]

संघर्ष सिद्धान्तले समाजमा विद्यमान मूल्य र मान्यता भन्दा बढी हित वा इच्छा लाई केन्द्रमा राख्छ। यसका अनुसार हितको खोजीले विभिन्न प्रकारका संघर्षहरू उत्पन्न गर्छ, त्यसैले संघर्षलाई असामान्य होइन, बरु सामाजिक जीवनको सामान्य पक्ष मानिन्छ। प्रायः स्रोतका लागि हुने प्रतिस्पर्धा नै संघर्षको मुख्य कारण हो। समाज वास्तवमा विभिन्न समूहहरूबाट बनेको हुन्छ, जसले आपसमा स्रोतका लागि प्रतिस्पर्धा गर्छन्। यद्यपि समाजले सतहमा सहकार्य देखाए पनि त्यसको गहिराइमा सामाजिक समूहहरूबीच आफ्ना हितको लागि निरन्तर सत्ता संघर्ष चलिरहेको हुन्छ। केही समूहहरूले स्रोत र उत्पादनका साधनलाई नियन्त्रण गर्छन् र आफ्ना लक्ष्य पूरा गर्न तिनै स्रोतहरूलाई आफ्नो फाइदामा प्रयोग गर्छन्। यस क्रममा स्रोत विहीन वा कमजोर समूहहरूलाई शोषण गरिन्छ। यस्तो अवस्थाले वर्चस्वहीन समूहहरूलाई स्रोत र शक्ति प्राप्त गर्न अन्य समूहसँग संघर्ष गर्न बाध्य बनाउँछ। तर अधिकांश अवस्थामा जसको हातमा बढी स्रोत हुन्छ, उसले नै शक्ति कायम राख्छ वा अझै बढाउँछ। यही धारणा “Matthew Effect” भनिन्छ, जसले सत्तामा रहेका समूहहरूको नियन्त्रण अझै बलियो हुने प्रवृत्तिलाई व्याख्या गर्छ।

मार्क्स र संघर्ष सिद्धान्त

[सम्पादन]

जर्मन क्रान्तिकारी कार्ल मार्क्सले उत्पादनका साधन र स्वामित्व बारे आफ्नो भौतिकवादी दृष्टिकोणलाई जोड दिए। उनका अनुसार मूल्यवान् कुरा मानव श्रमको परिणाम हो। उनले आफ्ना विचारहरू पूँजीवादी समाजमा आधारित बनाए, जहाँ सम्पत्तिको ठूलो हिस्सा थोरै मानिसहरूको हातमा मात्र केन्द्रित हुन्छ। यसले उद्योगपति र मजदुर वर्गबीच स्पष्ट विभाजन ल्याउँछ। उद्योगपतिहरूले उत्पादनका साधनलाई नियन्त्रण गर्छन् भने मजदुरहरूले आफ्नो श्रम बेचेर ज्याला कमाउँछन्। तर समस्या तब देखा पर्छ जब उद्योगपतिहरूले कम खर्चमा बढी उत्पादन गर्न खोज्छन्। यसरी “अतिरिक्त मूल्य” सिर्जना हुन्छ, जसमा मजदुरहरूले आवश्यकभन्दा बढी उत्पादन गरेपछि त्यो अतिरिक्त नाफा उद्योगपतिहरूले आफ्नो हातमा राख्छन्। यससँगै शोषण पनि हुन्छ, जसमा मजदुरहरूले आफ्नो श्रमको वास्तविक मूल्यभन्दा कम ज्याला पाउँछन्। मार्क्सका अनुसार समयसँगै यो वर्गीय अन्तर अझ बढ्दै जान्छ—उद्योगपति वर्ग अझ धनी बन्दै जान्छन् भने मजदुर वर्ग अझ गरिब हुँदै जान्छ। संघर्ष सिद्धान्तलाई केवल आर्थिक सम्बन्धमै सीमित नगरी अन्य सामाजिक सम्बन्ध र अन्तरक्रियामा पनि देख्न सकिन्छ, जस्तै जातीय सम्बन्ध, लिङ्गीय सम्बन्ध र धार्मिक सम्बन्धहरूमा यो प्रष्टिने गर्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]