साम्ब
| साम्ब | |
|---|---|
साम्बको एक मूर्ति | |
| धर्मग्रन्थहरू | भागवत पुराण, देवीभागवत पुराण, महाभारत, साम्ब पुराण, स्कन्द पुराण |
| लिङ्ग | पुरुष |
| वंशावली | |
| अभिभावकहरू | |
| जीवनसाथी | लक्ष्मणा (कौरव राजकुमारी) [१] |
| वंश | यदुवंश (चन्द्रवंश) |
साम्ब भगवान कृष्ण र उनकी दोस्रो रानी जाम्बवतीका पुत्र हुन्। उनको एउटा मूर्खतापूर्ण ठट्टाले यदु वंशको अन्त्य निम्त्याएको थियो। [२]
जन्म
[सम्पादन गर्नुहोस्]महाभारत र देवीभागवत पुराण मा साम्बको जन्मको कथा वर्णन गरिएको छ। जाम्बवतीले अन्य सबै रानीहरूका धेरै सन्तान भएको तर आफ्नो मात्र कुनै सन्तान नभएको महसुस गर्न थालेपछि उनी दुःखी हुन्छिन्। उनले कृष्णको जेठो छोरा प्रद्युम्न जस्तै सुन्दर छोराको वरदान पाउन र समाधान खोज्न कृष्णसँग आग्रह गर्छिन्। जाम्बवतीबाट जन्मिएको पुत्रले यदु वंशको विनाशको सूत्रपात गर्नेछ भन्ने कुरा कृष्णलाई पहिल्यै थाहा हुन्छ। त्यसपछि कृष्ण हिमालयमा रहेका ऋषि उपमन्युको आश्रममा गएर ऋषिको सल्लाह अनुसार भगवान् शिवको प्रार्थना गर्न थाल्छन्। कहिले खप्पर र डन्डा लिएर, अर्को महिना एक खुट्टामा मात्र उभिई पानी मात्र पिएर र तेस्रो महिनामा आफ्नो खुट्टाको औँलाको भरमा उभिई हावा मात्र खाएर उनले छ महिनासम्म विभिन्न मुद्राहरूमा शिवको तपस्या गर्छन्।
कृष्णको कठोर तपस्याबाट प्रसन्न भई अन्ततः शिव कृष्णको सामु साम्ब (अर्धनारीश्वर), अर्थात् आधा स्त्री र आधा पुरुषको रूपमा प्रकट भए र वरदान माग्न भन्छन्। कृष्णले जाम्बवतीबाट एक पुत्रको कामना गर्छन् र उक्त वरदान पूरा पनि हुन्छ। त्यसको केही समयपछि एक छोराको जन्म हुन्छ जसको नाम 'साम्ब' राखिन्छ।[३][४] भागवत पुराणका अनुसार, जाम्बवती साम्ब, सुमित्र, पुरुजित, शतजित, सहस्त्रजित, विजय, चित्रकेतु, वसुमान, द्रविड र क्रतुकी आमा हुन्।[५]
यादव वंशको विनाश
[सम्पादन गर्नुहोस्]
कुरुक्षेत्र युद्धको अन्त्यमा, कृष्णले सहयोगमा गान्धारीका १०० सन्तानहरू (कौरवहरू) उनका भतिजाहरू पाण्डवहरूद्वारा मारिन्छन्। पाण्डवहरूले पनि आफ्ना सबै सन्तानहरू उक्त युद्धमा गुमाउँछन्। यस्तो विनाशमा भाग लिएका भन्दै कृष्णलाई गान्धारीले श्राप दिन्छिन्। उनले कृष्ण, उनको सहर र उनका सबै प्रजाहरू नष्ट हुने श्राप दिन्छिन् भने उक्त श्रापलाई कृष्णले स्वीकार गर्छन्।[६][७]
मौसल पर्व पुस्तकले महान् युद्ध समाप्त भएको ३६ वर्षपछि श्राप पूरा भएको वर्णन गर्दछ। साम्बले महिलाको लुगा लगाउँछन् र कृष्णसँग भेट गर्न द्वारका आएका उनका साथीहरू; ऋषि विश्वामित्र, दुर्वासा, वशिष्ठ, नारद र अन्य ऋषिहरूलाई भेट्छन्। महिलाको भेषमा रहेका ती युवकले आफू गर्भवती भएको दाबी गर्दै ऋषिहरूलाई बच्चाको लिङ्ग भविष्यवाणी गर्न आग्रह गर्छन्। एक जना ऋषिले यो ठट्टा हो भनेर बुझिहाल्छन्। साम्बले एउटा फलामको गदा जन्माउनेछन् र उक्त गदाले उनको सम्पूर्ण वंशको विनाश गर्नेछ भनी क्रोधित भएका ऋषिले श्राप दिन्छन्।
श्राप अनुसार, अर्को दिन साम्बले फलामको छड जन्माउँछन्। युवाहरूले राजा उग्रसेनलाई सबै कुराको जानकारी गराउँछन्। उग्रसेनले साम्बलाई उक्त छड धुलो पारेर प्रभास समुद्रमा फाल्न आदेश दिएपछि त्यो धुलो समुद्रको किनारमा 'एरका' नामक लामो घाँसको रूपमा पलाउँछ। पछिका कथाहरूमा यादवहरू एउटा उत्सवका लागि त्यही समुद्र किनारमा जम्मा हुन्छन् जहाँ उनीहरूबीच झगडा सुरु हुन्छ। हातमा कुनै हतियार नभएपछि यादवहरूले फलाम जस्तै बलियो 'एरका' घाँस उखेल्छन् र त्यसैले एकअर्कालाई नष्ट गर्छन्। यसरी, फलामको गदाले सम्पूर्ण यादव वंशको विनाश गर्छ। त्यो गदाको एउटा ठूलो टुक्रा माछाले निल्छ। त्यही माछा जरा नामक शिकारीले समात्छ, जो आफ्नो अघिल्लो जन्ममा रामायणको बाली थियो। उनले माछाबाट फलामको टुक्रा निकाल्छन् र त्यो तिखो काँडा जस्तो आकारको भएको देखेपछि त्यसलाई धारिलो बनाएर आफ्नो धनुषको तिरमा राख्छन्। शिकारी जराले कृष्णको आधा देखिएको देब्रे खुट्टालाई मृग ठानेर तिर चलाउँछन्। उक्त तिरले कृष्णलाई घातक चोट पुर्याएपछि उनको पृथ्वीबाट प्रस्थान हुन्छ।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Story of Sāmba", २८ जनवरी २०१९।
- ↑ Hudson (2008), p. 101
- ↑ Swami Parmeshwaranand (२००४), Encyclopaedia of the Śaivism, Sarup & Sons, पृ: ६२, आइएसबिएन 978-81-7625-427-4।
- ↑ Vettam Mani (१९७५), Puranic Encyclopaedia: a Comprehensive Dictionary with Special Reference to the Epic and Puranic Literature, Motilal Banarsidass Publishers, पृ: 342, 677, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Bhagavata Purana अभिलेखिकरण ३० अप्रिल २००८ वेब्याक मेसिन. Vedabase.net. Retrieved on 2013-05-02.
- ↑ Stri Parva The Mahabharata, Translated by Kisari Mohan Ganguli, Published by P.C. Roy (1889)
- ↑ Pattanaik, Devdutt (२८ नोभेम्बर २००८), "Tears of Gandhari", Devdutt, मूलबाट १८ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अप्रिल २०१८। अभिलेखिकरण १८ जुन २०१९ वेब्याक मेसिन
- ↑ "क्या आप जानते हैं, कैसे हुई थी श्रीकृष्ण की मृत्यु", Dainik Jagran, अन्तिम पहुँच ३ जुलाई २०२०।