सिंहदेवी निम्न माध्यमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिंहदेदी निम्न माध्यमिक विद्यालय कनपा ४, टेक्रामा अवस्थित छ । २०४० सालमा स्थापना भएकाे यस विद्यालयमा हाल कक्षा १ देखि ८ सम्म अध्ययन अध्यापन हुदैछ । झापा जिल्लाकाे नमुना विद्यालयका रूपमा यसले अाफ्नाे प्रतिष्ठा कायम गरेकाे छ । [१]

परिचय[सम्पादन गर्ने]

स्थानीय समाजसेवी श्री नरनाथ फुयाल, लेखबहादुर कोइराला तथा अन्य स्थानीय अभिभावकहरूको अगुवाइमा जि.शि.का. झापाबाट श्री सिंहमाई जनमुखी प्रा.वि. नामकरण गरी कक्षा सञ्चालन अनुमति लिई एउटा आँपको रुखमुनि विधिवत कक्षा – ३ सम्मको विद्यालयको सुरुवात २०४० सालमा भयो । केही समय यसरी नै पठन पाठन सुचारु भएपछि श्री नरनाथ फुयालले तत्कालीन अवस्थामा पठन पाठनको जिम्मा लिन शिक्षकको रूपमा श्री लेखबाहादुर कोइराला, श्री डम्बरप्रसाद फुयाल र श्री पुरनकुमार फुयाललाई स्वयंसेवकका रूपमा नियुक्ति गर्नुभयो । आफूले भोगेको ०–५–० कठ्ठा जग्गा उपलब्ध गराएपछि स्थानीय अभिभावकको पहलमा खम्बा, बाँस, खर, पराल सङ्कलन गरी सामान्य सेउले कटेरो लगाई यसैमा पठन पाठन गर्न थालियो ।

स्वीकृति तथा भवननिर्माण[सम्पादन गर्ने]

२०४४ सालमा यस विद्यालयलाई स्वीकृति प्रदान गरियो र १ दरबन्दीसमेत प्राप्त भएकाे देखिन्छ । विद्यालयको स्वीकृतिसँगै विद्यालयको नाम पनि परिर्वतन गरी श्री सिंहदेवी प्राथमिक विद्यालय रहन गएकाे पाइन्छ । त्यसपछि २०४६ सालमा प्रा.शि. परियोजनाबाट भौतिक निर्माणका लागि रु.६५०००।– प्राप्त गरी ३ कोठे अर्धपक्की भवन निर्माण गरेर कक्षा ३ सम्मको पठन पाठन गर्न सुरु गरियो । २०४४ सालबाट कक्षा १ र १ दरबन्दी प्राप्त गरेको यस विद्यालयले २०४७ सालमा मात्र कक्षा ५ र ५ वटा दरबन्दी प्राप्त गरेको थियो । विद्यालयको विकासक्रम सँगै स्थाीनय स्रोत, गा.वि.स., वन उपभोक्ता समिति आदिबाट आर्थिक सहयोग उपलब्ध गराउँदै अन्य भवन र कोठाहरू थप हुँदै गए । जाइकाबाट दुइकोठे पक्की भवन प्राप्त भयो ।

स्तरबृद्धि[सम्पादन गर्ने]

विद्यालयको विकासक्रम सँगै स्थाीनय स्रोत, गा.वि.स., वन उपभोक्ता समिति आदिबाट आर्थिक सहयोग उपलब्ध गराउँदै अन्य भवन र कोठाहरू थप हुँदै गए । जाइकाबाट दुइकोठे पक्की भवन प्राप्त भयो । विद्यालयको स्तर वृद्धि गर्ने क्रममा २०६६ सालबाट नि.मा.वि. तह सञ्चालन सुरु भई २०६८ मा कक्षा ८ सम्म सञ्चालनमा आएको छ ।

सेवा क्षेत्रकाे भाैगाेलिक बनाेट[सम्पादन गर्ने]

मेची अञ्चल झापा जिल्ला सुरुङ्गा गा.वि.स. वडा नं. – ४ को दक्षिण पश्चिम सीमानामा अवस्थित श्री सिंहदेवी नि.मा.वि. सुरुङ्गा—कुवाडी लक्ष्मीमार्ग सडकको छेउ पेटीमा अवस्थित छ । यस विद्यालयको दक्षिणतर्फ सुरुङ्गा गा.वि.स को वडा नं. ७, पश्चिमतर्फ शिवगन्ज गा.वि.स. को वडा नं. ८ र पूर्वतर्फ सुरुङ्गा गा.वि.स. वडा नं. ९ पर्दछ । महेन्द्र राजमार्गबाट लगभग ४÷५ कि.मि. दक्षिणतर्फ अमरपथ सडकको २.५ कि.मि., पश्चिमतर्फ कनकाई नदीबाट २ कि.मि. पूर्वमा पर्दछ । कनकाई नदीको तटमा रहेको यो विद्यालय वरिपरि समथर उब्जाउ योग्य जमिन रहेको छ । बेलाबखत कनकाई नदीमा आएको बाढीको चपेटाबाट यस क्षेत्रका अभिभावक वा जनता अछुतो रहन सकेका छैनन् ।

विद्यालय, समुदाय र सहभागिता[सम्पादन गर्ने]

यस श्री सिंहदेवी नि.मा.वि. सुरुङ्गा –४ को सेवाक्षेत्र भित्र लगभग ४७५ घर धुरीको बसोबास रहेको छ । कुल जनसङ्ख्या ४२०० को हाराहारीमा छ । यसमा पुरुषको सङ्ख्या २००० र महिलाको सङ्ख्या २२०० रहेको छ । यस विद्यालयको सेवाक्षेत्रभित्र विभिन्न जात जातिका मानिसहरूको बसोबास रहेको छ । धर्मनिरपेक्ष राष्ट्र भएकाले पनि सबै भाषाभाषी, जातजातिका मानिसहरूले उचित सम्मान पाएका छन् । यस सेवाक्षेत्रभित्र मुख्यतया बाहुन क्षत्रीहरूको बाहुल्य रहेको छ । यसबाहेक राई, लिम्बु, तामाङ, गुरुङ, थारू, मुसहर, कामी, दमाई, सार्की, सतार, भुजेल, नेवार, माझी आदिको बसोबास रहेको छ । यी जातजातिहरूले आ–आफ्नो जातीय धार्मिक परम्पराअनुसार चाडपर्व मनाउने र संस्कार मान्ने गरेको पाइन्छ । हिन्दु धर्म मान्नेहरूको बाहुल्य भए तापनि बौद्ध,क्रिस्चियन आदि धर्म मान्ने मानिस पनि छिटपुट रूपमा देखिएका छन् । धेरै जातजातिको बसोबास भए तापनि अधिकांशले प्रमुख बोलचालको रूपमा नेपाली भाषालाई नै प्रयोग गर्दछन् । सतार, मुसर, चैधरीजस्ता परिवारका बुढापाकाहरूले भने आफ्नै मातृभाषा प्रयोग गरेको पाइन्छ ।

कनकाई नदीका तटका उर्वरा भूमिमा बसोबास गरेका यहाँका मानिसहरू निम्नमध्यम वर्गीय, निम्नवर्गीय र मजदुरहरू नै हुन् । ८५ % मानिसलाई आफ्नो जग्गा जमिनबाट वषै भरि खान पुग्छ भने १५ % मनिसहरू अर्काकोमा रोजगार नगरी के खाउँ के लाउँ भन्ने अवस्थामा रहेका छन् । पछिल्लो अवस्थामा मानिसहरू वैदेशिक रोजगारप्रति आर्किषत भएकाले केही हदसम्म आर्थिक अवस्थामा सुधार भएको मान्न सकिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. विष्ट, उद्धव (२०७१), झापा जिल्लाका विद्याहरूको परिचय, झापा ः जिल्ला शिक्षा कार्यालय ।