सामग्रीमा जानुहोस्

सिगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिगा प्रान्त (滋賀県, सिगा केन) जापानको होन्शू टापुको कान्साइ क्षेत्रमा रहेको प्रान्त हो। १ फेब्रुअरी २०२५ सम्म यसको जनसंख्या करिब १,३९८,९७२ थियो र क्षेत्रफल ४,०१७ बर्ग किमी छ। यसको राजधानी तथा सबैभन्दा ठूलो सहर ओत्सु हो, भने अन्य प्रमुख सहरहरूमा कुसात्सु, नागाहामा, र हिगाशीओमी पर्दछन्। []

सिगा जापानको सबैभन्दा ठूलो मीठोपानीको ताल बिवा ताल घेरिएको क्षेत्रका रूपमा प्रसिद्ध छ, र प्राकृतिक उद्यानका रूपमा संरक्षित भूमिको अनुपात सबै प्रान्तमध्ये सबैभन्दा उच्च छ। दक्षिणी सिगा क्योटो महानगर क्षेत्रको हिस्सा हो। यो प्रान्त ओमी गोमांस, ओमीका आठ दृश्य, र जापानका चार राष्ट्रिय धरोहर किल्लामध्ये एक हिकोने किल्लाका लागि पनि चिनिन्छ।

सिगा प्रान्त उत्तरतर्फ फुकुई, पूर्वतर्फ गिफु, दक्षिण–पूर्वतर्फ मिए, र पश्चिमतर्फ क्योटो प्रान्तसँग जोडिएको छ। प्रान्तको बीचभागमा रहेको बीवा ताल यसको करिब एक–छैटाई क्षेत्र ओगट्ने मुख्य प्राकृतिक क्षेत्र हो। यस तालबाट बग्ने एक मात्र प्राकृतिक नदी सेटा नदी हो, जुन क्योटो हुँदै ओसाका खाडीमा गएर मिसिन्छ।

बिवा ताल वरिपरि क्षेत्र चार भागमा विभाजित छन्:

  • कोहोकु (उत्तर) – केन्द्र: नागाहामा
  • कोसेइ (पश्चिम) – केन्द्र: इमाजु
  • कोतो (पूर्व) – केन्द्र: हिकोने
  • कोनान (दक्षिण) – केन्द्र: ओत्सु

तालको पूर्व किनारमा समथर भूभाग फैलिएको छ, भने वरिपरि हिरा पर्वत, हिएइ पर्वत, इबुकि पर्वत, र सुजुका पर्वत जस्ता हिमश्रृंखला अवस्थित छन्। प्रान्तको सबैभन्दा अग्लो हिमाल इबुकि हिमाल हो।

दक्षिणी सिगा सामान्यतया तातो हुन्छ भने उत्तरी सिगामा कडा जाडो र बाक्लो हिमपात हुन्छ। अप्रिल २०१४ सम्म सिगाको कुल क्षेत्रफलको ३७% प्राकृतिक उद्यानका रूपमा संरक्षित थियो, जसमा बिवाको र सुजुका अर्ध नेशनल पार्क तथा अन्य प्रान्तल प्राकृतिक उद्यानहरू समावेश छन्।[]

प्रारम्भिक समयमा सिगालाई ओमी प्रान्त वा गोशू भनेर चिनिन्थ्यो, र यो नारा तथा क्योटो जस्ता पुराना राजनीतिक केन्द्रसँग नजिक रहेको क्षेत्र थियो। सन ६६७ देखि ६७२ को बीचमा सम्राट टेनजिले ओत्सुमा दरबार स्थापना गरे, र ८औँ शताब्दीमा सम्राट शोमूले सिगाराकीमा अर्को दरबार स्थापना गरे। हेयान कालको प्रारम्भमा जन्मिएका भिक्षु सैचो ले हिएइ पर्वतमा टेन्दाइ बौद्ध केन्द्र एनर्याकुजीको स्थापना गरे, जुन अहिले विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ।[]

मध्यकालमा सासाकि, रोक्काकु, क्योगोकु, र अजाइ जस्ता शक्तिशाली कूलहरूले यो क्षेत्र शासित गरे। अझुची–मोमोयामा अवधिमा ओडा नोबुनागा ले ओमीलाई आफ्नो नियन्त्रणमा लिए र १५७९ मा अझुची किल्ला निर्माण गरे।

सन १६०० को सेकिगाहारा युद्धपछि टोकुगावा इयासुले यो क्षेत्र ईई कूललाई दिए, जसले हिकोने स्थापना गरेका थिए। यसका प्रमुख शासक ईई नाओसुके ले टोकुगावा शोगुनकालका उच्च पदस्थ अधिकारि (का रूपमा १९औँ शताब्दीमा जापानलाई पश्चिम देशहरूसँग व्यापारिक रूपमा खोल्ने महत्वपूर्ण निर्णय लिएका थिए।

ह्यान प्रणाली समाप्त भएपछि ओमीका विभिन्न क्षेत्रहरू मिलेर १८७२ मा सिगा प्रान्त गठन भएको हो। १८७६ देखि १८८१ सम्म दक्षिणी फुकुईको केही भाग पनि यसमा समेटिएको थियो। २०१५ मा, प्रान्तका गभर्नरले सिगाको नाम परिवर्तन आवश्यक छ कि छैन भन्ने बारे सर्वेक्षणसमेत सञ्चालन गरेका थिए।

सिगाको संस्कृतिलाई यसको पुरानो इतिहास, प्राकृतिक , र क्योटोसँगको निकटताले प्रभावित गरकेो छ। यस क्षेत्रमा सगावा आर्ट म्युजियम (मोरियामा), लेक बिवा म्युजियम (कुसात्सु), तथा मिहो म्युजियम (कोका) जस्ता प्रमुख सांस्कृतिक संस्थान अवस्थित छन्। नागाहामामा रहेको टोंडा परम्परागत कठपुतली क्षेत्रीय कला परम्पराको महत्त्वपूर्ण प्रतिनिधि को रुपमा लिइन्छ। कोका क्षेत्रमा ऐतिहासिक निन्जा घर पर्यटक केन्द्रको रूपमा संरक्षित छ।[]

सिगा जापानका सबैभन्दा औद्योगिक विकास भएको प्रान्तमध्ये एक हो। २०१४ को तथ्याङ्कअनुसार, प्रान्तको कुल आर्थिक उत्पादनको ३५.४% निर्माण क्षेत्रले ओगटेको छ—यो अनुपात जापानभरि सबैभन्दा उच्च हो। प्रमुख उद्योगहरूमा सूक्ष्म मेसिनरी, इलेक्ट्रोनिक्स, अटोमोबाइल पार्ट्स, कपडा उद्योगसमेत पर्छ। ऐतिहासिक व्यापारी सहर ओमिहाचिमान आफ्नो संरक्षित व्यापारी घरहरू र नहर प्रणालीका कारण आज पनि व्यापारिक परम्पराको प्रतीक मानिन्छ।[]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. NHK Broadcasting Culture Research Institute, सम्पादक (२४ मे २०१६), NHK日本語発音アクセント新辞典, NHK Publishing।
  2. "General overview of area figures for Natural Parks by prefecture", Ministry of the Environment (Japan), १ अप्रिल २०१४, अन्तिम पहुँच ३ जुलाई २०१५
  3. Nussbaum, "Provinces and prefectures" at Japan Encyclopedia, p. 780, पृ. 780, गुगल बुक्स मा
  4. Biwako Visitors Bureau, "Experiencing Ninjutsu (Ninja's techniques) at the ninja's native place – Koka Ninjutsu Yashiki", अन्तिम पहुँच २०११-०५-१३ अभिलेखिकरण २०११-११-२९ वेब्याक मेसिन
  5. Shiga Prefecture, "滋賀県の紹介(滋賀県なんでも一番)" [Introduction of Shiga prefecture; Best scores of Shiga] (जापानीमा), अन्तिम पहुँच २०११-०५-०८ अभिलेखिकरण २०१३-०६-०८ वेब्याक मेसिन