सामग्रीमा जानुहोस्

सिन्धुली जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिन्धुलीबाट अनुप्रेषित)
सिन्धुली जिल्ला
सिन्धुली जिल्लाको अवस्थिति
देश नेपाल
प्रदेशबागमती
सदरमुकामसिन्धुलीमाढी (कमलामाई)
क्षेत्रफल
  जम्मा२४९१ किमी (९६२ वर्ग माइल)
जनसङ्ख्या
 (२०७८)
  जम्मा३०००२६

सिन्धुली जिल्ला नेपालका बागमती प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २,४९१ वर्ग किलोमिटर (९६२ वर्ग माइल) रहेको छ। कमलामाई नगरपालिकामा पर्ने सिन्धुलीमाढी यस जिल्लाको सदरमुकाम हो। प्रशासनिक रूपमा यो जिल्ला ९ वटा स्थानीय तहमा विभाजित छ, जसमा २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन्।[][] वि.सं. २०७८ को जनगणना अनुसार सिन्धुली जिल्लाको जनसंख्या ३,००,०२६ रहेको छ।[]

सिन्धुली जिल्ला भित्री तराई तथा पहाडी भूभागबाट बनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार यसलाई भित्री तराई जिल्लाको रूपमा वर्गीकृत गरिएको छ। यस जिल्लाको कुल १० वटा अन्य जिल्लासँग सिमाना जोडिएको छ, जसका कारण यो सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला हो।[] यसको पूर्वतर्फ कोशी प्रदेश र दक्षिणतर्फ मधेश प्रदेश पर्दछन्।

यो जिल्ला ऐतिहासिक सिन्धुलीगढी किल्लाका कारण प्रसिद्ध छ, जहाँ वि.सं. १८२४ मा गोर्खाली सेनाले ब्रिटिस इस्ट इन्डिया कम्पनीका सेनालाई पराजित गरेको थियो। प्रसिद्ध बी.पी. राजमार्ग यस जिल्ला हुँदै जान्छ। सिन्धुली जिल्ला जुनार उत्पादनका लागि पनि परिचित छ।[]

नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार सिन्धुली जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्दथ्यो। वि.सं. २०२३ सम्म सिन्धुलीगढी यस जिल्लाको सदरमुकाम थियो।

जिल्लाको नामाकरण

[सम्पादन गर्नुहोस्]

सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरू जोडिएका छन्, जसमध्ये केही प्रसंगहरू तल प्रस्तुत गरिएका छन्;

  • नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए। यी राजा भगवान श्रीरामका परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।
  • सिन्धुली जिल्लाको सदरमुकामबाट करिव ११ किलोमिटरको दूरीमा समुद्री सतहबाट १,०७७ मिटरको उचाईमा सिद्धवावा मन्दिर छ। सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्धस्थली पनि भनेर पुकारिन्छ। सिद्धस्थली भन्ने शब्द नै पछि अपभ्रंस भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ।[]
  • यस क्षेत्रमा परापूर्व कालमा सिन्धुल भन्ने राजाले राज्य गरेको हुनाले यीनै राजाको नामबाट सिन्धुली रहन गएको हो।[]
  • सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौँसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरूङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।
  • सिन्धुली जिल्लामा अहिले विभिन्न जाती तथा जनजातिहरूको वसोवास रहेतापनि आदिमकालमा यहाँ तामाङहरू बस्दथे। परापूर्व कालदेखि नै घनाजंगलले घेरिएको जिल्ला भएकोले यस ठाँउमा काठ, दाउरा गर्ने काम यहाँका आदीवासी तामाङहरूको दिनचर्या भएको अनुमान गर्न सकिन्छ। दाउरा वा काठ काट्नुलाई तामाङहरू सिङथुवा भन्दछन र दाउरा टिप्यो ?लाईसिङथुजी शब्द अपभ्रंस भएर सिन्धुली भएको हो भन्ने पनि अनुमान गर्न सकिन्छ। []
  • अर्को एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरूको शासन थियो। त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरूको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो। रैथाने देवास राई जातिको बोलीचालीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई 'दुवाली' भानिन्छ। स्थानीय बोलीमा सेनहरूले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो। सिन्धुली का एक जना साहित्यकार स्व. उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य 'मकवानी बाला 'मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]
  • अक्षांस:-२६ डिग्री ५५" देखि २७ डिग्री २२" उत्तर
  • देशान्तर:- ८५ डिग्री १५" देखि ८६ डिग्री २५" पूर्व
  • कुल क्षेत्रफल:- २,४९१ वर्ग किलोमिटर

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

स्थानिय तहहरू

[सम्पादन गर्नुहोस्]
सिन्धुली जिल्लाका स्थानिय तहहरू

जिल्लामा दुई नगरपालिका र सात गाउँपालिकाहरू गरि ९ वटा स्थानीय तहहरू रहेका छन्।[][]

सिन्धुली जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू वडा सङ्ख्या केन्द्र जिल्ला सदरमुकामबाट दूरी (किमी) जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग

किमी)

जनघनत्व (वर्ग

किमी)

कमलामाई नगरपालिका १४ सिन्धुलीमाढी ७१,०१६ ४८२.५७ १५०
दुधौली नगरपालिका १४ दुधौली ५७ ७०,२०७ ३९०.३९ १८०
फिक्कल गाउँपालिका खाङ्साङ ७५ १५,९१० १८६.०६ ८६
तीनपाटन गाउँपालिका ११ लाम्पानटार (चकमके) ३८ ३४,८८९ २८०.२६ १२०
गोलन्जोर गाउँपालिका भुवनेश्वरी ग्वालटार ५० १८,७३७ १८४.१३ १००
घ्याङलेख गाउँपालिका बस्तीपुर (हायुटार) ३५ १२,६५२ १६६.७७ ७६
मरिण गाउँपालिका कपिलाकोट

(छाप बजार)

२६ २८,८०८ ३२४.५५ ८९
हरिहरपुरगढी गाउँपालिका झनझने ५६ २६,५०५ ३४३.९ ७७
सुनकोशी गाउँपालिका पुरानो झागाझोली (रामटार) ६५ १८,३७५ १५४.६८ १२०

पूर्व गाउँ विकास समितिहरू

[सम्पादन गर्नुहोस्]
सिन्धुली जिल्लाका पूर्व गाविसहरूको नक्सा (वि.सं. २०७१ अघि)

वि.संं. २०५३ सम्म सिन्धुलीमा जम्मा ५५ वटा गाउँ विकास समिति (गाविस) थिए। वि.संं. २०५३ मा कमलामाई नगरपालिका गठन भएपछि गाउँ विकास समितिहरूको संख्या घटेर ५३ भयो। वि.संं. २०७१ मा दुधौली नगरपालिका गठन हुँदा गाउँ विकास समितिहरूको संख्या थप घटेर ५० रह्यो। वि.संं. २०७३ फागुन २७ मा नेपालमा स्थानीय तहको पुनर्संरचना अन्तर्गत सबै गाउँ विकास समितिहरू खारेज गरि नगरपालिका तथा गाउँपालिकामा समावेश गरियो।

क्रम स्थानिय तह समावेश गाविस समावेश मिति
कमलामाई नगरपालिका सिद्धेश्वर र भिमान वि.सं. २०५३ चैत १४
डाँडीगुराँसे, भद्रकाली, जलकन्या, रानीबासरानीचुरी वि.संं. २०७३ फागुन २७
दुधौली नगरपालिका दुधौली, टाँडी, लदाभिर वि.संं. २०७१ मंसिर १६
हत्पते, निपाने, सिर्थौली, हर्षाही, अरुणठाकुर, कुकुरठाकुरजिनाखु वि.संं. २०७३ फागुन २७
फिक्कल गाउँपालिका महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङ्साङ, सोल्पाठानारत्नावती वि.संं. २०७३ फागुन २७
तीनपाटन गाउँपालिका बालाजोर, जरायोटार, लाम्पानटार, आम्बोटे, तोश्रामखोला, बाहुनतिल्पुङ, भिमस्थानबेलघारी
गोलन्जोर गाउँपालिका भीमेश्वर, बासेश्वर, भुवनेश्वरी ग्वालटार, बितिजोर बगैँचा, तीनकन्या, रतनचुराडुडभञ्ज्याङ
घ्याङलेख गाउँपालिका अमले, बस्तीपुर, तामाजोर, नेत्रकालीशान्तेश्वरी (रामपुर)
मरिण गाउँपालिका महादेवस्थान, कल्पवृक्षकपिलाकोट
हरिहरपुरगढी गाउँपालिका हरिहरपुरगढी, क्यानेश्वर, पिपलमाडीमहेन्द्र झ्याडी
सुनकोशी गाउँपालिका कुशेश्वर दुम्जा, झाँगाझोली रातमाटा, पुरानो झाँगाझोली, सितलपाटीमझुवा

जिल्लाको सिमाना

[सम्पादन गर्नुहोस्]

सिन्धुली जिल्लाका मन्दिरहरू

[सम्पादन गर्नुहोस्]

कालीमाई मन्दिर

[सम्पादन गर्नुहोस्]

कमलामाई नगरपालिका वडा नं. ४ अवस्थित हिन्दूधर्मालम्वीहरूको आस्था र शक्तिकी प्रतिक श्री कालीमाई मन्दिर पूर्वमा ग्वाङखोला, पश्चिममा हरियाली वनजंगलले ढाकेको र विचमा रमणिय मधुटार गाउँको अवलोकन गर्न सकिन्छ। कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ हजारौ नरनारीहरू आएर आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गर्दछन्। राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। दिलिपकुमार थापा द्वारा लिखित “सिन्धुलीको धार्मिक तथा ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरिए अनुसार सिन्धुली गढीका तत्कालिन बडाहाकीम मिन्टुजङ्ग राणाले कालिमाइलाई सलामि दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बढ्न थालेपछि एक्कारी बडा हाकिम समेतका सेनाहरू थरथर काम्नथाले पछि अहो ! वित्यास म-यो श्री कमलामाईलाई सलामि नदिएर पो यस्तो भएको हो कि ? जाऊँ फर्केर भनि कालीमाईको मन्दिरमा आइपुग्नासाथ बेहोस भएछन। तत्कालिन पूजारीले श्री कालीमाईको स्तुति पुकारापात गरेपछि बडाहाकिम समेत होसमा आई सैनिकहरूले विधिपूर्वक श्रीइ कालीमाइलाई सलामी दिएर कमलामाइको मन्दिर तर्फ गएको भनाई उल्लेख गरेका छन्। हाल सम्म पनि भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्।

यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना गर्यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास हालसम्म पनि उत्तिकै रहि आएको पाइन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 "संक्षिप्त परिचय", जिल्ला समन्वय समिति, सिन्धुली
  2. 1 2 "सिन्धुली जिल्ला परिचय", जिल्ला प्रशासन कार्यालय, सिन्धुली
  3. 1 2 "जिल्ला वस्तुगत विवरण सिन्धुली २०८०", अन्तिम पहुँच २०८२ माघ १०
  4. नेपाल तामाङ्ग घेदुङ्ग सङ्घ, सिन्धुली
  5. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२
  6. "कालिकामाई मन्दिर", sindhuligadhi.com अभिलेखिकरण २०१९-१०-३१ वेब्याक मेसिन

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]