सिन्धु घाँटीको सभ्यता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सिन्धघाटी सभ्यताको प्रारम्भ ३००० ई. पू. मा भएको थियो । यस सभ्यताको मुख्य केन्द्र हालको पाकिस्तानको हडप्पा र मोहोनजोदडोमा पर्दछ । यी दुवै ठाउँ एकअर्कोबाट ४०० माइल टाढा रहेका छन् ।

सिन्धघाटी सभ्यताको मुख्य विशेषता भवन निर्माण तथा नहर योजना थियो । यहाँ बनेका घर प्रायः पाकेका इँटाले बनेका हुन्थे । घर बनाउँदा ढुंगाको प्रयोग गरेको पाइँदैन । प्रत्येक घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र स्नानगृह छुट्टाछुट्टै बनेका हुन्थे । नगरका सडकहरु फराकिला थिए । सिन्धघाटीको एउटा स्नानगृह १८०×१०८ फिट चौडा थियो । यसैसँग जोडिएको पौडी खेल्ने पोखरी पनि थियो । मोहन्जोदडोमा खाद्य भण्डार र सभागृह पनि बनेको थियो ।

सिन्धघाटीका मानिसहरु फलफूल, माछामासु, तरकारी र दूध खाने गर्दथे । यिनीहरु नाइटोदेखि मुनि मात्र लुगा लगाउँथे । पुरुषहरु कुममा च्यादर राख्थे । महिलाहरू विभिन्न किसिमका श्रृंगारका साधनहरु प्रयोग गर्दथे । धनीहरु आप्mनो सुख सुविधाका निम्ति दासदासी राख्ने गर्दथे ।

सिन्धवासीहरुको व्यवसाय कृषि, व्यापार र उद्योग थियो । यिनीहरु खेतीपातीका साथै पशुपालन पनि गर्दथे । यिनीहरुलाई घोडाको ज्ञान थिएन । सामानहरु वैलगाडामा ढुवानी गर्दथे । यिनीहरुलाई तामा, काँच, टिन र चाँदीको प्रयोग गर्ने तरीका राम्ररी थाहा थियो । यिनीहरु नापतौल गर्न पनि जान्दथे । यिनीहरु निर्यात गरिने वस्तुमा छाप लगाउँथे ।

सिन्धवासीहरु मातृका र शिवको पूजा गर्दथे । यसबाहेक यिनीहरु सर्प, परेवा, बाख्रा, गोरु, गैडा र गोहीको पूजा गर्दथे ।

सन्दर्भ[सम्पादन गर्ने]