सुफिया कामाल
सुफिया कामाल | |
|---|---|
সুফিয়া কামাল | |
![]() | |
| जन्म | सैयदा सुफिया बेगम २० जुन १९११[१][२] शायेस्ताबाद, बाकेरगञ्ज जिल्ला, पूर्वी बङ्गाल र असम |
| मृत्यु | २० नोभेम्बर १९९९ (उमेर ८८) ढाका, बङ्गलादेश |
| पेशा | कवयित्री, लेखिका |
| जीवनसाथी | सैयद नेहाल हुसेन
( वि १९२२; मृत्यु १९३२)कामालउद्दिन अहमद
( वि १९३९; मृत्यु १९७७) |
| सन्तान | सुल्ताना कामाल (छोरी) |
बेगम सुफिया कामाल (बङ्गाली: সুফিয়া কামাল) (२० जुन १९११ – २० नोभेम्बर १९९९) एक बङ्गलादेशी कवयित्री, नारीवादी नेता र राजनीतिक कार्यकर्ता थिइन्। उनले सन् १९५० को दशकको बङ्गाली राष्ट्रियतावादी आन्दोलनमा भाग लिएर स्वतन्त्र बङ्गलादेशमा नागरिक समाजको नेतृको रूपमा पनि काम गरेकी थिइन्। उनले नारीवादी आन्दोलनको नेतृत्व गर्नुका साथै बङ्गलादेश महिला परिषद्को अध्यक्ष रूपमा पनि काम गरेकी थिइन्। सन् १९९९ को उनको निधन भएको थियो भने मृत्यु पश्चात् उनलाई राष्ट्रिय स्तरको सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। बङ्गलादेशमा राष्ट्रिय स्तरको सम्मानका साथ अन्त्येष्टि गरिएकी उनी प्रथम महिला पनि हुन्।
प्रारम्भिक जीवन र परिवार
[सम्पादन गर्नुहोस्]
सैयदा सुफिया बेगमको जन्म सन् १९११ जुन २० का दिन तत्कालीन पूर्व बङ्गाल र असम प्रदेशको बाकेरगञ्ज जिल्लाको शायस्ताबादमा मामाको घर राहात मञ्जिलमा भएको थियो। उनी एक प्रतिष्ठित बङ्गलादेशी मुसलमान जमीदार खानदानकी छोरी थिइन् जसलाई ब्राह्मणबारीको शिलाउरको सैयद वंशको रूपमा चिनिन्छ। उनी सात वर्षको छँदा उनका बुबा सैयद अब्दुल बारीले वकिलको जागिर र घरबार त्यागेर सन्न्यासी सूफी बनेका थिए।[३] त्यसकारण उनी उनकी आमा सैयदा सबेरा बेगमसँग मामाको घरमै हुर्किएकी थिइन्। सुफियाका हजुरबुबा खान बहादुर नवाब सैयद मीर मोयाज्जेम हुसेन एक जमीदार र प्रसिद्ध व्यक्ति थिए।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]सन् १९१८ जब सुफिया सात वर्षकी थिइन् तब उनका बुबाले साधकहरूको अनुसरण गरी निर्वासित यात्रा सुरु गरेका थिए जसकारण उनकी आमा साबेरा खातुनले आफ्नो बुबाको घरमा आश्रय लिनु परेको थियो। सुफियाको आफ्नो बाल्यकाल हजुरबुबाको घरमा बिताएकी थिइन् भने जुन घरमा उनको जन्म भएको थियो त्यहाँ महिलाहरूलाई शिक्षा दिनु आवश्यक मानिदैनथ्यो। उनको मातृकुल शायस्ताबादका नवाब परिवारसँग सम्बन्धित थियो भने उक्त परिवारमा बोलिने भाषा उर्दु थियो। घरभित्र महिलाहरूका लागि अरबी, फारसी जस्ता भाषाहरूमा शिक्षा दिने व्यवस्था भएतापनि बङ्गाली पढाउने कुनै व्यवस्था थिएन। उनले बङ्गाली भाषा मुख्य रूपमा आफ्नी आमाबाट मात्र सिकेकी थिइन्। हजुरबुबाको घरमा उनका ठूला मामाको एउटा ठूलो पुस्तकालय थियो। आमाको प्रेरणा र सहयोगले उनलाई त्यो पुस्तकालयका किताबहरू पढ्ने मौका प्राप्त भएको थियो।[५]
सन् १९२२ मा ११ वर्षको उमेर छँदा मामाको भाइ सैयद नेहाल होसिनसँग सुफियाको विवाह भएको थियो। नेहाल तुलनात्मक रूपमा आधुनिक सोच भएका व्यक्ति थियो, उनले सुफियालाई समाजसेवा र साहित्यको क्षेत्रमा प्रेरित गरेका थिए।[६] उनले सुफियाको साहित्य र समसामयिक पत्रिकासँग घुलमिल हुने अवसर पनि दिलाएका थिए। सुफिया त्यसपछि बङ्गालका प्रमुख साहित्यकारहरूको लेख पढ्न सुरु गरेकी थिइन्। सन् १९१८ मा उनी कलकत्ता गएकी थिइन् जहाँ उनको बेगम रोकेयासँग भेट भएको थियो। त्यो भेटपछि उनी बेगम रोकेयाबाट प्रभावित बनेकी थिइन् भने रोकेयाको कुरा र कामले उनको मनमा विशेष स्थान ओगटेको थियो। सुफिया कामालको साहित्यिक लेखनहरूमा बेगम रोकेयाको झल्को पाइन्छ।[७]
साहित्य अभ्यास र कलकत्तामा जीवन
[सम्पादन गर्नुहोस्]साहित्यपाठ सँगसँगै सुफिया कामाले साहित्य रचना गर्न पनि सुरु गरेकी थिइन्। सन् १९२६ उनको पहिलो कविता 'बासन्ती' तत्कालीन समयमा प्रभावशाली पत्रिका सओगातमा प्रकाशित भएको थियो। सन् १९३० को दशकमा कलकत्ता रहँदा बङ्गाली साहित्यका प्रभावशाली व्यक्तित्वहरू; रवीन्द्रनाथ, नजरुल, शरतचन्द्र आदिबाट उनी प्रभावित बनेकी थिइन्। मुस्लिम महिलाहरूको सांस्कृतिक गतिविधिमा भाग लिन उत्साहित गर्न बेगम रोकेयाले स्थापना गरेको सङ्गठन आन्जुमाने खावातिन इस्लाममा रोकेयासँग सुफियाको परिचय भएको थियो। बेगम रोकेयाको विचारधारा र प्रतिबद्धता उनको बीचमा पनि सन्चारित हुन्छ जसले उनको जीवनमा गहिरो प्रभाव पारेको थियो। आफ्नो साहित्य प्रयासको सुरुवातको सन्दर्भलाई उनले यसरी सम्झिएकी थिइन्,"यस्तै कुनै एक वर्षायामको दिनमा मुस्लिम साहित्य पत्रिकामा प्रकाशित काजी नजरुल इस्लामको लेख 'हेना' पढ्दै थिएँ। प्रेम, बिछोड, मिलन यी सबैको मतलब के हो, मैले बल्ल त्यतिबेला बुझेँ। तर त्यसमा रहेका आनन्दका पल र पीडालाई व्यक्त गर्ने भाषा के आज छ? गद्य लेख्ने त्यस्तै एक नशा हो। त्यसपछि प्रवासी पत्रिकामा रवीन्द्रनाथ ठाकुरको कविता पढ्दै गर्दा अनौठो एक मोहग्रस्त भावले मनलाई कुनै एकान्त राज्यमा लान्थ्यो। मलाई लाग्यो, उनीहरूले लेखिरहेका छन् भने मैले किन लेख्न नसक्ने? लेखन कार्य त्यसपछि भयो।"[८]
सामाजिक सचेतना बढाउने क्रममा उनका साहित्यिक अभ्यास जारी रहेरहेको पाइन्छ। सन् १९३७ मा उनको कथा सङ्ग्रह 'केयर काँटा' प्रकाशित भएको थियो। सन् १९३८ मा उनको पहिलो कविता सङ्ग्रह 'साझेर माया'को प्रस्तावना काजी नजरुल इस्लामले लेखेका थिए। यस पुस्तकले विद्वानहरूको प्रशंसा प्राप्त गरेको थियो जसमा रविन्द्रनाथ ठाकुर पनि एक थिए। सन् १९३२ मा उनको श्रीमानको आकस्मिक मृत्युले उनलाई आर्थिक समस्यामा परेको थियो। उनले कलकत्ता महानगरपालिका विद्यालयमा शिक्षिकाको रूपमा काम गर्न थाल्दै सन् १९४२ सम्म यस पेशामा रहेकी काम गरेकी थिइन्। यसै बीच सन् १९३९ मा कामालउद्दीन अहमदसँग उनको दोस्रो विवाह भएको थियो। देश विभाजन हुनु अघिका केही वर्षमा उनी महिला लक्षित पत्रिका 'बेगम'को संस्थापक सम्पादिका थिइन्।[९]
साहित्यिक लेखन
[सम्पादन गर्नुहोस्]काव्यग्रन्थ
[सम्पादन गर्नुहोस्]- साँझेर माया (सन् १९३८)
- माया काजोल (सन् १९५१)
- मोन ओ जीबोन (सन् १९५७)
- प्रशोस्ती ओ प्रार्थोना (सन् १९५८)
- उदात्त पृथ्वी (सन् १९६४)
- दिवान (सन् १९६६)
- अभिजात्रिक (सन् १९६९)
- मृत्तिकार घ्रान (सन् १९७০)
- मोर जादुदेर समाधि परे (सन् १९७२)
- मदर अफ पर्ल्स एन्ड अदर पोअम (अङ्ग्रेजी कविता)
कथा
[सम्पादन गर्नुहोस्]- केयर काँटा (सन् १९३७)
- मुक्तिजुद्दो मुक्तिर जोय (स्वतन्त्रता युद्ध इतिहास विषयक ग्रन्थ)
भ्रमणग्रन्थ
[सम्पादन गर्नुहोस्]- सोभियते दिनगुली (सन् १९६८)
स्मृतिकथा
[सम्पादन गर्नुहोस्]- एकात्तोरेर डायरी (सन् १९८९)
आत्मजीवनी
[सम्पादन गर्नुहोस्]- एकाले आमादेर काल (सन् १९८८)
बालमैत्री ग्रन्थ
[सम्पादन गर्नुहोस्]- इतोल बितोल (सन् १९६५)
- नओल किशोरेर दरबारे (सन् १९८१)
अनुवाद
[सम्पादन गर्नुहोस्]- साँझेर माया - बलेसभनी सुमेर्की (रूस) (सन् १९८४)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Google celebrates Sufia Kamal's 108th birthday with Doodle", Prothom Alo, अन्तिम पहुँच २० जुन २०१९।
- ↑ "Google Doodle celebrates 108th birth anniversary of poet Sufia Kamal", Dhaka Tribune, २० जुन २०१९, अन्तिम पहुँच २० जुन २०१९।
- ↑ "ব্রাহ্মণবাড়িয়ার সাহিত্য", जुगान्तोर (बङ्गालीमा), अगस्ट २०२१, अन्तिम पहुँच २० अगस्ट २०२१।
- ↑ Ahmed, Siraj Uddin (२०१०), "শায়েস্তাবাদের জমিদার পরিবার", (बङ्गालीमा) 1, Dhaka: Bhaskar Prakashani।
- ↑ "কামাল, বেগম সুফিয়া - বাংলাপিডিয়া", বাংলাপিডিয়া।
- ↑ আমাদের সুফিয়া কামাল वेब्याक मेसिन अभिलेखिकरण २१ जुन २०१४ मिति
- ↑ সুফিয়া কামালের রূপকথা वेब्याक मेसिन अभिलेखिकरण २०११-११-२६ मिति
- ↑ সুফিয়া কামালের দর্শন এবং সময় বাস্তবতা
- ↑ বেগম, বাংলাপিডিয়া
