सामग्रीमा जानुहोस्

सुरसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरसा
सर्पकी माता
हनुमान सुरसाको मुखमा प्रवेश गर्दै। थाइल्यान्डको बैङ्ककस्थित पन्ना बुद्धको मन्दिरको भित्तेचित्र।
धर्मग्रन्थहरूरामायण
वंशावली
अभिभावकहरूदक्ष
जीवनसाथीकश्यप

सुरसा वा सिरस एक हिन्दु देवी हुन् जसलाई उरगहरू (आदिम सरीसृप) की माताको रूपमा वर्णन गरिएको छ।[] उनको सबैभन्दा लोकप्रिय कथा हिन्दु धर्मग्रन्थ रामायण मा आउँछ जहाँ उनलाई लङ्का जाने क्रममा भगवान हनुमानको परीक्षा लिने जिम्मेवारी दिइएको थियो।

जन्म र सन्तान

[सम्पादन गर्नुहोस्]
हनुमानको सुरसासँगको भेट (माथिल्लो भागमा)। बीचको र तल्लो भागमा सिंहिका र लङ्किनीलाई देखाइएको छन्

हिन्दु धर्मग्रन्थ रामायण का अनुसार, सुरसा दक्षका १२ छोरीहरूमध्ये एक हुन् जसको विवाह ऋषि कश्यपसँग भएको थियो। उनी उरग (सर्पहरूको एक वर्ग) की माता बन्छिन् जबकि उनकी सौतेनी बहिनी कद्रुले अर्को वर्गका सर्पहरू नामलाई जन्म दिन्छिन्।[] वासुकी, तक्षक, ऐरावत र सुरसाका अन्य छोराहरू भोगवतीमा बस्ने गरेको वर्णन गरिन्छ।[]

अर्को धर्मग्रन्थ महाभारतले उनलाई कश्यपकी अर्की पत्नी क्रोधवशाको क्रोधबाट जन्मिएको बताएको छ। सुरसाका अनला, रुहा र विरुधा नाक गरेका तीन छोरीहरू छन्। सर्पहरू सुरसाका छोरीहरूबाट उत्पत्ति भएको मानिन्छ। यसैले उनलाई उरग र सारसहरूकी माता पनि भनिन्छ। नागहरूको अर्को जाति पन्नग भने कद्रुबाट उत्पत्ति भएको हो।[][]

मत्स्यविष्णु जस्ता पुराणहरूले सुरसालाई कश्यपका १३ पत्नीहरू र दक्षका छोरीहरूमध्ये एकको रूपमा वर्णन गरेका छन्। विष्णु पुराण का अनुसार उनले एक हजार बहु-फण भएका सर्प र गैर-सर्प सरीसृप प्राणीहरूलाई जन्म दिएकी हुन्छिन् जो जमिनमा घस्रिन र आकाशमा उड्न सक्थे; जबकि कद्रुले पनि एक हजार बहु-फण भएका सर्पहरूलाई जन्म दिएतापनि ती प्रायः उड्न असमर्थ थिए र जमिनमा मात्र सीमित थिए। मत्स्य पुराण अनुसार, उनी गाई (जो पृथ्वी माताको दिव्य रूपबाट उत्पत्ति भएकी हुन्) बाहेक सबै चार खुट्टे जनावरकी माता हुन्। त्यहाँ सर्पहरूलाई कद्रुकी सन्तान भनिएको छ। भागवत पुराण ले उनलाई राक्षसकी माताको रूपमा चित्रण गर्दछ। वायु पुराणपद्म पुराण का सूचीहरूमा उनलाई कश्यपकी पत्नीको रूपमा उल्लेख गरिएको छैन; त्यहाँ अनायुष वा दनायुषले सर्पकी माताको स्थान लिएका छन्।[][][]

देवीभागवत पुराण ले रोहिणीलाई सुरसाको अवतारको रूपमा उल्लेख गरेको छ। उनका छोरा बलराम शेषका अवतार थिए जो सुरसाका छोरा हुन्।[] मत्स्य पुराण अनुसार, जब भगवान शिवले त्रिपुरान्तकको रूपमा तीन असुर सहरहरू (त्रिपुर) नष्ट गर्न जान्छन् तब विभिन्न देवताहरूले उनलाई सहयोग गर्छन्। सुरसा र अन्य देवीहरू उनका बाण र भाला बन्छन्। जब असुर अन्धकको रगतका थोपाहरूबाट धेरै असुरहरू जन्मिन थाल्छन् तब सुरसा र अन्य मातृकाहरूले रगत पिएर असुरलाई मार्न शिवलाई सहयोग गर्दछन्।[]

हनुमानसँगको भेट

[सम्पादन गर्नुहोस्]
सुरसा (दायाँ) हनुमानको सामना गर्दै, जहाँ हनुमानलाई तीन रूपमा देखाइएको छ – ठूलो रूपमा (बायाँ), उनको मुखमा प्रवेश गर्दै र उनको कानबाट बाहिर निस्कँदै।

रामायणको सुन्दरकाण्ड र यसका विभिन्न संस्करणहरूमा उल्लेखित सुरसा र हनुमान बीचको भेट सुरसाको सबैभन्दा लोकप्रिय कथा हो। हनुमान आफ्ना स्वामी रामकी अपहृत पत्नी सीताको खोजीमा समुद्र माथिबाट उडेर लङ्का जाँदै थिए। जब हनुमानले जमिन (भारत) छोडे, उनको बाटोमा मैनाक पर्वत आराम गर्नका लागि देखा पर्छ तर हनुमानले त्यसलाई अवरोध ठानेर अगाडि बढ्छन्। देवता, गन्धर्व र ऋषिहरूले नागकी माता सुरसालाई बोलाएर हनुमानको परीक्षा लिनका लागि एक भयानक राक्षसी रूप धारण गर्न अनुरोध गर्छन्। हनुमानको परीक्षा लिनुको कारण र परीक्षण गरिने क्षमताहरू विभिन्न रामायणहरूमा फरक-फरक पाइन्छन्। रामचरितमानस का अनुसार यो परीक्षा उनको महानता प्रमाणित गर्न र उनी सुम्पिएको कार्यका लागि उपयुक्त पात्र हुन् भन्ने कुरा स्थापित गर्नका लागि थियो। यसको विपरित, अध्यात्म रामायणका अनुसार, देवताहरूलाई हनुमानको शक्तिमा पूर्ण विश्वास थिएन; यद्यपि दुवै ग्रन्थहरूमा देवताहरू हनुमानको बल र बुद्धि परीक्षण गर्न चाहन्थे भन्ने कुरामा सहमत छन्। वाल्मीकि रामायणमा उनको बल र पराक्रमको परीक्षण गर्ने भनिएतापनि त्यसको स्पष्ट कारण खुलाइएको छैन। अन्य ग्रन्थहरूले एक मध्यम मार्ग अपनाएका छन्, जसअनुसार देवताहरू हनुमानको क्षमतामा विश्वस्त भएतापनि उनीहरूको सीपलाई अझ "तिखो" बनाउन वा आगामी खतराहरूको बारेमा चेतावनी दिन चाहन्थे।[]

सुरसाले सहमति जनाउँदै समुद्रको बीचमा हनुमानको बाटो रोक्छिन्। उनको स्वरूपलाई "पहेँलो आँखा, दाह्रा भएका र पहाड जत्तिकै विशाल खुल्ला मुख" भएको सौर्य विम्बको रूपमा वर्णन गरिएको छ।[] उनले हनुमानलाई देवताहरूले प्रदान गरेको आफ्नो भोजन भएको दाबी गर्दै खान खोज्छिन्। हनुमानले सीताको खोजी गर्ने आफ्नो अभियानको बारेमा बताउँछन् र आफूलाई जान दिन अनुरोध गर्छन्। उनले फर्केर आएपछि उनको मुखमा प्रवेश गर्ने वाचा पनि गर्छन् जुन साम, दान, भेद, दण्ड दर्शनको 'साम' (विनम्रता) र 'दान' (प्रार्थना) को अंश थियो। तर सुरसाले वरदान अनुसार हनुमान उनको मुखबाट मात्र जान पाउने बताउँछिन्। हनुमानले उनलाई आफ्नो मुख आफूलाई खान सक्ने गरी पर्याप्त ठूलो पार्न चुनौती दिन्छन् (भेद – धम्की)। उनले आफ्नो शरीर विस्तार हुन थाल्छ र उनी विशाल रूपका बन्छन्। सुरसाले पनि हनुमानलाई निल्न आफ्नो मुख फैलाउँदै जान्छिन्। यो प्रतिस्पर्धालाई 'दण्ड' (सजाय) को रूपमा व्याख्या गरिन्छ। अन्ततः जब सुरसाको मुख १०० योजन सम्म फैलियो, हनुमानले अचानक सानो रूप (बुढी औँला जत्रो) धारण गर्छन् र उनको मुखमा प्रवेश गरी बन्द हुनु अघि नै बाहिर निस्किन्छन्। एउटा संस्करण अनुसार हनुमान सुरसाको मुखबाट पसेर कानबाट बाहिर निस्किएको बताइन्छ।[][] यसरी हनुमानले सुरसाको प्रतिज्ञाको सम्मान र आफ्नो ज्यान पनि जोगाउँछन्। उनले सुरसालाई अभिवादन गर्दै 'दाक्षायणी' (दक्षकी छोरी) भनेर सम्बोधन गर्छन्। हनुमानको "चतुर्‍याइँ र साहस" बाट प्रभावित भएर सुरसाले आफ्नो वास्तविक रूप धारण गर्छिन् र हनुमानलाई आशीर्वाद दिन्छिन्। केही संस्करणमा उनले आफ्नो अभियानको उद्देश्य देवताहरूको आज्ञा भएको र यसले हनुमानको बुद्धि र बल प्रकट गरेको कुरा बताउँछिन्।[][][][] लङ्काबाट फर्केपछि हनुमानले रामलाई सुरसाको भेट सहित आफ्ना साहसिक कार्यहरूको बारेमा सुनाउँछन्।[१०]

लङ्का यात्राका क्रममा हनुमानले सामना गरेका तीन महिलाहरूमध्ये सुरसा एक हुन्; अन्य दुई राक्षसी सिंहिका र लङ्काकी संरक्षक देवी लङ्किनी हुन्। आकाशीय सुरसाले तत्व आकाशको प्रतिनिधित्व गर्छिन् भने सिंहिका र लङ्किनीले क्रमशः जल र पृथ्वीको प्रतिनिधित्व गर्छन्। अर्को व्याख्या अनुसार यो त्रयले तीन गुणसँग सम्बन्धित मायालाई दर्शाउँछन्। सुरसाले प्रतीकात्मक रूपमा 'सात्विक माया' लाई जनाउँछिन्, जुन मायाको सबैभन्दा शुद्ध रूप हो जसलाई वशमा राख्नु पर्छ तर सम्मान पनि गर्नुपर्छ।[११] यी तीन महिलाहरूले हनुमानको ब्रह्मचर्यको लागि चुनौतीको पनि सङ्केत गर्छन्। "कामुकता र हनुमानको महिलाहरूलाई यौन वस्तुको रूपमा नहेर्ने निस्पृह दृष्टिकोण" महाकाव्यको एक पुनरावृत्ति विषय हो।[१२] जेसी. झालाका अनुसार सुरसाको भेट रामायणमा पछि थपिएको अंश हुन सक्छ किनकि यो धेरै हदसम्म सिंहिकाको प्रसङ्गसँग मिल्दोजुल्दो छ। यो कथा महाभारतअग्नि पुराणमा रहेका रामका सुरुवाती कथाहरूमा पाइँदैन।[] यद्यपि गोल्डम्यानले यो सिद्धान्त त्रुटिपूर्ण र शङ्कास्पद रहेको भन्दै रामायणको आफ्नो आलोचनात्मक संस्करणमा यसलाई समावेश गरेका छन्।[१३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 6 Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ७६७, आइएसबिएन 0-8426-0822-2"
  2. 1 2 Hopkins, Edward Washburn (१९१५), Epic mythology, Strassburg K.J. Trübner, पृ: 20, 28, 200, आइएसबिएन 0-8426-0560-6
  3. 1 2 Baman Das Basu, The Sacred books of the Hindus, Published by Cosmo Publications for Genesis Pub., पृ: 9, 52, 137, 155, आइएसबिएन 978-81-307-0533-0
  4. Aadhar, Anand, "Bhagavata Purana: Canto 6: Chapter 6: The Progeny of the Daughters of Daksha" अभिलेखिकरण २०१०-११-१७ वेब्याक मेसिन
  5. 1 2 3 4 Catherine Ludvik (१ जनवरी १९९४), Hanumān in the Rāmāyaṇa of Vālmīki and the Rāmacaritamānasa of Tulasī Dāsa, Motilal Bansarsidass, पृ: 72–75, आइएसबिएन 978-81-208-1122-5
  6. Goldman p. 42,
  7. James G. Lochtefeld (२००२), The Illustrated Encyclopedia of Hinduism: N-Z, The Rosen Publishing Group, पृ: ६७१, आइएसबिएन 978-0-8239-3180-4
  8. Goldman pp. 111–2
  9. Goldman pp. 267
  10. Philip Lutgendorf Professor of Hindi and Modern Indian Studies University of Iowa (१३ डिसेम्बर २००६), Hanuman's Tale : The Messages of a Divine Monkey: The Messages of a Divine Monkey, Oxford University Press, पृ: 195–6, आइएसबिएन 978-0-19-804220-4
  11. Goldman p. 52
  12. Goldman p. 88-9