सामग्रीमा जानुहोस्

सोमास्कन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पार्वतीशिवको बीचमा नाचिरहेका स्कन्दको साथमा सोमस्कन्दको एक चित्रण।

सोमस्कन्द मध्यकालीन हिन्दु प्रतिमा लक्षणको एउटा रूप हो जसमा शिवलाई उनकी पत्नी उमा (पार्वती) र उनीहरूका छोरा स्कन्द (मुरुगन) सँग देखाइन्छ भने यहाँ स्कन्दलाई एउटा बालकको रूपमा चित्रण गरिएको हुन्छ।[]

शिवको यो पारिवारिक चित्रण दक्षिण भारतमा छैठौँ देखि आठौँ शताब्दीको बीचमा पल्लवकालको समयको सुरु भएको थियो। यस चित्रणमा शिवलाई चार हात भएको र साथमा उमा (पार्वती) भएको अवस्थामा देखाइन्छ भने उनीहरूको बीचमा शिशु स्कन्दलाई (मुरुगन) हर्षोल्लासका साथ नाचिरहेको देखाइन्छ। समयको अन्तरालमा, कुनै समय पल्लवहरूको नियन्त्रणमा रहेका विभिन्न क्षेत्रहरूबाट यस्ता धेरै चित्रणहरू फेला परेका छन्।[] यो चित्रणलाई एक समन्वयकारी उत्पादन मानिन्छ, जसमा पौराणिक शिव र स्थानीय लोक देवी कोर्रावै (जसलाई पार्वतीको रूपमा चिनिन्छ) र मुरुगन (जसलाई स्कन्दको रूपमा चिनिन्छ) लाई एकीकृत गरिएको छ। सोमस्कन्दमा स्कन्दको उपस्थितिलाई तारकासुर वध गर्नका लागि स्कन्दले जन्म लिएको कथासँग जोडिएको छ। शिव र शक्तिको संयुक्त ऊर्जाबाट मात्र स्कन्दको जन्म सम्भव भएकोले यस प्रतिमामा उनलाई बीचमा राखेर दुवै शक्तिको सन्तुलन देखाइन्छ।[]

प्रतिमा लक्षण

[सम्पादन गर्नुहोस्]
सोमस्कन्द, सालार जङ्ग सङ्ग्रहालय

सोमस्कन्दको चित्रणमा, शिवलाई सुखासन मुद्रामा बायाँ खुट्टा खुम्च्याएर बसेको र चारवटा हात भएको देखाइन्छ। उनका माथिल्ला दुई हातहरूले कर्तरीमुख-हस्त मुद्रा बनाएका हुन्छन् जसमा दाहिने हातमा मझु (बञ्चरो) र बायाँ हातमा मृग समातेको देखाइन्छ। उनको तल्लो दाहिने हातले पताका-हस्त र तल्लो बायाँ हातले कपिट्थ मुद्रा प्रदर्शन गर्दछ। उनकी पत्नी पार्वतीलाई पनि दाहिने खुट्टा खुम्च्याएर र बायाँ खुट्टा फैलाएर सुखासन मुद्रामै बसेको देखाइन्छ। उनलाई दुईवटा हातका साथ चित्रण गरिएको हुन्छ, जसले कपिट्थ-हस्त मुद्रा बनाएका हुन्छन्। उनीहरूका छोरा स्कन्दलाई उनीहरूको बीचमा अरैमन्डी मुद्रामा वा घुँडा थोरै खुम्च्याएर वैटस्तिका-स्थानक मुद्रामा उभिएको देखाइन्छ। उनका दुवै हातले कर्तरीमुख मुद्रा बनाएका हुन्छन्, जसमा दाहिने हातमा शक्ति र बायाँ हातमा वज्र समातिएको हुन्छ।[]

पल्लव कालमा यो कला ढुङ्गामा कुँदिने गरिन्थ्यो भने चोल राजवंशको समयमा यसलाई धातु (कास्य) मा ढालेर थप रूपमा विस्तार गरिएको थियो। चोलकालीन सोमस्कन्दका मूर्तिहरू संसारभरका सङ्ग्रहालयहरूमा उत्कृष्ट कलाको नमुनाका रूपमा राखिएका छन्। यो प्रतिमाले शिवको संहारक रूपलाई भन्दा पनि एक 'गृहस्थ' वा पारिवारिक रूपलाई चित्रण गर्दछ। यसमा स्कन्दलाई कहिलेकाहीँ आमाको काखमा वा कहिलेकाहीँ बुबा र आमाको बीचमा नाचिरहेको देखाइन्छ जसले वात्सल्य प्रेमलाई झल्काउँछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Moore, Albert C. (१९७७), Iconography of Religions: An Introduction (अङ्ग्रेजीमा), Chris Robertson, पृ: 11, आइएसबिएन 978-0-8006-0488-2
  2. Huntington, Susan L.; Huntington, John C. (२०१४-०१-०१), The Art of Ancient India: Buddhist, Hindu, Jain (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 310, आइएसबिएन 978-81-208-3617-4
  3. Kulke, Hermann; Sahu, Bhairabi Prasad (२०२२-०१-१३), The Routledge Handbook of the State in Premodern India (अङ्ग्रेजीमा), Taylor & Francis, पृ: 28, आइएसबिएन 978-1-000-48514-1
  4. www.wisdomlib.org (१९७०-०१-०१), "Somaskanda, Somāskanda: 2 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-२५