स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

खुला एवं स्वतन्त्र सफ्टवेयर आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्न, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्न, आफ्नो कार्य वा आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्ने सफ्टवेयर हुन् । अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रूपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन्।

"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केही प्रचलित पर्यायहरू हुन। यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो।

यी विभिन्न नामका प्रयोगकर्ताहरू मूलतः उस्तै अनुज्ञप्ति (license), सफ्टवेयर विकास ढाँचा लाई अभिव्यक्त गर्छन्, तर, रिचर्ड स्टलम्यानका अनुसार यी नामका प्रयोगकर्ताहरू यी नामहरूसँग गाँसिएको दर्शन/शास्त्र का अनुरूप फरक छन्। केही प्रयोगकर्ताहरूले "स्वतन्त्र (libre)" (स्वतन्त्र अभिव्यक्तिमा "स्वतन्त्र"को अस्तित्वजस्तो) वा "निःशुल्क (gratis)" (निःशुल्क बियरमा "निःशुल्क"को अस्तित्वजस्तो)को प्रयोग गरेर स्वतन्त्र शब्दसँग गाँसिने भ्रमपूर्ण स्थितिको निराकरण गर्दछन्। धेरैजसो यी नाम/शब्दहरू सफ्टवेयर स्वतन्त्रता अभियानको परिपेक्ष्यमा प्रयोग गरिन्छन् र बिस्तारै सामान्य प्रयोगमा आउन लागेका छन्। रिचर्ड स्टलम्यानले "FLOSS" र "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर"को प्रयोग "खुल्ला श्रोत सफ्टवेयर" र "स्वतन्त्र सफ्टवेयर"को जोड वा योजनको रूपमा भनेर दिन्छन्। दुबै पक्ष मध्ये अत्यावश्यक तवरले कुनैलाई नछानि प्रयोग गर्ने सल्लाह स्टलम्यानले दिन्छन् तर साथै "स्वतन्त्र सफ्टवेयर" पक्षलाई आत्मसाथ गर्ने तथा समर्थन गर्ने आग्रह पनि गर्दछन्।

इतिहास[सम्पादन गर्ने]

सन् १९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरू प्रयोगमा आइसकेका थिए। "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो। स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ।

"खुल्ला श्रोत सफ्टवेयर" भन्ने शब्दलाई "स्वतन्त्र सफ्टवेयर"को सट्टामा १९९८मा प्रस्तावित गरियो। पछि त्यसै वर्ष "खुल्ला श्रोत सफ्टवेयर" लाई "स्वतन्त्र सफ्टवेयर"को व्यापारिकरण पक्षको एक अभिन्न अंशको रूपमा अघि बढाउनका निम्ति "खुल्ला श्रोत पहल (Open Source Initiative)" भन्ने प्रतिष्ठानको स्थापना गरियो।

"Libre Software" भन्ने शब्दलाई पहिलो पल्ट युरोपियन कमिशनद्वारा ई.सं. २०००मा प्रयोग गरिएको थियो। "Libre" शब्दलाई फ्रान्सेली र स्पेनी भाषाबाट लिईएको हो र यस शब्दले अङ्ग्रेजी शब्द "Free" जस्तो अर्थमा "स्वतन्त्रता" र "निःशुल्क" का बीचमा भ्रामक स्थिति उत्पन्न गर्दैन।

"FLOSS" भन्ने शब्दको प्रयोग ई.सं. २००१मा रिशब अय्यर घोषद्वारा एक परियोजना संक्षेपको रूपमा "Free/Libre/Open Source Software" लाई उद्‌घृत गर्नका लागि गरिएको थियो। पछि त्यसै वर्ष युरोपियन कमिशनद्वारा त्यस विषयमा अध्ययनलाई अगाडि बढाउँदा प्रयोग गरिएको थियो। पछि "FOSS" भन्ने शब्दलाई नै "FLOSS"को ठाउँमा प्रयोग गर्न थालियो। "FOSS" भन्ने शब्दलाई पहिलो पटक "संयुक्त राष्ट्र अमेरिकाको रक्षा विभागमा स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरको प्रयोग (Use of Free and Open Source Software (FOSS) in the U.S. Department of Defense)" भन्ने लेखमा उद्‌घृत गरिएको थियो।

"खुल्ला श्रोत सफ्टवेयर" भन्ने शब्दलाई "पालो अल्टो (Palo Alto)"मा आयोजना गरिएको नीति सम्बन्धि सत्रमा प्रयोग गरिएको थियो। उक्त सत्रमा टड एन्डरसन (Todd Anderson), ल्यारी अगस्टिन (Larry Augustin), जन हल (Jon Hall), स्याम अकम्यान (Sam Ockman), क्रीस्टाईन पीटरसन (Christine Peterson), तथा एरिक स. रेमण्ड (Eric S. Raymond) उपस्थित थिए। उक्त सत्रलाई नेटस्केप (Netscape)ले जनवरी १९९८मा न्याविगेटर (Navigator)को श्रोत मोजिल्ला परियोजना अन्तर्गत वितरण गर्ने घोषणाको प्रतिक्रियाको रूपमा आयोजना गरिएको थियो। उक्त घोषणाको लक्ष्य स्वतन्त्र सफ्टवेयरको व्यापारिक वा वाणिज्यिक खण्डमा ग्रहण एवं प्रयोगको वृद्धि गर्नु थियो।

"Libre Software"ले "Free" शब्दसँग गाँसिएको भ्रामकपूर्ण अवस्थालाई निर्मूल पार्न प्रयोग गरिन्थ्यो भने यसको तुलनामा "FLOSS" लाई प्रयोगकर्तालाई "स्वतन्त्र सफ्टवेयर" र "खुल्ला श्रोत सफ्टवेयर"को बिचमा कुन शब्दको प्रयोग उचित हुन्छ भन्ने वादविवाद बाट मुक्ति प्रदान गर्नका प्रयोग गरियो। "Libre" शब्दमा "L"को प्रयोग "Free" शब्दसँग गाँसिएको भ्रमलाई निर्मूल पार्दै उक्त शब्दको अर्थ "निःशुल्क" नभएर "स्वतन्त्र" हो भन्ने जानकारी दिनका लागि गरियो।

"FLOSS" शब्दका प्रस्तावकहरूले यस शब्दलाई विभिन्न भाषाबाट लिइएका शब्दहरूको संक्षेपका रूपमा पनि उल्लेखित गरे; उदाहरणस्वरूप "F" पद अङ्ग्रेजीको "Free" वा जर्मनको "Frei", "L" पद फ्रान्सेली वा स्पेनी भाषाको "Libre", पोर्चुगलीको "livre", ईटालियनको "libero" जस्ता शब्दलाई प्रतिनिधित्व गर्नका निम्ति प्रयोग गरिएको उल्लेख गरिएको छ। तर यस शब्दलाई आधिकारिक, गैर-अङ्ग्रेजी, लेखहरूमा प्रयोग गरिदैन।

ई.सं. २००४को अन्त्य सम्म FLOSS शब्दलाई दक्षिणी अफ्रिका, स्पेन, र ब्राजिल जस्ता देशहरूको आधिकारिक अङ्ग्रेजी लेखहरूमा प्रयोग हुन थालिसकेको थियो।

गौण शब्द/पदहरू[सम्पादन गर्ने]

FOSSलाई परिभाषित गर्ने तथा जानकारी दिने लेखिँदै गरेको बेलामा नै F/OSS भन्ने अर्को संक्षेप आइसकेको थियो। यो संक्षेप अमिगा कम्प्युटर खेलसँग सम्बद्ध युजनेट समाचारसमूह (Usenet Newgroup)मा आइसकेको थियो। अर्को संक्षेप OSS/FS हो तर यसको प्रयोग डेविड ए. ह्विलर (David A. Wheeler)को लेख बाहिर त्यति प्रयोगमा देखिँदैन।

FOSSको लागि अर्को संक्षेप Free/Open Source Software/Code (FOSSC) पनि हो र यस संक्षेपको निर्माण एवं प्रयोग भारतको नयाँ दिल्लीमा स्थित सफ्टवेयर लेखकले गरेका हुन्।

रिचर्ड स्टलम्यानले "मुक्त सफ्टवेयर (unfettered software)" भन्ने शब्दलाई "स्वतन्त्र सफ्टवेयर"को सट्टामा प्रयोग गर्न सकिने उचित तथा अभ्रामक शब्द भनेर सुझाव दिएका छन् तर उक्त शब्दको प्रयोग गर्न आफूले कुनै प्रयास नगर्ने पनि बताएका छन् किनभने "स्वतन्त्र सफ्टवेयर" शब्दकै प्रयोगका लागि अथक प्रयास गरिसकिएको छ भन्ने उनको भनाइ रहेको छ।

अङ्ग्रेजी भाषा बोलिने ठाउँमा प्रयोग हुने केही गैर-अङ्ग्रेजी शब्दहरू[सम्पादन गर्ने]

अङ्ग्रेजी भाषाको राम्रो प्रभाव भएको देश भारतमा "स्वतन्त्र सफ्टवेयर" र फिलिपिन्समा "मालायाम सफ्टवेयर (Malayam Software)" भन्ने शब्द प्रयोग गरिन्छ।

स्वामित्व[सम्पादन गर्ने]

माथि उल्लेखित कुनै पनि शब्द वा संक्षेपलाई वा "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्दलाई कसैले पनि ट्रेडमार्क (Trademark) गरेको छैन। खुल्ला श्रोत पहलका ब्रुश पेरेन्श (Bruce Perens)ले "खुल्ला श्रोत" भन्ने शब्दलाई खुल्ला श्रोत सफ्टवेयरको सेवा चिन्ह (Service Mark) का रूपमा संयुक्त राष्ट्र अमेरिकामा दर्ता गराउने प्रयास गरेका थिए तर ट्रेडमार्क गुणस्तर पूरा नगरेको पक्षमा उनको दरखास्तलाई खारेज गरिएको थियो। खुल्ला श्रोत पहल (OSI)ले "OSI Certified" भन्ने ट्रेडमार्क प्रयोग गर्दछ, तर आवश्यक कागजी कार्यवाही पूरा नगरेको हुनाले संयुक्त राष्ट्र अमेरिकाको प्याटेन्ट तथा ट्रेडमार्क शाखाले उक्त ट्रेडमार्कको दरखास्तलाई "छोडिएको (abandoned)" श्रेणीमा राखेको छ।

"स्वतन्त्र सफ्टवेयर" सफ्टवेयर स्वतन्त्रता अभियान र "खुल्ला श्रोत सफ्टवेयर" खुल्ला श्रोत सफ्टवेयर पहल जस्ता संस्थासँग गाँसिएको भएतापनि यसका बाहेकका अरु शब्द वा संक्षेपको स्वामित्व वा सम्बन्धनका बारेमा कुनै पनि समूहले दाबी गरेको छैन। तर यसले कुनै पनि भ्रामक स्थिति सृजना गरेको छैन किनभने सफ्टवेयर स्वतन्त्रता अभियान तथा खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित गरिएका परिभाषा(हरू) प्रयोगात्मक रूपमा मूलतः एक नै हुन्।

माथि उल्लेखित कुनै पनि शब्दलाई एक का सट्टामा अर्कोलाई प्रयोग गर्न सकिन्छ। कुनै एक शब्दको रुचिको कारण पूर्णतया राजनैतिक (उक्त शब्दसँग गाँसिएको समूहलाई समर्थन गर्नु) वा प्रयोगात्मक (एउटा शब्दलाई अर्कोको तुलनामा बढी स्पष्ट पाउनु) हो।

अनुज्ञप्ति[सम्पादन गर्ने]

सफ्टवेयर स्वतन्त्रता अभियान र खुल्ला श्रोत सफ्टवेयर पहल, दुबै संस्थाले "स्वतन्त्र सफ्टवेयर" तथा "खुल्ला श्रोत सफ्टवेयर"को परिभाषासँग मिल्ने परस्पर रूपमा सफ्टवेयर एवं डिजिटल सामाग्रीका लागि विभिन्न प्रकारको अनुज्ञप्तिको सूची नै प्रकाशित गरेका छन्। ती मध्ये केही महत्वपूर्ण अनुज्ञप्ति-सूची निम्न प्रकार छन् :

  • सफ्टवेयर स्वतन्त्रता अभियानद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
  • खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित अनुज्ञप्तिको सूची

यी दुई संस्थाहरूका बाहेक डेबियन परियोजना (Debian Project)ले आफ्नो डेबियन स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति (Debian Free Software License) सँग अन्य कुन अनुज्ञप्ति मेल खान्छ अथवा कुन अनुज्ञप्तिलाई प्रयोग गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण सल्लाह दिने गरेको छ। डेबियनले आफूद्वारा अनुमोदित एवं परिक्षित अनुज्ञप्तिको सूची प्रकाशन गर्दैन।

यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरू साना अनुज्ञप्ति समूहमा पर्दछन्। ५० - ७०% सफ्टवेयरहरू GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरू GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन्। यी सबै अनुज्ञप्तिहरूको भागमा २% देखि १०% सफ्टवेयर पर्दछन्।

यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरू छुट्टै समूह - Public Domainमा पर्दछन्। यस समूहमा रहेको सफ्टवेयरको चल्ने रूप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानून/ऐनद्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन।

यो पनि हेर्नुस[सम्पादन गर्ने]

  • प्रविधिमा प्रयोग हुने कानूनी शब्द एवं पदहरू
  • GNU/Linux नामाकरण विवाद
  • खुल्ला श्रोत सफ्टवेयर र बन्द श्रोत सफ्टवेयर : भिन्नता, सबल पक्ष एवं कमजोरीहरू
  • ईजाजत-मुक्त सफ्टवेयर अनुज्ञप्तिहरू
  • स्वतन्त्र सफ्टवेयरको इतिहास

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

  • Free and Open Source Software Community Nepal
  • स्वतन्त्र सफ्टवेयर परिभाषा, सफ्टवेयर स्वतन्त्रता अभियान, (लेखक रिचर्ड स्टलम्यान)
  • स्वतन्त्र सफ्टवेयर खुल्ला श्रोत सफ्टवेयर भन्दा कसरी राम्रो छ।
  • The Cathedral and the Bazaar (एरिक स. रेमण्डको खुल्ला श्रोतको बारेमा लेख)
  • स्वतन्त्र सफ्टवेयर तथा खुल्ला श्रोत सफ्टवेयरको बिचको भिन्नता