पत्नी
पत्नी वा श्रीमती भन्नाले वैवाहिक सम्बन्धमा रहेको महिलालाई जनाइन्छ। कुनै महिलाले आफ्नो पति वा जीवन साथीबाट अलग भए पनि कानूनी रूपमा सम्बन्ध विच्छेद (तलाक) नभएसम्म वा मृत्युसम्म, उनी पत्नीको रूपमा नै मानिन्छिन्, जुन विवाहको प्रकारमा निर्भर हुन्छ। जीवनसाथीको मृत्यु भएमा पत्नीलाई विधवा भनिन्छ। पत्नीका हक–अधिकार र कर्तव्यहरू, साथै समुदाय र कानुनमा उनको स्थिति संस्कृतिअनुसार फरक–फरक हुन्छन् र समयक्रममा परिवर्तन हुँदै आएको छ।
विवाहपश्चात् धेरै संस्कृतिहरूमा महिलाले आफ्ना श्रीमान्को थर ग्रहण गर्ने अपेक्षा गरिन्छ, यद्यपि यो सबै ठाउँमा अनिवार्य भने हुँदैन। विवाहित महिलाले आफ्नो वैवाहिक स्थिति विभिन्न तरिकाले देखाउन सक्छिन्। पश्चिमी संस्कृतिमा विवाहित महिलाले सामान्यतया विवाहको औँठी लगाउने चलन छ, भने अन्य संस्कृतिहरूमा फरक–फरक पहिचान चिह्नहरू, पहिरनहरू जस्तै चुरा, टिका, वस्त्रले वैवाहिक अवस्थाले पहिचान गराउँछ। विवाहित महिलालाई प्रायः “Mrs” भन्ने उपाधि दिइन्छ, तर केही महिलाहरूले “Ms” भन्ने उपाधि रोज्ने गर्दछन्। “Ms” उपाधि व्यक्तिगत रुचिका आधारमा वा महिलाको वैवाहिक स्थिति अज्ञात भएको अवस्थामा पनि प्रयोग गरिन्छ भने दक्षिण भारतमा महिलालाई श्रीमती भनेर सम्बोधन पनि गर्ने गरिन्छ।
शब्दोपत्ती र शब्दावली
[सम्पादन गर्नुहोस्]पत्नीलाई स्वास्नी, श्रीमती, जोई, बुढी र साथी पनि भनिन्छ ।
विवाहको दिन कुनै महिलालाई सामान्यतया वधु वा दुलही भनिन्छ। कहिलेकाहीँ यो शब्द विवाह समारोह पछि पनि प्रयोग गरिन्छ, तर वैवाहिक सम्बन्धभित्र उनलाई प्रायः पत्नी नै भनिन्छ। पुराना प्रथाअनुसार, जसलाई अझै पनि रोमन क्याथोलिक अनुष्ठानले पालना गर्छ, वधु (bride) शब्दको अर्थ वास्तवमा विवाहार्थी (fiancée) हो, र यो विवाहको स्वीकृति आदान–प्रदान नभएसम्म मात्र लागू हुन्छ। त्यस क्षणदेखि, समारोह बाँकी भए पनि, ती महिला अब वधु नभई पत्नी मानिन्छिन्। त्यसैले त्यसपछि जोडीलाई नवविवाहित दम्पती भनिन्छ।
आमा भन्ने शब्दले महिलालाई सन्तानसँगको सम्बन्धमा राख्छ भने पत्नी भन्ने शब्दले उनलाई जीवनसाथी सँगको संस्थागत सम्बन्धमा परिभाषित गर्दछ। कतिपय समाजमा, विशेष गरी ऐतिहासिक दृष्टिले, उपपत्नी (concubine) भन्नाले यस्तो महिलालाई जनाइन्थ्यो जसको वैवाहिक–उन्मुख सम्बन्ध पुरुषसँग हुन्थ्यो तर सामाजिक वा वर्गीय कारणले उनीसँग वैधानिक विवाह गर्न सक्दैनथे।
पत्नी (wife) शब्द प्रायः कानुनी रूपमा (धार्मिक कानुनसहित) मान्य विवाहमा रहेका महिलाका लागि प्रयोग हुन्छ, तर अनौपचारिक सहवास सम्बन्धमा रहेका महिलाका लागि प्रयोग हुँदैन। त्यस्ता सम्बन्धलाई प्रायः प्रेमिका, साथी, सहवासिनी, उपपत्नी (concubine), वा प्रेयसी (mistress) भनिन्छ। लैङ्गिक तटस्थता प्रवर्द्धन गर्न इच्छुकहरूले दुवै विवाह–साथीलाई “spouses” (जीवनसाथी) भन्न थालेका छन्। कुनै पत्नीको जीवनसाथीको मृत्यु भएमा उनलाई विधवा (widow) भनिन्छ।
पत्नीका कानुनी अधिकारहरू
[सम्पादन गर्नुहोस्]पत्नीका कानुनी अधिकारहरू १९औँ शताब्दीदेखि धेरै कानुनी क्षेत्रहरूमा विवादको विषय रहँदै आएका छन्। यस विषयमा विशेष रूपमा जोन स्टुअर्ट मिल (John Stuart Mill) ले आफ्नो पुस्तक The Subjection of Women (1869) मा चर्चा गरेका छन्। ऐतिहासिक रूपमा, धेरै समाजहरूले पति र पत्नीलाई छुट्टाछुट्टै अधिकार र कर्तव्यको दिएका छन्। विशेष गरी सम्पत्ति नियन्त्रण, उत्तराधिकार अधिकार, र बच्चाहरूको गतिविधि निर्धारण गर्ने अधिकार प्रायः पुरुष पति/जीवनसाथीलाई दिइन्थ्यो तर बीसौं शताब्दीमा धेरै देशहरूले यस प्रथालाई ठूलो मात्रामा परिवर्तन गरेका छन्, र आधुनिक कानुनहरूले प्रायः लैङ्गिक भेदभाव बिना दम्पतीका अधिकार र कर्तव्य परिभाषित गर्ने प्रयास गरेका छन्।
युरोपका केही देशहरू, स्विट्जरल्यान्ड, ग्रीस, स्पेन, र फ्रान्स (१९८० को दशकमा), विवाहमा पूर्ण लैङ्गिक समानता स्थापना गरेका छन्। तर संसारका विभिन्न विवाह कानुनमा अझै पति/श्रीमान्को अधिकार कायम छ। उदाहरणका लागि, इरानको सिभिल कोड (Civil Code of Iran) को धारा ११०५ मा "पति र पत्नीबीचको सम्बन्धमा परिवारको प्रमुखको स्थिति केवल पतिलाई मात्र हुनेछ।" भनि किटान नै गरेको छ।
संस्कृतिअनुसार फरकपन
[सम्पादन गर्नुहोस्]हिन्दु धर्म
[सम्पादन गर्नुहोस्]पत्नीको अर्थ महिला जसले आफ्नो पति सँग संसारका सबै कुरा साझा गर्छिन्, र पति पनि उस्तै गर्छन् भन्ने रहेको हुन्छ। यसमा निर्णयहरू आदर्शत: आपसी सहमतिको आधारमा गरिने अपेक्षा गरिन्छ। पत्नी प्रायः आफ्नो घरभित्रको सबै कुरा हेर्ने गर्छिन्, जस्तै परिवारको स्वास्थ्य, बच्चाहरूको शिक्षा, आमाबुबाको आवश्यकताहरू आदिको ख्याल राख्नुमा पत्नीले जिम्मेवारीबोध गर्छिन्। ग्रामीण र परम्परागत भारतमा हिन्दू विवाहको अधिकांश सामाजिक प्ररम्परा अनुसार विवाह हुन्छ। जब उपयुक्त परिवार (उस्तै जात, संस्कृति र आर्थिक अवस्था भएको) भेटिन्छ, तब केटा र केटी एक–अर्कालाई भेटेर कुरा गरेर निर्णय गर्छन्। यद्यपि हालसालै पश्चिमी संस्कृतिको प्रभावले नयाँ पुस्तालाई प्रेमका आधारमा विवाह गर्ने विचारमा खुलापन दिएको छ। भारतीय कानूनले पति द्वारा महिलामाथि बलात्कार, यौन, भावनात्मक वा मौखिक दुर्व्यवहारलाई अपराधको रूपमा मान्यता दिएको छ। हिन्दू धर्ममा पत्नीलाई “पत्नी” वा “अर्धाङ्गिनी” भनिन्छ, जसको अर्थ पति वा उनको परिवारको अंश वा “सहभागी आधा” हुन्छ। हिन्दू धर्म अनुसार पुरुष वा महिला विवाह एकपटक गर्न सक्छन्, तर साधारण अवस्थामा एउटाभन्दा बढी पति वा पत्नी हुनु हुदैँन। महिलाहरू आफ्नो वैवाहिक स्थिति देखाउन माथि टाउकोमा सिन्दूर हाल्न सक्छन्, मंगलसूत्र नामक हार लगाउन सक्छन्, वा खुट्टाका औँलामा औँठी लगाउन सक्छन् (जो अविवाहित महिलाले लगाउँदैनन्)।
वैवाहिक अपेक्षा
[सम्पादन गर्नुहोस्]निष्ठाप्रति
[सम्पादन गर्नुहोस्]इतिहासभरि र अधिकांश संस्कृतिहरूमा पत्नीले आफ्ना कानुनी श्रीमान् बाहेक अरूसँग यौन सम्बन्ध राख्न हुँदैन भन्ने व्यापक अपेक्षा रहँदै आएको छ। यस निष्ठाको अपेक्षाको उल्लङ्घनलाई सामान्यतया व्यभिचार (adultery) वा वैवाहिक बाहिरको यौन सम्बन्ध (extramarital sex) भनिन्छ। ऐतिहासिक रूपमा व्यभिचारलाई गम्भीर अपराध, कतिपय अवस्थामा कानुनी अपराध र पापको रूपमा पनि लिइएको पाइन्छ। यद्यपि सबै सन्दर्भमा यो अपराध नमानिए पनि यसले कानुनी परिणाम निम्त्याउन सक्छ, विशेषगरी यो नै सम्बन्ध विच्छेदको आधारका रूपमा पनि लिइन्छ। व्यभिचार सम्पत्ति बाँडफाँटमा विचार गर्नुपर्ने कारक बन्न सक्छ, यसले बच्चाहरूको स्थिति, अभिभावकत्व वा उत्तराधिकारमा समेत प्रभाव पार्न सक्छ। सामाजिक दृष्टिले, संसारका कतिपय भागहरूमा व्यभिचारले सामाजिक बहिष्कार पनि निम्त्याउँछ।
यसका अतिरिक्त, क्याथोलिक धर्म, यहूदी धर्म र इस्लामका नियमहरू अनुसार पत्नी (तलाकशुदा वा विधवा) ले आफ्नो पूर्वपति वा दिवङ्गत पति सम्बन्धित केही नातेदारहरूसँग यौन सम्बन्ध राख्न वा विवाह गर्न पाउँदिनन् भन्ने प्रावधान छ।
सन्तानोत्पादन
[सम्पादन गर्नुहोस्]परम्परागत रूपमा, र अझै धेरै संस्कृतिहरूमा, पत्नीको भूमिका आमा सँग निकट रूपमा सम्बन्धित मानिन्छ। यसका अनुसार पत्नीले बच्चा जन्माउनु पर्ने अपेक्षा हुन्छ, जबकि अविवाहित महिलाले विवाह बाहिर बच्चा जन्माउनु हुँदैन भन्ने धारणा रहँदै आएको छ। यस्ता विचार संसारका धेरै भागमा परिवर्तन भइरहेका छन्। धेरै देशहरूमा वैवाहिक बाहिर जन्मिएका बच्चा बढी सामान्य हुन थालेका छन्। यद्यपि केही पत्नीहरू, विशेष गरी पश्चिमी देशहरूमा, बच्चा नजन्माउने निर्णय लिन्छन्, तर विश्वका केही भागहरूमा यस्तो निर्णय स्वीकार्य हुदैँन। उदाहरणका लागि, उत्तर घानामा वरमूल्य भुक्तानीले महिलाले बच्चा जन्माउनु पर्ने शर्त जनाउँछ, र जन्म नियन्त्रण उपाय प्रयोग गर्ने महिलाहरू धम्की र जबरजस्तीको जोखिममा रहन्छन्। केही धर्महरूमा विवाहमा बच्चा जन्माउनु आवश्यक रहेको व्याख्या गरिन्छ। उदाहरणका लागि, पोप फ्रान्सिसले २०१५ मा भनेका थिए कि बच्चा नजनाउने निर्णय स्वार्थपूर्ण हो।
दाइजो प्रथा
[सम्पादन गर्नुहोस्]संसारका केही भागहरूमा परम्परागत रूपमा विवाहसँग सम्बन्धित भुक्तानी वा विनिमय गरिन्छ, जसमाः
- वधु वा उनको परिवारले वरलाई दाइजो दिनु,
- वर वा उनको परिवारले वधुको परिवारलाई वरमूल्य तिर्नु,
- दुवै भुक्तानी परिवारहरूबीच आदान–प्रदान हुनु,
- वा वरले पत्नीलाई महर तिर्नु।
दाइजोको उद्देश्य संस्कृतिअनुसार फरक हुन्छ र ऐतिहासिक रूपमा परिवर्तन हुँदै आएको छ। केही संस्कृतिमा, दाइजो नयाँ परिवारको स्थापनामा सहयोग पुर्याउने मात्र नभई यस्तो शर्तको रूपमा पनि राखिन्थ्यो कि यदि पति पत्नीमाथि गम्भीर अपराध गर्छ भने दाइजो पत्नी वा उनको परिवारलाई फिर्ता गर्नु पर्छ। यस शर्तका कारण विवाहको अवधिभर दाइजो प्रायः पतिले आफ्नो नियन्त्रणमा राख्न नसक्ने बनाइन्थ्यो।
आज पनि दक्षिण एसियाका केही भागहरूमा जस्तै भारत, पाकिस्तान, नेपाल, बंगलादेश, र श्रीलंका दाइजो अपेक्षित रहन्छ। दाइजो भुक्तानीसँग सम्बन्धित विवादहरूले कहिलेकाहीँ हिंसा निम्त्याउँछ, जसमा दाइजो हत्या र वधुलाई आगो लगाइदिने घटना जस्ता क्रूर घटनाहरू देखिन्छन्।