हनुमानढोका दरबार संरक्षित स्मारकक्षेत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपालको राजधानी काठमाडौँको केन्द्रमा अवस्थित यो राजप्रासादको नाम 'हनुमानढोका दरबार' मल्लकालका राजा प्रताप मल्लले वि. सं. १७२९ मा दरबारको मुख्य प्रवेशद्वारनजीकै हनुमानको मूर्ति स्थापना गराएपछि हुन गएको हो। त्यसपछि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले वि. सं. १८२६ मा बसन्तपुर दरबार निर्माण गराएपछि यसलाई 'बसन्तपुर दरबार' पनि भन्न थालियो। हनुमानढोका दरबारको अस्तित्त्व लिच्छवि कालदेखि नै भएको मानिए तापनि मल्लकाल, राणाकाल र शाहवंशीय कालमा निर्मित बाहिरी आकृतिहरू प्रस्ट देख्न सकिन्छ। वर्तमानमा देख्न सकिने प्राचीन स्माकरहरू कुनै एक व्यक्तिबाट निर्माण नभई विभिन्न व्यक्ति तथा शासकहरूले निर्माण गराएका हुन्।

खास गरेर काठमाडौँमा मल्ल राजा रत्नमल्लदेखि श्री ५ पृथ्वी वीरविक्रम शाहको समयसम्मका स्मारक एवं कलाकृतिहरू रहेका छन्। हनुमानढोका दरबारको सबैभन्दा पुरानो भाग वि. सं. १६२० तिर तत्कालीन राजा महेन्द्र मल्लले बनाएको मूलचोकलाई मानिन्छ। त्यसैगरी, प्रताप मल्लले दरबारको सुन्दरीचोक, नासलचोक, भण्डारखाल बगैँचा, हनुमानको मूर्तिलगायत वरिपरि थुप्रै स्मारक बनाए। पार्थिवेन्द्र मल्लले गद्दी बैठकअगाडि त्रैलोक्यमोहन नारायणको मन्दिर बनाएका थिए। दरबारको दक्षिण पश्चिमपट्टीको प्रसिद्ध कुमारी घरको निर्माण कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले वि. सं. १८१३ मा गराएका हुन्। यो विहारशैलीमा बनाइएको छ। कला, धर्म, संस्कृति सबै दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने कुमारीघर वरिपरि कुमारीचोक, कुमारी बहाल, कुमारी मन्दिर आदि विभिन्न नामले चिनिने वैभवहरू अवस्थित छन्। यी सबैका अतिरिक्त हनुमानढोका दरबारको प्राङ्गणको पश्चिमपट्टि अवस्थित ने. सं. २६२ तिर निर्माण भएको मण्डपशैलीको उत्कृष्ट नमुनाको काष्ठमण्डपले यस क्षेत्रलाई अफै आकर्षक एवं गरिमामय बनाएको छ। यसलाई मरुसत्तल पनि भनिन्छ। यस स्मारकमा नेपालको राजकीय भ्रमणमा आउने राष्ट्रअध्यक्षहरूको स्वागत कार्यक्रम एवं नगरको साँचो हस्तान्तरण कार्यक्रम एवं समारोह भइरहन्छन्। यस क्षेत्रको अर्को महत्त्वपूर्ण स्मारक पृथ्वीनारायण शाहले वि. सं. १८२६ मा निर्माण गराएको नौतले बसन्तपुर दरबार हो। यो दरबार पृथ्वीनारायण शाहपछिका ७ जना शाहवंशीय राजाहरूको वासस्थानका रूपमा रह्यो। हनुमानढोका दरबार मल्लराजाहरू १७ जना र त्यसपूर्वका ७ जना राजाले प्रयोग गरेको पाइन्छ। स्मरणीय छ, वि. सं. १९४३ मा राजा पृथ्वीवीरविक्रम शाहका पालादेखि मात्र हालको नारायणहिटी राजदरबारलाई श्री ५ को बासस्थानका रूपमा प्रयोग गर्न थालिएको हो। हनुमानढोका दरबारअन्तर्गत विभिन्न ११ वटा महत्त्वपूर्ण चोक छन्। ती हुन्-

दरबारका चोक[सम्पादन गर्ने]

मूलचोक- वि. सं. १६२० मा महेन्द्रमल्लले निर्माण गराएका।

त्रिशूलचोक- वि. सं १६९० मा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएका।

मोहनचोक- वि. सं. १७०५ मा प्रतापमल्लले निर्माण गराएका।

सुन्दरीचोक- वि. सं. १७०५ मा प्रतापमल्लले निर्माण गराएका।

लामचोक- वि. सं. १७१० मा प्रतापमल्लले निर्माण गराएका।

न्ह्नासलचोक- वि. सं. १७३० मा प्रतापमल्लले निर्माण गराएका।

कन्हेहोलचोक-वि. सं. १७७२ मा प्रतापमल्लले निर्माण गराएका।

न्हुलछचोक- वि. सं. १७९९ मा प्रतापमल्लले निर्माण गराएका।

कुमारीचोक- वि. सं. १८१३ मा जयप्रकाश मल्लले गराएका।

बसन्तपुरचोक- वि. सं. १८२६ मा पृथ्वी नारायण शाहबाट निर्माण गराइएको।

दाखचोक- वि. सं. १९२७ मा श्री सुरेन्द्र /जंगबहादुरले निर्माण गराएका।

दरबारक्षेत्रको सिमाकंन[सम्पादन गर्ने]

सरकारले २०४४ साल पुस १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी हनुमानढोका दरबारक्षेत्रको सिमाकंन गरेको थियो। त्यसबखत गरिएको सिमाकंन यसप्रकार छ-

पूर्व- विशालबजार भवनको पछाडिपट्टीबाट सिधै भूगोल पार्कसम्मको पूरै भाग।

पश्चिम- मरु सिंहसत्तल, महादेव मन्दिर काष्ठमण्डप, मरु गणेस्थान, जोशी आँगन हुँदै प्याफल याट्खा कुमारीस्थानदेखि ४५ फिट पश्चिमसम्मको क्षेत्र।

उत्तर- हालको का. म. न. पा. वडा नं. १९को सिमानगल्लीदेखि ४५ फिटमाथि (उत्तरपट्टी) हुँदै कम्पुकोट, महेन्द्रेश्वर महादेव मन्दिर, मखन बजारको शिवलिङ्गस्थानबाट १५० फिट उत्तरपट्टि र मखन बजार हुँदै इन्द्रचोकका आकाशभैरव मन्दिरबाट ४५ फिट उत्तरपट्टिसम्मको क्षेत्र।

दक्षिण - भूगोलपार्कको पछाडिबाट नेपाल बैङ्क पस्ने बाटोदेखि लायकुसालगल्ली हुँदै झोछेँ बसन्तपुर ग्वाछेँमुगगल्ली मरुसम्म र त्यहाँबाट अट्कोनाराणस्थानको कम्पाउण्डसम्म सडकको बाँयातर्फबाट ४५ फिटसम्मको क्षेत्र र अट्कोनारायण मन्दिरको कम्पाउन्डबाट सीधा पश्चिम भिमसेनस्थान जाने मूलसडकस्थित सत्तलसम्म।


उपर्युक्त क्षेत्रभित्र विभिन्न धार्मिक, सांस्कृतिक, वास्तुकला, काष्ठकलाहरूले पूर्ण सम्पदाहरू छन्। यसर्थ यस क्षेत्रलाई अनुसन्धान, दृश्यावलोकनका दृष्टिले एक खुल्ला सङ्ग्रहालयका रूपमा मान्न सकिन्छ। यो क्षेत्र काठमाडौँ उपत्यकाका ७ संरक्षित क्षेत्रमध्येको सबैभन्दा ठूलो क्षेत्र हो। हनुमानढोका दरबारक्षेत्र सन् १९७९ अक्टोबरदेखि विश्वसम्पदासूचीमा समावेश भएको थियो।