हसिना मियाँ (बेगम)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


हसिना मियाँ (बेगम) तनहुँ जिल्ला ढोरफिर्दीकी हसिना मियाँ बेगम समानुपातिक प्रणाली अन्तर्गत नेकपा-एमालेका सभासद हुनुहुन्छ। एमाले तनहुँ जिल्ला कमिटी सदस्य बेगम अखिल नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष, अञ्चल समन्वय समिति सदस्य र केन्द्रीय सदस्य समेत रहनुभएको छ। सामन्ती सत्ताको उत्पीडन खप्न नसकेर २०२८ बाट राजनीतिमा लागेको बताउने बेगमले ढोरफिर्दी-३को निर्वाचित वडा अध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। राजनीतिक संघर्षका क्रममा गिरफ्तारीबाट बारम्बार बच्दै आएकी ५८ वर्षीया हसिना मियाँ भन्नुहुन्छ- "पटक पटक पुर्जी काट्यो, प्रहरीहरू गिरफ्तार गर्न आउँथे, तर मेरो नाम हसिना मियाँ होइन, हसिना वेगम हो भनेपछि अलमल्ल परेर फर्कन्थे।"

चार छोरा, चार छोरीकी आमा हसिना मियाँ बेगम साक्षर हुनुहुन्छ। उहाँ व्यापारमा पनि संलग्न रहँदै आउनुभएको छ। समाजसेवा उहाँको रुचिको क्षेत्र हो। सभासद बेगम महिला विकास संघका अध्यक्ष तथा मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। लामो राजनीतिक संघर्ष, सैद्धान्तिक निष्ठा र महिला उत्थानप्रतिको समर्पणले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। संविधान सभामा उहाँले प्रमुखतासाथ उठाउन खोजेका दुई मुद्दा हुन्- क. मुस्लिम आयोग गठन, ख. पछि परेका महिला र अन्य समुदायको उत्थान।[१]

सन्दर्भ[सम्पादन गर्ने]