हाम्रो पात्रो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाम्रो पात्रो
निर्माणकर्ता (हरू)हाम्रो पात्रो
स्थिर संस्करण
१६.५.९
मञ्चआइओएस
एन्ड्रोइड
आकार१५ मेगाबाइट[१]
उपलब्ध भाषाहरू७ भाषाहरू
प्रकारजीवनशैली
अलेक्सा क्रम विश्वव्यापी २०,६८१
नेपाल ३८ [२]
वेबसाइटhamropatro.com

हाम्रो पात्रो (सुन्नुहोस्) एक पात्रो अनुप्रयोग हो। यसलाई शङ्कर राज उप्रेतीले सन् २०१० मा सृजना गरेका थिए। इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो नेपालको सर्वाधिक लोकप्रिय अनुप्रयोग समेत हो।[३]

हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारालाई अवलम्बन गरेको छ। अनुप्रयोगले सन् २०१८ फिफा विश्वकपको सम्पूर्ण खेलहरूको तालिकाको साथसाथै सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गरेको थियोे[४] भने यसले २०७४ को स्थानीय चुनावमा विशेष प्रस्तुति सुरु गरेको थियोे।[५] यसले सन् २०१९ क्रिकेट विश्वकपको सम्पूर्ण खेल अङ्कहरू प्रत्यक्ष रूपमा अद्यावधिक गरेको थियो।[६] यसले विशेष प्रायोजनका लागि द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरेको थियो।[७] तत्काल सन्देश सेवा भाइबरले हाम्रो पात्रोसँग साझेदारी गर्दै 'हाम्रो राशिफल' प्रारम्भ गरेको थियो।[८]

न्यूज २४ दूरदर्शनसँगको सहकार्यमा यसले समसामयिक विषयको सान्दर्भिकता प्रस्ट्याउन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन ‘ताली वा गाली’ नामक जनमत कार्यक्रम सुरु गरेको थियो।[९] यसले २०७७ बैशाखमा श्रव्य दृश्य मार्फत चिकित्सकहरूसँग परामर्श लिन एनसेल चिकित्सकलाई सम्पर्क गर्नुहोस् नामक सेवा सञ्चालन् गरेको थियो। नेपाल चिकित्सक सङ्घ र एनसेलसँग सहकार्यमा घरमै बसी कोरोना विषाणु सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव आदनप्रदान गर्न यो सेवा सुरु गरिएको थियो।[१०] अहिले हाम्रो पात्रो मार्फत नेपाल लगाएत विदेशबाट पनि चिकित्सहरुलाई फोन गर्न सकिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोलाई सन् २०१० मा, संस्थापक शङ्कर राज उप्रेती, एप्पल आइओएसका लागि एप्पल अनुप्रयोग भण्डारमा दर्ता गराएका थिए भने यो उक्त मञ्चमा दर्ता हुने पहिलो नेपाली अनुप्रयोग पनि थियो।[११] सन् २०१२ मा एन्ड्रोइड संस्करणमा पनि हाम्रो पात्रो निमार्ण भएको थियो। यो टोलीले सन् २०१६ मा, 'हाम्रो नेपाली अङ्ग्रेजी शब्दकोश' जारी गरेको थियो। वि.सं. २०७६ साल सम्ममा यसका लगभग १२ लाख प्रयोगकर्ता रहेका थिए जसको कारण प्रयोगकर्ताको हिसाबले यो नेपालको सबैभन्दा ठूलो र सफल अनुप्रयोग बनेको थियो।[१२]

बनोट[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोको प्रारम्भिक संस्करणभन्दा हालको संस्करण निकै फरक रहेको छ। अमेरिकी कम्पनी गुगलले प्रतिपादन गरेको सामग्री बनोटलाई हाम्रो पात्रोले अनुसरण गरेको छ जसको मद्दतले यो सुस्त इन्टरनेटमा पनि राम्रोसँग कार्यहरू सञ्चालन गर्दछ। अनुप्रयोगको गृहपृष्ठको सबैभन्दा माथि आजको मिति, चाडपर्व, रेडियो तथा समाचार, राशिफल, विनियम दर आदि समावेश छन्।[१२]

विशेषता[सम्पादन गर्नुहोस्]

पात्रो मात्रै देखाउने यस अनुप्रयोगमा हालसम्म धेरै सुविधाहरू थप गरिएको छ। हाल ‘हाम्रो पात्रो’ मा मिति रूपान्तरक, राशिफल, अनलाइन ज्योतिष कुण्डली, विदेशी विनियम दर, नेपाली अङ्ग्रेजी शब्दकोश, तरकारीको दर, सुनचाँदीको भाउ पनि रहेको छ। यसले नेपाली अङ्ग्रेजी शब्दकोशको नयाँ संस्करण पनि जारी गरेको छ। यसभन्दा अगाडि यसले नेपाल लोडसेडिङ तालिका पनि सेवामा समावेश गरेको थियो तथापि, नेपाललाई लोडसेडिङ मुक्त घोषण गरेसँगै यसले उक्ति सुविधा हटाएको थियो। यसका अतिरिक्त यसले ४६ वटा समाचार वेबसाइट, ३५० भन्दा बढी आकाशवाणीहरूसँग पनि सहकार्य गरेको छ।[१३]

चाडपर्व/दिवस[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोमा कुन चार्ड वा दिवस कहिले पर्छ किन मनाइन्छ र कसरी मनाइन्छ भन्ने बारेमा विस्तृत जानकारी समावेश गरिएको छ। कुन चार्ड वा दिवस कतिदिन पछि पर्छ भन्ने बारेमा पनि यसले जानकारी प्रस्तुत गर्दछ। विभिन्न चाडपर्व, महत्त्वपूर्ण मितिहरूको बारेमा विस्तृत जानकारी हासिल गर्न मिल्ने सुविधा यसमा समावेश छ।

मौसम[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोमा सात दिनको मौसम नेपाल र विदेशका गरी पन्ध्र हजारभन्दा धेरै सहरहरू समेटिएको छ भने स्थानको आधारमा सहरको मौसम यसमा प्रस्तुत हुन्छ।

नेपाली एफएम स्टेसन[सम्पादन गर्नुहोस्]

यसले देशका थुप्रै आकाशवाणीहरूसँग सहकार्य गरेको छ जसको माध्यमले यसले सहकार्य गरिएका एफएमको अनलाइन प्रसारण गर्दछ।[१४]

विनियम दर[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोले नेपाल राष्ट्र बैङ्कले द‌ैनिक रूपमा सार्वजनिक गर्ने विदेशी विनियम दरहरू अनुप्रयोग वा वेबसाइट मार्फत प्रदर्शन गर्दछ। यसले दैनिक रूपमा दरहरू अद्यावधिक पनि गर्दछ।[१५]

सुनचाँदीको भाउ[सम्पादन गर्नुहोस्]

यसले तेजावी र छापावाल सुनका साथसाथै चाँदीको भाउ लगभग दैनिक रूपमा सार्वजनिक तथा अद्यावधिक गर्दछ। यस सेवा मार्फत हालको सुन तथा चाँदीको मूल्य थाह पाउन सकिन्छ। यसले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घद्वारा सार्वजनिक गरिएका सुनचाँदीका मुल्यहरू अनुप्रयोग वा वेबसाइट मार्फत प्रदर्शन गर्दछ।[१६]

समाचार[सम्पादन गर्नुहोस्]

सेवाले विभिन्न राष्ट्रिय समाचार पत्रिका तथा अनलाइन पत्र पत्रिकाहरूसँग सहकार्य गर्दै प्रयोगकर्ताहरूका माझ समाचार प्रस्तुत गर्दछ।[१७]

तरकारी बजार[सम्पादन गर्नुहोस्]

यस अंशमा तरकारी तथा फलफूलहरूको आधिकारिक ताजा मूल्यहरू दैनिक रूपमा प्रस्तुत गरिएको हुन्छ।[१८]

ज्योतिष सेवा[सम्पादन गर्नुहोस्]

अनुप्रयोगको यस खण्डमा ज्योतिषीहरूको विवरण राखिएको हुन्छ जसमा प्रयोगकर्ताहरूले ‘ज्योतिष’ नामक पृष्ठमा गई आफ्नो क्षेत्रका ज्योतिषीको विवरण पाउन सक्छन्। यस सेवा मार्फत ज्योतिषहरूसँग प्रत्यक्ष कुराकानी गर्न सकिन्छ।[१८]

हाम्रो बजार वा खरिदबिक्री सेवा[सम्पादन गर्नुहोस्]

यस सेवा मार्फत प्रयोगकर्ताहरूले नयाँ अथवा प्रयोग गरिएका सामान, सवारी साधन, मोबाइल, घर-जग्गा, घडी अथवा अन्य उपयोगी सामग्रीहरू खरिदबिक्री गर्न सक्दछन्। २०७६ मङ्सिर सम्ममा यसमा तीन हजार भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए भने त्यतिबेलासम्म यो सुविधा काठमाडौँमा मात्र सिमित थियो।[१९] प्रत्यक्ष रूपमा कुनै पनि सामान अथवा सेवा सिधै खरिदकर्ताले बिक्रेतासँग र बिक्रेताले खरिदकर्तासँग सम्पर्क गरी कारोबार गर्न सकियोस् भन्ने अभिलाषाका साथ यसलाई सृजना गरिएको थियो। यसलाई 'हाम्रो मार्केट' (अनुवादित - हाम्रो बजार) नामकरण गरिएको थियो।[२०]

हाम्रो पात्रोद्वारा विकसित अन्य अनुप्रयोगहरू[२१][सम्पादन गर्नुहोस्]

हाम्रो लुडो[सम्पादन गर्नुहोस्]

यो अनुप्रयोग खेलसँग सम्बन्धित छ। हाम्रो पात्रोद्वारा विकसित यो एक शास्त्रीय तथा लोकप्रिय खेल अनुप्रयोग हो जहाँ सबै उमेर समूहका व्यक्तिहरूले यो खेल खेल्न सक्छन्।[२२] वास्तविक खेलको जस्तै नियम यसमा रहेको छ। यसमा एकपटक ४ जना सम्म खेल्न मिल्छ वा प्रणालीसँग पनि खेल्ने मिल्छ। यसले हालसम्म १.५ लाख भन्दा बढी पटक अभिभारण गरिएको छ।[२३]

हाम्रो नेपाली कुञ्जीपाटी[सम्पादन गर्नुहोस्]

नेपाली भाषामा लेख्नका लागि मद्दत गर्ने यस अनुप्रयोग निकै लोकप्रिय छ।[२४] अनुप्रयोगमा युनिकोड, अङ्ग्रेजी नेपाली अनुवाद, परम्परागत नेपाली कुञ्जीपाटी र इमोजीहरू समावेश छन्। यो आइओएस र एन्ड्रोइड मञ्चहरूमा समर्थित छ। लेख्न खोजिएको शब्द स्वचालित रूपमा माथि प्रदर्शन गर्ने यसको सेवालाई सबैले मन पराएको पाइन्छ। हाल यसका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्।[२५]

हाम्रो नेपाली-अङ्ग्रेजी शब्दकोश[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रो टोलीले विकास गरेको यो अर्को लोकप्रिय अनुप्रयोग हो।[२६] यसको नयाँ संस्करणमा ३० हजार भन्दा बढी नेपाली शब्द तथा २२ हजार बढी अङ्ग्रेजी शब्दहरू उपलब्ध छ। यसलाई १० लाख भन्दा धेरै पटम अभिभारण गरिएको छ।[२५] अनुप्रयोगले नेपाली शब्दको अङ्ग्रेजी अर्थ र अङ्ग्रेजी शब्दको नेपाली शब्द थाहा पाउनका लागि सहयोग गर्दछ। यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले जारी गरेको नेपाली अङ्ग्रेजी शब्दकोशसँग तुलना गरिएको छ। यो अनुप्रयोगले ५ मा ४.४ मूल्याङ्कन प्राप्त गरेको छ।[२७]

हाम्रो तास[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोले चाडवाडलाई लक्षित गर्दै 'हाम्रो तास' नामक अनुप्रयोग जारी गरेको थियो। यसमा भासी र जुटपत्ति समावेश गरिएको छ।[२८] यसमा अनलाइन र अफलाइन दुबै मार्फत खेल्न सकिन्छ। यो बहु खेलाडी खेल पनि हो।[२९] यो लगभग ९ मेगाबाइटको छ।[३०]

हाम्रो समाचार तथा पत्रिका[सम्पादन गर्नुहोस्]

हाम्रो पात्रोले विभिन्न लोकप्रिय सञ्चार माध्यमहरूसँग सहकार्य गर्दै एन्ड्रोइड तथा आइओएस मञ्चमा चलाउन मिल्ने हाम्रो समाचार तथा पत्रिका नामको मोबाइल अनुप्रयोग सार्वजनिक गरेको थियो। यसको प्रयोग गरेर प्रयोगकर्ताहरूले मोबाइल अनुप्रयोगहरूबाटै नेपालका राष्ट्रिय दैनिक तथा मासिक पत्रिका पढ्न र टिप्पणी गर्न सक्दछन्। सेवाले अन्नपूर्ण पोष्ट, सेतोपाटी, रातोपाटी, अनलाइन खबर, आर्थिक अभियान, राजधानी दैनिक, नेपालीपत्र, नेपाली टाइम्स, हिमाल खबर आदि जस्ता विश्वसनीय पत्र पत्रिकाहरूको सामग्रीहरू प्रस्तुत गर्ने गर्दछ।[३१]

भाषाहरू[सम्पादन गर्नुहोस्]

यसमा हाल नेपालका ७ वटा भाषाहरू उपलब्ध छन् जसमा नेपाली, अङ्ग्रेजी, मैथिली, नेवारी, भोजपुरी, डोटेली र बज्जिका समावेश छ। नेपाली र अङ्ग्रेजी भाषामा सुरु भएको हाम्रो पात्रो यसअघि पाँच भाषामा मात्रै उपलब्ध रहेको थियो भने यसले वि.सं. २०७६ मा बज्जिका र डोटेली भाषालाई समेटेको थियो। डोटेली भाषाका अनुवादक मदन खडायत, बज्जिका भाषाका अनुवादक सञ्जय मित्र र त्रिपुरारी गुप्ता, मैथिलीका काशिन्द्र शर्मा, भोजपुरीका एसके देवकोटा र नेपालभाषाका अनिल स्थापित हुन्।[३२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हाम्रो पात्रो"गुगल खेल भण्डार। सङ्ग्रह मिति ७ मे २०२० 
  2. "हाम्रो पात्रोको विश्लेषणात्मक समीक्षा र जनशाङ्खिकि"अलेक्सा इन्टरनेट। सङ्ग्रह मिति ७ मे २०२० 
  3. "अति लोकप्रिय हाम्रो पात्रो एप कसले बनायो ?"हाम्रो पेज। सङ्ग्रह मिति ८ मे २०२० 
  4. "विश्वकपको सम्पूर्ण अपडेट हाम्रो पात्रोको 'फुटबल विश्वकप २०१८' एपमा"न्युज २४। सङ्ग्रह मिति ८ मे २०२० 
  5. "निर्वाचन अपडेट सहित नयाँ शैलीमा हाम्रो पात्रो"न्युज २४। सङ्ग्रह मिति ८ मे २०२० 
  6. "विश्वकप क्रिकेटको अद्यावधिक हाम्रो पात्रोमा"यात्रा दैनिक। सङ्ग्रह मिति ८ मे २०२० 
  7. "हाम्रो पात्रो र द भ्वाइस अफ नेपालबिच सहकार्य"न्युज २४। सङ्ग्रह मिति ८ मे २०२० 
  8. "'हाम्रो पात्रो 'सँगको साझेदारीमा भाइबरले सुरु गर्‍यो ग्रहफल च्याटबट"रातोपाटी। सङ्ग्रह मिति ८ मे २०२० 
  9. "न्यूज २४ टेलिभिजन र हाम्रो पात्रोको सहकार्यमा भोटिङ पोल सुरु"न्युज २४। सङ्ग्रह मिति ८ मे २०२० 
  10. "हाम्रो पात्रोले सुरु गर्‍यो 'एनसेल कल टु डक्टर'"रिपोर्टर्स नेपाल। सङ्ग्रह मिति ८ मे २०२० 
  11. "सिलिकन भ्यालीमा चम्किएका शङ्कर उप्रेती, जो करोड कमाउँछन् !"अर्थ सरोकार। सङ्ग्रह मिति ८ मे २०२० 
  12. १२.० १२.१ "मोबाइल अनुप्रयोगबाट संसारका नेपालीलाई जोड्दै उप्रेती"नयाँ विश्व। सङ्ग्रह मिति ८ मे २०२० 
  13. "चीन र भारतबाट प्रविधि होइन लगानी भित्राऔँ"हिमाल खबर। सङ्ग्रह मिति ८ मे २०२० 
  14. "नेपाली एफएम स्टेसनहरू"आधिकारिक वेबसाइट। सङ्ग्रह मिति ८ मे २०२० 
  15. "विदेशी विनियम दर"हाम्रो पात्रो। सङ्ग्रह मिति ८ मे २०२० 
  16. "सुनचाँदीको भाउ"हाम्रो पात्रो। सङ्ग्रह मिति ८ मे २०२० 
  17. "हाम्रो पात्रो नयाँ डिजाइनमा"आकार पोस्ट। सङ्ग्रह मिति ९ मे २०२० 
  18. १८.० १८.१ "हाम्रो पात्रोमा थपियो नयाँ सुविधा, के-के छन् हेर्नुस्"अनलाइन खबर। सङ्ग्रह मिति ८ मे २०२० 
  19. "अब `हाम्रो पात्रो´बाटै खरिद-बिक्री पनि"हिमाल खबर। सङ्ग्रह मिति ८ मे २०२० 
  20. "हाम्रो पात्रोको आफ्नै 'कम्यूनीटि', अब खरिद-बिक्रि 'हाम्रो पात्रो'बाटै"अनलाइन खबर। सङ्ग्रह मिति ८ मे २०२० 
  21. "हाम्रो पात्रोद्वारा विकसित अनुप्रयोगहरू"हाम्रो पात्रो। सङ्ग्रह मिति ८ मे २०२० 
  22. "नेपालीले बनाएका केही चर्चित एन्ड्रोइड अनुप्रयोग"साप्ताहिक। सङ्ग्रह मिति ८ मे २०२० 
  23. "चलेका नेपाली अनुप्रयोग"साप्ताहिक। सङ्ग्रह मिति ८ मे २०२० 
  24. "'हाम्रो पात्रो'ले आइफोन प्रयोगकर्ताका लागि ल्यायो 'हाम्रो नेपाली कुञ्जीपाटी'"न्युज २४ नेपाल। सङ्ग्रह मिति ८ मे २०२० 
  25. २५.० २५.१ "यी हुन् धेरैले रुचाएका १५ नेपाली अनुप्रयोगहरू"टेक पाना। सङ्ग्रह मिति ८ मे २०२० 
  26. "हातमा शब्दकोश, हाम्रो शब्दकोश"हाम्रो पात्रो। सङ्ग्रह मिति ८ मे २०२० 
  27. "हाम्रो नेपाली-अंग्रेजी डिक्सनरी एप अझै परिमार्जित"थाह खबर। सङ्ग्रह मिति ८ मे २०२० 
  28. "भासी र जुटपत्ति मोबाइलमा खेल्न एप"पहिलो पोस्ट। सङ्ग्रह मिति ८ मे २०२० 
  29. "हाम्रो पात्रोमै भासी तथा जुटपत्तिको मज्जा"अनलाइन खबर। सङ्ग्रह मिति ८ मे २०२० 
  30. "हाम्रो तास - भासी र जुटपत्ती"एपिके पियोर। सङ्ग्रह मिति ८ मे २०२० 
  31. "दैनिक र मासिक पत्रिका मोबाइलमै पढ्न 'हाम्रो न्युज एन्ड म्यागेजिन'"ब्लगस्पोट। सङ्ग्रह मिति ८ मे २०२० 
  32. "अब हाम्रो पात्रो स्थानीय सहित ७ भाषामा"टेक पाना। सङ्ग्रह मिति ८ मे २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]