सामग्रीमा जानुहोस्

हिन्दु धर्मग्रन्थ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दु ग्रन्थहरू वा हिन्दु धर्मग्रन्थहरू ती पाण्डुलिपि र विशाल ऐतिहासिक साहित्यहरू हुन्, जुन हिन्दु धर्मका विभिन्न परम्परा वा सम्प्रदायहरूसँग सम्बन्धित छन्। केही प्रमुख हिन्दु ग्रन्थहरूमा वेद, उपनिषद्, इतिहास (महाभारतरामायण) र पुराणहरू समावेश छन्। हिन्दु धर्मको विविध प्रकृतिका कारण विद्वानहरू "हिन्दु धर्मग्रन्थ" शब्दलाई परिभाषित गर्न हिचकिचाउँछन्,[][] तर धेरैले आगमहरूलाई हिन्दु धर्मग्रन्थको रूपमा सूचीकृत गर्छन्।[][][] डोमिनिक गुडालले आफ्नो सूचीमा भागवत पुराणयाज्ञवल्क्य स्मृतिलाई पनि हिन्दु धर्मग्रन्थका रूपमा समावेश गरेका छन्।[]

हिन्दु ग्रन्थहरूको दुईवटा ऐतिहासिक वर्गीकरणहरू छन्: श्रुति – अर्थात् 'जे सुनियो',[]स्मृति – अर्थात् 'जे सम्झियो'।[] श्रुति ग्रन्थहरूले सबैभन्दा आधिकारिक र प्राचीन धार्मिक ग्रन्थहरूको समूहलाई जनाउँछन्, जसलाई शाश्वत ज्ञान मानिन्छ। यी ग्रन्थहरू कुनै मानव वा दैवी शक्तिद्वारा रचना नगरिएको, बरु ऋषिहरू मार्फत प्रसारित भएको विश्वास गरिन्छ। यिनले हिन्दु धर्मको केन्द्रीय आधार निर्माण गर्छन्।[][] यस अन्तर्गत चार वेद र तिनमा समावेश चार प्रकारका ग्रन्थहरू – संहिता, ब्राह्मण, आरण्यकउपनिषद् पर्दछन्।[] श्रुति मध्ये पनि उपनिषद्हरू मात्र हिन्दुहरूमाझ व्यापक रूपमा प्रभावशाली छन्। यसलाई हिन्दु धर्मका उत्कृष्ट धर्मग्रन्थ मानिन्छ र यसका केन्द्रीय विचारहरूले यसका चिन्तन र परम्पराहरूलाई निरन्तर प्रभाव पारिरहेका छन्।[][]

स्मृति ग्रन्थहरू हिन्दु धर्मका ती ग्रन्थहरूको समूह हुन् जसको श्रेय कुनै निश्चित लेखकलाई दिइन्छ।[] श्रुतिबाट व्युत्पन्न भएकाले यिनलाई हिन्दु धर्ममा श्रुति भन्दा कम आधिकारिक मानिन्छ।[] स्मृति साहित्य विभिन्न ग्रन्थहरूको एक विशाल भण्डार हो। यसमा वेदाङ्ग, हिन्दु महाकाव्यहरू (जस्तै महाभारतरामायण), सूत्र र शास्त्र, हिन्दु दर्शनका ग्रन्थहरू, पुराण, काव्य वा पद साहित्य, 'भाष्य' र राजनीति, नैतिकता, संस्कृति, कला र समाजलाई समेट्ने अनगिन्ती 'निबन्ध' (सङ्ग्रह) हरू समावेश छन्।[१०][११]

धेरै प्राचीन हिन्दु ग्रन्थहरू संस्कृत र अन्य क्षेत्रीय भारतीय भाषाहरूमा रचना गरिएका थिए। आधुनिक समयमा, अधिकांश प्राचीन ग्रन्थहरू अन्य भारतीय भाषाहरू र केही गैर-भारतीय भाषाहरूमा अनुवाद गरिएका छन्।[] ईस्वी संवत्को सुरुवात हुनुभन्दा पहिले, हिन्दु ग्रन्थहरू मौखिक रूपमा रचना गरिएका थिए, त्यसपछि पाण्डुलिपिमा लेखिनुअघि एक सहस्राब्दीभन्दा बढी समयसम्म एक पुस्ताबाट अर्को पुस्तामा मौखिक रूपमै कण्ठ गरेर प्रसारित गरिएका थिए।[१२][१३] हिन्दु ग्रन्थहरूलाई सुरक्षित राख्ने र एक पुस्ताबाट अर्को पुस्तामा पुर्‍याउने यो मौखिक परम्परा आधुनिक युगसम्म पनि जारी छ।[१२][१३]

ऐतिहासिक महत्त्व

[सम्पादन गर्नुहोस्]

हिन्दु धर्मग्रन्थहरूले भारतमा कला र विज्ञानका प्रारम्भिक रूपहरू जस्तै सङ्गीत, नृत्य, मूर्तिकला, वास्तुकला, खगोल विज्ञान, विज्ञान, गणित, चिकित्साकल्याण को प्रारम्भिक लिखित इतिहास प्रदान गर्दछन्। वाल्मीकिको रामायण (ईसापूर्व ५०० देखि ईसापूर्व १००) मा गन्धर्वहरूद्वारा गरिने सङ्गीत र गायन, उर्वशी, रम्भा, मेनका, तिलोत्तमापञ्चाप्सरा जस्ता अप्सराहरूद्वारा गरिने नृत्य, र नृत्यगीत (गायन र नृत्य) तथा नृत्यवादित्र (वाद्यवादन) मा निपुण रावणका पत्नीहरूको उल्लेख गरिएको छ।[१४] नृत्यसँग सम्बन्धित सबैभन्दा पुराना ग्रन्थहरूको प्रमाण 'नटसूत्र' मा पाइन्छ, जसको उल्लेख संस्कृत व्याकरणका शास्त्रीय रचयिता ऋषि पाणिनीको ग्रन्थमा गरिएको छ, जसको समय करिब ईसापूर्व ५०० मानिन्छ।[१५][१६]

यस प्रदर्शन कलासँग सम्बन्धित सूत्र ग्रन्थको उल्लेख अन्य उत्तर-वैदिक ग्रन्थहरूमा पनि गरिएको छ। त्यस्तै शिलाली र कृशाश्व नामका दुई विद्वानहरूलाई प्राचीन नाटक, गायन, नृत्य र यी कलाहरूका लागि गरिने संस्कृत रचनाका अग्रगामी मानिन्छ।[१५][१७] रिचमण्ड र अन्यका अनुसार 'नटसूत्र' को रचना ईसापूर्व ६०० तिर भएको अनुमान गरिएको छ, जसको पूर्ण पाण्डुलिपि आधुनिक युगसम्म सुरक्षित रहन सकेको छैन।[१५][१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 Dominic Goodall (1996)
  2. 1 2 Klaus Klostermaier (2007)
  3. RC Zaehner (1992)
  4. 1 2 Lochtefeld, James (2002)
  5. 1 2 Lochtefeld, James (2002)
  6. Lamb, Ramdas (2002)
  7. 1 2 O'Flaherty, Wendy Doniger (1988)
  8. Olivelle 1998, पृष्ठ 3.
  9. Doniger, Wendy (1990)
  10. Bilimoria, Purushottama (2011)
  11. Perrett, Roy (1998)
  12. 1 2 Witzel, Michael (2003)
  13. 1 2 Graham, William (1993)
  14. Guruge, Ananda W. P. (1991)
  15. 1 2 3 Lidova, Natalia (1994)
  16. 1 2 Richmond, Swann & Zarrilli 1993, पृष्ठ 30.
  17. Tarla Mehta 1995, पृष्ठ. xxiv.