हेन्सल र ग्रेटल
| हेन्सल र ग्रेटल | |
|---|---|
बोक्सीले हेन्सल र ग्रेटललाई आफ्नो झुपडीमा स्वागत गर्दै गरेको। आर्थर र्याकह्यामद्वारा चित्रण, सन् १९०९। | |
| लोक कथा | |
| नाम | हेन्सल र ग्रेटल |
| डाटा | |
| आर्न-थम्पसन समूहगत | ATU 327A |
| क्षेत्र | जर्मनी |
| मा प्रकाशित | ग्रिम दाजुभाईद्वारा किन्डर- उन्ड हाउसमेर्सेनमा |
हेन्सल र ग्रेटल (जर्मनेली: Hänsel und Gretel), [क] जर्मनेली दन्त्य कथा हो, जसलाई ग्रिम दाजुभाइले सङ्कलन गरेका थिए। यो सन् १८१२ मा ग्रिम्सका दन्त्य कथाहरूको अंशको रूपमा प्रकाशित भएको थियो।[१][२]
हेन्सेल र ग्रेटल दुई दाजुबहिनी हुन् जसलाई जङ्गलमा अलपत्र छाडिन्छ। तिनीहरू रोटी,[३] केक र चिनीले बनेको घरमा बस्ने एक बोक्सीको फन्दामा पर्छन्। मानिस खाने नियत भएकी त्यस बोक्सीले हेन्सललाई खानुअघि मोटो बनाउने योजना बुन्छिन्। तर, ग्रेटलले बोक्सीलाई उसकै ओभन (भट्टी) भित्र धकेलेर मार्दै आफ्नो दाजुको ज्यान जोगाउँछिन्। त्यसपछि ती केटाकेटीहरू बोक्सीको खजाना लिएर उम्कन सफल हुन्छन्।[४]
मध्यकालीन जर्मनीको पृष्ठभूमिमा आधारित "हेन्सल र ग्रेटल" लाई गीतिनाटक लगायत विभिन्न सञ्चार माध्यमहरूमा प्रदर्शन गरिएको छ। एङ्गेलबर्ट हम्परडिङ्कद्वारा सिर्जित ओपेरा हेन्सल र ग्रेटल सन् १८९३ मा पहिलो पटक प्रदर्शन गरिएको थियो।[५][६]
कथाको सारांश
[सम्पादन गर्नुहोस्]
हेन्सल र ग्रेटल एक गरिब दाउरेका साना छोराछोरी हुन्। जब त्यस देशमा ठूलो अनिकाल पर्छ, दाउरेकी सौतेनी आमाले केटाकेटीहरूलाई जङ्गलमा लगेर अलपत्र छाडिदिन सल्लाह दिन्छिन्। दाउरेले सुरुमा यो योजनाको विरोध गर्छन्, तर उनकी श्रीमतीले बारम्बार दबाब दिएपछि उनी अनिच्छापूर्वक सहमत हुन्छन्। उनीहरूको कोठामा रहेका हेन्सल र ग्रेटलले यो सबै कुरा सुनिरहेका हुन्छन् भन्ने कुरामा आमाबाबु अनभिज्ञ हुन्छन्। आमाबाबु सुतिसकेपछि, हेन्सल सुटुक्क घरबाहिर निस्केर प्रशस्त चम्किला सेता ढुङ्गाहरू जम्मा गर्छन् र आफ्नो कोठामा फर्केर ग्रेटललाई भगवानले उनीहरूलाई साथ नछाड्ने भन्दै सान्त्वना दिन्छन्।
भोलिपल्ट, सौतेनी आमाले उनीहरूलाई थोरै रोटीको टुक्रा दिन्छिन् र आमाबाबुले उनीहरूलाई जङ्गलतिर लैजान्छन्। जङ्गलको गहिराइमा जाँदै गर्दा, हेन्सलले बाटोभरि सेता ढुङ्गाहरू खसाल्दै जान्छन्। आमाबाबुले उनीहरूलाई त्यहीँ छाडेर हिँडेपछि, केटाकेटीहरू रात नपरुन्जेल पर्खन्छन्। जब चन्द्रमाको प्रकाशले ती सेता ढुङ्गाहरू चम्किन्छन्, उनीहरू त्यही बाटो पछ्याउँदै सुरक्षित रूपमा घर फर्कन्छन्, जसले गर्दा सौतेनी आमा निकै क्रोधित हुन्छिन्। केही समयपछि फेरि खाद्य अभाव हुन्छ र सौतेनी आमाले रिसाउँदै आफ्नो श्रीमानलाई यस पटक केटाकेटीहरूलाई अझ टाढाको जङ्गलमा लगेर छाड्न आदेश दिन्छिन्। हेन्सलले फेरि ढुङ्गाहरू जम्मा गर्ने प्रयास गर्छन्, तर सौतेनी आमाले ढोका थुनिदिएकी हुन्छिन्।

अर्को बिहान, सौतेनी आमाले उनीहरूलाई अझ सानो रोटीको टुक्रा दिन्छिन्। जङ्गलतर्फ जाँदै गर्दा हेन्सेलले घर फर्कने बाटो चिन्नका लागि रोटीका टुक्राहरू खसाल्दै जान्छन्। तर, उनीहरूलाई जङ्गलमा एक्लै छाडिएपछि, रोटीका टुक्राहरू चराहरूले खाइदिन्छन् र उनीहरू जङ्गलमा हराउँछन्। तीन दिनसम्म भौतारिएपछि, उनीहरू एउटा सेतो ढुकुरलाई पछ्याउँदै जङ्गलको एउटा खुल्ला ठाउँमा पुग्छन्। त्यहाँ उनीहरूले रोटीको पर्खाल, केकको छत र चिनीको झ्याल भएको एउटा सानो झुपडी फेला पार्छन्। भोकाएका र थाकेका केटाकेटीहरूले त्यो घर खान थाल्छन्। तब ढोका खुल्छ र भित्रबाट एउटी वृद्ध महिला निस्किन्छिन्। उनले केटाकेटीहरूलाई भित्र लगेर मिठो खानेकुरा र सुत्नका लागि नरम ओछ्यान दिन्छिन्। तर केटाकेटीहरूलाई के थाहा हुँदैन भने ती दयालु देखिने वृद्धा वास्तवमा एक दुष्ट बोक्सी थिइन्, जसले केटाकेटीहरूलाई लोभ्याउन र पछि पकाएर खानका लागि त्यो रोटीको घर बनाएकी थिइन्।
भोलिपल्ट बिहान, बोक्सीले हेन्सललाई एउटा तबेलामा थुन्छिन् र ग्रेटललाई दास बनाउँछिन्। बोक्सीले हेन्सललाई खानका लागि मोटो बनाउन दिनहुँ मिठो खानेकुरा खुवाउँछिन्, तर ग्रेटललाई भने गङ्गटाको खबटा मात्र दिन्छिन्। बोक्सीले हेन्सल कत्तिको मोटो भयो भनेर हेर्न उसको औँला छाम्ने प्रयास गर्छिन्, तर हेन्सलले चलाखीपूर्वक पिंजडामा भेटेको एउटा पातलो हड्डी बाहिर निकालिदिन्छन्। बोक्सीको आँखा कमजोर भएकोले उनले हेन्सल अझै दुब्लो नै छ भन्ने ठान्छिन्। चार हप्ता बितिसक्दा पनि हेन्सल मोटो नभएको देखेर बोक्सी धैर्य गुमाउँछिन् र उसलाई खाने निर्णय गर्छिन्।
उनले हेन्सलका लागि ओभन (भट्टी) तयार पार्छिन् र ग्रेटललाई पनि खाने सोच बनाउँछिन्। उनले ग्रेटललाई ओभन नजिकै बोलाउँछिन् र आगो पर्याप्त तातो छ कि छैन भनेर निहुरिएर हेर्न भन्छिन्। बोक्सीको खराब नियत बुझेकी ग्रेटलले आफूले नबुझेको बहाना गर्छिन्। झर्किएकी बोक्सीले आफैँ कसरी हेर्ने भनेर देखाउन निहुरिँदा, ग्रेटलले तुरुन्तै उनलाई तातो ओभन भित्र धकेलिदिन्छिन् र ढोका थुनिदिन्छिन्, जसले गर्दा बोक्सीको जलेर मृत्यु हुन्छ। ग्रेटलले हेन्सललाई तबेलाबाट मुक्त गराउँछिन् र उनीहरूले त्यहाँ मोती र बहुमूल्य पत्थरले भरिएका बाकसहरू फेला पार्छन्। ती गहनाहरू आफ्ना खल्तीमा भरेर केटाकेटीहरू घरतर्फ लाग्छन्। एउटा सेतो हाँसले उनीहरूलाई ठूलो पानीको भाग पार गराइदिन्छ। जब उनीहरू घर पुग्छन्, त्यहाँ आफ्ना बुबालाई मात्र भेट्छन्; उनकी श्रीमतीको अज्ञात कारणले मृत्यु भइसकेको हुन्छ। बुबाले आफ्ना छोराछोरीलाई सधैँ सम्झिरहन्थे र उनीहरूलाई सुरक्षित देखेर उनी अत्यन्तै खुसी हुन्छन्।
बोक्सीको धनसम्पत्तिले गर्दा ती केटाकेटीहरू र उनीहरूका बुबा त्यसपछि सधैँ खुसीसाथ बस्न थाल्छन्।
द्रस्टव्यहरू
[सम्पादन गर्नुहोस्]- ↑ जर्मनेली भाषामा, यी नामहरू योहानेस र मार्गरेटका छोटा रूपहरू हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Harries 2015, पृष्ठ 225.
- ↑ Ashliman, D. L. (२०११), "Hansel and Gretel", University of Pittsburgh।
- ↑ Heiner, Heidi Anne (२०२१), "Hansel & Gretel Annotations", Sur La Lune।
- ↑ Zipes 2013, पृष्ठ 121.
- ↑ Opie & Opie 1974, पृष्ठ 236.
- ↑ Harries 2015, पृष्ठ 227.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- हेन्सल र ग्रेटल गुटेनबर्ग परियोजनामा
- हेन्सल र ग्रेटल – ग्रिम दाजुभाईको मूल संस्करण
- ग्रिम्सका दन्त्य कथाहरूको पूर्ण अंश स्ट्यान्डर्ड इबुक्समा
- हेन्सल र ग्रेटलको चित्रण