२०१४ पेसावर विद्यालय हत्याकाण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पेसावर विद्यालय हत्याकाण्ड
विद्यालयको वाचनालय
आक्रमणस्थल
स्थान: सैनिक सार्वजनिक विद्यालय, वार्साक रोड, पेसावर, खैबर पख्तुन्ख्वा, पाकिस्तान
निर्देशाङ्क: ३४°००′४९″ उत्तर ७१°३२′१०″ पूर्व / ३४.०१३६१° उत्तर ७१.५३६११° पूर्व / 34.01361; 71.53611निर्देशाङ्क: ३४°००′४९″ उत्तर ७१°३२′१०″ पूर्व / ३४.०१३६१° उत्तर ७१.५३६११° पूर्व / 34.01361; 71.53611
मिति: २०१४ डिसेम्बर १६ तारिख
10:30 am पिएसटी[१] – 19:56 pm पिएसटी[२] (UTC+05:00)
निशाना: विद्यालयका कर्मचारी तथा विद्यार्थीहरू
आक्रमणको प्रकार: अात्मघाती बम आक्रमण,[३] हत्या, बन्धक,[४] विद्यालय गोलीकाण्ड
मृत्यु: १४५ (१३२ बालबालिकासहित)[५][६]
घाइते: ११४ [७]
उद्देश्य जर्ब-ए-अज्ब कारबाहीको बदला

सन् २०१४ डिसेम्बर १६ तारिखका दिन तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरे। उनीहरू हतियारसहित विद्यालयमा प्रवेश गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गरे।[८][९]उनीहरू हतियारसहित विद्यालयमा प्रवेश गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गरे। यस घटनामा परी आठदेखि अठार वर्षका १३२ बालबालिकासहित १४५ को मृत्यु भयो।[१०][११] घटनाको लगत्तै पाकिस्तानी सेनाको विशेष सेवा समूह (एसएसजी)ले उद्दार कारबाही सञ्चालन गर्‌यो। कारबाहीमा उक्त समूहले घटनामा संलग्न सातै जना आतंककारीलाई मारेर ९६० जनाको उद्दार गर्‌यो।[९][१२][१३] पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता मेजर जनरल असिम बाज्वाले एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस घटनामा १३० जना घाइते भए।[८]

यो घटना पाकिस्तानको इतिहासमा सन् २००७ मा भएको कराची बम आक्रमणपछिको सबैभन्दा खतरनाक आतंककारी आक्रमण हो।[१४] विभिन्न समाचार संस्था तथा विश्लेषकहरूका अनुसार यो आक्रमणको प्रकृति तथा तयारी सन् २००४ मा रुसको उत्तरी ओसेटिया-अलानिया क्षेत्रमा भएको बेस्लान विद्यालय बन्धक समस्या जस्तै थियो।[१५][१६][१७][१८][१९]

घटनाको पृष्ठभूमि[सम्पादन गर्ने]

सन् २०१४ को जुन महिनादेखि पाकिस्तानको सशस्त्रबलले विभिन्न हिंसात्मक घटनाले व्याप्त उत्तरी वजिरिस्तान क्षेत्रमा आतंककारी गतिविधिविरुद्द संयुक्त सैन्य कारबाही सञ्चालन गरेको छ। जुन ८ मा कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंककारी आक्रमणपश्चात सञ्चालन गरिएको उक्त सैन्य कारबाहीलाई जर्ब-ए-अज्ब नाम दिइएको छ। विमानस्थलमा भएको आतंककारी जिम्मेवारी टिटिपीले लिएको थियो। यो उत्तर-पश्चिमी पाकिस्तानमा चलिरहेको युद्ध मध्येको एक हो। यस युद्धमा हालसम्म लगभग १२०० आतंककारीहरू मारिइसकेका छन्[२०] भने उत्तरी वजिरिस्तानको ९०% भूभाग आतंककारी मुक्त बनाइएको छ।[२१]

आक्रमण[सम्पादन गर्ने]

बिहान करिब १० बजे पाकिस्तानी अर्धसैनिक बल फ्रनटियर कर्प्सको पोशाक लगाएका ६ बन्दुकधारी[३] विद्यालय हातामा प्रवेश गरेपछि आक्रमण सुरु भयो।[८] उनीहरू पछाडिपट्टिको पर्खाल नाघेर विद्यालय हातामा प्रवेश गरे।[८] सैन्य सार्वजनिक विद्यालय तथा कलेज प्रणाली अन्तर्गत पाकिस्तानमा सञ्चालनमा रहेका १४६ विद्यालय मध्येको एक यो विद्यालय पेसावरको वार्साक रोडमा अवस्थित छ।[३] विद्यालय प्रवेश गर्नुभन्दा पहिला बन्दुकधारीहरूले आफू आएको सुजुकी बोलान एसटी ४१ भ्यानमा आगो लगाए। स्वचालित हतियारसहित विद्यालय प्रवेश गरेका उनीहरू सिधै विद्यालय भवनको मध्यभागमा रहेको वाचनालयमा पुगे। त्यहा पुग्नासाथ विद्यालयको विशेष समारोहका लागि भेला भएका विद्यार्थीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरे। पाकिस्तानी सेनाको सार्वजनिक सम्बन्ध विभाग अन्तर्गतको आन्तरिक सेवा सार्वजनिक सम्बन्ध महानिर्देशक असिम बाज्वाका अनुसार आतंककारीहरू विद्यार्थीलाई बन्धक बनाउन नभई सकेजति धेरै विद्यार्थीको हत्या गर्ने उद्देश्यले विद्यालय प्रवेश गरेका थिए। आतंककारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि विद्यार्थीहरू वाचनालयको अर्कोतर्फ रहेका दुई ढोकातिर भागे तर उनीहरू मध्ये धेरैलाई बगैँचामा गोली हानेर ढालियो।

प्रारम्भिक रिपोर्टहरूले विद्यार्थीहरूलाई प्रधानाध्यापक ताहिरा काजीसहित अन्य शिक्षकहरूलाई जिउँदै जलाईएको दृष्य हेर्न बाध्य पारिएको खुलासा गरेका छन्।[२२] आतंककारीहरूले विद्यालय प्रवेश गरेको १५ मिनेट भित्र पाकिस्तानी सेनाको एसएसजीको ठूलो फौज घटनास्थल पुग्यो। उनीहरू भारी हतियारले भरिएका बख्तरबन्ध गाडी र ट्रकसहित दुईतिरबाट विद्यालय परिशरमा प्रवेश गरेका हुन्।

एसएसजी घटनास्थल पुग्नासाथ उनीहरूलाई रोक्न तथा बाँकि विद्यार्थी तथा विद्यालयका कर्मचारीहरू मार्न खोज्ने आतंककारीहरूसँग भिड्न थाले। त्यसपछि बन्दुकधारीहरू विद्यालयको प्रशासकीय ब्लकतर्फ लागे र त्यहाँ केही विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूलाई बन्धक बनाए। उनीहरू मध्ये एकलाई सुरक्षाकर्मीले वाचनालयमा नै मारे भने बाँकि ६ जना विद्यालयको प्रशासकीय ब्लकतिर भाग्न सफल भए।[२३] आपतकालिन आकस्मिक समूह तथा सेनाको मेडिकल टिम सेनाको बख्तरबन्ध गाडीसहित घटनास्थल पुग्यो। सैनिक प्रहरी तथा खैबर प्रान्तको प्रान्तीय जनपद प्रहरीले उक्त क्षेत्रबाट आतंककारीहरू उम्कन नसकुन भनेर नाकाबन्दी गरे।

यसैबीच एसएसजी कमान्डो घटनास्थल पुग्यो र प्रशासकीय ब्लकलाई घेराबन्दी गर्‌यो। सेनाको सम्पूर्ण कारबाही प्रशासकीय ब्लकलाई आफ्नो नियन्त्रणमा लिएर बन्दुकधारीहरूले बन्धक बनाएकाहरूको मुक्तिमा केन्द्रित थियो। निशानेवाजहरूको विशेष समूह र उनीहरूका स्पटरले आतंककारीहरूलाई आफ्नो निशानामा पारे। बाँकि ६ आतंककारीहरू मध्ये तीन आतंककारीहरूलाई उनीहरूले झ्याल तथा वातानुकुलनका लागि बनाइएका प्वालबाट निशाना लगाएर मारे। अन्य तीनलाई हुलका हुल छिरेका कमान्डोले मारे र बन्धक बनाइएकाहरूको उद्दार गरे। यो लडाईँमा दुई अफिसरसहित सात जना घाइते भए। आतंककारीहरूलाई मारिसकेपछि उनीहरूले विद्यालय परिशर तथा आतंककारीहरूले आफ्नो शरीरमा राखेका विष्फोटक पदार्थहरूको खोज तथा सफाइ अभियान सुरु गरियो।[२३]

यो आक्रमणका बेला आतंककारीहरू यस आक्रमणका सञ्चालकहरूसँग सञ्चार सम्पर्कमा थिए। तर एसएसजी घटनास्थलमा पुगेपछि सुरक्षाकर्मीहरूले आतंककारीहरूको सञ्चार सम्पर्क बीच्छेद गराए। बाज्वाले भने "तिनीहरू को हुन् र कोसँग सञ्चार सम्पर्कमा थिए भन्ने हामीलाई थाह छ तर अहिले कारबाही चलिरहेकोले सम्पूर्ण विवरण खुलाउन मिल्दैन। उनीहरूलाई विद्यालय परिशरको हरेक स्थानको ज्ञान थियो। सम्भवत आक्रमण पहिला उनीहरूले यसको रेकी गरेका थिए। यो पनि हुनसक्छ कि भित्रको कसैले उनीहरूलाई जानकारी दियो।"

आक्रमणको उद्देश्य[सम्पादन गर्ने]

लण्डनमा गरिएको मैनबत्तीसहितको प्रार्थना

पाकिस्तानी तालिबानले पेसावरको विद्यालय हत्याकाण्डमा कालो सूचीमा परेका सैन्य अधिकारीका छोराहरूलाई निशाना बनाइएको बताएको छ। "महत्वपूर्ण सैन्य अधिकारीहरूका ५० जना छोरा पहिचान गरेर मारिएको हो," तेह्रिक-इ-तालिबानले जारी गरेको इमेल वक्तव्यमा भनिएको छ- आक्रमण वाचनालयमा प्राथमिक उपचारको जानकारी लिइरहेका माध्यमिक तथा उच्चमाध्यमिक तहका विद्यार्थीहरूप्रति लक्षित थियो। यो आक्रमण अफगानिस्तानबाट टिटिपीका नेताहरूले संयोजन गरेका थिए।[२४] यस आक्रमणको प्रमुख लक्ष्य विद्यार्थीहरूलाई बन्धक बनाएर आफ्ना माग पूरा गर्न दबाब दिनु थियो। टिटिपीका लडाकुहरूले भारी मात्रामा हतियारहरू तथा प्रशस्त मात्रामा खानेकुराहरू बोकेर आएका थिए। उनीहरू यस बन्धक प्रकरणलाई लम्ब्याउने कोशिस गरिरहेका थिए।[२५]

हताहती[सम्पादन गर्ने]

आक्रमणका बेला विद्यालय परिशरमा लगभग १,०९९ विद्यार्थी तथा विद्यालयका कर्मचारीहरू उपस्थित थिए। ती मध्ये करीब ९६० जनालाई सुरक्षाकर्मीले घटनास्थलबाट उद्दार गरे। यद्यपी ती मध्ये १२१ जना घाइते भएका थिए। यस घटनामा १३२ जना विद्यार्थी, दश जना विद्यालयका कर्मचारीहरू तथा तीन सुरक्षाकर्मी मारिए। रिपोर्टहरूका अनुसार प्राय विद्यार्थीहरूको टाउकोमा गोली हानिएको थियो।[१०][११] खैबर पख्तुन्ख्वाको प्रान्तीय सरकारले यस आतंककारी आक्रमणमा परी मारिनेका परिवारलाई ५,००,००० पाकिस्तानी रुपी ( करीब ५००० अमेरिकी डलर) तथा गम्भीर रूपमा घाइते भएकाहरूलाई २,००,००० पाकिस्तानी रुपी ( करीब २००० अमेरिकी डलर) क्षतिपूर्ति दिने निर्णय गर्‌यो।[२६][२७]

जिम्मेवारी[सम्पादन गर्ने]

तेह्रिक-इ-तालिबान पाकिस्तान (टिटिपी)ले यस आक्रमणको जिम्मेवारी लिँदै यसलाई पाकिस्तानी सेनाले आफ्नाविरुद्ध उत्तरी वजिरिस्तान क्षेत्रमा सन् २०१४ को हिउँददेखि सञ्चालन गरेको कारबाही जर्ब-ए-अज्बको बदला लिन गरिएको दाबी गरेको छ।[२८] यो आक्रमण मलाला युसफजईलाई प्रदान गरिएको नोबल शान्ति पुरस्कारको बदला लिन गरिएको विश्वास गरिन्छ।[२९][३०]

टिटिपीका प्रवक्ता मुहम्मद ओमार खोरासनीले भने- "हामीले त्यो विद्यालयलाई निशानामा पार्यौँ किनकी सेनाले हाम्रा परिवारलाई निशाना बनाउँछ। हामी चाहन्छौँ उनीहरूले पनि हाम्रो जस्तो पीडा महशुस गरुन्।""[३१] "हाम्रा छ जना योद्धाहरू सफलतापूर्वक सैनिक विद्यालयमा प्रवेश गरेका छन् र हामी बाहिरबाट उनीहरूलाई निर्देशन दिइरहेका छौँ।" खोरासनीले फोनमा कुरा गर्दै भने।[३२] उनले भने-"हाम्रा आत्मघाती बमसहितका लडाकु विद्यालयमा सफलतापूर्वक प्रवेश गरे। उनीहरूलाई बालबालिकाहरूलाई क्षति नपुर्‌याउन तथा सेनामाथि निशाना लगाउन निर्देशन दिइएको छ। यो आक्रमण सेनाले उत्तरी बजिरस्तानमा गरेको कारबाहीको बदला लिन गरिएको हो।"[३३][३४]

पाकिस्तानी संघीय अनुसन्धान संस्था एफआइएका अनुसार यो समूहलाई अबु सामिल नाम गरेको आतंककारीले नेतृत्व गरेको थियो र सामिल आफैँले यो आक्रमणको योजना बनाएको थियो। उसलाई यस योनामा तीन अरबी र दुई अफगानले साथ दिए। ती दुई अफगानहरू पस्तो भाषा बोल्थे र उनीहरू पूर्वी अफगानिस्तानका वासिन्दा थिए। सन् २०१४ डिसेम्बर १८ मा टिटिपीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको एक भिडियोमा उमर मन्सुरलाई पेसावर विद्यालय आक्रमणको प्रमुख योजनाकारको रूपमा देखाइएको छ।[३५]

आतंककारीहरूको राष्ट्रियता[सम्पादन गर्ने]

पाकिस्तानी अनुसन्धान संस्थाहरूले आतंककारीहरूको राष्ट्रियता पत्ता लगाउन विभिन्न रूपमा छानविन गरे। यसपश्चात एफआइएले घटनामा सम्लग्न सबै आतंककारीहरू विदेशी भएको निष्कर्ष निकालेको छ। सार्वजनिक गरिएका छ आतंककारीहरूका नाम तथा अन्य विवरण यसप्रकार छन्:[३६]

  • अबु सामिल (उर्फ अब्दुर रेह्मान) -एक चेचेनियाली योद्धा जसले आक्रमणको नेतृत्व गरेको विश्वास गरिन्छ।
  • नोउमान साह हेल्मन्द -हेल्मन्द प्रान्तको वासिन्दा अफगान नागरिक; अमेरिकाले उसको टाउकोको मूल्य ५,००,००० अमेरिकी डलर तोकेको थियो।
  • वजिर अलाम हेरत -अफगानिस्तानको हेरत वासिन्दा अफगान नागरिक।
  • खतिब अल-जुबैदी -अरबी भाषा बोल्ने इजिप्टको नागरिक।
  • मोहम्मद जझहेदी -अरबी भाषा बोल्ने मोरक्कोको नागरिक।
  • जिब्रान अल-सइदी -उसको नागरिकता अज्ञात छ तर ऊ अरब नागरिक भएको विश्वास गरिन्छ।

प्रतिक्रियाहरू[सम्पादन गर्ने]

मैले तत्काल पेसावर जाने निर्णय गरेँ, म आफैँ यो कारबाहीको निरीक्षण गर्छु। यी मेरा बालबालिकाहरू हुन् र यो मेरो क्षति हो।[३७]

—नवाज सरिफ, पाकिस्तानका प्रधानमन्त्री

यो आक्रमण लगत्तै पाकिस्तानभरबाट विभन्न प्रतिक्रियाको ओइरो लाग्यो। सर्वसाधारण, सरकार, राजनीतिक तथा धार्मिक नेता, पत्रकार र समाजशास्त्री सबैले यो आक्रमणको घोर निन्दा गरे। पाकिस्तानी सञ्चार माध्यमहरूले घटनाप्रति कडा प्रतिक्रिया दिए। प्रमुख पत्रपत्रिका तथा समाचारप्रधान टेलिभिजन च्यानलहरूले विशेष गरी टिटिपी जस्ता लडाकु समूहका विरूद्ध नयाँ ढंगले कडा कदम चाल्न आह्वान गरे। घटना पश्चात पाकिस्तानबाट मात्र नभएर संसारका विभिन्न स्थानबाट प्रतिक्रियाहरू आए। विभिन्न देशका सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले घटनाको कडा आलोचना गर्दै मृतकका आफन्तप्रति समवेदना प्रकट गरे। विश्वभरका महत्वपूर्ण व्यक्तित्वहरूले पनि आक्रमणको घोर निन्दा गरे।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आक्रमणको घोर निन्दा गर्दै यस घटनालाई राष्ट्रिय वियोगको संज्ञा दिए। उनले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे। राष्ट्रपति मम्नुन हुसेन तथा चार प्रान्तका मुख्यमन्त्रीहरूले पनि आक्रमणको घोर निन्दा गरे।

विश्वभरका कलाकारहरूले पनि आक्रमणप्रति धारणा व्यक्त गर्दै यस्तो भयंकर करतुतले आफूहरूलाई मर्माहत बनाएको प्रतिक्रिया दिए। पाकिस्तानी कलाकार तथा गायक सेहजाद रोयले पेसावर आक्रमण पीडितहरूको लागि एउटा नयाँ गीत गाए। उक्त गीत अहिले पाकिस्तानको राष्ट्रिय टेलिभिजन च्यानल पिटिभीको आधिकारिक गीत हो।

पाकिस्तानका प्रमुख राजनीतिक दलका नेताहरूले पनि निर्दोस बालकहरूमाथि गरिएको आक्रमणको घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरे। उनीहरूले लडाकुहरूप्रति कडा कदम चाल्न आह्वान गरे।[३८]

पाकिस्तान तेह्रिक-ए-इन्साफका नेता इमरान खानले गर्न लागेको सरकार विरोधी प्रदर्शन (अाजादी मार्च) फिर्ता लिए। नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजईले पनि आक्रमणको निन्दा गरिन्। उनले भनिन्- "पेसावरमा भएको यो विवेकहीन तथा अमानवीय आतंककारी कार्य हाम्रा सामु आउँदा मेरो हृदयमा चोट लागेको छ।"[३९] उनका बाबु जियाउद्दिन युसफजईले भने "मेरो हृदयबाट रगत बगिरहेको छ।" पेसावरमा भएको हत्याकाण्डले उनको परिवार शोकमा डुबेको उनले बताए।[४०] अर्को आतंककारी संगठन अलकायदाका प्रवक्तालेसमेत विज्ञप्ती जारी गर्दै भने -"हाम्रो हृदय पीडाले छियाछिया भएको छ"। उनले सेनालाई लक्षित गरे पनि उनीहरूका बालबालिकामाथि आक्रमण गर्न नहुने धारणा राखे।[४१]

घटना पश्चात[सम्पादन गर्ने]

आक्रमणको निन्दा गर्दै इन्जिनियरिङका विद्यार्थीले पाकिस्तानी हरियाणाको अम्बालामा निकालेको मैनबत्ती जुलुस

धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यस आक्रमणलाई पाकिस्तानको सेप्टेम्बर ११ को संज्ञा दिए।[४२] आक्रमणको खबर फैलनासाथ सर्वसाधारणमा टिटिपीप्रति घृणा जागेर आयो। पाकिस्तानी सरकार तथा सैन्य बलले घटनाप्रति तुरुन्तै प्रतिक्रिया जनाए।[४३]

इरानी मूलका अमेरिकी विद्वान वाली नासर यो आक्रमणबाट तालिबानहरूले आफूहरूमाथि भएको सैन्य कारबाहीको समाधान खोजेका हुन् भन्ने धारणा राख्छन्। उनका अनुसार तालिबानहरू आफूहरूमाथिको सैन्य कारबाहीले ठूलो नरसंहार निम्ताउन सक्छ भन्ने देखाएर सर्वसाधारणको दबाबमा सेनालाई कारबाही फिर्तालिन लगाउने दाउमा थिए तर परिस्थिति उनीहरूले सोचेकोभन्दा उल्टो भयो।[४३]

आक्रमणपछिको दोस्रो दिन प्रधानमन्त्री नवाज सरिफले आतंकवाद सम्बन्धित सजायहरू कडा बनाए।[४४][४५] यसपछि पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफको हत्या प्रयासको अभियोगमा पक्राउ परेका मोहम्मद अक्विल र अर्सद मह्मुदलाई डिसेम्बर १९ मा मृत्युदण्ड दिइयो।[४६][४७]

पाकिस्तानको राजधानी सहर इस्लामाबादमा रहेको तालिबानको समर्थन गर्ने मस्जिद स्वतस्फुर्त रूपमा निस्केको एक जुलुसले घेराउ गरेर कब्जामा लिए।[४८] आक्रमणबाट पीडितप्रति सहानुभूति तथा मृतकप्रति समवेदना प्रकट गर्दै पाकिस्तानका धेरै ठाउँमा मैनबत्ती जुलुस तथा जाग्रामको आयोजना गरियो। विश्वभरका धेरै अन्तर्राष्ट्रिय समुदायहरूले आक्रमणको निन्दा गर्दै प्रदर्शन गरे।[४९][५०]

सन् २०१४ डिसेम्बर ३० मा पाकिस्तानी ब्याट्सम्यान युनिस खानले उक्त विद्यालयको भ्रमण गरे। पाकिस्तान राष्ट्रिय क्रिकेट टिमले घटनाको भोलिपल्ट न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टिमविरुद्ध टेस्ट म्याच खेलेको थियो। युनिस खानले न्युजिल्यान्ड क्रिकेट टिमले पठाएको चेक तथा क्रिकेट खेल सामग्री हस्तान्तरण गरे।[५१]

आतंककारीहरूको मृत्युदण्डसम्बन्धि कानुनमा संशोधन[सम्पादन गर्ने]

सन् २०१४ डिसेम्बर १७ मा प्रधानमन्त्री नवाज सरिफले मृत्युदण्डको सजाय सुनाइएका आतंककारीहरूको मृत्युदण्डअघिको स्थगन समय हटाउने कानुन पारित गरे।[५२] प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो- "प्रधानमन्त्रीले आतंकवादसम्बन्धित अपराधमा मृत्युदण्डको सजाय सुनाइएकाहरूको मृत्युदण्डअघिको स्थगन समय हटाउने कानुन पारित गरेका छन्।"[५२]

पाकिस्तानमा सन् २००८ देखि मृत्युदण्डको सजाय सुनाइएका अपराधीहरू मृत्युदण्डअघि स्थगन समयको व्यवस्था थियो। हालसम्म पाकिस्तानमा लगभग ८०० जना अपराधीहरू आतंकवादसम्बन्धित अपराधमा मृत्युदण्डको सजाय पाएर पालो कुरेर बसिरहेका छन्।[५३] पाकिस्तानमा आतंकवादीहरूलाई न्यायको कठघरामा उभ्याइन्न भन्ने धारणा सर्वत्र फैलिएपछि यो कदम चालिएको हो। आतंकवादीहरूसँग डराएर धेरै मुद्दाहरू साक्षीहरू बाहिर आउन मान्दैनन् भने न्याधीशहरूसमेत मृत्युदण्डको फैसला सुनाउन सक्दैनन्। अझ आतंककारीहरूलाई मृत्युदण्डको फैसला सुनाएर जेल पठाइयो भने पनि कमजोर प्रहरी प्रशासनका कारण अपराधीहरू जेल तोडेर फरार हुने गर्दछन्। पाकिस्तानको बान्नु[५४] तथा डेरा इस्माइल खान[५५] कारागारबाट धेरै कुख्यात आतंककारीहरू फरार भए।

एम्नेस्टी इन्टरनेसनल एसिया-प्यासिफिकका सहायक निर्देशक डेभिड ग्रिफिथ्सले यो निर्णयको विरोध गरे। उनले भने- "मृत्युदण्डको कानुन ब्युँताउनु यो आक्रमणको जवाफ होइन-न त भविश्यमा नै यो ठीक जवाफ हुनेछ। सरकारले हिंसा-प्रतिहिंसा बढाउन मृत्युदण्डको कानुन ब्युँताउनुभन्दा आफ्नो शक्ति बढाउनेतिर ध्यान दिनुपर्छ।"[५६]

जवाफी कारबाही[सम्पादन गर्ने]

हवाइ तथा युएभी(ड्रोन) हमला[सम्पादन गर्ने]

आक्रमणको लगत्तै आतंककारीहरूमाथि संयुक्त रूपमा मानवरहित हवाइ विमान तथा अन्य हवाइ हमलालाई तिब्र पारियो। पाकिस्तानी वायुसेना (पिएएफ)ले टिटिपीका प्रमुख मुल्लाह फज्लुल्लाहको व्यापक खोजी गर्यो। उनी नोभेम्बर २५ मा भएको ड्रोन आक्रमणबाट बल्लतल्ल बाँच्न सफल भए।[५७] डिसेम्बर १७ मा पाकिस्तानी वायुसेनाका एफ-सिक्स्टिन तथा जेएफ-सेभेन्टिन विमानहरूले पाकिस्तान तथा अफगानिस्तानको सीमा नजिकै रहेको तिराह उपत्यकामा लुकेर बसेका ५७ आतंककारीहरूमाथि बमवर्षा गरे। त्यस्तै डाइनामिक टार्गेटिङ(गतिशील लक्ष्यभेदन) प्रयोग गरेर थप २० स्थानमा बमवर्षा गरी हवाइ हमला गरियो।[५८] डिसेम्बर १६ मा अमेरिकाको सिआइएले पूर्वी अफगानिस्तानमा गरेको ड्रोन हमलामा चार टिटिपीका सदस्यहरू मारिए।[५९]

त्यस्तै डिसेम्बर २० मा उत्तरी वजिरिस्तानमा आतंककारीप्रति लक्षित गरेर गरिएको अर्को ड्रोन हमलामा परी ५ जनाको ज्यान गयो। अधिकारीहरूले मृतकको संख्या अझै बढी हुनसक्ने बताएका थिए।[६०] यसैबीच खैबर प्रान्तमा करीब २१ टिटिपी कार्यकर्ताहरू सीमा पार गरी अफगानिस्तान प्रवेश गर्ने क्रममा पिएएफको हमलामा मारिए। [६१] डिसेम्बर २० मा पाकिस्तानी वायुसेनाको हवाइ आक्रमणमा परी फज्लुल्लाहको मृत्यु भएको अपुष्ट समाचार बाहिर आयो।[६२][६३] तर यस समाचारप्रति पाकिस्तानको वायुसेना तथा रक्षा मन्त्रालयले कुनै टिप्पणी गरेको छैन भने पाकिस्तानी सेनाको सार्वजनिक सम्बन्ध विभागले पनि कुनै प्रतिकृया दिएको छैन।[६२]

टिटिपी कार्यकर्ता लक्षित आक्रमणहरू[सम्पादन गर्ने]

समाचारप्रधान टेलिभिजनहरूमा व्यापकरूपमा सुरक्षा बल तथा प्रहरीले टिटिपी कार्यकर्ताहरूलाई खोजतलास गरी निशाना बनाएका समाचारहरू प्रशारण भयो। आक्रमणपश्चात पाकिस्तानी अपराध अनुसन्धान संस्थाले चारजना टिटिपी कार्यकर्तालाई पछ्याउँदै उनीहरू अफगानिस्तान प्रवेश गर्नुभन्दा पहिला क्वेतामा पक्राउ गर्न सफल भयो। कराचीको मुसर्रफ कोलोनीमा कराची मेट्रो प्रहरी तथा सिआइडीसँगको भिडन्तमा टिटिपीको नेता अबिद मुचर[६४] तथा उनका तीन सहयोगीहरू मारिए। त्यस्तै कराचीमै भएको अर्को कारबाहीमा तिब्र गतिमा पछ्याउँदै सिआइडीले हक्स बे बिचमा अलकायदा दक्षिण एसिया च्याप्टरका पाँच सदस्यहरूलाई आफ्नो कब्जामा लियो। ती पाँच जना सेप्टेम्बरमा कराचीमा रहेको पाकिस्तानी जलसेनाको बिसौनीमा आक्रमणको योजना बनाउन सम्लग्न भएको आशंका गरिन्छ। डिसेम्बर २० मा पाकिस्तान रेन्जर्सका जवानहरूको टोलीले मनघोपिर क्षेत्रमा रहेको एउटा घरमा छापा मारेर लुकेर बसेका ५ टिटिपी कार्यकर्ताहरूको हत्या गर्यो।[६५] त्यही दिन दिउँसो पेसावरबाट करिब ३० किलोमिटर दूरीमा रहेको साबकदर सहरमा खैबर प्रान्तीय प्रहरी र एफ्आइएका विशेष जवानले एउटा घरमा छापा मारे। त्यस घरमा भएको भिडन्तमा सुरक्षा बल तथा प्रहरीको संयुक्त टोलीले ६ जना टिटिपी कार्यकर्ताहरूलाई गोलीप्रहार गरी मार्यो। स्रोतका अनुसार मारिनेमा विद्यालय अाक्रमणमा सहयोग गर्ने एक कमान्डर तथा दुई माथिल्लो स्तरका नेता थिए।[६६]

अफगानिस्तान तथा आइएसएएफसँगको सञ्चार[सम्पादन गर्ने]

डिसेम्बर १७ मा पाकिस्तानी सेनाका प्रमुख जनरल रहिल सरिफ र आन्तरिक सेवा अनुसन्धान संस्थाका प्रमुख लेफ्टिनेन्ट जनरल रिज्वान अख्तर अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी तथा अफगानिस्तानका लागि अमेरिकी तथा नाटो सेनाका प्रमुख जनरल जोन एफ क्याम्बेललाई भेट्न काबुल पुगे। पाकिस्तानी समाचार स्रोतहरूका अनुसार जनरल रहिलले अफगान सरकारसँग टिटिपीका नेताहरू पाकिस्तानलाई सुपुर्दगी गर्न र तालिबानका कार्यकर्ताहरू लुकेर बसेका अफगानिस्तानको सीमाभित्रका स्थानहरूमा कारबाही चलाउन माग गरे।[६७] त्यस्तै अफगान अधिकारीहरूसँगको भेटघाटमा रहिलले अफगानी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल सेर मोहम्मद करिमीलाई अफगानिस्तानमा रहेका टिटिपी कार्यकर्ताहरूका आरक्षणहरूमा निर्णायक कारबाही गर्न दबाब दिए। उनले अफगानिस्तानले कडा कारबाही गर्न नसके पाकिस्तान चुपलागेर नबस्ने चेतावनीसमेत दिए।"[६८] एक अपराध अनुसन्धान अधिकारीले अफगानिस्तानका राष्ट्रपतिलाई पनि यदि अफगानिस्तानी सरकारले यसपटक पनि कडा कदम चाल्न सकेन भने पाकिस्तान सैन्य हस्तक्षेप लगायत हरेक विकल्प रोज्न तयार रहेको सन्देश दिइएको पुष्टि गरे।"[६८] अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँगको भेटवार्तामा जनरल रहिलले भने "पाकिस्तानी सेना अफगानिस्तानका कुनार तथा नुरिस्तानमा रहेका आरक्षणहरूबाट तत्काल टिटिपी कार्यकर्ताहरू निर्मूल पार्न सक्षम भए पनि अफगानिस्तानको आफ्नो भूमिमाथिको अधिकार तथा सार्वभौमिकतामाथि हस्तक्षेप नहोस् भनेर हामीले कुनै कदम चालेनौं।" राष्ट्रपति अस्रफ घानीले जनरल रहिललाई आफ्नो सरकारले आतंककारीहरूलाई जरैसम्म नष्ट गर्न आवस्यक कदम चाल्ने विस्वास दिलाए। अफगान नेतृत्वसँगको भेटमा तालिबानका विरुद्ध संयुक्त कारबाहीका बारेमा पनि छलफल भयो।[६८] पाकिस्तानको राष्ट्रिय सञ्चारमा प्रकाशित रिपोर्टका अनुसार प्रधानमन्त्री नवाज सरिफले एक वक्तव्य जारी गर्दै अफगानिस्तानका राष्ट्रपतिलाई तत्काल कारबाहीमा उत्रन आग्रह गरेको तथा काबुलमा "तालिबानलाई सखाप पार नत्र हामी गर्छौं" भन्ने सन्देश पठाइएको उल्लेख गरियो।[६९]

घटना लगत्तै पाकिस्तानी सेनाले व्यापक खोजतलास कारबाहीहरू सञ्चालन गर्यो।[७०][७१][७२] डिसेम्बर १८ को राति सेनाले खैबर भञ्ज्याङ तथा तिराह उपत्यकाबाट अफगानिस्तानतिर भाग्दै गरेका आतंककारीहरूमाथि आक्रमण गर्यो।[७२] सञ्चार माध्यमहरूका अनुसार केही आतंककारीहरू भिडन्तबाट उम्कन सफल भए। उनीहरूले छाडेर भागेका मारिएका साथीहरूका लासका तस्वीरहरू सामाजिक सञ्जालहरूमा धेरै सेयर गरियो।[७२] त्यही रात खैबर इलाकामै पाकिस्तानी वायुसेनाको लडाकु विमानले अफगानिस्तानतिर भाग्दै गरेका टिटिपीका उच्चस्तरका नेता र १७ अन्य कार्यकर्ताको हत्या गर्यो।[७१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "A horrific attack at a Peshawar school shows where the heaviest burden of terrorism lies", QUARTZ India, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  2. "As it happened: Pakistan school attack", BBC, अभिगमन मिति १७ डिसेम्बर २०१४ 
  3. ३.० ३.१ ३.२ "TALIBAN ATTACK ARMY-RUN SCHOOL IN PESHAWAR", Newsweek Pakistan, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  4. "Gunmen hold 500 students hostage in Pakistani city of Peshawar", Dailymail UK, Reuters, अभिगमन मिति १७ डिसेम्बर २०१४ 
  5. Sophia Saifi and Greg Botelho, CNN (१६ डिसेम्बर २०१४), "Taliban school attack: 145 killed in Pakistan siege - CNN.com", CNN 
  6. Pakistani Taliban Attack on Peshawar School Leaves 145 Dead
  7. "Pakistan Taliban ‘kill over 100’ in Peshawar school attack", 16 December 2014. अन्तिम पहुँच मिति:16 December 2014.
  8. ८.० ८.१ ८.२ ८.३ "Peshawar school attack: Over 100 killed in Pakistani Taliban attack, hundreds of students hostage", DNA India, १६ डिसेम्बर २०१४, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  9. ९.० ९.१ "Pakistan Taliban kill scores in Peshawar school massacre", BBC News, 16 December 2014. अन्तिम पहुँच मिति:16 December 2014.
  10. १०.० १०.१ "In Pakistan school attack, Taliban terrorists kill 145, mostly children", CNN, १७ डिसेम्बर २०१४, अभिगमन मिति १८ डिसेम्बर २०१४ 
  11. ११.० ११.१ "Taliban Besiege Pakistan School, Leaving 145 Dead", The New York Times, १६ डिसेम्बर २०१४, अभिगमन मिति १८ डिसेम्बर २०१४ 
  12. "Peshawar school attack: Pakistan authorities claim all Taliban attackers are dead", The Express Tribune, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  13. "Taliban kills at least 104 people in attack on Pakistan military school", Los Angeles Times, 16 December 2014. अन्तिम पहुँच मिति:16 December 2014.
  14. "At least 126, mostly children, slaughtered as Taliban storm Pakistan school", 'CNN', 16 December 2014. अन्तिम पहुँच मिति:16 December 2014.
  15. "Beslan in Pakistan", Pravda.Ru, 16 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  16. "After Beslan, Peshawar", Pakistan Today, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  17. "Beslan 2004: The other cowardly terror attack on kids", Times of India, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  18. "Taliban attack in Pakistan a chilling reminder of Beslan school siege", Indian Express, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014. “Taliban attackers’ brazen assault on a school in Pakistan’s Peshawar city that claimed the lives of over 150 pupils today has brought back chilling memories of a similar bloodbath in Russia in 2004 when Chechen rebels stormed a school.”
  19. "The world's five worst terror attacks involving children", Telegraph, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014. “The only parallels in modern history to today's Taliban attack on a Pakistan school were those by Islamist militant separatists on a Beslan school in North Ossetia.”
  20. "Army Chief Raheel Sharif Vows to Hunt Down Every Terrorist", Pakistan Tribe, December 24, 2014. अन्तिम पहुँच मिति:December 24, 2014.
  21. "Zarb-e-Azb: Army says 90% of North Waziristan cleared", Express Tribune, १६ नोभेम्बर २०१४, अभिगमन मिति १७ डिसेम्बर २०१४ 
  22. "Children forced to watch their teacher being burned alive as Taliban murder 132 children", Daily Mail, १६ डिसेम्बर २०१४, अभिगमन मिति १७ डिसेम्बर २०१४ 
  23. २३.० २३.१ "No hostages: Terrorists wanted to inflict maximum casualties, says DG ISPR", Express Tribune, १६ डिसेम्बर २०१४, अभिगमन मिति १७ डिसेम्बर २०१४ 
  24. Haider, Kamran. "Taliban Prepared Hit List of Boys to Kill in Pakistan School", Bloomberg.com, 18 December 2014. अन्तिम पहुँच मिति:21 December 2014.
  25. Walsh, Declan. "Taliban Besiege Pakistan School, Leaving 145 Dead", The New York Times, 16 December 2014. अन्तिम पहुँच मिति:21 December 2014.
  26. "Peshawar Students Were Mostly Shot In The Head, Says Report", Huffington Post, 17 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  27. ढाँचा:The Nation
  28. "TTP militants storm Peshawar school; 131 killed, more than 100 injured", Pakistan Today, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  29. "Peshawar school attack: Taliban’s revenge for Malala Yousafzai’s Nobel Peace prize?", India, 17 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  30. "Expert dubs Peshawar school attack Pak Taliban's revenge for Malala's Nobel Peace Prize", Business Standard, 17 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  31. "84 children among 104 dead in Taliban attack on Peshawar school", India Today, १६ डिसेम्बर २०१४, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  32. "TTP claim responsibility for Peshawar school attack", The Express Tribune, 16 December 2014. अन्तिम पहुँच मिति:16 December 2014.
  33. "Police: Taliban attack over, all gunmen killed", Al Arabiya, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  34. "Taliban gunmen hold Pakistan school hostage, kill students", Deutsche Welle, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  35. "Umar Mansoor mastermind of Peshawar school attack: TTP", DAWN.com. अन्तिम पहुँच मिति:20 December 2014.
  36. "From Six attackers, one was Chechen, three were Arabs and two were Afghans.", Jan Newspapers, 2014, 20 December 2014. अन्तिम पहुँच मिति:20 December 2014. (in Urdu)
  37. "Pakistan Prime Minister Nawaz Sharif: 'These Are My Children And It Is My Loss'", Headlines & Global News 
  38. "Political leaders united in sorrow", Pakistan Today, 16 December 2014. अन्तिम पहुँच मिति:19 December 2014.
  39. "Heartbroken by senseless and cold blooded act of terror: Malala Yousafzai", India Today, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  40. "Heart is bleeding: Ziauddin Yousafzai", Florida News Time, अभिगमन मिति १६ डिसेम्बर २०१४ 
  41. http://m.ibnlive.com/news/alqaeda-bursting-with-pain-over-pakistan-school-attack/519210-56.html
  42. "Peshawar school massacre: 'This is Pakistan's 9/11 – now is the time to act'", The Guardian, 17 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  43. ४३.० ४३.१ "After Peshawar school massacre, watch for the gloves to come off", The Express Tribune, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  44. "Govt lifts moratorium on capital punishment", Daily Times, Asim Qadeer Rana. अन्तिम पहुँच मिति:20 December 2014.
  45. "Pakistan lifts moratorium on death penalty after Taliban attack", Times of India. अन्तिम पहुँच मिति:20 December 2014.
  46. "Pakistan makes final preparations to hang two terrorists", Times of India, 19 December 2014. अन्तिम पहुँच मिति:19 December 2014.
  47. "Pakistan resumes executions after Peshawar school attack", BBC News. अन्तिम पहुँच मिति:20 December 2014.
  48. http://america.aljazeera.com/articles/2014/12/22/pakistan-protesttaliban.html
  49. "A prayer for Peshawar", १७ डिसेम्बर २०१४। 
  50. "Candlelight vigil for victims of Peshawar attack", GlobalNews, डिसेम्बर १९, २०१४। 
  51. "Younis Khan Visits Terrorist Struck APSC Peshawar", Cricknock.com - Cricket Beyond Fours & Sixes, ३० डिसेम्बर २०१४, अभिगमन मिति ३० डिसेम्बर २०१४ 
  52. ५२.० ५२.१ "Pakistan to end death penalty moratorium in terror cases", The News International, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  53. "Pakistan lifts death penalty moratorium", Aljazeera, १७ डिसेम्बर २०१४, अभिगमन मिति १८ डिसेम्बर २०१४ 
  54. "Prison break: Taliban attack Bannu jail, nearly 400 inmates escape", The Express Tribune, १५ अप्रिल २०१२, अभिगमन मिति १८ डिसेम्बर २०१४ 
  55. "Pakistani Taliban free over 175 inmates in DI Khan jailbreak", DAWN, ३० जुलाई २०१३, अभिगमन मिति १८ डिसेम्बर २०१४ 
  56. "Pakistan: Resuming executions 'not the answer' to Peshawar school tragedy", Amnesty International, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  57. "TTP leader Mullah Fazlullah escapes US drone strike near Pak-Afghan border", The Express Tribune.
  58. "Live: 57 terrorists killed, as air force launches retaliatory strikes in Tirah Valley", The Express Tribune, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  59. "Dec 16 drone strike in Afghanistan killed four TTP militants: Afghan official", The Express Tribune, 17 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  60. "Drone strike kills five suspected militants in North Waziristan", The Express Tribune. अन्तिम पहुँच मिति:20 December 2014.
  61. "21 militants killed in Khyber Agency", The News International. अन्तिम पहुँच मिति:20 December 2014.
  62. ६२.० ६२.१ "TTP chief Fazlullah killed in air attack?", The Nation, 2015, 20 December 2014. अन्तिम पहुँच मिति:9 January 2015.
  63. Nanjappa, Vicky. "TTP chief and #PeshawarSiege mastermind Fazlullah killed?", OneIndia, 20 December 2014. अन्तिम पहुँच मिति:21 December 2014.
  64. "TTP commander Abid Muchar, three militants killed in Karachi", Express Tribunes, 22 December 2014. अन्तिम पहुँच मिति:22 December 2014.
  65. "Rangers kill three ‘terrorists’ in Karachi shootout". अन्तिम पहुँच मिति:20 December 2014.
  66. "Six militants killed in Peshawar operation", Dunya News, 20 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  67. "Pakistani Army Chief Asks Afghans to Help Find Taliban Commanders Behind Massacre", The New York Times, 17 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  68. ६८.० ६८.१ ६८.२ "Kabul, ISAF promise action against TTP sanctuaries", The Express Tribune, 18 December 2014. अन्तिम पहुँच मिति:17 December 2014.
  69. "COAS warns Kabul of hot pursuit", The Nation, 17 December 2014. अन्तिम पहुँच मिति:19 December 2014.
  70. "Hunt for wanted militants", The News International, 20 December 2014. अन्तिम पहुँच मिति:20 December 2014.
  71. ७१.० ७१.१ "Top Uzbek commander among 17 terrorists killed in Khyber air strikes", Dawn, 19 December 2014. अन्तिम पहुँच मिति:19 December 2014.
  72. ७२.० ७२.१ ७२.२ "Drone strike kills eight militants on Khyber Agency border", Dawn, 18 December 2014. अन्तिम पहुँच मिति:19 December 2014.