विकिपिडिया:प्रमुख लेख/मापदण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

प्रमुख लेखले विकिपिडियामा भएका उत्कृष्ट कार्यहरूको उदाहरण प्रर्दशन गर्छ। यस्ता लेखहरूमा लेखन शैलीको कुशलता र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गर्ने गरिन्छ। विकिपिडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरूको साथ साथै निम्न विशेषता भएको लेखहरूलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ। उत्कृष्ट लेखहरू मध्येबाट विकिपिडिया सम्पादक समूहको मतदान पश्चात निर्वाचित तथा प्रमुख लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ।

प्रमुख लेख योग्यता[सम्पादन गर्नुहोस्]

  • प्रमुख लेखले निम्नलिखित विकिपिडियाको सम्पूर्ण नियम र मापदण्डहरू पुरा गरेको हुनुपर्नेछ।
  • लेखमा कुनै पनि मर्मत ट्याग राखिएको हुनुहुँदैन र त्यो लेखलाई कुनै मर्मत सुधार चाहिने पनि हुनुहुँदैन।
  • लेख कम्तीमा १००० शब्द र ५००० बाइट्सको हुनुपर्नेछ।
  • लेख पूर्ण हुनुपर्नेछ। पूर्णको अर्थ लेख लामो नभएर त्यस लेखको विषय महत्वपूर्ण र विश्वकोशमा हुनुपर्ने जानकारी समावेश गरिएको हुनुपर्नेछ।
  • कुनै एक जना सम्पादनकर्ताको योगदानलाई मात्र शतप्रतिशत सही मान्न नसकिने हुँदा लेखमा विभिन्न प्रयोगकर्ताहरूबाट योगदान भएको हुनुपर्नेछ (अथवा लेख संशोधित वा समीक्षा गरिएको हुनुपर्नेछ)।
  • लेखको पछिल्ला केही सम्पादनहरू साना सम्पादनहरू हुनुपर्नेछ (जस्तै: लिङ्क सुधार, व्याकरण सुधार)।
  • लेख कम्तीमा १० वटा आवश्यक विषय, लेखहरूसँग जोडिएको हुनुपर्नेछ। लेखमा प्रयोग गरिएका आवश्यक विषय, लेखहरू टुटेको लिङ्कमा रहेमा त्यस्ता लेखहरूलाई त्यस लेखबाट नहटाई त्यस्ता लेख सृजना गर्नुपर्नेछ।
  • लेखमा सबै आवश्यक ढाँचा, चित्र, श्रेणीकरण र तालिकाहरू मिलेको हुनुपर्नेछ।
  • अन्य कुनै स्रोतबाट सामग्री प्रयोग गर्दा स्रोतलाई सन्दर्भको रुपमा या स्रोतलाई श्रेय दिनुपर्नेछ।
  • लेखमा समाविष्ट पाठ्यहरू सन्दर्भ सामग्रीहरूबाट प्रमाणित भएको हुनुपर्नेछ।
  • लेख कम्तीमा १० वटा लेखसँग जोडिएको हुनुपर्नेछ।
  • लेख स्थिर तथा तटस्थ दृष्टिकोणले लेखिएको हुनुपर्नेछ।
  • गैर मुक्त सामग्रीको प्रयोग मुख्य पृष्ठमा गर्न नसकिने भएकोले प्रमुख लेखको लागि मुख्य पृष्ठमा प्रयोग भएका चित्रहरू सिसी-बाय एसए प्रतिलिपि अधिकार अन्तर्गत अपलोड भएको हुनुपर्नेछ।

प्रमुख लेख छनौट गर्ने प्रक्रिया[सम्पादन गर्नुहोस्]

  • कुनै पनि प्रयोगकर्ताले प्रमुख लेख आवेदन पृष्ठमा गएर सकेसम्म प्रमुख लेखको लागि तय गरिएको मापदण्ड पुरा गर्ने लेखलाई प्रमुख लेखको आवेदन नामाङ्कित गर्न सक्नेछ । प्रमुख लेखको लागि आवेदन आए सँगै प्रमुख लेख समन्वय समितिको सदस्यद्वारा सो लेखले मापदण्ड पुरा गरे नगरेको जाँच गर्नेछन्। सामान्य मापदण्ड भन्नाले प्रमुख लेखको लागि तय गरिएको मापदण्डहरू भन्ने बुझ्नुपर्नेछ।
  • प्रमुख लेख समन्वय समितिले स्वीकृति दिइसकेको लेखलाई सुधार तथा सो आवेदनमाथि टिप्पणी गर्नको लागि १५ दिनको छलफल समय दिइनेछ। सो समयावाधिभित्र सो आवेदित लेखमा भए रहेका त्रुटीलाई सुधार गर्न समन्वय समितिका सदस्य तथा समुदायका प्रयोगकर्ताहरूले योगदान दिन पाउनेछन्।
  • बुँदा क्रम (२) माथि प्राप्त समुदायको टिप्पणीको आधारमा प्रमुख लेख समन्वय समितिको सदस्यले आवेदित लेखले प्रमुख लेख बन्ने सम्पूर्ण मापदण्ड तय गरे/नगरेको अन्तिम जाँच गरि प्रमुख लेख घोषित गर्नेछ।
  • प्रमुख लेखको आवेदन छलफलमाथि सोझै समर्थन अथवा विरोध गरेको पाइएमा त्यस्तो मतलाई अमान्य घोषित गरिनेछ र धेरै अर्थहीन टिप्पणी गरेमा प्रयोगकर्तालाई नामाङ्कनमा टिप्पणी राख्नबाट रोक लगाइनेछ।

प्रमुख लेख कति दिनमा परिवर्तन गर्ने[सम्पादन गर्नुहोस्]

  • आवेदन गरिएको लेखले मापदण्ड पुरा गरी प्रमुख लेखको रूपमा छनौट भएमा त्यस लेखलाई एक हप्तासम्म मुख्य पृष्ठमा देखाइनेछ।
  • कथनकदाचित अर्को हप्ताको लागि प्रमुख लेख छनौट गर्न नसकेको खण्डमा क्रमरहित प्रणालीद्वारा विगतका प्रमुख लेखहरूमध्येबाट नै एउटा लेखलाई मुख्य पृष्ठमा प्रदर्शन गरिनेछ।

प्रमुख लेख हटाउने[सम्पादन गर्नुहोस्]

एउटा लेख वर्तमान समयमा उत्कृष्ट छ भने भविष्यमा पनि त्यो लेख उत्कृष्ट नै रहन्छ भन्ने छैन। आवश्यक सामग्रीहरू अद्यतन नभएको र पछि थप गरिएका सामग्रीहरूमा आवश्यक सुधार नभएको खण्डमा लेखलाई प्रमुख लेखको श्रेणीबाट हटाउन सकिनेछ। लेखलाई प्रमुख लेखबाट हटाउनको लागि प्रस्ताव प्रस्तुत गर्न सकिनेछ।

  • कुनै पनि प्रयोगकर्ताले प्रमुख लेखबाट हटाउन, आवेदन पृष्ठमा गएर लेखलाई नामाङ्कित गर्न सक्नेछ।
  • सो प्रमुख लेखमाथि समुदायका सदस्यहरूले ३० दिनसम्म छलफल गरिसकेपछि प्रमुख लेख समन्वय समितिले त्यस लेखले प्रमुख लेखको मापदण्ड पुरा गरेको वा नगरेको भनी निर्णय लिनेछन्।

प्रमुख लेखको व्यवस्थापन[सम्पादन गर्नुहोस्]

  • प्रमुख लेख व्यवस्थापन समितिका सदस्यहरूले नियमित रूपमा प्रमुख लेखको आवेदनहरू माथि आवश्यक छलफल, संशोधनको साथै मापदण्ड पुगे नपुगेको सुनिश्चत गर्नुपर्नेछ।
  • कुनै महिना प्रमुख लेख बन्न आवश्यक आवेदन नपरेमा सो को विकल्प खोजी गर्नुपर्नेछ वा समुदायमा आवेदनको लागि सूचना राख्नुपर्नेछ।
  • प्रमुख लेख छनौट गर्दा लेखको विषयवस्तुको विविधतालाई समेत ध्यानमा राखी गर्नुपर्नेछ। प्रमुख लेखका लागि छुट्याइएका विषयवस्तुहरूमध्ये हरेक जसो विषयवस्तु प्रमुख लेखमा समावेश भए नभएको सुनिश्चित गर्नुपर्नेछ।