इबुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इबुकमा विकिपिडियाको लेख ।

इलेक्ट्रोनिक बुक वा इबुक (अङ्ग्रेजी: E-book) किताबको डिजिटल प्रकार हो । इबुक कम्प्युटर वा अन्य इबुक रीडरको प्रयोग गरी पढ्न सकिन्छ । अमेजन किन्डल, द कोबो इरीडर र बार्न्स एण्ड नोबल नूक जस्ता आधुनिक यन्त्रहरूमा इबुक पढ्न सकिन्छ ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९४० तिर रोबेर्टो बुसाले बनाएका इन्डेक्स थोनिस्टिकसलाई प्रथम इबुक मानिन्छ तर पहिले यसको डिजिटल लेखलाई आफ्नै संस्करणको रूपमा प्रकाशित नगरी अनुक्रमणिका बनाउन प्रयोग गरेको हुनाले कतिले यसलाई इबुक मान्दैनन् ।

इबुकको विस्तृत र बहस्योग्य इतिहास भएपनि इलिनोइ विश्वविद्यालयको कम्प्युटरमा संयुक्त राज्यको स्वतन्त्रताको घोषणापत्रको प्रतिलिपि बनाएका माइकल एस. हार्टलाई पहिलो इबुक निर्माता मानिन्छ ।

इबुक रीडरको पहिलो नमुना सन् १९७० को डाइनाबुकलाई मानिन्छ किनभने यसमा पढ्नको लागि टन्नै किताबहरू उपलब्ध थियो ।

सन् १९९२ मा सोनीले डाटा डिस्कम्यान नामक इबुक रीडर निकाल्यो, जसमा कम्प्याक्ट डिस्कको प्रयोग गरी किताबहरू पढ्न सकिन्थ्यो । तीमध्ये द लाइब्रेरी अफ द फ्युचर नामक प्रकाशन प्रीलोड गरिएको हुन्थ्यो ।

पुराना इबुकहरू सीमित पाठकहरूको लागि मात्रै उपलब्ध हुन्थ्यो । यस्ता इबुकहरू अन्तर्गत हार्डवेयरका निर्देशन पुस्तिका तथा अन्य विषयका छोटा किताबहरू पर्दथे । सन् १९९० तिर इन्टरनेटको उपलब्धि बढ्दै गएपछि इबुकलगायत अन्य इलेक्ट्रोनिक दस्तावेजहरूको पहुँच बढ्दै गयो ।

फाइदा[सम्पादन गर्नुहोस्]

  • इबुकहरू खोजीयोग्य हुन्छन् । इबुकमा जानकारी लिन पाना पल्टाइराख्न जरुरी हुँदैन ।
  • निश्चित जानकारी पाउन इबुक डाउनलोड गर्न सकिन्छ ।
  • इबुक बनाउन कुनै रूख नकाटिने हुनाले यो वातावरणीय दृष्टिकोणले पनि राम्रो हुन्छ ।
  • इबुकहरूमा थप जानकारीका लागि बाह्य कडी र सन्दर्भ सामग्री जडान गरिएको हुन्छ ।
  • इबुकले कम ठाउँ ओगट्ने हुनाले कम्प्युटरमा हजारौँ इबुकहरू राख्न सकिन्छ ।
  • प्रकाशन र परिवहनको खासै पैसा लाग्दैन ।
  • इबुक कम्प्युटरको अन्य सफ्टवेयरहरूसँग समायोजित हुनाले यसको प्रयोग कार्यात्मक र सरल हुन्छ ।
  • लेखक र प्रकाशकहरूले सजिलै गरी आफ्ना किताबहरूको पुनरावलोकन र सम्पादन गर्न सक्छन् ।
  • पाठकहरूले आफ्नो इच्छा अनुसार अक्षर र पृष्ठभूमि मिलाउन सक्छन् ।
  • कागजी किताब प्रकाशन नगरेका व्यक्तिहरूले पनि इन्टरनेटको माध्यमबाट किताब प्रकाशन गर्न सक्छन् ।

बेफाइदा[२][सम्पादन गर्नुहोस्]

  • स्क्रिनमा लामो समयसम्म हेर्दा आँखाको समस्या देखा पर्न सक्छ ।
  • इबुक पढ्नका लागि विद्युत चाइने हुनाले बत्ती गएको बेला इबुक पढ्न सकिँदैन ।
  • इरीडरहरूमा प्लास्टिक र धातुको प्रयोग हुन्छ, जुन वातावरणको लागि कागजभन्दा पनि हानिकारक हुन्छ ।
  • इबुक पढ्दा कागजी किताब पढेको जस्तो मजा आउँदैन ।
  • इबुकहरू विशेष नियमहरूले बाँधिएका हुनाले यसलाई अरूहरूसँग बाँड्न प्रतिबन्धित वा कडा रूपमा नियन्त्रित छ ।
  • कागजी किताबहरूको बिक्री कम हुँदै जाँदा किताब पसलहरू घाटामा पर्छन् । पेपरट्रेल जस्ता किताब पसलहरूले आफ्नो लाभ बढाउन आफ्नो वेबसाइटमा इबुक बेच्न थालेका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Inside eBook readers", How it Works Book of Amazing Technology (Imagine Publishing): १५०, आइएसबिएन 978-1-908222-0-84 
  2. "Disadvantages of E-Books"