भण्डारखाल पर्व (१८६३)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भण्डारखाल पर्व
स्थानभण्डारखाल बगैचा, वसन्तपुर दरबार क्षेत्र, विष्णुमती नदी, Kathmandu
मितिवि. सं. १८६३ वैशाख एक हप्तासम्म
आक्रमणको प्रकार
राजनैतिक हत्या (death penalties on accusation of high treason)
हतियारहरूतरबार खुँडा राइफल खुकुरी
मृत्युकाजी त्रिभुवन खवास (प्रधान)
चौतारिया शेरबहादुर शाह
काजी नरसिंह गुरुङ
पाल्पाली राजा पृथ्वीपाल सेन सहित ९३
अपराधीभीमसेन थापा, थापा वंश र गुटका भारदारहरू; aides of Government of Nepal

भण्डारखाल पर्व वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक हत्याकाण्ड थियो । यस हत्याकान्डको मुख्य नाइके भिमसेन थापा थिए । हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले रणबहादुर शाहको हत्याको अनुसन्धानमा चौतारिया शेरबहादुर शाहका गुटका भारदारहरूलाई मृत्युदण्ड दिइयो।

यस घटनाको सुरुवात काजी त्रिभुवन खवास (प्रधान)को बेलायतीसंगको सम्बन्धमाथि छानबिन भयो। बेलायती नक्स मिसनको स्थापना हुनुमा दोषी ठहरिएपछि काजी त्रिभुवनले चौतारिया शेरबहादुर शाह, काजी नरसिंह गुरुङ लगायत सबैको पोल खोलिदिए।

यस घटना पछी राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो। राजपरिवारको भूमिका न्यून हुँदै गयो। नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्‍यो। यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए। अन्ततोगोत्वा यस्तै हत्याकाण्डबाट जङ्गबहादुर सत्तामा आए। यस अर्थमा भीमसेन थापा जङ्गबहादुरका मार्गदर्शक देखिन्छन्। [१]

राजकचहरी[सम्पादन गर्नुहोस्]

नेपालको राज्यकोषबाट शेरबहादुर शाहीले रु. १८,०००/- झिकी भ्रष्टाचार गरेको कुरा खुल्यो र खजाञ्ची त्रिभुवन खवास पनि त्यस दोषका भागी भए। वि. सं. १८६३ बैशाख १४ गते राती त्रिभुवन खवासको घरमा भारदारी कचहरी बस्यो। राज्यकोषका हर्ताकर्ता त्रिभुवन खवास ज्यादै चलाख र सम्पन्न परिवारका थिए। उनै त्रिभुवन खवासले राज्यकोषबाट रकम हिनामिना गरी भ्रष्टाचार बढाएको प्रमाण प्राप्त भएकाले त्यस्को छानबिन गर्न राजकचहरी बस्नु परेको थियो।[२] मानिसको ज्यान लिने कुरा परेमा राती सभा बोलाउने परम्परा नेपालमा भएकाले त्यसो गरिएको थियो।[३]

रणबहादुर शाहको हत्या[सम्पादन गर्नुहोस्]

रणबहादुर शाहले त्रिभुवन खवासलाई काट्ने र शेरबहादुर शाहका आँखा फोर्ने आदेश दिए। त्यति छलफल भएर बेलुकीको खाना खाने बनेर भीमसेन थापा चौतारिया रणोद्योत शाहको भान्छामा गए। शेरबहादुरले रिसको झोकमा रणबहादुर शाहलाई तरबार प्रहार गरे। थिलोथिलो गरी काटिएका रणबहादुर शाहले अंगरक्षक बालनरसिंह कुँवरलाई पुकारे।[४] तत्कालै राजाका अंगरक्षक बालनरसिंह कुँवरले तलवार झिकी पूर्व राजाका हत्यारा शेरबहादुरलाई काट्दा शेरबहादुरको पनि मृत्यु भयो। यसमा बम शाहको बालनरसिंहप्रति समर्थन देखिन्छ।

राजकुमार रणोद्योत शाहका घरमा खाना खान गएका तत्कालीन काजी भीमसेन थापाले घटनाको अनुसन्धान सुरु गरे। दोषी ठहरिएकालाई भण्डरखाल बगैंचामा मृत्युदण्ड दिइयो; जसमा ९३ जना परे। मृत्यदण्ड पाउनेहरू मुख्यतय शेरबहादुर शाह पक्षका भारदारहरू थिए जसमा काजी त्रिभुवन खवास र काजी नरसिंह गुरुङ थिए।

नरसंहार[सम्पादन गर्नुहोस्]

शेरबहादुर शाहीका दुई अंगरक्षक तत्काल काटिए। र, शृङ्खलाबद्ध हत्या सुरु भयो। काजी त्रिभुवन प्रधान र नरसिह गुरुङ थुनिए। शेरबहादुर शाहीका दाजु विदुर शाही नजरबन्दमा परे। पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ त पाटन दरबारमा नजरबन्दमा राखिएका थिए। यस दुर्दान्त घटनासँग उबीहरूको कुनै लेनादेना थिएन। रातमै निरपराध उनीहरूलाई त्यहाँबाट झिकाइयो। हेलम्बुमा निर्वासित जीवन बिताइरहेकी महारानी राजराजेश्वरीलाई पनि जतिसक्दो चाँडो त्यहाँबाट राजधानी काठमाडौँ मा ल्याउन भनी रातैमा रिसल्लाहरू त्यतातर्फ दौडाइए।

चौतारा विदुर शाह, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ, राजा पृथ्वीपाल सेन तथा यिनका भाइ चौतारा रणबहादुर सेन समेत कडाइका साथ कैदमा परिसकेका थिए।[५] रणबहादुर शाहको हत्यामा उनीहरूको हात थियो कि थिएन र थियो भने कसकसको केकस्तो हात थियो भन्ने कुराको कुनै छनबिन तथा पुर्पक्ष नै नगरी भोलिपल्ट नै राजभवन भित्र कै भण्डारखालको बगैंचामा यिनीहरू सबै काटिए। चौतारा विदुर शाहीका नाबालक छोराहरू सम्मले पनि बोल्ने अवसर पाएनन् र काटिए। काजी त्रिभुवन प्रधान र काजी नरसिंह गुरुङका छोराहरू मात्र होइनन्, नातिहरू पनि विष्णुमती नदीमा पुर्यायी काटिए।

पाटन दरबारमा थुनामा रहेका पाल्पाली राजा र उनका भाइ चौतरिया रणबहादुर सेनलाई बाँधेर घिच्याउँदै भण्डारखालमा ल्याइयो । भीमसेन थापाले पाल्पाली राजालाई रणबहादुर शाहको हत्याको षड्यन्त्रमा संलग्न रहेको झुटो दोषारोपण गरे । राजा अवध्य हुन्छन् भनी पृथ्वीपाललाई मार हान्न कोही तयार भएन । तर, त्यही अलमलका बीच एक जना विराज विष्ट नाम गरेको अर्दली ‘म काट्छु’ भन्दै कस्सिएर आयो । उसले ४७ वर्षीय राजा पृथ्वीपाल र भाइ रणबहादुर सेनलाई काट्यो । भनिन्छ, काट्नुअघि राजालाई अपार यातना दिइएको थियो । पाल्पाली राजा काट्ने अर्दली विराज विष्टलाई भीमसेन थापाले लप्टनको दर्जा दिए ।[६] राजा पृथ्वीपाल सेन, चौतरिया रणबहादुर सेन र १८ जना पाल्पाली राजाका नातेदार र सैनिकको लास दाम्लाले बाँधेर घिसार्दै विष्णुमतीको किनारमा मिल्क्याइयो । निर्दोष पाल्पाली राजा, राजकुमारहरू र सैनिकहरूको सदगत गर्न पनि दिइएन ।। [७]

दाहसंस्कार गर्न समेत नदिई यिनीहरू सबैको लासलाई अमानवीय व्यवहार गर्दै दाम्लोले घिसार्न लगाई विष्णुमती नदीको बगरमा फाल्न लगाएर स्याल तथा गिद्धहरूलाई खुवाइयो।

चौतारा विदुर शाह तथा शेरबहादुर शाह दुवै भाइका निरपराध श्रीमती एवम् छोरीहरू अमानवीय तरिकाले बलपूर्वक पोडेहरूलाई सुम्पिए। त्यसको अर्को दिन १३ अरू भारदार मारिए। राजराजेश्वरी १४ सुसारेहरूसँगै सति जान बाध्य पारिइन्। यसरी दुई सातासम्म लगातार हत्या शृङ्खला चलेको थियो, जसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए, बाबुराम आचार्यले मृत्यु हुनेको संख्या यही टिपाएका छन्। 'यो हत्याकाण्ड कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्यतीर्थप्रसाद मिश्रले लेखेका छन्। [८]

त्यस पश्चात्[सम्पादन गर्नुहोस्]

आफ्ना प्रायः सबै विरोधीको एकै पटक संहार पूरा गर्‍ काजी भीमसेन थापा अब नेपाल अधिराज्यका एक मात्र निष्कण्टक अधिनायक बने। यिनको स्वेच्छाचारिता माथी अङ्कुश लगाउन सक्ने व्यक्ति नेपालमा अब कोही पनि बाँकी थिएन। यसपछी भीमसेन थापाले बालक राजा श्री ५ गीर्वाणयुद्ध विक्रम शाहबाट मुख्तियार वा राजप्रतिनिधिको पद पनि प्राप्त गरे। "अब उप्रान्त अधिराज्यका चौतारा तथा काजी सबैले मुखियार भीमसेन थापाले लगाए अह्राए अनुसारका कामकाज गर्नू" भन्ने लालमोहर गराएर, आफ्नो अनुकुल रहेकी स्वामी महाराज रणबहादुर शाहकी नवविवाहिता किशोरी रानी ललितत्रिपुरा सुन्दरीलाई भने सती जान बाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाण युद्ध विक्रमको संरक्षिकाका रुपमा नियुक्त गर्न पनि यिनी सफल भए। उनीहरूकै भाषामा, 'यो हत्याकाण्ड नेपालको इतिहासमा राजनीतिक परिवर्तनको घटना थियो।

अब राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो। राजपरिवारको भूमिका न्यून हुँदै गयो। नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्‍यो। यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए। अन्ततोगोत्वा यस्तै हत्याकाण्डबाट जङ्गबहादुर सत्तामा आए। यस अर्थमा भीमसेन थापा जङ्गबहादुरका मार्गदर्शक देखिन्छन्।' [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ वज्राचार्य, हिमेशरत्न (साउन ११, २०७१), "इतिहासको एउटा ट्र्याजडी भीमसेन थापाको आत्महत्या", कान्तिपुर, अन्तिम पहुँच फागुन २, २०७७ 
  2. नेपालको तथ्य इतिहास, काठमाडौँ: साझा प्रकाशन, २०६१, पृ: १९४। 
  3. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ २०१
  4. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २०२, आइएसबिएन 99933-2-406-X 
  5. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: ७५, आइएसबिएन 978-9937-665-40-7 
  6. मोहन थापा (२०७० BS), ती सैनिक, श्रीमती शारदादेवी खड्का, आइएसबिएन 978-9937-2-7485-2 
  7. खनाल, भागवत (२०७८ असोज १२), "अन्तिम पाल्पाली राजाका अन्तिम दिनहरू", राजधानी न्युज पब्लिकेसन प्रा लि 
  8. तुलसीराम वैद्य र तीर्थ मिश्र (२०५४), आधुनिक नेपालको राजनैतिक इतिहास (१७६८–१८४६ ई.), नेपाल र एसियाली अनुसन्धान केन्द्र कीर्तिपुर।