आनन्द निकेतन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आनन्द निकेतन
सामान्य विवरण
प्रकारदरबार
पुल्चोक क्याम्पस
वास्तुकलाको ढाँचानवशास्त्रीय वास्तुकला र युरोपेली शैली
सहरकाठमाडौँ
राष्ट्रनेपाल
स्वामित्वआनन्द शमशेर (विसं १९४९-२०२३)
इन्जिनियरिङ संस्थान (विसं २०२३-)
व्यवस्थापनइन्जिनियरिङ अध्ययन संस्थान
प्राविधिक विवरण
बनावटईट र चुना
योजना तथा निर्माण
वास्तुकारकिशोर नरसिंह राणा
विकासकर्तावीर शमशेर

आनन्द निकेतन वीर शमशेरद्वारा आफ्नी जेठी रानी तथा आनन्द शमशेरका लागि पुल्चोकमा बनाइएको दरबार हो । यो दरबारमा हाल त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानपुल्चोक क्याम्पस रहेको छ । आनन्द निकेतन नवशास्त्रीय शैलीमा बनाइएको नेपालको दोस्रो दरबार हो जुन विसं १९४९ सालमा राणा प्रधानमन्त्री वीरशमशेरले छोरा आनन्दशमशेरका लागि बनाइदिएका थिए। भवन सहितका संरचनाहरूको डिजाइन त्यति वेलाका चर्चित इन्जिनीयर किशोरनरसिंह राणाले गरेका थिए।[१] यो दरबारको सामु इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन कुल रत्न तुलाधरको पूर्ण कदको शालिक अनावरण गरिएको छ । २०२३ मा नेपाल इन्जिनियरिङ इन्स्टिच्युट जावलाखेलबाट पुल्चोक स्थित आनन्द निकेतनमा सारिएको थियो।[२]

इन्जिनियरिङ अध्ययन संस्थान परिसरमा रहेको कुल रत्न तुलाधर प्रतिमा

सरकारी स्वामित्व[सम्पादन गर्नुहोस्]

आनन्द शमशेरले पैतृक सम्पत्ती आनन्द निकेतन भवन र क्याम्प परखाल भित्रको जग्गा बंगला श्री ५ को सरकार अन्तर्गत आर.टि.ओ. नामक सरकारी संस्थालाई रु.१०,५७,४०६।२५ [३] मा फार्छे राजीनामा गरी बिक्री गरेपछि यो दरबार सरकारी स्वामित्वमा आएको थियो ।[३]

अन्य संरचना[सम्पादन गर्नुहोस्]

मुख्य दरबारको भवन पुरानै अवस्थामा सजिएर डीनको कार्यालय बने पनि पुरातात्त्विक दृष्टिले उत्तिकै महत्त्वपूर्ण सँगैका संरचना अलपत्र जस्तै छन्।

आनन्दशमशेर गुफा[सम्पादन गर्नुहोस्]

आईओई परिसरभित्रै रहेको आनन्दशमशेर गुफामा विद्यार्थीहरूले वर्षमा एक पटक विभिन्न प्रदर्शनी गर्दै आएका छन्। तर यो गुफा किन बनाइएको थियो भन्नेबारे यकीन हुन नसकेको अध्ययन टोलीका नेतृत्वकर्ता प्रा. प्रज्वल हाडा बताउँछन्।[१]

गुफा भित्र-बाहिर दुवैतिर इँटाले बनाइएको छ जसमा एउटा ढोकाबाट पसेर अर्कोबाट निस्कन मिल्ने बाटो छ। गुफाभित्र दुई वटा मुख्य कक्ष छन्। तर गुम्बज शैलीमा निर्माण गरिएका ती कक्ष निकै साँघुरा र अँध्यारा छन्।

अध्ययन टोलीले फेला पारेको अभिलेख अनुसार उक्त गुफा १९औं शताब्दीको अन्त्यतिर आनन्दशमशेरले निर्माण गरेका हुन्। “कतिपयले अपराधी राख्न जेलका रूपमा प्रयोग गर्न बनाइएको विश्वास गर्छन् त कतिपयले राजाले आपत्‌कालीन अवस्थामा शरण लिन र सम्पत्ति लुकाउन बनाएको अनुमान गर्छन्,” टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

गुफा ध्यान गर्ने प्रयोजनले पनि बनाइएको हुन सक्ने हाडा अनुमान गर्छन्।

पुतली र सेतो घर[सम्पादन गर्नुहोस्]

आईओई प्रांगणमा रहेको पुतली घर ‘विन्टर पेभिलियन’ भनेर पनि चिनिन्छ। कुपन्डोलबाट पुल्चोक जोडिने मुख्य सडकसँगै जोडिएको पुतली घर बर्खामा झाडीबीच हराउँछ भने हिउँदमा खण्डहर जस्तो देखिन्छ।

पुतली घरकै छेउमा रहेको सेतो घर ‘समर प्याभिलियन’ का नामले चिनिन्छ। यो घर चाहिं आंशिक रूपमा उपयोग पनि भइरहेकै छ। आईओईले २०६७ सालमै पुतली र सेतो घरबारे अध्ययन गरेको थियो। प्राध्यापक हाडा भन्छन्, “हामीले अध्ययन गर्दा विन्टर प्याभिलियन जीर्णोद्धार गर्न मिल्ने अवस्थामा थियो। २०७२ सालको भूकम्पपछि भने त्यो संरचना पूरै भत्किसकेको छ।” उनका अनुसार सेतो घर र आनन्द गुफा मर्मत मात्र गरे पुग्छ। पुतली घर भने पुनर्निर्माण नै गर्नुपर्ने स्थितिमा छ।

पुतली घरको भुइँतलामा तीन वटा कोठा छन् भने माथिल्लो तलामा एउटा ठूलो कोठा छ। “यी संरचना ठ्याक्कै कुन प्रयोजनले बनाइएका हुन् भन्ने चाहिं थाहा हुन सकेको छैन, “विन्टर प्याभिलियनको सन्दर्भमा भुइँतला नुहाउने र ट्वाइलेट जाने प्रयोजनले र माथिल्लो कोठा जाडोमा घाम ताप्न या समय बिताउन बनाइए जस्तो देखिन्छ।”

अध्ययनपछि टोलीले ‘पुतली घर’ को थ्रीडी डिजाइन समेत सार्वजनिक गरेको थियो। [१]

स्वप्न बगैंचा[सम्पादन गर्नुहोस्]

आईओईको अध्ययन अनुसार आनन्द निकेतनमा त्यति वेला केशर महलको गार्डेन अफ ड्रीम्स पछिकै दोस्रो सुन्दर बगैंचा थियो, । विभिन्न प्रजातिका फूल थिए। मृग र मयूर नाच्थे। ‘गार्डेन अफ ड्रीम्स’ बारे समेत अध्ययन गरेका हाडा भन्छन्, “आनन्द निकेतनभित्रका संरचना व्यक्तिगत प्रयोजनले बनाइएको देखिन्छ। त्यति वेला बनाइएका साना पोखरी, फाउन्टेनहरू पनि अस्तित्वमै छन्। राणाकालपछि यहाँ झन्डै २५ वर्ष चन्दहरू बसे। त्यही वेलादेखि यी संरचना जीर्ण हुन थालेको हाम्रो अध्ययनले देखाउँछ।”

ती संरचना निर्माणमा स्वदेशीसँगै विदेशी सामग्री र प्रविधि प्रयोग गरिएको छ। “विन्टर प्याभिलियनमा १८ वटा बाक्लो इँटा र एक इन्च बाक्लो सुर्की प्रयोग गरिएको पाइएको छ,” “त्यहाँका ट्वाइलेट, बाथटब, टायल, धारा जस्ता सामग्री भने फ्रान्स, बेलायत र कलकत्ताबाट ल्याएको देखिन्छ। किनकि त्यति वेला नेपालमा यस्ता सामग्री र कंक्रिट पाइँदैनथ्यो।”[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]