छिमेकी (कथा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छिमेकी कथा नेपाली साहित्यकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कथा हो। यो कथा मैनालीको नासो कथासङ्ग्रहमा सङ्ग्रहित कथा हो।

समीक्षा[सम्पादन गर्नुहोस्]

छिमेकी कथा सामाजिक समस्याहरु प्रस्तुत गरी आदर्श समाधान पहिल्याउने आदर्शोन्मुख यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीको छोटो आकारको प्रभावशाली कथा हो । यसको क्षेत्र गाउँ रहेको छ । छिमेकीहरूको बीचमा स-साना कुरामा असमझदारी भई ठूला-ठूला समस्या उत्पन्न हुने यथार्थलाई यसमा देखाइएको छ ।

भाषा, शैली संवाद[सम्पादन गर्नुहोस्]

यस छिमेकी कथाका प्रत्येक शब्दहरु सरलता र सहजताले भरिएका छन ।वाक्यहरु छोटा छोटा रहेका छन् । कथामा कतै वर्णन त कतै संवादद्वारा कथा रचिएको छ। वर्णनमा सरलता छ भने संवादमा स्वाभाविकता छ। गुमाने र धनजितेले गाउँले र अशिक्षितले बोल्ने भाषा बोल्दछन्। त्यस्तै आशामरु साहूको संवादमा नेवारी लवज छ। यस कथाको शैली पनि सरल र रैखिक ढाँचामा छ ।कथामा आदि मध्य र अन्त्यको रैखिक शैलीमा बढेको छ। अन्तत: भाषा, संवाद र शैलीका दृष्टिकोणबाट हेर्दा यो कथा सरल, सहज, स्वाभाविक र प्रभावकारी छ।

कथासार[सम्पादन गर्नुहोस्]

´छिमेकी` कथामा गुमाने र धनजिते दुईजना छिमेकी छन्। असारको समय छ, खेत रोप्ने बेला छ। चौतारामा गाउँलेहरु जम्मा भएका छन्। गुमानेको गोरु धनजितेको खेतको बिउमा पस्छ र धनजितेले गोरुलाई बेस्सरी पिट्दै धपाउँछ । वर्षायामका आफ्ना गोरुलाई बेस्सरी पिटेको देखेपछि गुमाने रिसाउँछ र दुबैका बीचमा झगडा हुन्छ । गाउँको भँडुवा धर्मानन्द पाध्याले गुमानेलाई उक्साउँछ र झगडा हातपातसम्ममा पुग्छ । छिमेकीहरूले गुमाने र धनजितेलाई छुट्याउँछन् तर दुबैमा रिस बाँकी रहन्छ । दुबै छिमेकीहरूमा बोलचाल तथा अर्म-पर्म र असल व्यवहार बन्द हुन्छ । केही समय पछि गाउँमा आँठे रोगको महामारी फैलिन्छ त्यसको चपेटामा धनजिते र उसको परिवार पर्छ । आँठेले इन्तु न चिन्तु भई लडेको धनजितेको दयनीय अवस्था देखेर गुमानेको मन पग्लन्छ । उसले मन लगाएर धनजितेको सेवा गर्छ । सेवा नगर्न र आफ्नो भारी बोक्न गए चलनचल्तीभन्दा धेरै ज्याला दिने लोभ आसामरु साहुले देखाउँछ । यो लोभमा नपरी गुमानेले उल्टै छिमेकीको महत्त्व बुझाउँछ । सन्चो भई बिउँझेपछि धनजितेले गुमानेको प्रेम र उसको मनमा आफूप्रतिको माया र सद्भाव देख्छ ।उसलाई विगतप्रति पछुतो लाग्छ र गुमानेसँग माफी माग्छ । दुबैमा मेल हुन्छ र कथा समाप्त हुन्छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आधुनिक कथासर्जक मैनाली र कथादिवस[dead link] डिल्लीराम मिश्र, फागुन, २०६५