भूमे गाउँपालिका
भूमे गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको ५ नं. प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन् । २७३.६७ वर्ग कि.मि. क्षेत्रफल रहेको यस भूमे गाउँपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १८,५८९ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन् । ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र साविक मोराबाङ गा.वि.स.को कार्यालय तोकिएकोमा गाउँसभाको सिफारिश तथा नेपाल सरकारको निर्णयानुसार केन्द्र परिवर्तन भई राजपत्रमा प्रकाशन भएपछि हाल भूमे गाउँपालिका वडा नं. २ स्थित खाबाङ बजारमा रहेको छ ।
स्थानीय तहको निर्वाचन-२०७४ को दोस्रो चरणमा २०७४ साल असार १४ गते यस गाउँपालिकामा स्थानीय तहको निर्वाचन भएसँगै स्थानीय सरकारले पूर्णता पाएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा समितिका सदस्यहरूले सपथ ग्रहण तथा पदभार ग्रहण गरेपछि गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरूबाट जनप्रतिनिधिहरूको उपस्थितिमा सेवा प्रवाह लगायतका कार्यहरु भैरहेका छन् । गाउँ सभा, गाउँ कार्यपालिका, न्यायिक समिति तथा विषयगत समितिहरूको निर्वाचन/मनोनयन सम्पन्न भई स्थानीय सरकारका सबै अङ्गहरु क्रियाशील भैरहेको अवस्था छ ।
अधिकांश मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकाको नामाकरण पनि स्थानीय मगर संस्कृति अनुसार प्रत्येक वर्षको असार १ गतेका दिन भूमिलाई पूजा गरिन्छ । भूम्या पूजाको दिन गाउँमा वर्षभरिको आयव्ययको प्रस्तुत गरी गाउँको मुख्य प्रतिनिधि र संबाहक (मिझार) परिवर्तन गर्ने तथा भूमिमा अझै उत्पादन बढोस् भनेर गाउँटोल अनुसार ३ देखि ७ दिनसम्म विशेष रूपमा मनाइने पर्व भएकाले सोही पर्वको नाम भूम्याबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । यसर्थ भूमे गाउँपालिका मगरहरूको Live Culture, परम्परागत भाषा संस्कृति, पर्व, विभिन्न नाच आदिका कारण अनेकतामा एकता भएको सांस्कृतिक रूपमा धनी गाउँपालिका हो । खासगरी नगदे बालीमा आधारित कृषि क्षेत्रको लागि प्रचुर सम्भावना रहेको, वन तथा वातावरणको पर्याप्त स्रोत रहेको, साना उद्योगको सम्भावना रहेको, प्राकृतिक तथा कृत्रिम पर्यटनको अधिक सम्भावना रहेको, मध्यपहाडी लोकमार्ग र शहिद मार्गले बीचैबाट छेडेको, व्यापारिक सम्भावनाहरु, सहयोगी समान लगायतका कारणले भूमे गाउँपालिकामा स्रोत र साधनको व्यवस्थित परिचालन र अधिकतम उपयोग गर्न सकेको खण्डमा गाउँपालिकाको समृद्धि धेरै टाढा छैन ।
गाउँपालिकाको वडागत तथ्याङ्कीय विवरण (२०६८ को जनगणना अनुसार)
वडा नं. | महिला | पुरूष | जम्मा | घरधुरी संख्या | साविक गाविस तथा वडा | क्षेत्रफल (ब.कि.मि.) |
१ | १३३२ | ११०८ | २४४० | ५४२ | काँक्री (४-७,९) | ७९.९५० |
२ | १२०७ | १०४६ | २२५३ | ४६६ | काँक्री (१-३, ८) | ३०.४४७ |
३ | १३२५ | १११७ | २४४२ | ५१२ | मोराबाङ (१-९) | २०.८४७ |
४ | ६९८ | ५९८ | १२९६ | २७१ | काँडा (१-३, ८) | १६.९०५ |
५ | ७०३ | ५६२ | १२६५ | २७२ | काँडा (४-७) | १९.१८९ |
६ | १००३ | ८३४ | १८३७ | ३७१ | महत (१,२, ९) | २०.५९५ |
७ | ८०८ | ७०८ | १५१६ | ३२० | महत (३-६) | २६.७९७ |
८ | १३२५ | ११०१ | २४२६ | ४७२ | महत (७,८) र रुकुमकोट (४) | २०.५९५ |
९ | १७४५ | १३६९ | ३११४ | ६०९ | चुनबाङ (१-९) | ३८.६८२ |
जम्मा | १०१४६ | ८४४३ | १८५८९ | ३८६५ | २७३.६७ |