सामग्रीमा जानुहोस्

अलैँची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अलैंचीबाट अनुप्रेषित)

अलैँची
अलैँचीको फल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
A. subulatum, A. costatum
वैज्ञानिक नाम
Amomum subulatum, Amomum costatum
Roxb.

अलैँची Amomum subulatum Roxb. पहाडी भेगमा पाइने एक वनस्पति हो। वनस्पति जगतको Zingiberaceae परिवार अन्तर्गत पर्ने अलैंची (Black cardamon) एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा Perennial Herb हो। यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ। नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातिका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन्। नेपाल, भारत र भुटान विश्वका अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन्। यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ। यो वनस्पति कुनै पनि भिरालो परेको जमिन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेती गर्न सकिन्छ। यस कारण यो वनस्पति खेर गएको

जमिनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमिनलाई भू-क्षय हुनबाट पनि बचाउन सकिन्छ।

खेती र परम्परागत बजार

[सम्पादन गर्नुहोस्]

अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ। 'डम्मरसाई', 'रामसाई', 'चिवेसाई', 'गोलसाई', 'राम्ला', 'साउने', आदि अलैँचीका प्रमुख जात हुन्। डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ। १२०० मिटरभन्दा माथि नै लाग्ने साउनेको दाना ठूलो हुने र यसमा रोग कम लाग्ने भएकोले रामसाईभन्दा कम फले पनि किसानहरू साउनेप्रति आकर्षित भएका सन्तोष खतिवडाको अनुभव छ।

चित्र:Cardamom plant.JPG
इलाम जिल्लाको एक गाउँमा अलैंची बारी
तेह्रथुम जिल्लाको एक गाउँमा अलैंची बारी

नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ। यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत मात्रै अरू विकास क्षेत्रमा पर्दछ। नेपालमा सबैभन्दा बढी अलैँची खेती गर्ने जिल्लामा ताप्लेजुङ्ग, (३६४७ हे.), संखुवासभा (३२५९ हे.) र इलाम (२७७४ हे.) पर्दछन्। कुल १३ हजार १९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार ४९८ हेक्टर अर्थात् ण्डै २ लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू छन्। लगाएको तीन'चार वर्षपछि फल्न थाल्ने अलैँची २५'३० वर्षसम्म फलिरहन्छ।

अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान सावित भएको छ। अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजीकै हाङ्देवामा करिब दुई दशकअघि गएको निकै ठूलो पहिरो अलैँचीले नै रोकेको, पहिरो गएको ठाउँ र भिरालो जग्गामा उत्तिसका बिरुवाहरू राम्रोसँग हुर्केका तथा अलैँचीको आम्दानीले स्थानीय अर्थतन्त्र एवं जनजीवनमा परिवर्तन समेत आएकोछ।

  • अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्त्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ।
  • यसको सुगन्धित बीयाँबाट Cineole नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ। यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ।
  • बीयाँ पानसंग पान मसालाको रूपमा खाईन्छ। आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी\पलक(Eye-lid) सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ।
  • अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैंचीको प्रयोग गरिन्छ।
  • सौन्दर्य प्रशाधनहरू निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छिले टोकेमा बिषनाशक औषधि (Antidote)को रूपमा अलैंचीको प्रयोग गरिन्छ।
  • चिसो रुघाखोकी, बान्ता फियो बढेको थकाई लागेको लुतो हैजा वा अरु कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक (Gonorrhea), अदाहा र नसा सम्बन्धी रोग (Neuralgia), मूत्ररोग आदि रोगहरूको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ।

अन्य खेतीको लागि काम नलाग्ने जग्गामा पनि अलैंची खेती गर्न सकिन्छ। अलैंची खेतीले भूक्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउपुर्‍याउँछ।

अलैँची कोठी

[सम्पादन गर्नुहोस्]

राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा 'अलैँची कोठी' खोलेका थिए। त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो। तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए। वि.सं. १९९०को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो। २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष २०३२'३३मा 'कृषि वर्ष' मनाउँदा सरकारले चारलाख बेर्ना वितरण गरेको थियो। २०३३मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो।

अलैँचीमा पातमा छिर्का देखिने छिर्के भाइरस, गाँजमा जमरा जस्ता बिरुवा देखिने फुर्के भाइरस र गानो कुहिएर बोट मर्ने आदि रोगहरू लाग्छन्, जसले उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म कमी ल्याउने गर्दछ।

रोगको लक्षण तथा उपचार

[सम्पादन गर्नुहोस्]

छिर्के भाइरस

पहेँलो छिर्का संगै पात पहेंलिदै अन्तमा कालो भएर सुक्छ र एक वोटबाट अर्को बोटमा छिटो सर्छ। उत्पादनमा ८० % सम्म ह्रास गराउँछ। यसको नियन्त्रणको लागि गानो सहित रोगी वोट उखेलेर डढाउने, मकैंमा लाग्ने लाही कीराले यो रोगको बिस्तारमा मद्दत पुर्‍याउने हुँदा अलैंची खेती नजीकै मकैं खेती नगर्ने र लाही कीरालाई नियन्त्रण गर्ने जस्ता उपायहरू अपनाउन सकिन्छ।

फुर्के भाइरस

यस रोग लागेका अलैंचीका झ्याङका लाँक्राहरू अत्यन्तै छोटा हुन्छन्, फूलहरू गुचुमुच्च परेका हुन्छन् र फल लाग्दैनन्। समय मै नियन्त्रण नगरिए बगानै सखाप हुन्छ। त्यसैले उक्त रोगलागेको अलैंचीका झ्याङका गानो सहित रोगी वोट उखेलेर त्यस ठाँउमा बीउबाट उमारिएको साउने जातको स्वस्थ्य वेर्ना लगाउने, केराउमा लाग्ने लाही कीराले यो रोगको बिस्तारमा मद्दत पुर्‍याउने हुँदा अलैंची खेती नजीकै केराउ खेती नगर्ने र सिस्टमिक बिषादी जस्तैः मालाथियन ५०% सेभीन ५०% डेमीक्रन ५०% वा मेटासिड ५०% प्रयोग गर्ने गर्नुपर्दछ।

जरा कुहाउने भाइरस

लाँक्रा पहेंलिएर जान्छ र पछि मर्छ बिस्तारै पुरै झ्याङ नै कुहिएर सखाप हुन्छ। यसरोगको नियन्त्रणको लागि रोगी वोट गानो सहित उखेलेर हटाई एकवर्ष सम्म केही पनि नलगाई बाँझो छोड्ने र अर्को वर्ष त्यस ठाँउमा स्वस्थ्य विरुवा रोप्ने प्रति झ्याङ १०० ग्रामका दरले कृषि चुनको प्रयोगले यो रोगको प्रकोप क्रमशः घट्दै जान्छ।

झुसिल्कीरा

अलैंचीमा Eupterote प्रजातिका झुसिल्कीरा (Cardamon hairy caterpillar)हरूले पात खाई निकै ठूलो क्षति पुर्‍याई विरुवालाई पुरै नांगो बनाउँछन्। यी लाभ्रेहरू शुरुमा एकै ठाँउमा बसेर पातको हरियो भाग कोत्रेर खान्छ्न् जसले गर्दा पातहरू कागज जस्ता सेता देखिन्छन् अलि हुर्केपछि लाभ्रेहरू तितरवितर भई एक्लाएक्लै खान थाल्छन् यसले उतिसको रुखमा पनि क्षति पुर्‍याई नांगै पार्छन् र उतिसको वोटबाट रेशमी धागोको सहाराले झुण्डिएर अलैंचीका वोटमा सर्दछन्। झुसिल्कीरा नियन्त्रणका लागि यी कीराहरू सानै छँदा एकै ठाँउमा बसेर खाईरहेको बेला तिनलाई जम्मा गरेर नष्ट गर्ने, मालाथियन ५०% झोल बिषादी १२०० देखि १६०० मिलि वा फेनिट्रोथायन ५०% झोल बिषादी ६०० देखि ८०० मिलि प्रति ६०० देखि ८०० लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्नुपर्छ।

प्रशोधन प्रविधि

[सम्पादन गर्नुहोस्]

नेपालको अलैँची प्रशोधन प्रविधि पुरानो छ। नेपालका अधिकांश परम्परागत भट्टीमा काँचो दाउराको धुवाँले सीधै सुकाइने अलैँची बढी कालो र धुवाँ गनाउने हुन्छ। यसो हुन नदिन सुकेको दाउरा बालेर चिम्नीबाट धुवाँ बाहिर पठाई पाइपको तातोले सुकाउने सुधारिएको भट्टी चाहिन्छ। यसका लागि जिल्ला कृषि विकास कार्यालय र एसएनभी लगायतका संस्थाले सहयोग गर्न थालेका छन्। पूर्वी पहाडी कृषि विकास आयोजनाले भोजपुर, तिम्मामा जनजाति र दलितका लागि एउटा त्यस्तो भट्टी निर्माण गरिदिएको छ। यस्तो भट्टी बनाउन रु.३५-५० हजार रूपैयाँ लाग्ने र त्यसमा दाउराको खपत २५ प्रतिशत कम हुने इलामका किसानहरूको अनुभव छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

साह, अनिरुद्धकुमार,रेन्जर, नेपालमा उतिस र अलैंचीको कृषिवन, २०६२ कात्तिक