तरवारबाजी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सयौँ वर्ष पहिले तरवार युद्धमा प्रमुख हतियार हुन्थ्यो। यही कारणले त्यस बेला तरवारबाजी मनोरञ्जनको एक माध्यम पनि थियो। मनोरञ्जन भने पनि तरवारबाजीमा लडाकुको ज्यान जान सक्थ्यो। प्रचीन भारत र ग्रीसको इतिहासमा यस प्रकारको मनोरञ्जनात्मक खेलको बारेमा उल्लेख छ। युद्ध लड्ने कलाको विकाससँगै तरवारबाजी सुरु भएको थियो। रोमनकालमा दासहरूबीच तरवारबाजी गराएर मालिकहरू रमाइलो गर्थे। दासहरू रगतले लतपत भएको देखेर मालिकहरू खुसी हुन्थे। अचेल पनि तरवारबाजी हुन्छ तर यसलाई खेल मानिएको छ। खेलाडीहरू पदक जित्न प्रतिस्पर्धा गर्छन् र चोट लाग्ने गरी खेल हुँदैन।

Fencing pictogram.svg

ओलम्पिक खेलको सुरुआत गर्ने ग्रीसमा पहिले तरवारबाजी मनोरञ्जनका लागि मात्र हुन्थ्यो तर युरोपमा तरवारबाजीलाई खेलको रूपमा विकास गर्न सुरु भइसकेको थियो। करिब साढे सात सय वर्ष पहिले स्पेनमा तरवारबाजी खेल सुरु भइसकेको थियो। सन् १४७४मा स्पेनमा यसको नियम बनाएर खेल्न थालिएको इतिहासमा उल्लेख छ। तरवारबाजीलाई अचेल फेन्सिङ खेल भनिन्छ। 'फेन्सिङ' ओलम्पिकमा समावेश खेल हो। सन् १८९६मा भएको पहिलो आधुनिक ओलम्पिकदेखि 'फेन्सिङ' ओलम्पिकमा रहिआएको छ।

'फेन्सिङ' खेलमा तीन प्रकारका तरवारको प्रयोग गरिन्छ।

  • फोइल' : सबैभन्दा हुलुका हुन्छ। १७ औँ शताब्दीमा 'फोइल'को सुरुआत गरिएको थियो। हलुका 'फोइल'को सुरुआतले 'फेन्सिङ'लाई लोकपि्रय पनि बनायो।
  • इपी: प्राचीनकालमा युद्धमा प्रयोग गरिने गह्रौ तरवार इपी
  • सेब्री: घोडसवारले बोक्ने 'सेब्री'लाई पनि 'फेन्सिङ' खेलमा प्रयोग गरिन्छ।
0408 USA Olympic fencing.jpg

'फेन्सिङ' खेलमा सुरक्षित रूपमा तरवारबाजी गराइन्छ। खेलाडीहरूले ३ मध्ये एक किसिमको तरवार लिएर प्रतिद्वन्द्वीमाथि प्रहार गरी अङ्क हासिल गर्ने प्रयास गर्छन्। फेन्सिङ प्रतिस्पर्धा खेलाइने स्थानलाई पिस्ती भनिन्छ। इन्डोर खेल भएकाले १४ मिटर लामो र १.५ मिटर चौडाइ आकारको पिस्तीमा खेलाडी प्रतिस्पर्धा गर्छन्। खेलाडीहरूले तरवारले चोट नलागोस् भनेर विशेष पोसाक लगाउनुपर्छ। हलुका 'फोइल'को सुरुआतले 'फेन्सिङ'लाई लोकपि्रय पनि बनायो। तापनि खेलाडी अझै असुरक्षित थिए। उनीहरूलाई चोटपटक लागि रहन्थ्यो। सन् १७८०मा मुकुण्डो लगाएर 'फेन्सिङ' खेल्न थालेपछि खेलाडीको अनुहार सुरक्षित भएको हो। सुरुका दिनमा इटाली, फ़्रान्स, हँगेरी 'फेन्सिङ'मा बलिया देश थिए। आजहिजो अन्य देशले 'फेन्सिङ'मा राम्रो गरिहेका छन् तर इटाली, फ़्रान्स, हँगेरीको शक्ति कमजोर भएको छैन।

प्रचीनकालमा प्रतिस्पर्धीले हार स्वीकार गरेमा वा घाइते भएमा वा चोट लागेर लड्न नसकेमा तरवारबाजीको नतीजा निस्कन्थ्यो तर आधुनिक तरवारबाजी 'फेन्सिङ'मा त्यस्तो हुँदैन। 'फेन्सिङ'मा खेलाडीको तरवारमा बाह्र भोल्टको करेन्ट छाडिएको हुन्छ र विपक्षी खेलाडीको शरीरमा तरवार लागेमा विद्युतीय सङ्केत उत्पन्न भएर खेलाडीले अङ्क प्राप्त गर्छ। 'फोइल' लिएर प्रतिस्पर्धा गर्दा विपक्षी खेलाडीको शरीरमा तरवारको टुप्पोले मात्र प्रहार गर्नुपर्छ। विपक्षी खेलाडीको टाउको, हात, खुट्टा र घाँटीमा प्रहार गरेमा अङ्क पाइँदैन।

'सेब्री' लिएर खेल्दा विपक्षी खेलाडीको घाँटी तलको भागमा मात्र प्रहार गर्नुपर्छ। यसमा तरवारको धारिलो भागले प्रहार गर्न अनुमति हुन्छ। यसैगरी 'इपी' लिएर प्रतिस्पर्धा गर्दा तरवारको टुप्पोले मात्र प्रहार गर्नु पर्दछ। यसमा खेलाडीको शरीरको कुनै पनि भागमा गरिएको प्रहारबाट अङ्क पाइन्छ।

'फेन्सिङ'मा एकल र टिम प्रतिस्पर्धा गराइन्छ। एकल प्रतिस्पर्धा तीन चरणको हुन्छ र एक चरणलाई ३ मिनेट दिइन्छ। प्रत्येक चरणपछि खेलाडीले १ मिनेट विश्राम पाउँछन्। खेलको नियम अनुसार जुन खेलाडीले पहिले १५ पटक सही प्रहार गर्छ उही विजेता हुन्छ। यसो नभएर खेलको अन्त्यमा जसको अङ्क बढी हुन्छ उसैलाई विजेता घोषित गरिन्छ। टिम प्रतिस्पर्धामा एक टिममा तीन जना खेलाडीलाई समावेश गरिएको हुन्छ। एकैसाथ सबैले भिडन्त भने गर्दैनन्। पालैपालो भिडन्तपछि जुन टिमको ४५ अङ्क पुग्छ वा जसको अङ्क अन्त्यमा बढी हुन्छ त्यही टिम विजेता बन्छ।