पारिजात
| पारिजात | |
|---|---|
भारतको पश्चिम बंगालमा रहेको पारिजातको सालिक |
|
| जन्म | 1937 दार्जिलिङ, नेपाल(हाल भारतमा) |
| मृत्यु | 1993 काठमाडौं, नेपाल |
| पेशा | साहित्यकार |
पारिजात (वि.सं. १९९४- वि.सं. २०५०) प्रसिद्ध नेपाली साहित्यकार हुन् ।
विषयसूची |
जीवनी [सम्पादन गर्ने]
वि.सं. १९९४ साल वैशाख महिनाको एक दिन डाक्टर के.एस.वाइबा र उहाँकी दोस्री पत्नी अमृत मोक्तानको लिँगिया चिया बगान, दार्जीलिङको घरमा एक बालिकाले जन्म लिइन् । ती बालिकाको नाम विष्णुकुमारी वाइबा राखियो । उनको बाल्यकाल अन्य बालबालिकासरह बिते पनि उनको स्वभावमा भने अरुभन्दा केही अन्तर देखियो । उनी अलिक गम्भीर निडर चिन्तनशील र अन्तर्मुखी थिइन् । उनको स्वास्थ्य सानैदेखि राम्रो थिएन । उनलाई १३ वर्षको उमेरदेखि हाडजोर्नीको रोगले छोयो । यो रोग नै उनको जीवनपर्यन्त रह्यो ।
उनको जीवनलाई पहिलो पटक झक्झक्याइ दिने घटना आपुनै दाजु शिवको दर्दनाक मृत्यु थियो । पोखरीमा डुबेको मान्छेलाई बचाउन जाँदा वि.सं. २०१० सालमा उनको मृत्यु भएको थियो । यो घटनाले उनको संवेदनशील मनलाई मात्र हल्लाएन कि सम्पूर्ण परिवारलाई झक्झक्यायो । गाउँ परिवर्तन गर्दा अलिकति भएपनि सान्त्वना मिल्छ कि भनेर उनका बाबु डाक्टर के.एस.वाइबा वि.सं. २०१० सालमा काठमाडौं आइपुगे । त्यसबेला उनको उमेर १७ वर्षको थियो । त्यही साल पद्मकन्या विद्याश्रम डिल्लीबजारबाट उनले एस.एल.सी.परीक्षा उत्तीर्ण गरिन् । उनले पद्मकन्या क्याम्पसबाट वि.सं. २०१३ सालमा आई.ए. र वि.सं. २०१५ सालमा बी.ए. उत्तीर्ण गरिन् । एम.ए.मा अङ्ग्रेजी विषय लिएर पढिन् । तर रोगका कारण जाँच दिन सकिनन् र पढाइको सिलसिला टुट्यो । विश्वविद्यालयबाट प्रमाणपत्र प्राप्त गर्ने अध्ययनको सिलसिला टुटे पनि उनको भावुक मनले नेपाली साहित्यको अध्ययनको सिलसिला जोडिसकेको थियो ।
वि.सं. २०१३ सालमा 'धरती' नामक पत्रिकामा दुई वटा कविता प्रकाशित गरी नेपाली साहित्यको विकासमा आफूलाई समर्पित गर्ने अठोटको अभिव्यक्ति पारिजातबाट भइसकेको थियो । वि.सं. २०१४ सालमा त्यसताका युवा कविहरूद्वारा स्थापित 'रोदीघर' नामक साहित्यिक यात्रामा उनको प्रवेश सुरु भयो। वि.सं. २०१४ सालमै 'आकाङ्क्षा' कवितासङ्ग्रह पहिलो पुस्तकको रूपमा प्रकाशित भयो । घरको अवस्था अत्यन्त दयनीय भएकाले जीवन धान्न वि.सं. २०१६ सालदेखि वि.सं. २०१८ सालसम्म मदन मेमोरियल स्कुल पाटनमा शिक्षिकाको जागीर खाईन् । यो जागीर खाँदाखाँदै रोगले निकै च्यापेर ल्याइसकेको थियो । त्यसले हावापानी बदल्दा केही बिसेक होला कि भन्ने आशामा वि.सं. २०१८ सालमा स्कुलको जागीर छाडी काठमाडौं प्रवेश गरेको ७ वर्षपछि पहिलोपल्ट १ महिनाका लागि दार्जिजिङ फर्किइन् । तर रोग झन्झन् बढ्दै गएपछि वि.सं. २०२१ सालदेखि ओछ्यानमै परिन् । जुनबेला उनी ओछ्यानमा परिन्, त्यसबेला उनको उमेर २७ वर्षको मात्र थियो । त्यो बेलादेखि उनी जीवनभर ओछ्यानको ओछ्यानमै रहिन् ।
नेपाली साहित्यको आकाशमा वि.सं. २०१३ सालदेखि कविताको माध्यमबाट आफ्नो चिनारी सुरु गरेको भएतापनि गद्यलेखन प्रयासमा पनि निरन्तर लागिरहेको कुरा उनका चार वटा उपन्यास 'सङ्घर्ष', 'वर-पीपल', 'मानव', 'अन्तर्यामी' र 'शारदा' चित्तबुझ्दो नभएकाले जलाइदिएको कुराले स्पष्ट हुन्छ । यो लेखाइको समय थियो, वि.सं. २०१८ देखि वि.सं. २०२१ सालसम्म । उनले यी सबै जलाएपछि अर्को पाँचौँ उपन्यासले तत्कालीन नेपाली साहित्यकाशमा ठूलो हलचल ल्याइदियो । 'शिरीषको फूल'ले वि.सं. २०२२ सालको मदन पुरस्कार पायो । लामाले राखिदिएको 'छेडुकोल्मा' र न्वारनमा राखिदिएको नाम 'पारिजात' सधैँ ओझेलमा पारिदियो । नेपाली आकाशमा 'पारिजात' नाम चम्कन थाल्यो ।
राजनीतिक यात्रा [सम्पादन गर्ने]
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरे । त्यो समूहको नाम थियो 'राल्फा' । यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात रहिन् । यो समूहले आपुना विद्रोहका स्वर देश-विदेशमा जहाँजहाँ उराल्दै हिँड्यो, त्यहाँ-त्यहाँ आफ्नो अशक्त शरीर लिएर पनि गईन् । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो ।
स्वास्थ्य झनझन् खराब हुँदै गयो । हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग अल्सर दम पनि थपिएर बाँच्न मुस्किल पारिदिए । यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गईन् । स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आपुनो मनलाई सम्हालिन् र आफूलाई साहित्यबाट मात्र नभई वैचारिकरूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिईन् । उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सकि्रय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भईन् । पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन् । वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रह्यो ।
गीत सङ्गीतमा उनको ठूलो लगाव थियो । वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन् । उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।
वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन् । विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन् । वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन् । प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन् । प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन् । पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन् । उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष अखिल नेपाल महिला माचको संस्थापक अध्यक्ष बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन् । अन्तराष्ट्रिय सङ्घ-संस्थाहरूमा Out Right International, Feminist Association, Society for Women Geographer, Amnesty International आदिसँग सम्बन्धित थिइन् ।
उनले मदन पुरस्कार गङ्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाइन् । उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो । पारिजातद्वारा लिखित पुस्तक 'शिरिषको फूल'को अङ्ग्रेजी अनुवाद Blue Mimosa लाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो । उनलाई मनपर्ने रङ्ग हरियो, मनपर्ने ऋतु वर्षा, मनपर्ने फूल गुराँस र मनपर्ने खानाः छोइला, मम, सुख्खा रोटी, काभ्रो, चिण्डो, टमाटर र कोइरालो थिए ।
कृतिहरू [सम्पादन गर्ने]
पारिजातका प्रकाशित कृतिहरू -
- आकांक्षा(कविता संग्रह, २०१४),
- शिरीषको फूल (उपन्यास, २०२२),
- महत्ताहीन (उपन्यास,२०२५),
- आदिम देश (कथासंग्रह, २०२५),
- बैँसको मान्छे (उपन्यास, २०२९),
- तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२),
- सडक र प्रतिभा (कथासंग्रह,२०३२),
- अन्तर्मुखी (उपन्यास, २०३५),
- उसले रोजेको बाटो (उपन्यास,२०३५-'बेदना' पत्रिकामा प्रकाशित),
- पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३२मा लेखिएको र २०३५मा प्रकाशित),
- अनिंदो पहाडसँगै (उपन्यास, २०३९),
- साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३),
- धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३),
- पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित),
- एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५),
- परिभाषित आँखाहरू (उपन्यास, २०४६),
- बोनी (उपन्यास, २०४८),
- आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८),
- बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९),
- वैशाख वर्तमान (कविता संग्रह, २०५०/मुत्युपछि प्रकाशित),
- अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित)
निधन [सम्पादन गर्ने]
उनको निधन लामो समयसम्मको पुरानो व्यथाले २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको विशेष उपचार कक्षमा भयो ।