प्रेस काउन्सिल नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

नेपालमा २०१४ सालमा गठित प्रेस कमिसनको प्रतिवेदनका आधारमा २०२४ सालमा प्रेस सल्लाहकार समिति गठन भयो । २०२७ सालमा नाम परिवर्तन गरी प्रेस सल्लाहकार परिषद् नामकरण गरियो ।[स्रोत नखुलेको] त्यसपछि छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ३० क बमोजिम वि.सं. २०२७ असोज ६ गते प्रेस काउन्सिल नेपालको विधिवत् स्थापना भएको हो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम १ जना अध्यक्ष र ९ जना सदस्य नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने र नेपाल पत्रकार महासङ्घको सभापति÷अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुने व्यवस्था रहेको छ । हालको प्रेस काउन्सिल नेपाल प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम पत्रकारिताको पेशागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्न अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा गठन भई सञ्चालनमा रहेको छ ।

सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादीत तथा जिम्मेवार बनाउन प्रेस काउन्सिल नेपालको महत्त्वपूर्ण भूमिका रहेको छ । प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्दनका लागि प्रेस काउन्सिलको स्थापना भएको र यसैका लागि क्रियाशील रहेको छ । २०४८ सालमा ऐन जारी भएतापनि प्रेस काउन्सिलको स्थापना २०२७ असोज ६ गते भएको हो ।[स्रोत नखुलेको]

पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चारमाध्यामका बीच पुलको रूपमा कार्य गर्ने अहम जिम्मेवारी काउन्सिलको रहेको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता उल्लङ्घनका विषयमा उजुरी सुन्ने, सो उपर अध्ययन अनुसनधान गरी आवश्यक कारवाही गर्ने, आचारसंहिता सम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आसञ्चारमाध्यममा आचारसंहिताको अनुगमन गर्ने, पत्रकारितको विकासका लागि सरकारलाई सुझाव दिने प्रमुख कार्यहरु गर्दै आएको छ ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलका उद्देश्यहरू देहायबमोजिम निर्धारण गरेको छः

  • स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गर्ने ।
  • प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिने पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने ।
  • प्रेस र नेपाल सरकारबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने ।
  • सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने ।
  • प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने ।

कार्यहरू[सम्पादन गर्नुहोस्]

प्रेस काउन्सिल ऐन २०४८ द्वारा काउन्सिलको काम कर्तव्य र अधिकार देहायबमोजिम तोकिएको छः

  • पत्रकारितासम्बन्धी नीतिलाई समयसमयमा अवलोकन गरी सम्बन्धित क्षेत्रको राय सल्लाह लिई नेपाल सरकारलाई सुझाव दिने ।
  • स्वस्थ पत्रकारिताको विकास गर्न पत्रकारितासम्बन्धी आचारसंहिता तयार गरी लागु गर्ने ।
  • पत्रकारिताको विकासका लागि नेपाल सरकारलाई सुझाव दिने ।
  • पत्रकारिताको वितरण स्थितिको अद्यावधिक अभिलेख राख्ने ।
  • पत्रपत्रिकामा प्रकाशित समाचारसँग सम्बन्धित विषयलाई लिएर कसैले काउन्सिलमा उजुरी दिएमा सो सम्बन्धमा आवश्यक कारवाही गर्ने ।
  • पत्रपत्रिकाको गतिविधि एवं वस्तुस्थितिबारे अध्ययन र मुल्याङ्कनसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने ।
  • पत्रपत्रिकामा प्रकाशित असामाजिक र आपत्तिजनक कुराहरूको सम्बन्धमा छानबिन गर्ने ।

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

प्रेस काउन्सिल, नेपाल
गोश्वारा हुलाक पोष्ट बक्स नं. ३०७७,
सञ्चार ग्राम, तिलगंगा, काठमाण्डौ, नेपाल
फोन: ००९७७-१-४११२६७८, ४११२७९९
फ्याक्स: ००९७७-१-४११२६९४
ईमेल: presscouncilnepal@gmail.com

पत्रपत्रिका व्यवस्थापन प्रणाणीको लागिः http://newspapers.presscouncilnepal.org[dead link]

आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]

www.presscouncilnepal.org वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-२६ मिति