सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Bikasgurung120

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तक्मे बूढा (विल्सन बिक्रम राई) तक्माको शक्ति टेलिसिरियलमा चलेका पात्र हुन्। रिटायर्ड लाहुरेको भूमिकामा देखिने झापामा जन्मिएका उनका बाजेदेखि काकाहरूसम्म सबै लाहुरे थिए। रिटायर्ड भइसकेका आफन्त ब्रिटिस र इन्डियन आर्मीबाट फर्केसँगै तिनका घरघरमा तक्मा झुन्ड्याएको हुन्थ्यो। पेन्सन पाकिसकेका लाहुरे एकै ठाउँ भेला हुन्थे र रमाइला कुरा गर्थे। त्यसबेला विल्सनलाई तिनका कुराले त आकर्षित गर्थ्यो नै तक्मा देख्दा उनी झनै लोभिन्थे। सन् १९१४ मा पहिलो विश्वयुद्ध लडेका बाजेहरूको कुरा सुन्दा उनलाई एकादेशको कथाजस्तै लाग्थ्यो। दोस्रो विश्वयुद्ध हुँदा सन् १९४५ सम्म काका, मामाहरू लडे। तिनीहरू गफिँदा ‘नाइन्टिन फोर्टी'लाई ‘फाउन्टिन' उच्चारण गर्थे। ‘बाजेहरू त्यसबेला ‘रियल टोन' बोलिरहेका हुन्थे,' ओखलढुंगा अँधेरी गाउँको बाल्यकाललाई विल्सनले सम्झिए, ‘उनीहरूलाई अंग्रेजी शब्दप्रति मतलब थिएन, त्यसैलाई सजिलो गरी बोलिदिन्थे।'झापाबाट मामाघर मोरङको कानेपोखरी गइरहने उनी बाजेका तक्मा, बन्दुक, खुकुरीजस्ता लाहुरे–सम्पत्ति देख्दा मख्ख पर्थे। मावली बाजेको नाम थियो– ९३। पल्टनमा बोलाउने नाम नै नम्बरका आधारमा हुन्थ्यो। यसरी लाहुरे परिवेशमै हुर्किएका विल्सनले न त लाहुर भिड्न छाती पाए, न त तक्मा पाए। तर उनले पाएको ‘तक्मे बूढा' को ‘उपाधि' त्योभन्दा महँगो छ।‘मेरी बास्सै' टेलिसिरियलका केदार घिमिरे (माग्ने बूढा) नभेटेको भए सायद विल्सन ‘तक्मे बूढा' बन्ने थिएनन्। सहजै लाहुरेको भूमिका दिएका माग्ने बूढालाई उनी ‘दिने बूढा' भन्न।रुचाउँछन्। ‘मेरो परिवारिक र गाउँको लाहुरे परिवेशले उहाँले। दिनुभएको भूमिका निर्वाह गर्न गाह्रो भएन,' उनी सुनाउँछन्। ‘नाइन्टिन फाउन्टिङमा फोकलेनको टापुमा गुटुङटुङ गोली हान्दा...' यो उनकै बाजेकै बोल्ने शैली थियो जसलाई विल्सनले आफ्नो अभिनयमार्फत जीवन्त पारेका छन्। आफ्नो रिटायर्ड लाहुरेको रोल हेरेपछि एकजना मामाले तक्मा लगाएरै हिँड्न थालेको विल्सनले सुनाए। ‘छोरानातिले लाज हुन्छ भन्दै तक्मा लगाएर नहिँड्नु भनेछन्,' उनले भने, ‘आजभोलि तक्मा लगाएर हिँडेको देख्दा अरू फोटो खिच्न आउँछन् रे।'बाजेले भनिरहने ‘इमान, इज्जेत र प्रेस्टिज' लाई विल्सनले जीवन्त बनाए पनि बाजेले नातिको अभिनय सुन्न/हेर्न पाएनन्। छातीभरि तक्मा भिरेर देखापर्ने विल्सन गोर्खालीको शान र मान तक्मामा अडिएको बताउँछन्। ‘सक्कली तक्मा पाउनेले गोर्खालीको नाम संसारभर राखे,' उनी हाँस्छन्, ‘मचाहिँ नक्कली तक्मे भएर संसार घुमिरहेको छु।'।पहिलेका दुःख र संघर्षका दिनलाई सुखमा बदल्ने बाजेको तक्मामा ठूलो शक्ति रहेको उनी बताउँछन्। ‘नक्कली तक्मामा त यति शक्ति छ भने सक्कलीमा कति होला?' उनी प्रश्न गर्छन्। तक्मा, कोट, टोपी र दौरा–सुरुवाल लगाएर स्टेज चढेपछि आफूमा ‘सुपर नेचुरल पावर' आउने उनी बताउँछन्। ‘तक्मा लगाएको मान्छे कहिल्यै झुक्दैन,' उनले गर्विलो स्वरमा भने, ‘यदि झुकेको भए युद्ध जितेर पुर्खाले तक्मा पाउँथेन होला।'युद्ध लडेका वीर गोर्खालीलाई ठेस पुग्ने गरी आफूले अभिनय नगरेको उनको दाबी छ। ‘कसैलाई ठग्ने, ढाँट्ने, जाँड–रक्सी खाने दृश्य देखाइएको छैन,' उनले भने, ‘लाहुरेले सबैलाई बाँडेको हुन्छ, मागेको हुँदैन।' बाजेको बिँडो चिन्नेहरू उनलाई ‘लाहुरे दाइ' भनेरै बोलाउँछन्। अझै पनि कतिले त ‘कहिले रिटायर्ड हुनुभो', ‘कति छिटो भर्ती हुनुभाको रैछ' भनेर जिज्ञासा राख्छन्। थोरैले मात्र वास्तविक नाम सोध्न भ्याउँछन्।‘लाहुरे' बाटै कलाकारितामा छिरेका श्रीप्रसाद थापा वास्तविक लाहुरे भने होइनन्। गुल्मीको जुभुङमा जन्मेका उनलाई कलाकारिता क्षेत्रमा छिर्न लाहुरेको संगतले सहयोग गर्र्यो। रोजगारीका लागि विदेश जाने परम्परा आजको होइन। जहान–छोराछोरी पाल्न बाउबाजे मुग्लान पस्थे। हाडछाला घोट्थे र पैसा कमाएर ल्याउँथे। ‘त्यसबेला जुगुम गाउँमा एक घरबराबर पाँच लाहुरे थिए,' थापा सम्झन्छन् । उनका बाजे र बुबा ब्रिटिस सेनामा थिए। मावली सबै लाहुरे। बाजेले प्रथम विश्वयुद्ध र बुबाले दोस्रो विश्वयुद्ध लडे। परिवारमा लाहुरे माहोल थियो। ‘जता गयो उतै लाहुरे। त्यही परिवेशमा हुर्कें,' उनले भने, ‘लाहुरेकै छोरी बिहे गरेँ।'उनी लाहुरेलाई बडो रसिक प्रवृत्तिका भन्न रुचाउँछन्। आफू पुगेको देश, त्यहाँको युद्ध र घटनाक्रमलाई घर फर्किएर रमाइलो पारामा व्याख्या गर्ने लाहुरेको बानी उनले सानैदेखि थाहा पाएका थिए। ‘गाउँमा पहिलो रज (छुट्टी) आउँदा पञ्चेबाजा बजाएर फूलमालाले स्वागत हुन्थ्यो,' उनी भन्छन्। उनलाई पनि लाहुरे बन्ने ठूलो रहर थियो। ‘तर, बुबाले किन सबै लाहुरे हुने, कोहीकोही त पढ्नुपर्छ भनेपछि भर्ती हुन पाइनँ,' उनी भन्छन्, ‘बि.एल पढ्न काठमाडौं छिरेको नक्कली लाहुरेमै चित्त बुझाउनुपर्र्यो ।'‘तीतो सत्य' टेलिसिरियलका दीपकराज गिरीले लाहुरेको भूमिकामा अभिनय गर्न प्रस्ताव गरेपछि थापाको चर्चाका दिन सुरु भए। थाहा पाउँदादेखिनै घर–छिमेकको लाहुरे र शानबारे उनलाई धेरै ज्ञान थियो। ‘कुन लवजमा बोल्छन्, कुन पल्टन कहाँ छन्, कसरी बोल्छन् सबै जानेको थिएँ,' उनले सुनाए, ‘वल्लो पल्लो घरमा लाहुरे आएपछि साथीहरूसँग रमाइलो मान्दै जान्थ्यौं।'लाहुरेले सुनाउने कथा उनले बिर्सिएका छैनन्। ‘लाहुरेहरूले बोल्ने भाषा मिठासपूर्ण लाग्छ,' उनी भन्छन्, ‘मगर, क्षेत्री, गुरुङ, राई एउटै पल्टनमा हुने भएकाले तँतँ–मम चल्छ। यसले आपसी सांस्कृतिक एकता पनि मजबुत बनाएको छ।' बन्दुक र बुटको कठोर आवाजसँग खेल्ने लाहुरेलाई थापा मनको असाध्यै सोझो ठान्छन्। ‘परिवार, देश, छोराछोरीसँग बस्ने चाहना उनीहरूसँग पनि हुन्छ,' उनी भन्छन्, ‘परिवारलाई सुखले पाल्न उनीहरू बाध्यताले लाहुरे भएका हुन्।' लाहुरेको ठट्यौली स्वभावका कारण आफूले उनीहरूको हाउभाउलाई रुचाएको थापा बताउँछन्। ‘दुःखलाई हाँसी–मजाक गरेरै बिर्साइदिन्छन्,' उनले भने, ‘परिवारलाई रुवाएर होइन, हँसाएर पल्टन छिर्छन्।