सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Elanofficial

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चेपाङले चिनेको, समाजले नचिनेको चिउरीमा सम्भावना

–रामकुमार एलन   

चिउरी
चिउरी

काठमाडौँ, २७ असार । (रासस) ः चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुईसय मिटरदेखि एक हजार पाँचसय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोचका ओसिलो माटोमा हुर्कने र सप्रने चिउरीको कुनै पनि भाग बेकामे छैन । चिउरी मकवानपुर, धादिङ, चितवनसहित विभिन्न जिल्लामा फैलिँदै गरेको अल्पसंख्यक चेपाङ समुदायको संस्कृति र सभ्यतासँग जोडिएको वनस्पति पनि हो । १५ देखि २० मिटर उचाइ हुने चिउरी १२ वर्षदेखि ७० वर्षसम्म फल्छ भने एउटा रुखले कम्तीमा ५० देखि एकसय ५० किलोग्रामसम्म उत्पादन दिने गर्छ । पूर्व नेपालदेखि सुदूरपश्चिमसम्म नै चिउरी पाइए पनि मध्य नेपाल र सुदूरपश्चिम क्षेत्रमा चिउरी बढी पाइन्छ । घमाइलो पाखाको ओसिलो माटोमा चिउरी बढी सप्रने चेपाङ समुदाय बताउँछन् । चिउरीको पात घाँस र टपरी दुना बनाउन, काठ फर्निचरजन्य सामग्री निर्माणमा, फल खान र बियाँको तेल तरकारी पकाएर खान तथा जिउ दुखेमा लगाउन प्रयोगसँगै बाँकी रहेको ढुटो (पिना) समेत माछा मार्न विषका रुपमा र खेतीमा मलका रुपमा प्रयोग हुने भएकाले हाम्रो आसपासको फलफूल पसलसम्म नआइपुगे पनि नेपालमा चिउरी बहुउपयोगी कल्पवृक्षका रुपमा समाजले लिने गरेको छ ।

चेपाङ र चिउरीको सम्बन्ध

चेपाङ समुदायको चिउरीसँग अन्योन्यास्रित सम्बन्ध रहेको छ । चेपाङले चिउरीका कुनै पनि चिज खेर फाल्दैनन् । चिउरीका सबै चिज उनीहरुको दैनिकीमा प्रयोग हुने गरेको छ । पहिला चिउरीको पात खाना खान प्रयोग हुन्थ्यो भने दुनाटपरी बनाउन प्रयोग हुन्थ्यो । चिउरीको फूलको रस संकलन गरेर खानाका रुपमा खाने चलन थियो । चिउरीको रसको मिठाइ बनाउन सकिन्छ कि भनेर परीक्षणसमेत भएको थियो । चिउरी फुलेका बेला रस सेवन मात्रै होइन, अलि पहिला चमेरोको सिकार खेल्ने वातावरण पनि बन्थ्यो । चिउरीको फूल फुलेका बेला चमेरो फूल खान राति आउँदा चेपाङ समुदाय फूलमा जाल थापेर चमेरो मार्थे । चमेरो आएपछि मात्रै चिउरीको फूलमा परागसेचन हुने गर्दछ । यसरी, चिउरीको पात, फूलको रस र फूलमार्फत चमेरोको शिकारसँग चेपाङ समुदायको जिन्दगी जोडिएको थियो ।

चैत, वैशाख र जेठमा चेपाङ समुदाय अहिले पनि संकटमा पर्छन् । यो समय चेपाङ समुदायमा अनिकाल पर्ने समय हो । यस्तो बेला अनिकालको संजिवनी बुटी नै हुने गरेको छ चेपाङ समुदायलाई चिउरी । वैशाखमा चिउरीको दाना लाग्दछ । दाना संकलन गरी खानाकै रुपमा प्रयोग गर्न सकिन्छ । अनिकालका समयमा चेपाङको जीवन धान्ने बुटी चिउरी हुने गरेकाले मकवानपुर, चितवन, धादिङका चेपाङ समुदाय चमेरो र चिउरीका पर्याय नै बन्ने गरेका थिए । फूल मात्रै होइन, चिउरीको चोप पनि शिकार गर्न प्रयोगमा आउँछ । चिउरीको चोप निकालेर लिसो बनाएर चराको सिकार गर्न सकिन्थ्यो । चिउरीको दाना संकलन हुने गरेको छ । बजारमा चिउरी बिक्री हुन थालेको छ । यसको बियाँ अरु उपयोगी देखिन्छ । दाना (बियाँ)बाट घिउ निकालिन्छ ।

घिउ तरकारी पकाउन, बत्ती बाल्न र औषधीका रुपमा प्रयोग हुने गरेको थियो । यसबाट निस्केको (ढुटो) पिना माछा मार्न विषका रुपमा र अन्नबालीमा मलका रुपमा प्रयोगमा हुने गर्छ । हिलोले खुट्टा खाँदा औषधीका रुपमा पनि पिना प्रयोग गर्न सकिन्छ । चेपाङ समुदायको किम्बदन्ती सुन्ने हो भने पहिला चिउरीको घिउ पशुपति र स्वयम्भुमा बत्ती बाल्न प्रयोग हुन्थ्यो । चेपाङहरु घिउ बोकेर नागढुङ्गा हुँदै काठमाडौँ जान्थे । विसं २०१३ सालमा त्रिभुवन राजमार्ग (नागढुङ्गादेखि नौबिसे) र विसं २०२४ सालमा पृथ्वी राजमार्ग (नौबिसेदेखि मुग्लिन) खुलेपछि काठमाडौँमा घिउ बोकेर जाने चलन हराउन थाल्यो ।

चिउरी बहुउपयोगी र बहुमूल्य गुण भएको वनस्पति हो । चेपाङ समुदायमा छोरीको विवाह हुँदा चिउरीलाई पितृप्रसादका रुपमा ग्रहण गर्ने चलन छ । चिउरीले अनिकालबाट चेपाङको प्राण धान्ने भएकाले छोरीलाई विवाह गरेर पठाउँदा चिउरीको रुख दाइजोका रुपमा दिने प्रचलन पनि छ । चेपाङ समुदायको जनजीविका र दोस्रो पुस्ताको घरजम व्यवस्थापनमा समेत चिउरी जोडिने गरेपछि चेपाङ चिउरीलाई संकटको विकल्प ठान्छन् । चिउरी उनीहरुको जिन्दगीसँग जोडिएको बहुउपयोगी बनस्पति हो । त्यसैले फागुनमा चिउरी फुलेपछि चेपाङ खुशी हुन्छन् । अनिकालमा चिउरीको फूल फुलेपछि गाउँमा चमेरो आउँछ । चमेरो आएपछि मात्रै चिउरीका फूलमा परागसेचन हुन्छ भने चमेरोलाई मासुका रुपम उपभोग गर्न पनि पाइन्छ । अनिकालमा मासुको जोहो गर्छ चिउरीले चेपाङ समुदायलाई । तर अचेल पहिलाजस्तो चमेरो मार्ने चलन छैन । साउनसम्म चिउरीले चेपाङ समुदायको जिन्दगी धानिदिन्छ । भदौमा नयाँ बाली भित्रन्छ । नयाँ बाली भित्र्याएर भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउँदासम्म केही समय चेपाङ समुदाय चिउरीमा आश्रित हुन्छन् । चेपाङ समुदायको सभ्यता र संस्कृतिसँग जोडिएको चिउरी बहुआयामिक जडीबुटीजन्य र औषधी पनि हो । चिउरीको घिउ कोलस्ट्रोलरहित हुने भएकाले मानवस्वास्थ्यका निम्ति लाभदायक मानिन्छ । बजारमा प्रतिकेजी ७० रुपैयाँको दरले चिउरी बिक्री हुने गरेको छ । चिउरी बेचेर आम्दानी पनि गर्न सकिन्छ । एउटै रुखमा डेढ क्विन्टलसम्म चिउरीका बियाँ उत्पादन हुने गरेको छ ।

चिउरीको उपयोगः

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकमा फुल्न शुरु हुन्छ र माघमहिनासम्म फुल्ने गरेको छ । फागुनदेखि असारसम्म बोटमा फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला (बियाँ) हुन्छन् । चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । घिउ तरकारी पकाउन र सेल रोटी पकाउन र औषधीका रुपमा प्रयोग हुने गरेको छ । खुट्टा फुटे, घुँडा दुखे, अनुहारमा दाग आए यसको घिउ प्रयोग गर्न सकिन्छ । यस्तै, चिउरीको घिउ साबुन र मैनबत्ती बनाउन पनि प्रयोग गर्न सकिन्छ । पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । काठबाट विभिन्न सामान बनाउन सकिन्छ । फलबाट जुस, जाम र रक्सी पनि बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको महको बजारमा छुट्टै मूल्य छ । स्वादिष्ट र पौष्टिक हुने बताइन्छ ।

चिउरीको विरुवा रोप्ने समयः

बहुउपयोगी चिउरीको नयाँ बिरुवा लगाउने समय पनि शुरु भएको छ । वनस्पति विज्ञहरुका अनुसार, बिउबाट चिउरीको विरुवा उमार्नु र खेतीका रुपमा लगाउनु उत्तम हुन्छ । असार साउनमा पाकेर पहेँलो भएको चिउरीको फलबाट बिउ निकाल्नु उत्तम मानिन्छ । बियाँ धोएर छायाँमा सुकाएर फलबाट निकालेको सात दिनभित्र रोप्नु उपयुक्त हुने मानिन्छ । पात कुहेर बनेको जंगलको मलिलो माटो, बलौटे माटो र राम्ररी पाकेको गाईबस्तुको मल मिसाएर बनाइएको माटोमा बिउ रोप्दा बियाँ १२ घण्टा अगाडि भिजाउनु उपयुक्त हुने बताइएको छ । चार अंगुल जति गाडेर रोप्नुपर्ने वनस्पति विज्ञहरु बताउँछन् । असार, साउन र भदौसम्म बिउ रोप्न सकिने बताइएको छ । २० देखि ४० सेन्टिमिटर अग्लो भएको विरुवा रोप्नु उपयुक्त हुन्छ । ५ वर्षसम्म यसलाई मलजल गर्दा पुग्छ । चिउरी रोपेको बाह्र बर्षदेखि ७० बर्षसम्म फल्ने गरेको छ ।

चिउरीखेती प्रवर्द्धन

पछिल्लो समय बजारमा चिउरीको उपभोग र बिक्री बढ्न थालेपछि यसलाई व्यावसायिकरुपमा उत्पादन र खेतीका लागि वन कार्यालयहरुले प्रवद्र्धन अभियान चलाएका छन् । डिभिजन वन कार्यालय चितवन, मकवानपुर, धादिङले ओरालो र ओसिलो भूभागसँगै बलौटे माटोमा चिउरी रोप्न सकिने विकल्पसहित बिरुवा उत्पादन अभियान चलाइएको छ । धादिङ र मकवानपुरका भिरालो जंगलमा रहेको चिउरीलाई अब बारीमै पनि रोपेर १२ वर्षपछि आम्दानीका रुपमा लिन सकिने भएकाले यसको व्यावसायिकरुपमा खेतीका लागि वन कार्यालयहरुले बिउ वितरण शुरु गरेका छन् । डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य अहिले चिउरीको बिउ रोप्ने उपयुक्त समय भएकाले बिरुवा रोप्ने अभियानमा किसानलाई अभिप्रेरित गरिरहेको बताउनु हुन्छ । उहाँले किसानले चिउरीको बिउ रोपेर बिरुवा उत्पादनमा रुचि देखाएको पनि बताउनु भयो । उहाँले यो वर्ष बिउबाट बिरुवा उत्पादन नभए वन कार्यालयबाट बिरुवा पनि वितरण गरिने बताउनु भयो । उहाँले चितवनको भण्डारामा चिउरीको बिरुवा उत्पादन गरिएको बताउनु भयो । बहुउपयोगी चिउरीलाई चेपाङ समुदायबाट अरु समुदायमा पनि जोड्न र दीगो आम्दानीका रुपमा यसलाई प्रवद्र्धन गर्न बागमती प्रदेशका डिभिजन वन कार्यालयहरुले जागरण अभियानका रुपमा चलाइरहेका छन् ।