भुवनलाल प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुवनलाल प्रधान (वि.सं. १९७९ वैशाख ७–२०६७ भदौ १०) नेपालका इतिहासकार, संस्कृतिविद्, विसं २००७को क्रान्तिका योद्धा र पूर्वन्त्री हुन्।

जन्म[सम्पादन गर्नुहोस्]

बुबा वंशलाल र आमा विद्यालक्ष्मीका सुपुत्रका रूपमा प्रधानको जन्म वि.सं. १९७९ वैशाख ७ गते असन, कमलाक्षी, काठमाडौँमा भएको हो। उनी वि.सं. १९९७को एसएलसीका बोर्ड प्रथम हुन्।

राणाविरोधी र मन्त्री[सम्पादन गर्नुहोस्]

प्रधान राणा शासनको विरोधमा होमिंएका थिए। प्रधान २०१७ देखि २०२३ सालसम्म मन्त्री रहे। उनी २०१७ पौष १३ गते गठन भएको मन्त्रिपरिषदमा शिक्षा, स्वास्थ्य, कानुन, न्याय र संसदीय प्रवन्ध मन्त्री थिए। २०१९ असार १८ गते गठन भएको मन्त्रिपरिषदमा कृषि र वन मन्त्री थिए। २०१९ साल चैत्र २० गते गठन भएको मन्त्रिपरिषदमा वन, खाद्य र कृषि मन्त्री थिए। २०२० साल चैत्र २७ गते गठन भएको मन्त्रिपरिषदमा भुवनलाल नहर तथा विद्युत् मन्त्री बनाइएका थिए।

लेखक र शिक्षक[सम्पादन गर्नुहोस्]

उनको नेपाल भाषामा पहिलो पुस्तक नेपाल बाल ज्ञान (२००३) प्रकाशित भएको थियो। करिब तीन दर्जन पुस्तक प्रकाशित छन्। पछिल्लो समयमा उनी बौद्ध दर्शन र इतिहासको लेखनमा लागेका थिए। उनका प्रकाशित पुस्तक लुम्बिनी, कपिलवस्तु, देवदह, काठमाडौँ वर्णन (सिनासबाट प्रकाशित, सन् १९७९), नेपालका शाक्यहरू, बुध्द धर्म र शाक्यहरू, जापानको इतिहास, जापानी धर्म, ड्रयागनको देश, स्वयम्भू, उपत्यकाका केही सांस्कृतिक छिर्का–मिर्का, शहिद शुक्र, शहिद गंगा-दशरथ आदि हुन्। उनले तादाशिई फुकुताकेको आजको जापानी समाज अनुवाद गरेका थिए।

उनका बारेमा लेखक रत्नसुन्दर शाक्यले लेखेको एक व्यक्तित्व : श्री भुवनलाल प्रधान प्रकाशित छ।

भुवनलालले राजधानीका सार्वजनिक स्कूलहरूमा पनि पढाएका थिए। उनी शान्ति निकुन्ज, आनन्दकुटी विद्यापीठमा पढाउँथे। २०१२ देखि २०१७ साल (सन् १९५६–१९६१)मा आनन्दकुटी विद्यापीठका हेडमास्टर थिए। राजा महेन्द्रले मन्त्री नियुक्त गरेपछि राजीनामा दिएका थिए।

सम्मान[सम्पादन गर्नुहोस्]

उनले धर्मोदय धम्म पुरस्कार २०५६, धर्मबहादुर कल्याण कोष पुरस्कार २०५६, केदारनाथ स्मृति सम्मान २०५८, राष्ट्रिय प्रतिभा पुरस्कार २०६२, शंखधर सम्मान, इमेज सिरपा सम्मान लगायतका सम्मान प्राप्त गरेका थिए।

निधन[सम्पादन गर्नुहोस्]

प्रधानको २०६७ भदौ १० गते बिहीबार ९० वर्षको उमेरमा माइतीघर, काठमाडौँस्थित आफ्नै निवासमा निधन भयो। दस वर्षअघि पोस्ट्रेड ग्ल्यान्डको शल्यक्रिया पछि प्रधानको मृर्गौलामा समस्या देखिएको थियो। उनका दुई छोरा र श्रीमती छन्।