मंगलादेवी सिंह
नेपाली विकिपीडियाबाट
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौँको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भयो ।
वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुभयो । २००४ सालमा काठमाडौँ म्हैमीमा भूमिगत संगठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहनुभयो ।
२००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुग्नुभएको थियो । २००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गर्नुभयो ।
श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभयो ।
२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उहाँ सक्रिय रहनुभयो । २०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो ।
'नारी संघर्षका पाइलाहरू' नामक संस्मरणात्मक पुस्तक लेख्नुभयो । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भयो ।