सरकारी बजेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सरकारको आय र व्ययको अनुमानित विवरणलाई सरकारी बजेट भनिन्छ । सरकारी बजेट सामान्यतयाः एक आर्थिक वर्षका लागि तयार गरिन्छ । यो सरकारको वार्षिक योजना, नीति तथा कार्यक्रम हो । सरकारी बजेटमा मूलतः आय र व्यय गरी दुई पाटा हुने गर्दछन् । विगत र वर्तमानको यथार्थ आर्थिक अवस्था मूल्याङ्कन गरी आगामी आर्थिक वर्षका लागि सरकारी बजेट अनुमान गर्ने गरिन्छ । बजेट राजस्व र व्ययको अनुमानको अतिरिक्त राष्ट्रिय कोष सञ्चालनको अख्तियारी प्रदान गर्ने दस्तावेज पनि हो । सरकारी बजेट कार्यपालिकाले तयार गर्दछ , व्यवस्थापिकाले स्वीकृत गर्दछ र पुनः कार्यपालिकाले कार्यान्वयन गर्दछ । बजेट ल्यटिन भाषाको बेग (Bauge) र फ्रेन्च भाषाको (Baugette)बाट आएको हो । फ्रेन्च भाषामा (Baugette) को अर्थ छालाको सानो थैलो भन्ने हुन्छ । सरकारी बजेटको सुरुवात सन् १७३३ मा बेलायतबाट भएको हो । नेपालमा वि.सं. २००८ माघ २१ गते सर्वप्रथम राष्ट्रिय बजेट तयार गरी प्रस्तुत गरिएको थियो ।नेपालमा सरकारी बजेटलाई व्यवस्थित गर्न संवैधानिक एवम् कानुनी व्यवस्था एवम् सम्बन्धित मन्त्रालयको जिम्मेवारी प्रस्ट गरिएको छ । बजेट कार्यान्वयनका लागि स्पष्ट कानुनी आधार र देशभरि संस्थागतसंयन्त्र निर्माण गरिएको छ र पनि नेपालको सरकारी बजेट प्रभावकारी भएको पाइँदैन । यसका लागि सरकारी बजेट सम्बन्धि छुट्टै ऐन निर्माण गरी बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने सबै सरकारी निकायबीच कार्यगत समन्वय कायम गर्नुपर्दछ । सरकारी बजेट संसद्मा पेश गर्नुपर्ने मिति कानुनमा नै व्यवस्था गरी सरकार परिवर्तनबाट बजेटमा पर्ने प्रभावकारी अन्त्य गर्नु पर्दछ ।