आचार्य भरतमुनि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


आचार्य भरतमुनि नाट्यशास्त्रका प्रणेता हुन्।[१] यिनको जन्मसमय सम्बन्धमा मतमतान्तर छ, यद्यपि यिनलाई इशापूर्व ५०० र ईशापूर्व १००को बीचमामानिन्छ। यिनी असाध्य प्रतिभाशाली थिए। यिनको 'नाट्यशास्त्र' पूर्वीय नाट्य र काव्यशास्त्रको आदिग्रन्थ हो। यसमा नाट्यशास्त्र, संगीत-शास्त्र, छंदशास्त्र, अलंकार, रस आदिको सांगोपांग प्रतिपादन गरिएको छ। 'नाट्यशास्त्र' आफ्नो विषयको आधारभूत ग्रन्थमानिन्छ। भरतमुनिद्वारा रचित नाट्यशास्त्रको पूर्णरूप अहिले उपलब्ध छैन, अहिले उपलब्ध हुने नाट्यशास्त्रमा क्षेपकहरू थपिएको विश्वास गरिन्छ।

पूर्वीय साहित्यशास्त्रका वर्तमान समयमा प्राप्त हुने वा उपलब्ध ग्रन्थका साक्ष्यका आधारमा साहित्यको यस परम्पराका प्रतिष्ठापक आदि आचार्य भरतमुनि नै हुन् भन्ने तथ्य निर्विवाद छ, यद्यपि उनको एउटामात्र ग्रन्थ ‘नाट्यशास्त्र’ उपलब्ध अवस्थामा छ। हुन त नाम सुन्दा यो ग्रन्थ नाट्य विषयक पो हो कि झैं लाग्दछ, तर यो विविध कलाको विश्वकोष नै हो भन्दा अत्युक्ति हुँदैन। आचार्य भरतमुनि स्वयं स्वीकार्दछन् -त्यस्तो ज्ञान, शिल्प, विद्या, कला, योग र कर्म छँदैछैन जुन यस नाट्यग्रन्थमा उल्लेख नभएको होस्। [२]

भरतमुनिको समयका विषयमा विद्वान्माझ प्रशस्त मतमतान्तर छ। कतिपयले त यिनलाई काल्पनिक व्यक्तित्व समेतमानेको देखिन्छ। तर विविध प्रमाणलाई नियाल्दा यिनी एकजना ऐतिहासिक पुरुष नै हुन् भन्ने आधार छन्। उनको उल्लेख मत्स्यपुराणमा समेत भएको छ, भनिन्छ- स्वर्गलोकमा लक्ष्मीस्वयंवर नाटिकाको मंचन आचार्य भरतमुनिको निर्देशनमा भएको थियो, जसमा प्रसिद्ध अप्सरा उर्वशीले लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् र अभिनयका क्रममा पुरुरवालाई देखेर उर्वशी उनीप्रति मोहित हुन पुगेकी थिइन्। उनको यस त्रुटिका कारण भरतमुनिले कुपित भई दुबैलाई श्राप दिएका थिए। महाकवि कालिदासले ‘विक्रमोर्वशीयम्’ नाटकमा यस घटनाको संकेत गर्दै आचार्य भरतमुनिको समुल्लेख गरेका छन्।[३]

यसबाहेक उद्भट, भट्टलोल्लट,श्रीशंकुक भट्टनायक, अभिनवगुप्त, कीर्तिधर, राहुल, भट्टयंत्र र हर्षवार्तिक जस्ता विशिष्ट आचार्यहरूले यिनको 'नाट्यशास्त्र' ग्रन्थको टीका पनि गरे। यी तथ्य देख्दादेख्दै ‘नाट्यशास्त्र’का प्रणेता भरतमुनि एकजना काल्पनिक व्यक्तित्व हुन् भन्नु विसङ्गतिपूर्ण हुन्छ। ऐतिहासिक दृष्टिगोचरका निमित्त आवश्यक तत्वहरू, जस्तै - व्यक्तिको जन्मसमय, पुर्ख्यौली पृष्ठभूमि, शिक्षादीक्षा आदिका विषयमा भने कुनै समाग्री उपलब्ध छैनन्। उपलब्ध फुटकर साक्ष्य र प्रमाणका आधारमा अनुमान गर्दै अधिकांश विद्वान भरतमुनिको जीवनकाल ईशापूर्व ५०० वर्षदेखि ईशाको प्रथम शताब्दीको बीचमा रहेको धारणामा सहमत छन्। यिनले रचना गरेको नाट्यशास्त्रमा ६००० श्लोक उपलब्ध छन्, यसै ग्रन्थलाई ‘षट्साहस्री संहिता’ पनि भनिन्छ। तर ‘द्वादशसाहस्त्री संहिता’ नामको उल्लेख पनि भरतमुनिकै 'नाट्यशास्त्र’का निमित्त हुने भएकाले यसमा प्रारम्भमा १२००० श्लोक भएको अनुमान गर्न सकिन्छ। आचार्य शारदातनयद्वारा रचित ‘भावप्रकाशन’ नामक ग्रन्थमा उल्लेख गरेका छन् ।[४]

यहाँ ‘नाट्यशास्त्र’ग्रन्थलाई ‘नाट्यवेद’ भनिएको छ। आचार्य शारदातनयले ‘द्वादशसाहस्री संहिता’का रचयिता वृद्ध भरत(नन्दीकेशर) लाई र ‘षट्साहस्री संहिता’ क रचयिता आचार्य भरतलाईमानेका छन्। नाट्यशास्त्रको हाल उपलब्ध संस्करण अर्थात् ‘षट्साहस्री संहिता’मा ३६ अध्याय छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. प्रस्तुत लेख नेपाल प्राध्यापक सङ्घ, पिण्डेश्वर विद्यापीठ एकाइको वार्षिक जरनल 'प्रज्ञाज्योति:'को २०६९, वैशाख अङ्कमा प्रकाशित उप-प्राध्यापक कृष्णप्रसादकोइराला लिखित रचना हो।
  2. न तज्ज्ञानं न तच्छिल्पं न सा विद्या न सा कला। नासौ योगो न तत्कर्म नाट्येडस्मिन यन्न दृश्यते।।
  3. मुनिना भरतेन यः प्रयोगो भवतीष्वष्टरसाश्रयः प्रयुक्तः। ललिताभिनयं तमद्य भर्ता मरुतां द्रष्टुमनाः सलोकपालः।।
  4. एवं द्वादशसाहस्त्रैः श्लोकैरेकं तदर्द्धतः। षड्भिः श्लोकसहस्त्रैर्यो नाट्यवेदस्य सग्रंहः।।