आमा (चलचित्र)
आमा | |
---|---|
![]() | |
निर्देशक | हिरासिंह खत्री |
लेखक |
|
कलाकार | |
उत्पादन कम्पनी | नेपाल सरकार सूचना तथा प्रसारण विभाग (तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशन) |
प्रदर्शन मिति | वि.सं. २०२१ साल असोज २२ गते |
देश | नेपाल |
भाषा | नेपाली |
आमा हिरासिंह खत्रीद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो । दुर्गा श्रेष्ठ र चैत्य देवीद्वारा लेखिएको यस चलचित्रलाई महेन्द्र वीर विक्रम शाहले तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनको रूपमा सार्वजनिक गरेका थिए । यस चलचित्रमा शिवशङ्कर मानन्धर तथा भुवन चन्दलाई प्रमुख भूमिकामा र वसुन्धरा भुसाल, हिरासिंह खत्री तथा हरिप्रसाद रिमाललाई सहायक भूमिकामा राखिएको छ । यो चलचित्रमा नेपाली सेनामा काम गरेपछि घर फर्केका युवाको कथा दर्शाइएको छ । राजा महेन्द्रको आग्रहमा हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रको अधिकतम भागको छायाङ्कन तथा उत्पादन पछिका कार्यहरू भारतको कोलकातामा गरिएको थियो । वि.सं. २०२१ साल असोज २२ गते सार्वजनिक गरिएको यस चलचित्रलाई नेपालमा नै निर्माण गरिएको प्रथम चलचित्रको रूपमा दर्ता गरिएको छ ।
कथा सारांश[सम्पादन गर्ने]
हर्कबहादुर एक जडैँया हुन् जो आफ्नी श्रीमतीसँग शारीरिक दुर्व्यवहार गर्छन् । कथा सुरु भएको समयको एक दिन पछि ऋण तिर्न नसकेको हुनाले हर्कबहादुरको बन्धकको रूपमा राखिएको घरलाई लिइने कुरा निस्कदा उनले आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गर्न छोड्ने वाचा गर्छन् । त्यही दिन, पछि तिर उनी मादक पदार्थको सेवन गरी घर फर्कन्छन् र आफ्नी श्रीमतीलाई कुट्न थाल्छन् तर चट्टानले लागेर उनको मृत्यु हुन्छ । उनको मृत्यु पछि उनका छोरा मानबहादुर (शिवशङ्कर) घर छोडी सेनामा भर्ती हुन्छन् ।
दुई वर्ष पछि विदेशी सेनामा काम गरेर मान घर फर्कन्छन् तर आफ्नी आमालाई देख्दैनन् । उनकी आमाको मृत्यु भएको ज्ञात भएपछि उनले नेपाल छोड्ने निर्णय गर्छन् तर उनका छिमेकीहरूले "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" भन्दै उनलाई आफ्नो समाजको सेवा गर्ने सल्लाह दिन्छन् । अन्ततः मानले छिमेकीहरूको सुझाव मानी देशको बढ्दो अर्थतन्त्रमा सक्दो योगदान दिने निर्णय लिन्छन् ।
कलाकार[सम्पादन गर्ने]
निर्माण[सम्पादन गर्ने]
महेन्द्र वीर विक्रम शाहको आग्रहमा भारतीय चलचित्रको क्षेत्रमा काम गरिरहेका प्रख्यात नेपाली चलचित्र निर्देशक हिरासिंह खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्धन गर्नका लागि आमा चलचित्रको निर्माण गरेका थिए ।[१] नेपाली चलचित्रको प्रारम्भिक कालमा देशमा नै चलचित्र निर्माण, छायाङ्कन, वितरण र प्रस्तुतीकरण गर्ने उपयुक्त पूर्वाधारको निर्माण भएको थिएन ।[२][३] त्यसबेला कुनै व्यवसायिक अभिनेता नभएका हुनाले निर्देशक खत्रीले गायक शिवशङ्कर र नाट्यशाला प्रदर्शनकर्ता भुवन चन्दलाई छानेका थिए ।[२] घरको यादमा डुबेका व्यक्तिको भूमिका निर्वाह गर्नका लागि खत्रीले शिवशङ्करलाई छानेका थिए ।[४] प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यस चलचित्रमा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन् ।[४] चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुवात गरेका थिए ।[५]
यस चलचित्रको छायाङ्कन ३ देखि ४ महिनाको समयावधिमा पूरा गरिएको थियो र निर्माण पछिका कार्यहरू भारतको कोलकातामा ६ महिनाको अवधिमा पूरा भएको थियो ।[४][६] चलचित्रका धेरैजसो दृश्यहरू एकै चोटी छायाङ्कन गरिएको थियो ।[७] भुवन चन्दलाई यस चलचित्रमा भूमिका निर्वाह गर्नका लागि रु. ५,००० ज्यालाको रूपमा दिइएको थियो ।[४] चन्दले काठमाडौँ क्रेजलाई भनेकी थिइन्, "चलचित्रका निर्देशकले छायाङ्कन गर्ने व्यक्तिलाई सोधेका थिए मलाई भाग दिने कि नदिने भनेर र उनले चाहिँ मेरो पक्षमा बोले । तसर्थ, मैले चलचित्रमा भूमिका निर्वाह गर्न पाउनुको श्रेय छायाङ्कनमा संलग्न देव र निर्देशक खत्रीलाई नै जान्छ ।"[४]
सार्वजनिकीकरण[सम्पादन गर्ने]
यस चलचित्रलाई वि.सं. २०२१ साल असोज २२ गते काठमाडौँ उपत्यकामा सार्वजनिक गरिएको थियो ।[१] फिल्म्स अफ नेपालकी सुनिताले लेखे अनुसार यो चलचित्र सार्वजनिक गरेपछि नै रातारात लोकप्रिय बन्यो ।[७] यो चलचित्रको सफलता पछि निर्देशक हिरासिंह खत्रीले नेपाली राष्ट्रवाद र देशभक्ति झल्काउने हिजो आज भोलि (वि.सं. २०२४) र परिवर्तन (वि.सं. २०२८) निर्माण गरे ।[८] नेपालमा नै निर्माण भएको प्रथम चलचित्रको रूपमा दर्ता गरिएको आमा नेपाली चलचित्रको इतिहासमा अत्यन्तै महत्त्वपूर्ण चलचित्र मानिन्छ ।[१][९][१०] चलचित्रको सार्वजनिकीकरण पछि त्यसमा संलग्न कलाकारहरू पनि प्रख्यात भए ।[११] काठमाडौँ फिल्म्समा प्रकाशित भए अनुसार "यो [आमा] नेपाली चलचित्रका लागि अत्यन्तै महत्त्वपूर्ण घटना हो ।"[६]
आलोचनात्मक प्रतिक्रिया[सम्पादन गर्ने]
बस नेपालमा छापिएको थियो, "यो चलचित्रको शीर्षक पनि सुहाउँदो खाले नै छ...आमाले हामीलाई के आशा राख्ने भनेर स्वतः बताउँछ र त्यो आशा पूरा गर्छ । यसको शीर्षक र चलचित्रको विषयवस्तुले एक अर्काको पूरकको रूपमा काम गर्छन् ।" समालोचकले आमा एक चोटी हेर्नैपर्छ पनि भने ।[१] मिग्युलका फिलिप क्रायन मार्शलले भनेका थिए, "आमा स्पष्ट रूपमा नै राष्ट्र निर्माण गर्ने साधन थियो । दौरा सुरुवाल र ढाका टोपी लगाएका पुरुष र सारी र चोलो लगाएकी महिलाका साथै विश्वव्यापी रूपमा राष्ट्रिय एकता झल्काउने प्रतीकको रूपमा प्रयोग गरिने आमाको पवित्र छविद्वारा राष्ट्रियवाद र देशभक्तिका विषयवस्तुलाई दर्शाउन खोजिएको थियो, जसमा यो सफल पनि भयो ।"[११]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ १.३ "Aama, first movie produced in Nepal" [आमा, नेपालमा निर्मित प्रथम चलचित्र], बस नेपाल (अमेरिकी अङ्ग्रेजीमा), मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते।
- ↑ २.० २.१ महर्जन, हर्षमान (वि.सं. २०२७), "Machinery of state control: History of cinema censor board in Nepal" [नेपाली चलचित्र सेन्सर बोर्डको इतिहास], बोधी (अङ्ग्रेजीमा) ४ (१): १६८–१९०, आइएसएसएन 2091-0479, डिओआई:10.3126/bodhi.v4i1.5818।
- ↑ कोर्डेकी, आन्या, "Kollywood: The Essential Films of Nepal" [कलिउड: महत्त्वपूर्ण नेपाली चलचित्रहरू], कल्चर ट्रिप, मूलबाट वि.सं. २०७६ साल कार्तिक २२ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल भाद्र ५ गते।
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ "For Every Mood and Every Move | First nepali actress: Bhuwan Chand" [सबैका लागि | प्रथम नेपाली चलचित्र: भुवन चन्द], काठमाडौँ क्रेज, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते।
- ↑ रातोपाटी, "Prominent Artist Rimal No More" [रहेनन् लोकप्रिय कलाकार हरिप्रसाद रिमाल], रातोपाटी (अङ्ग्रेजीमा), मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते।
- ↑ ६.० ६.१ "Development of Film City in Dolkha" [दोलखामा चलचित्र सहरको निर्माण], चलचित्र विकास बोर्ड, नेपाल, वि.सं. २०७६ साल वैशाख ४ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित।
- ↑ ७.० ७.१ "Nepali Film – Aama (1964)" [नेपाली चलचित्र - आमा (वि.सं. २०२१)], फिल्म्स अफ नेपाल (अमेरिकी अङ्ग्रेजीमा), वि.सं. २०६६ साल जेठ १२ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते।
- ↑ "Hira Singh Khatri, director" [हिरासिंह खत्री, निर्देशक], फिल्म्स अफ नेपाल (अमेरिकी अङ्ग्रेजीमा), वि.सं. २०७२ साल वैशाख ७ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ५ गते।
- ↑ "Filming in Nepal – The history of Nepal Filming Industry" [नेपाली चलचित्र - नेपाली चलचित्र उद्योगको इतिहास], काठमाडौँ फिल्म्स (अमेरिकी अङ्ग्रेजीमा), वि.सं. २०७४ साल मंसिर २१ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते।
- ↑ पौडेल, राहत, "Talking Nepali movies" [नेपाली चलचित्रका बारेमा], माइ रिपब्लिका (अङ्ग्रेजीमा), मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ५ गते।
- ↑ ११.० ११.१ "Migyul" [मिग्युल], फिलिप मार्शल डट नेट, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते।