किशोरदेह (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किशोरदेह नेपाली साहित्यकार दिपेश केसीद्वारा लिखित नेपाली भाषाको उपन्यास हो ।

मनमा कुण्ठाले स्थान जमाएको छ । यौनकुण्ठाको स्थान बढी । चाहना धेरै छ । सीमित अवसर । बाह्य शक्तिले अवसरलाई सीमित बनायो । अवरोधै अवरोधले कुण्ठालाई बढावा दियो । तन्नेरी उमेर बित्न लाग्दा पनि स्त्रीसँग यौनसुख मिलेन । चाहेर मात्र पूरा हुने रहेनछ । कुण्ठा उचाइमै पुगिसकेकाले समान उमेरका साथीहरूसँग खुलेर कुरा हुन्छ । हाम्रो समूहका अधिकाङ्श कुमारै छन् । कोही-कोही सम्भोगसुखको दाबी गर्छन् । पत्याउनै सकिरहेको छैन । न तिनले देखाएर गरेका छन् न प्रमाण नै ल्याउन सकेका छन् । एउटा साथी सधैँ गर्लफ्रेन्डलाई यसो गरेँ र उसो गरेँ भनेर हैरान गर्छ । हाम्रो मन जलेको जल्यै छ । भेटेपिच्छे डाहा गराउँछ । अति भएपछि एक दिन मैले चुनौतीका साथ भनेँ ‘हेर, तँ धेरै गफ नदे, अहिलेसम्म देखेको समेत छैनस् !’ ऊ उचालिइहाल्यो । भन्यो- ‘बोतलमा भरेर ल्याइदिऊँ ?’ मैले भने- ‘बोतलमा त म पनि भरेर ल्याउन सक्छु ।’ विवाद चल्यो । मैले उचाल्दै भनेँ- ‘गरेकै होस् भने देखाउन सक्छस् ?’ उसले भन्यो- ‘के देखाउनुपर्‍यो ?’ ‘मोबाइलमा क्यामरा छँदैछ, खिचेर लेरा’ न !’ चुनौती तेस्र्याएँ । सुरुमा अनकनायो । पछि जङ्गिँदै भन्यो- ‘लेराएँ भने के गर्छौ ?’ दम हाल्नै पर्‍यो- ‘एक हप्ताभित्र ल्याइस् भने म हजार दिन्छु, सकिनस् भने तैँले दिनुपर्छ ।’ उसले चुनौतीका साथ तीन दिनभित्र ल्याउँछु भन्यो । समूहका साथीहरूलाई रासलीलाको भिडियो हेर्ने उत्सुकता छ । हामीले नियमित भेटघाट गरिरहे पनि त्यो साथी हरायो । तीन दिनमा टुप्लुक्क देखापर्‍यो । फूर्तिफार्ती गरेर आयो । भन्यो- ‘लौ आओ, देखाउँछु !’ हामी पनि दङ्ग परेर जम्मा भयौँ । भिडियोमा केटीसँग चुम्बन गरेको र केही संवेदनशील अङ्ग छोएको दृश्य रहेछ । यो सबै बाजी परेरै खिचेको । मलाई कहाँ चित्त बुझ्थ्यो । भनिहालेँ- ‘यति त जो पनि ल्याउन सक्छ । सेक्स गरेको भन्थिस् त ! भनेको पूरा भएको छैन ।’ उसले भन्यो- ‘चाहियो भने सबै ल्याउन सक्छु !’ मलाई के चाहियो र ? थपिहालेँ- ‘गफ दिन्छस् !’ सनकी स्वभाव देखाइहाल्यो । फूर्तिसाथ भन्यो- ‘त्यो पनि ल्याउँछु, पर्खिराख ।’ अरू साथीहरू मुसुमुसु हाँसिरहेका थिए । मैले उचालेको तिनलाई थाहा छ । मैले भनेँ- ‘तैँले दृश्य ल्याउनचाहिँ सक्दैनस् ।’ जङ्गिँदै भन्यो- ‘तिमीहरू जस्तो नामर्द हो र म ! यस्ता मज्जा धेरै लिइसकेँ ।’ मैले भनेँ- ‘लौ हेरौ न त !’ हप्ता दुई हप्ता बित्दा पनि दृश्य ल्याउन सकेन । जहिले आउँदा पनि सोधखोज गर्छौं । धेरै सोधेकाले लाजै लागेर आउनै छाड्यो । दृश्य ल्याउला भन्ने पत्यार लागेन । गफ दिएको रहेछ । हामीलाई तड्पाउन यसो गरेँ र उसो गरेँ भन्दो हो । गफ हाम्रै सङ्गतबाटै जानेको हो । गफै दिने उमेर । काम कम, गफ धेरै । सपनाको महल बनाउने उमेर । सपनामा रुमल्लिनुको मज्जा पनि छ । जो-कसैले सक्दा पनि सक्दैन । महत्त्वाकाङ्क्षी बन्न सकिन्छ । यस्तो देह हत्तपत्त कहाँ पाइन्छ ! सधैँजसो भेट्ने जक्सनमा ऊ उचालिँदै आइपुग्यो । युद्ध जितेको सिपाही जस्तै बुरुक्क छ । उसको ताल हेर्दा केही ल्याए जस्तो लाग्यो । धेरै दिन हराएको मान्छे, आज अचानक हषिर्त मुद्रामा देखापर्‍यो । प्रश्न कसैले सोधिदेओस् जस्तो गरिरहेछ । एउटा साथीले सोधिहाल्यो- ‘यतिका दिन कता हराएको ?’ अर्कोले भन्यो- ‘खिचेर ल्याइस् त ?’ उसलाई के चाहियो । फूर्तिसाथ भन्यो- ‘गर्छु भनेपछि गर्छु गर्छु ।’ हामी दङ्ग पर्‍यौँ । साँच्चै ल्यायो कि क्या हो ! मैले भनेँ- ‘उसो भए देखा त ?’ उसले सबैलाई नजिक आउन भन्यो । मोबाइलमा खिचेको दृश्य स्पष्ट नभए पनि गर्लफ्रेन्डसँगको सम्भोग चिनिने गरी देखियो । दृश्यमा केटी असजिलो मानिरहेकी छे । घरि-घरि मुख छोप्छे । उसले निकै पापड पेलेर दृश्य खिचेको हुनुपर्छ । यो सबै उचालेकै भरमा भएको हो । उसले यौन सम्बन्ध राखिसकेको पुष्टि गर्न दृश्य पर्याप्त रह्यो । आन्तरिक जीवनको गोप्य पाटा भिडियो दृश्य बनी कैद भयो । त्यसले गरेको मोजमज्जा भिडियो दृश्यमा देखेपछि हामी झनै जल्न पुग्यौँ । अर्काको रिस गरेर मात्र भएन । डाहाले केही दिने पनि होइन । जवानी त्यसै खेर जाने भो । समूहका सबै १८ र १९ वर्ष उमेरमा छौँ । तन्नेरी उमेर कुमारमै सीमित रहेर जाने भो । एक दिन केटाहरूलाई भने- ‘यार, अरूहरू मोज गरिरहेछन्, हाम्रो जवानीचाहिँ त्यत्तिकै जाने भो !’ अर्कोले भन्यो- ‘अब के गर्ने त, टाउको फुटाउनुभएन !’ मैले भनेँ- ‘उपाय त लगाउनै पर्‍यो ।’ लगाउने उपाय पनि के छ र ! जे छ, हातैको भर छ ! कल्पनाबाहेक केही छैन । किशोर अवस्थाको अन्तिम बिन्दु पार गर्न लाग्दा आत्मग्लानि बढ्न थाल्यो । यो उमेरसम्म न कुनै गर्लफ्रेन्ड न कुनै यौन सम्बन्ध । यस्तो पनि जीवन हुन्छ ! अरूहरूले मोजमज्जा गरेको हेर्‍यो, डाहा गर्‍यो । कुण्ठाले उग्र रूप लिइसक्यो । उर्वर उमेरलाई त्यत्तिकै फाल्नुभएन बा ! साथीहरूसँग समेत सल्लाह गरेर केही चाँजोपाँजो मिलाऊँ भनेँ । मिलाउने पो कसरी ? घोत्लिएर सोचेपछि प्रस्ताव राखेँ- ‘केटा हो, वेश्यासँग भए पनि सम्पर्क गर्नुपर्छ । यत्रो किशोर अवस्थामा समेत सम्भोग नगरे जीवनको के अर्थ !’ केटाहरू उत्साही भए । तर वेश्या कहाँ भेटिन्छे ? आजसम्म सुनेको मात्र हो, ठाउँ ठ्याक्कै थाहा छैन । सुनेकै भरमा परेर हिँड्नु पनि भएन । लोकलाजदेखि प्रहरी धरपकडसम्मको हल्ला सुनिएकै छ । डान्सबारमा समेत धरपकड गर्ने पुलिसले यौनधन्दालाई तारो बनाएको समाचार पढिएकै छ । कि खतरा मोलेरै जानुपर्‍यो । केटाहरू खतरा मोल्ने तर किशोर अवस्थालाई त्यत्तिकै खेर जान नदिन राजी भए । समयमा मज्जा नगरे कहिले गर्ने ? योजनाअनुसार पैसाको चाँजोपाँजो मिलाएर बिदाको दिन मध्य सहरमा छिर्‍यौँ । चार जनाको समूह ठूलै युद्धमा जान आँटेजसरी हिँडिरहेछौँ । मचाहिँ सडकको दायाँ-बायाँ हिँड्ने युवतीतिर ध्यान दिँदै वेश्या चिन्ने उपाय सिक्दैछु ।