क्लाउड स्टोरेज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

क्लाउड सम्बन्धि प्रविधि हरु आधारभूत रुपमा इन्टरनेट संरचनामा आधारित छन् । इन्टरनेट संजालको विकासको शुरुवात देखि नै नेटवर्क र सो सम्बन्धि सेवाहरुको चित्रांकन गर्दा इन्टरनेट को समग्र नेटवर्क लाई बादल (क्लाउड) को रुपमा प्रस्तुत गर्ने चलन बस्यो । इन्टरनेट को विश्यव्यापी नेटवर्क को कुनै निश्चित स्वरूप, आकार, संख्या आदि निर्क्योल गर्न नसकिने भएर पनि उक्त संजाल लाई सोहि भाव प्रस्तुत गर्ने बादलको रुपले चित्रित गरिएको हुन सक्छ । सोहि इन्टरनेट संजाल लाइ नै पूर्वाधार को रुपमा प्रयोग गरी संचालन हुने सेवा सुबिधा हरु तथा कम्पुटरिक्रित सूचना तथा तथ्यांक ब्यबस्थापन गर्ने प्रविधि लाई क्लाउड कम्प्युटिंग ले प्रतिनिधित्व गर्छ | पारम्परिक रुपमा कम्प्युटिंग सेवा अन्तर्गत एउटा निश्चित क्षमता भएको ठोस कम्प्युटर यन्त्र लाइ ल्याएर सो भित्र आफ्ना सूचना तथा प्रोग्राम हरु राखी काम गर्ने गरिन्थ्यो । सो अन्तर्गत सम्पूर्ण प्रोग्राम तथा जानकारी हरु सोहि निश्चित कम्प्युटर भित्र मात्र हुने र अन्यत्र जनुपरेमा उक्त कम्प्युटर नै लानुपर्ने वा डाटा मात्र कुनै सानो स्टोरेज मा बोकेर जानुपर्ने हुन्थ्यो । यसका अतिरिक्त कुनै ठूलो खालको डाटा वा तथ्यांक प्रशोधन गर्नु परेमा सो को लागि उच्च क्षमताको कम्प्युटर व्यवस्था गर्नु पर्ने हुन्थ्यो जुन जो-कोहीको लागि सजिलै सम्भव हुँदैन । यस्तो परिस्थितिको समाधान स्वरूप क्लाउड प्रविधिको क्रमिक विकास भयो जसमा डाटा वा प्रोग्राम वा ती दुवैलाई स्थानीय कम्प्युटरमा नराखी इन्टरनेटमा कुनै ठूलो सर्भर मा राखेर नेटवर्क मार्फत साना कम्प्युटर हरुले उक्त डाटा तथा प्रोग्रामहरु प्राप्त गरी काम गर्ने गरिन्छ | यसवाट उक्त डाटा तथा प्रोग्राम हरु इन्टरनेट मार्फत जहाँ सुकै बाट प्राप्त गर्न सकिने र कुनै एउटा व्यक्तिगत कम्प्युटर मा भर पर्नु नपर्ने हुन्छ । साथै यस्तो प्रविधिले ठूलो र जटिल खालको डाटा प्रशोधन कार्यको लागि हरेकले बढी क्षमताको संरचना खडा गर्न पैसा र समय खर्च गर्नु पर्दैन । क्लाउड सेवा प्रदान गर्ने ठूला सेवा प्रदायक हरुले भाडामा निश्चित क्षमता प्रदान गर्न सक्छन र काम सकिए पछो सो पूर्वाधार अरुको लागि पुन-परिचालीत गर्न सक्छन । क्लाउड कम्प्युटिंग अन्तर्गत यस्ता क्लाउड सेवा प्रदायक हरुले विभिन्न प्रारुपमा सेवा प्रदान गर्न सक्छन:

  1. ग्राहक हरुलाई प्रोग्राम र डाटा केहि नभएको खालि कम्प्युटर क्षमता मात्र प्रदान गर्ने वा उनीहरुको कम्प्युटर राख्नलाई विद्युत, वातानुकुलन आदि सुबिधा भएको स्थान उपलब्ध गराउने । यस्तो प्रारुपको सेवा लाई सेवाको रुपमा संरचना (इन्फ्रास्त्रक्चार एज अ सर्विस) पनि भनिन्छ ।
  2. ग्राहक हरुलाई प्रोग्राम र आधारभूत डाटा सहित उपलब्ध गराउने जसमा उनीहरुले आफ्नो निश्चित प्रोग्राम राख्ने तथा आफ्नो डाटा प्रेषित गरी प्रशोधन गर्न सक्छन । यसलाई प्लेटफर्म एज अ सर्विस भनिन्छ ।
  3. प्रोग्राम हरु केहि राख्नु नपर्ने र ग्राहकले आफ्नो निश्चित डाटा प्रेषित गरी नेटवर्क मार्फत सो को प्रशोधित नतिजा मात्र प्राप्त गर्ने । यस्तो लाई सफ्टवेर एज अ सर्विस भनिन्छ । यस्तोमा ग्राहक लाइ उसको लागि परिचालित गरिएको कम्प्युटर संरचनाको हार्डवेर र सफ्टवेर को वारेमा केहि जानकारी हुनु आवश्यक हुदैन ।
  4. यसको अलावा केहि ग्राहक हरुले नेटवर्क मार्फत आफ्ना विभिन्न कार्यालय हरुलाई जोड्ने, सो मा निश्चित क्षमताको लिंक हरु राखी गुणस्तर तथा सम्पर्क कायम गर्ने जस्ता नेटवर्क संरचना बनाउने सेवा पनि लिन सक्छन । यस्तो प्रारूप लाइ नेटवर्क एज अ सर्विस भनिछ ।

हाल बजारमा प्रचलित क्लाउड सेवा हरुमा अमेजन को इन्टरप्राइज कम्प्युटिंग, माइक्रोसफ्ट को एज्युर आदि पर्दछन । उनीहरुले विश्वका बिभिन्न स्थान हरुमा ठूला ठूला डाटा सेन्टर हरु खडा गरी यस्तो सेवाहरु दिइरहेका छन् । इन्टरनेट तथा दूरसंचार सेवाप्रदायक हरुको लागि पनि यो प्रविधि एक नया राजश्व कमाउने अवशरको रुपमा विकास भैरहेको छ ।

क्लाउड स्टोरेज सेवा क्लाउड कम्प्युटिंग प्रविधि अन्तर्गत प्राप्त हुने बिबिध सेवा मध्ये पर्छ । नामले नै जनाउँछ कि यसमा डाटा भण्डारण सम्बन्धि सेवा प्रदान गरिन्छ । हाल धेरै चल्ने ड्रप बक्स, गूगल ड्राइव आदि जस्ता सेवा यसै अन्तर्गत पर्छन जसमा कुनै व्यक्ति वा निकायको डाटा हरु स्थानीय कम्प्युटर मा राख्नु सट्टा इन्टरनेट मार्फत यस्ता भर्चुअल भण्डारण एकाइ मा राख्ने गरिन्छ । यसबाट सो डाटा मा इन्टरनेट मार्फत जहाँ बाट पनि पहुँच प्राप्त हुन्छ । तर यस्तो सेवा प्रयोग गर्नु अघि आफ्नो डाटा को किसिम, हराएमा वा चोरी भएमा पर्ने असर आदि को पूर्वमुल्यांकन गर्नु उचित हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]