सामग्रीमा जानुहोस्

क्लोनिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्लोनिङ कुनै जीवको पूर्ण प्रतिरूप तयार पार्ने अयौनिक प्रजनन प्रक्रिया हो। आनुवंशिक तत्व एकैनासको हुने भएकाले प्रतिरूप बनाउन प्रयोग हुने मानव र तिनको प्रतिरूपको अनुहार र व्यवहारमा ठूलो समानता पाइने वैज्ञानिकहरू विश्वास गर्छन्।

पहिलो स्तनधारी जीव भेडाको क्लोनिङ प्रक्रिया

मानिसले हजारौँ वर्षदेखि वनस्पतिको क्लोनिङ सफलतापूर्वक गर्दै आएको भए पनि प्राणीको क्लोनिङ गर्ने कार्य त्यति सजिलो थिएन। प्रयोगशालामा प्राणीको क्लोनिङ गर्ने प्रयास सन् १८८०को दशकमा पहिलोपल्ट सुरु भएको थियो। जर्मन प्राणीशास्त्री हान्स ड्राइस पहिलोपल्ट एक प्रकारको समुद्री जीव (सी अर्चिन)को विकसित हुँदै गरेको भू्रणका दुई कोषलाई छुट्ट्याएर प्रत्येक कोषलाई पूर्ण जीवमा विकसित गर्न सफल भएका थिए। अर्का जर्मन प्राणीशास्त्री हान्स स्पेमानले सन् १९०२मा यही प्रक्रिया माउसुलीमा दोहर्‍याएर देखाएका थिए।

सन् १९५२मा रबर्ट ब्रिग्स र थोमस किंगले भ्यागुताको एक प्रजातिको सफल क्लोनिङ गरेका थिए। जोन गर्डनले सन् १९६२मा भ्यागुतोको आन्द्राको पूर्ण विकसित कोष प्रयोग गरी सफल क्लोनिङ गरेका थिए। कुनै प्राणीको पूर्ण विकसित कोषबाट पूर्ण जीवको विकास गरिएको यो पहिलो उदाहरण थियो। सन् १९६३मा चिनियाँ भ्रूणशास्त्री तोङ डिझुले भालेको कोषभित्रको डीएनए पोथीको डिम्बभित्र प्रत्यारोपण गरेर पहिलोपल्ट एक प्रकारको माछाको क्लोनिङ गरेका थिए। यी खोज नतिजाले प्राणीको प्रत्येक कोषमा सोही जीवको पुनर्विकास गर्न आवश्यक सम्पूर्ण आनुवंशिक सूचना (जेनेटिक इन्फरमेसन) पाइन्छ भन्ने यथार्थ प्रमाणित गरेका थिए।

माथि उल्लेख गरिएअनुसार जीव वैज्ञानिकहरू कतिपय कम विकसित प्राणीको प्रतिरूप (क्लोन) तयार पार्न सफल भए पनि उच्च विकसित प्राणी विशेषतः स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न धेरै वर्षसम्म असफल रहे। सन् १९९६ जुलाई ५मा मात्र स्कटल्यान्डका आएन विल्मट र उनका सहकर्मी वैज्ञानिकहरू क्लोनिङ प्रविधिमार्फत् एक स्तनधारी प्राणीको प्रतिरूप निर्माण गर्न सफल भएका थिए। उनीहरूले वयस्क भेडीको थुनबाट सङ्कलन गरिएको पूर्ण विकसित कोषबाट नयाँ भेडीको पूर्ण प्रतिरूप तयार पारेका थिए। प्रसिद्ध अमेरिकी गायिका डली पार्टनको नामबाट 'डली' नामाकरण गरिएको उक्त भेडीलाई सन् १९९७को फेब्रुअरी महिनामा सार्वजनिक गरिएको थियो। यस प्रविधिको प्रयोगद्वारा मानिसको समेत प्रतिरूप तयार पार्नसक्ने प्रबल सम्भावना देखिएकाले विल्मट र उनका सहकर्मीको उक्त अनुसन्धानले त्यतिबेला विश्वमा ठूलै हलचल मच्चाएको थियो र डली विश्वप्रख्यात भएको थियो। विल्मट र उनका सहकर्मीले विकास गरेको क्लोनिङ प्रविधिको प्रयोग गरी वैज्ञानिकहरू अहिलेसम्म बिरालो, मुसा, कुकुर, गाई, भैँसी, उँट, घोडा तथा मानिसको सबैभन्दा नजीकको आनुवंशिक नाता भएको प्राणी मानिने 'रेसस' जातको बाँदरजस्ता धेरै प्रकारका स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न सफल भइसकेका छन्। स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न प्रयोग गरिने प्रचलित क्लोनिङ विधिलाई 'सोमेटिक सेल न्युक्लियर ट्रान्स्फर' वा छोटकरीमा 'न्युक्लियर ट्रान्स्फर' भनिन्छ। हरेक कोषभित्र पाइने 'न्युक्लियस' नामको केन्द्रीय संरचनामा त्यस जीवको आनुवंशिक तत्व रहेको हुन्छ। स्तनधारी प्राणीको क्लोनिङ प्रक्रियामा वैज्ञानिक भाषामा 'सोमेटिक सेल' भनिने विकसित कोषको 'न्युक्लियस'लाई अर्को कोषभित्र प्रवेश गराउने भएकाले यस विधिलाई 'सोमेटिक सेल न्युक्लियर ट्रान्स्फर' वा 'न्युक्लियर ट्रान्स्फर' भनिएको हो।

सामन्यतया यस प्रक्रियाका लागि जुन प्राणीको प्रतिरूप तयार पार्नु छ त्यही प्राणीबाट सङ्कलन गरिएको पूर्ण विकसित कोष र सोही प्रजातिको पोथीबाट सङ्कलन गरिएको डिम्ब कोषको प्रयोग गरिन्छ। क्लोनिङ प्रक्रियामा वैज्ञानिकले सर्वप्रथम डिम्ब कोषबाट न्युक्लियसलाई निकाल्छ र फ्याँक्छ। त्यसपछि क्लोनिङ गरिने प्राणीबाट प्राप्त विकसित कोषलाई न्युक्लियसविहीन डिम्बमा प्रवेश गराइन्छ। विद्युतीय झट्काको प्रयोग गरेर कोष र डिम्बलाई समायोजन गरिन्छ। समायोजन पछि डिम्बले क्लोनिङ गरिने प्राणीको आनुवंशिक तत्व बोकेको हुन्छ। समायोजन प्रक्रिया सफल भएपछि डिम्बलाई विशेष रासायनिक मिश्रण भएको टेस्टट्युबमा राखिन्छ। डिम्ब कोषको विभाजनबाट केही दिनमा बहुकोषीय भ्रूण विकसित हुन्छ। यस्ता भ्रूण केही निश्चित समयावधिसम्म मात्र टेस्टट्युबमा बाँच्न सक्छन्। त्यसैले करिब एक सातापछि उक्त भ्रूणलाई सोही प्रजातीको प्राणीको एक पोथीको गर्भाशयमा प्रत्यारोपण गरिन्छ। यसरी भू्रण प्राप्त गर्ने पोथीलाई 'निमित्त आमा' अर्थात 'सर्रोगेट मदर' भनिन्छ। 'निमित्त आमा'को गर्भाशयमा भू्रण क्रमशः विकसित हुन्छ र गर्भको समय पुरा भएपछि नयाँ शिशु पैदा हुन्छ। विल्मट र उनका सहकर्मी वैज्ञानिकले विकास गरेको यस क्लोनिङ विधिबाट मानवको प्रतिरूप पनि तयार पार्न सकिनेमा वैज्ञानिकहरू विश्वस्त छन्।

आनुवंशिक तत्व अर्थात डीएनए अति स्थिर जैविक अणु मानिन्छ। कैयौँ वर्षअघि मृत्यु भएको जीवको कोषबाट सङ्कलन गरिएको डीएनएलाई पुनः क्रियाशील बनाउन वैज्ञानिकहरू सफल भएका छन्। उदाहरणका लागि सन् २०००मा मरेका एक प्रकारको जंगली बोकाको कोषबाट सन् २००९मा वैज्ञानिकहरू कलोनिङ प्रविधिमार्फत् त्यसको प्रतिरूप तयार पार्न सफल भएका थिए। तर यसरी तयार पारिएको प्रतिरूप सात मिनेटमात्र जीवित रहेको थियो। तथापि, मृत स्तनधारी प्राणीको कोषबाट धेरै वर्षपछि पनि त्यसको प्रतिरूप तयार पार्न सम्भव छ भन्ने आधारभूत तथ्य यस प्रयोगबाट प्रमाणित भएको थियो। अर्थात्, सिद्धान्ततः क्लोनिङ प्रविधि प्रयोग गरी जीवित मानिसको मात्र नभएर कुनै पनि मृत व्यक्तिको कोषबाट समेत प्रतिरूप तयार पार्न सकिने देखिन्छ।

विगतमा विश्वका विभिन्न मुलुकमा वैज्ञानिकद्वारा मानव प्रतिरूप निर्माण गर्ने कैयौँ प्रयास भएको अपुष्ट समाचार आए पनि आजसम्म कुनै मानव क्लोनिङ सफलतापूर्वक सम्पन्न गरिएको अकाट्य प्रमाण भेटिएको छैन। सन् १९९७मा व्यावसायिकरूपमा मानव क्लोनिङ गर्ने उद्देश्यका साथ स्थापना गरिएको अमेरिकी कम्पनी 'क्लोन एड'ले सन् २००२मा सफलतापूर्वक मानव क्लोनिङ गरेको दाबी गर्दै पहिलो मानव प्रतिरूप भनिएकी बालिका शिशु 'इभ'को तस्बिर सार्वजनिक गरेको थियो। त्यस कम्पनीले त्यसपछि पनि थप मानव प्रतिरूप तयार पारेको दाबी गरेका थियो। तर कम्पनीले पहिलो मानव प्रतिरूप भनी दाबी गरिएकी शिशु र उनकी आमाको डीएनए परीक्षण गर्न / गराउन अस्वीकार गरेकाले त्यसको दाबी विश्वसनीय हुनसकेन।

सन् २००४मा अमेरिकी स्त्रीरोग विशेषज्ञ डा. पानीयोटिस जाभोसले लन्डनको एउटा प्रेस सम्मेलनमा दिएको जानकारीअनुसार उनले क्लोनिङ प्रविधिमार्फत तयार पारेको भू्रण एक ३५ वर्र्षीय महिलाको गर्भाशयमा प्रत्यारोपण गरेका थिए। तर महिलाले गर्भधारण गर्न सकिनन्। यसैगरी सन् २००४ र २००५मा दक्षिण कोरियाका वैज्ञानिक ह्वाङ वु सुकले क्लोनिङ प्रविधिमार्फत मानव भ्रूण तयार पारेको दाबी गरेका थिए। उनको खोज नतिजा विश्वप्रसिद्ध जर्नल 'साइन्स'मा प्रकाशित भएको थियो। त्यतिबेला उनी वैज्ञानिक समुदायमा निकै चर्चामा आएका थिए। तर पछि उनको खोज नतिजा झुटो साबित भएको थियो र उनलाई उनी कार्यरत विश्वविद्यालयले निष्काशन गरेको थियो। यसरी विगतमा विभिन्न प्रयास भएको दाबी गरिए पनि आजसम्म मानव क्लोनिङ सफल भएको प्रमाण भेटिएको छैन।

आजसम्म मानव क्लोनिङ सफल नहुनुको एउटा प्रमुख कारण सायद क्लोनिङ विधिको प्राविधिक जटिलता पनि हो। स्तनधारी प्राणीको क्लोनिङ प्रविधि सरल देखिए पनि वास्तवमा उक्त प्रक्रियाको हरेक तह निकै जटिल छन्। त्यसैले क्लोनिङ प्रविधिको सफलता दर निकै कम छ। उदाहरणका लागि २ सय ७७ पटकको प्रयासपछि मात्र भेडी डलीको सफल क्लोनिङ भएको थियो। यस प्रकारको अति उच्च दरको असफलता अन्य प्राणीको प्रयोगमा स्वीकार्य होला तर मानव प्रयोगमा सजिलै हुने देखिँदैन।

  • [१]-मानव क्लोनिङ: दयानन्द बज्राचार्य (THURSDAY, १२ APRIL २०१२)