सामग्रीमा जानुहोस्

खरायो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खरायो
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
अधिसङ्घ:
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
Leporidae
in part
Genera


खरायो स्तनधारी चारखुट्टे जनावर हो। ढाडमा हाडहुने जनावरहरूको Leporidae परिवारको Lagomorpha वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ। खरायो विशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठाँऊमा पालिने गरिन्छ। केही ठाँऊमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ। Leporidae परिवारका युरोपियन खरायो (Oryctolagus cuniculus),Sylvilagus वर्गमा पर्ने cottontail rabbits का १३ प्रजातिहरू र जापानको Amami Ōshimaमा पाइने लोपोन्मुख अमामी खरायो (Pentalagus furnessi) लगायतका सात प्रजातिहरू खरायोको रूपमा चिनिन्छन्। यसका अलावा खरायोका अन्य प्रजातिहरू पनि छन्, जङ्गली खरायोका केही प्रजातिहरू र उत्तर अमेरिकी पहाडहरू तथा पूर्वी युरोप र एसियामा पाइने Pikasहरू पनि Lagomorpha वर्गमा नै पर्छन्। खरायोको भालेलाई अङ्ग्रेजीमा बक, पोथीलाई डो र बच्चालाई किट भनिन्छ।

खरायो बस्ने दुलोको प्रवेशद्वार

खरायोहरू घाँसेमैदान, जङ्गल, झाडी, मरुभुमी तथा समथर भूभागहरूमा जताततै पाइन्छन्। यीनीहरू समुहमा बस्ने गर्दछन्, यो जनावरको प्रख्यात प्रजाति मध्ये एक युरोपियन खरायो जमीनमुनि दुलो बनाएर बस्छ। यस्ता खरायोका दुलाहरूको समुहलाई अङ्ग्रेजीमा वारेन भनिन्छ। विश्वभर पाइने खरायोहरू मध्ये करिब आधा भन्दाबढी खरायोहरू उत्तर अमेरिकामा बसोवास गर्दछन्। यसका अलावा यीनीहरू दक्षिणपूर्वी युरोप, दक्षिणपूर्वी एसिया, सुमात्रा, जापानका केही टापूहरू तथा अफ्रिका र दक्षिण अमेरिकाका केही भूभागहरूमा समेत यीनीहरूको उपस्थिति रहेको छ। हाल युरेशीयाका प्राय भूभागहरूमा केही जङ्गली खरायोहरू पाइए पनि यीनीहरू यो क्षेत्रका रैथाने जनावरहरू हैनन्। त्यस्तै दक्षिण अमेरिकामा पनि आधुनिककालको सुरुवात पश्चात भएको अमेरिकी महादेशबीचको आदान प्रदानसंगै खरायोहरू प्रवेशगरेका थिए। यस महादेशभरि प्रायजसो Tapeti भनिने ब्राजिलियन खरायो मात्र पाइएपनि दक्षिण अमेरिकाको दक्षिणी भागमा कुनै पनि प्रजातिहरू प्राकृतिक अवस्थामा पाइदैनन्। खरायोहरू मध्ये युरोपियन खरायोहरू विश्वभर छरिएर रहेका छन्।

शारीरिक विषेशता तथा बनावट

[सम्पादन गर्नुहोस्]

खरायोहरूको लामा कानहरू शिकारी जनावरहरूबाट हुनसक्ने आक्रमणको पहिचानकालागि अनुकुलित भएका हुन्। यीनीहरूका कानहरू १० सेन्टिमिटर (४ इन्च) भन्दा लामा हुनसक्छन्। खरायोका पछाडिका खुट्टाहरू ठूला र शक्तिशाली हुन्छन्। खरायोका अगाडिका खुट्टाहरूमा पाँच/पाँचवटा औंलाहरू हुन्छन्, यसका अतिरिक्त प्रत्येकखुट्टाहरूमा एउटा नक्कली औंला निश्कृयरूपमा रहेको हुन्छ। तर पछाडिका खुट्टाहरूमा चारवटामात्र औंलाहरू हुन्छन्। खरायोहरू खुट्टाको टुप्पाले टेकेर हिडडुलगर्ने हुनाले यिनीहरूलाई पादाग्रचारी जनावर (Digitigrade animals) भनिन्छ। खरायोको शरीर पूर्ण अण्डाकार हुन्छ। जङ्गली खरायोहरू पनि आकार तथा शारीरिक बनावटमा साधारण खरायोहरू भन्दा खासै फरक हुदैनन्। यीनीहरूको शरीर २० सेन्टिमिटर (८ इन्च) देखि ५० सेन्टिमिटर (२० इन्च) सम्म लामो र तौल ०.४ किलोग्राम देखि २ किलोग्रामसम्म हुनेगर्दछ। साधारणतया खरायोको भुत्ला लामो र नरम खालको हुन्छ, जसको रङ्ग कैलो, फुस्रो, सेतो तथा खैरो हुनेगर्दछ। यीनीहरूको पुच्छार सानो कल्की जस्तो आकार भएको खैरो तथा टुप्पामा हल्का सेतो रङ्ग भएको हुन्छ।

आहारा निल्नेबेला बाहेक अरुबेला खरायोको epiglottis च्यापुमा टाँसिएको हुने हुनाले यसले बाध्यात्मकरूपमा सधैं नाकबाट सास फेर्ने गर्दछ। यसको दुईजोडा काट्ने दाँत एक पछि अर्को मिलेर बसेको हुन्छ। यीनै दाँतका कारण नै खरायोलाई रोडेन्ट भन्दा अलग समुहमा वर्गिकरण गरिएको हो।

खरायोहरूको पाचन प्रक्रिया ठूलो आन्द्रा र cecumमा सम्पन्न हुने भएकोले यीनीहरूलाई hindgut digesters पनि भनिन्छ। खरायोहरूको cecum यीनीहरूको आमाशय भन्दा १० गुणा ठूलो हुन्छ, cecum र ठूलो आन्द्राले संयूक्तरूपमा पाचन नलीको लगभग ४०% भाग ओगटेका हुन्छन्। यीनीहरूको cecumको मांशपेशीमा भएको अभुतपूर्व क्षमताका कारण पाचन नलीमा भएको खानेकुरामा भएका रेशादार तत्वहरू छुट्याउनेकाम सजिलै सम्पन्न हुन्छ। यसरी छुट्टिएका रेशादार तत्वहरू मलकोरूपमा बाहिरिन्छन् भने बाँकीरहेका पोषकतत्वहरू एक प्रकारको झिल्लीमा बेरिएर cecotropeको रूपमा बाहिर निस्कन्छ जसलाई "night feces" पनि भनिन्छ। Cecotropeमा अत्याधिक मात्रामा खनिज पदार्थ, भिटामिन र प्रोटिन पाइने हुनाले यो खरायोहरूको स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। खरायोहरूले Cecotrope खाएर आफ्नो शरीरको लागि आवश्यक पर्ने पोषकतत्वको परिपुर्ति गर्ने गर्दछन्। Cecotropeलाई ढाकेर रहेको झिल्लीले पोषक तत्वहरूलाई अम्लयूक्त आमाशयबाट आन्द्रामा पुग्नलाई सहयोग पुर्‍याउँछ। यो प्रक्रियाले खरायोहरूलाई आफ्नो आहारबाट पोषकतत्वहरू छुट्याउन सहयोग पुर्‍याउँछ। खरायोहरू प्रायजसो सबै मांशहारी जनावरको शिकार भएको हुनाले यीनीहरू सधैंभरि आफ्नो वरपरको स्थितिको बारेमा चनाखो भएर बस्छन्। यदि कुनै खतराको बारेमा सूचना पायोभने खरायोले जमीनमा खुट्टा ठोकेर आफ्नो समुहमा जानकारी दिनेगर्दछन्। खरायोहरूको दृष्य क्षमता फराकिलो हुन्छ। यीनीहरू झुक्याउने खालका दुलाहरू बनाएर, बाङ्गोटिङ्गो बाटोमा उफ्रिंदै कुदेर तथा यदि पक्राउ परिहाले पनि पछाडिको खुट्टाले जोडले हानेर आफ्नो बचाउ गर्ने गर्दछन्। खरायोहरूका बलिया र धारिला दाँतहरूले खानेकुरा काट्न र शत्रुहरूबाट फुत्किन मद्दत गर्दछ।

खरायोका बच्चाहरूको एक समुह

खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावरहरू हुन्। प्राय सबै खरायोहरूको प्रजनन अवधि पौष देखि भाद्रसम्म करिब नौ महिनाको हुन्छ। तर अस्ट्रेलिया तथा न्युजिल्याण्डमा भने खरायोहरूको प्रजनन अवधि जुलाईको अन्त्यमा सुरु भएर जनावरी महिनासम्मको हुने गर्दछ। यीनीहरूको गर्भधारण अवधि करिब ३० दिनको हुन्छ। खरायोको बच्चाको सङ्ख्या औशतरूपमा ४ देखि १२ ओटा सम्मको हुनेगर्दछ, यो सङ्ख्या ठूलो नस्लमा ठूलो नै हुन्छ। खरायोको बच्चा ४ देखि ५ हप्ताको भएपछि यसलाई आमाको दुध छुटाउन सकिन्छ। यसको अर्थ एक मौशममा एउटा पोथी खरायोले करिब ८०० बच्चा जन्माउने क्षमता राख्छ, त्यस्तै एकै मौशममा नै खरायोको तेस्रो पुस्ताको समेत जन्महुने गर्दछ। पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ। यीनीहरूको संभोग अवधि मात्र ३० देखि ४० सेकेन्डको हुन्छ। सम्भोगको बेलामा यीनीहरू सुँघ्ने, चाट्ने र पोथी खरायोलाई पछ्याउने गर्दछन्। भाले खरायोहरूले पिशाब छर्केर पनि आफ्नो यौन चाहाना व्यक्त गर्दछन्। गर्भधारणको समयमा केही खरायोका पोथीहरूको शरीरको भुत्ला झर्ने गर्दछ। सम्भोगको करिब १० घण्टापछि पोथी खरायोमा अण्ड उत्पादन प्रक्रिया सुरुहुन्छ। यसपछि पोथी खरायो प्रजननको लागि गुँड बनाउन लाग्छ। गुँड बनाउने बेलामा पोथी खरायोले आफ्नो शरीरको विभिन्न भागको भुत्ला प्रयोगगर्छ। पोथी खरायोको यो व्यबहारले यसको दुधको मुन्टा खुला गरेर बच्चाको हेरविचारको लागि सक्षम बनाउँछ। खरायोको बच्चा जन्मिँदा आँखा बन्द अवस्थामा हुन्छ, त्यस्तै यिनीहरूको शरीरमा भुत्ला पनि हुँदैन।

खरायोका बच्चाहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]