गर्भपतन
| गर्भपतन | |
|---|---|
| विभाग: | प्रसवशास्त्र |

गर्भपतन (अङ्ग्रेजीः Abortion) भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निस्कने प्रकृयालाई बुझिन्छ। जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ। उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ। विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ता अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ। सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो। असुरक्षित गर्भपतन रोक्नु हाम्रो दाहित्व हो। नेपालमा सुरक्षित गर्भपतन सेवा प्रकृया २०६०ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मान्यता दिएको छ। उता जब्जस्ति करणि र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यबस्था छ। लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा वढिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ।
कारणहरू
[सम्पादन गर्नुहोस्]- वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ।
- पाठेघरको विकृति भएमा पनि गर्भपतन हुनसक्छ। जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि।
- पाठेघरको संक्रमण हुनु। जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ।
- कुनै कुनै महिलामा केही पुरुषको विर्य ग्रहण नगर्ने समस्या हुन्छ। प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रुण बाहिर फ्यालिदिन्छ।
- हर्मोनको गडबडी हुनु। जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढङ्गले हर्मनो निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ।
- इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ।
- गर्भवति अवस्थामा गह्रौ भारी उचाल्नु।
तरिकाहरु
[सम्पादन गर्नुहोस्]सुरक्षित गर्भपतन
[सम्पादन गर्नुहोस्]१९९४ को अन्तर्राष्ट्रिय जनसंख्या र विकास सम्मेलन (ICPD) ले सार्वजनिक स्वास्थ्य सुनिश्चित गर्न सुरक्षित गर्भपतन सेवामा पहुँच हुनु अनिवार्य भएको ठानेको थियो। असुरक्षित गर्भपतनका कारण हुने मृत्युदर १९९० मा ६९,००० बाट घटेर २००८ मा ४७,००० पुगेको थियो, किनभने "म्यानुअल भ्याकुम एस्पिरेशन" र औषधिमूलक गर्भपतनजस्ता सुरक्षित र प्रभावकारी गर्भपतन विधिहरू व्यापक रूपमा उपलब्ध भएका थिए; साथै थुप्रै देशहरूमा त्यस पश्चात् गर्भपतनमा थप उदार नीति/प्रवृत्तिहरू अपनाइएका पाइन्छन्।[१] सुरक्षित गर्भपतन सेवाको पहुँच महिलासम्म पुगेमा असुरक्षित गर्भपतनसँग सम्बन्धित मातृ मृत्युलाई न्यूनतम बनाउन वा पूर्ण रूपमा नियन्त्रण गर्न सक्ने सम्भावना रहन्छ। यौन शिक्षा, प्रभावकारी गर्भनिरोधक प्रयोग, सुरक्षित र कानूनी गर्भसमापन सेवा, तथा गुणस्तरीय र मानव–केन्द्रित गर्भपतनपछिको उपचारजस्ता लागत–प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेपहरू सुरक्षित गर्भपतन सुनिश्चित गर्न आवश्यक भए पनि तिनीहरूको कार्यान्वयन चुनौतीपूर्ण बनेको छ।[२]
१४ हप्ता पछि हुने गर्भपतन प्रक्रियामा गर्भाशय तयारीका लागि "अस्मोटिक डिलेटर", "मिफेप्रिस्टोन" वा "मिसोप्रोस्टोल" प्रयोग गर्दा जटिलता घट्ने प्रमाण भेटिएका छन्। प्रारम्भिक गर्भअवस्थामा हुने शल्यक्रियामूलक गर्भपतन प्रायः सुरक्षित रहन्छ र जटिलता कम हुन्छ। संक्रमण रोकथामका लागि "प्रोफिल्याक्टिक एन्टिबायोटिक" प्रयोग लाभदायक ठहरिएको छ। गर्भपतन गराउने महिलालाई उपयुक्त पीडानाशक औषधि दिन सिफारिस गरिन्छ, यद्यपि एसिटामिनोफेनले पीडा न्यूनीकरणमा प्रभावकारी देखिँदैन। सम्भव अवस्थामा महिलालाई शल्यक्रियामूलक (भ्याकुम एस्पिरेशन वा डाइलेशन एण्ड एवाकुएसन) तथा औषधिमूलक (मिफेप्रिस्टोन र मिसोप्रोस्टोल) विधिबीच छनोटको अवसर दिनुपर्छ। गर्भपतन प्रक्रियापछि आधुनिक गर्भनिरोधक विधिहरू तुरुन्तै सुरक्षित रूपमा प्रारम्भ गर्न सकिन्छ।[३]
असुरक्षित गर्भपतन
[सम्पादन गर्नुहोस्]मुख्य कारण सुरक्षित गर्भपतन सम्बन्धी जानकारीको कमी, शिक्षा जारी राख्ने चाहना र गर्भनिरोधको असमर्थ प्रयोगले अनियोजित गर्भधारण हुने अवस्था हो। असुरक्षित गर्भपतन गर्दा प्रारम्भिक स्वास्थ्य समस्याहरू जस्तै संक्रमण, अत्यधिक रक्तस्राव, आन्तरिक अंगमा चोट, बाँझोपन, र गर्भपतनपछि मानसिक तनावसम्बन्धी विकारहरू लामो समयसम्म देखिन सक्छन्।[४] असुरक्षित गर्भपतन प्रायः स्वयं महिलाले ध्यान नदिएको पाइन्छ र केवल महिलाहरू गम्भीर जटिलता सहित स्वास्थ्य सेवा लिन आएका बेला मात्र सार्वजनिक चाँसोको विषय बन्छन्। यसले औषधिहरूको अनियन्त्रित पहुँचलाई नियन्त्रण गर्ने र निषेध गर्ने तत्काल आवश्यकता रहेको देखाउँछ।[५]
निम्नलिखित अवस्थामा गरिएको गर्भपतनलाई असुरक्षित गर्भपतन भनिन्छ।
- १२ हप्ता भन्दा बढि भएको गर्भ
- गर्भपतन गर्न आवस्यक तालिम नलिएका स्वास्थ्यकर्मी वा गर्भपतन गर्ने अनुमति प्राप्त नगरेका व्यक्तिबाट गरिइको गर्भपतन
- स्तरिय सेवा प्रदान गर्न आवस्यक पर्ने न्यूनतम सुविधा नभइका र अनुमति प्राप्त नगरेका सरकारी, निजि तथा गैरसरकारी स्वास्थ्य संस्थामा गरिइको गर्भपतन
- ज्यानलाई जोखिम हुनेगरि कुनै खाएर वा प्रयोग गरेर गरिएको गर्भपतन [६]
तत्कालिन जटिलताहरु
[सम्पादन गर्नुहोस्]- गर्भपतन पुर्णरूपमा नहुने
- बढि रक्तश्राव हुने, ज्वरो आउने र बेहोस हुने
- पाठेघरमा संक्रमण हुने
दीर्धकालिन जटिलताहरू
[सम्पादन गर्नुहोस्]प्रकारहरू
[सम्पादन गर्नुहोस्]इन्ड्युस्ड गर्भपतन
[सम्पादन गर्नुहोस्]आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सहयोगमा गर्भपतन गराउने कार्यलाई इन्ड्युस्ड गर्भपतन भनिन्छ। यसलाई अंग्रजीमा ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी’ भनिन्छ।
आपराधिक गर्भपतन
[सम्पादन गर्नुहोस्]अवैद्यरूपमा गर्भपतनका लागि स्वास्थ्यकर्मी वा अरु कसैले केही पदार्थ, औषधी आदी प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई आपराधिक गर्भपतन अथवा अवैधानिक गर्भपतन भनिन्छ। यस्तो क्रियाकलापले आमाको मृत्युसमेत हुने सम्भावना भएको हुनाले यसलाई आपराधिक गर्भपतन भनिएको हो। यसरी गर्भपतन गराउँदा संक्रमण, रक्तस्राव, मिर्गौलाले काम नगर्नु आदि कारणले आमाको मृत्यु हुन सक्छ।
अपरिहार्य गर्भपतन
[सम्पादन गर्नुहोस्]महिलाको पाठेघरमा भएको भ्रुण परिपक्व नभइ अचानक गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ।
अपूर्ण गर्भपतन
[सम्पादन गर्नुहोस्]गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुण अथवा सालको केही भाग मात्र बाहिर निस्किएर हुने गर्भपतनलाई अपूर्ण गर्भपतन भनिन्छ। भ्रुण अथवा सालको केही भाग मात्र बाहिर निस्कने र केही भाग भित्र नै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ। यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस तथा अत्याधिक रक्तस्रावका कारण मृत्यु समेत डर हुन्छ।
पूर्ण गर्भपतन
[सम्पादन गर्नुहोस्]भु्रण अथवा सालनाल सबै बाहिर निस्किएको अवस्थालाई पूर्ण गर्भपतन भनिन्छ। यस्तो बेलामा गर्भवती महिलालाई बेथा लागेजस्तै गरी दुख्छ। गर्भमा रहेका सम्पूर्ण विकारहरू बाहिर निस्किने हुनाले पूर्ण गर्भपतन भएपछि बिस्तारै दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ। सेप्टिक गर्भपतन
ह्याबिचुअल एबोर्सन
[सम्पादन गर्नुहोस्]कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ। साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ।
मिस्ड एबोर्सन
[सम्पादन गर्नुहोस्]गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुणको कुनै कारणले मृत्यु भएमा वा पाठेघर भित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्ड एबोर्सन भनिन्छ। यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ। आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनि यसको पहिचान गर्न सकिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Shah, Iqbal H.; Åhman, Elisabeth; Ortayli, Nuriye (२०१४-१२-०१), "Access to safe abortion: progress and challenges since the 1994 International Conference on Population and Development (ICPD)", Contraception (Englishमा) 90 (6): S39–S48, आइएसएसएन 0010-7824, डिओआई:10.1016/j.contraception.2014.04.004, पिएमआइडी 24825123।
- ↑ Fathalla, Mahmoud F. (२०२०-०२-०१), "Safe abortion: The public health rationale", Best Practice & Research Clinical Obstetrics & Gynaecology, Safe Abortion Care 63: 2–12, आइएसएसएन 1521-6934, डिओआई:10.1016/j.bpobgyn.2019.03.010।
- ↑ Kapp, Nathalie; Whyte, Patti; Tang, Jennifer; Jackson, Emily; Brahmi, Dalia (२०१३-०९-०१), "A review of evidence for safe abortion care", Contraception (Englishमा) 88 (3): 350–363, आइएसएसएन 0010-7824, डिओआई:10.1016/j.contraception.2012.10.027, पिएमआइडी 23261233।
- ↑ Kubuka, Amos E; Abdulrahman, Hawa M; Soa, Asmah H; Kivishe, Peter W (२०२३-०९-०६), "Unsafe abortion; the hidden cause of maternal death", International Journal of Family & Community Medicine 7 (5): 157–158, डिओआई:10.15406/ijfcm.2023.07.00331।
- ↑ Mishra, Shilpa; Rath, Sudhanshu Kumar (२०२५-०७-२३), "Unsafe abortion: Combating the silent menace", Indian Journal of Obstetrics and Gynecology Research (अङ्ग्रेजीमा) 8 (2): 146–149, आइएसएसएन 2394-2746, डिओआई:10.18231/j.ijogr.2021.032।
- ↑ Human Sexuality & Reproductive Health Maharjan ISBN 978-9937-549-01-1